‘ओलाङचुङगोलालाई दुर्गम र सुदूर बनाएको राज्यले हो’

‘सिंहदरबारले ओलाङचुङगोलाको समस्या सुन्न नै चाहेन। भोट थोरै छ भनेर होला, राजनीतिक दलले पनि वास्ता गरेनन्। अहिलेसम्म कुनै चुनावमा उम्मेदवारहरू मत माग्न पुगेका छैनन्, भविष्यमा पनि पुग्छन् भन्ने लाग्दैन।’

चीन र भारत दुवै देशसँग सीमा जोडिएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका नेपालकै तेस्रो ठूलो पालिका हो। यसको क्षेत्रफल काठमाडौँ, ललितपुर र भक्तपुरभन्दा दोब्बरले बढी छ। यहाँको ७ नम्बर वडा ओलाङचुङगोला (गोला) मात्रै काठमाडौँ उपत्यकाभन्दा ठूलो छ, जहाँ ओलाङचुङगोला र याङ्‌मा गरी दुई हिमाली बस्ती छन्। ओलाङचुङगोला एक समय चीनतर्फ जाने नेपालकै प्रमुख व्यापारिक नाका मानिन्थ्यो। भारतको कोलकात्ता बन्दरगाह नजिक पर्न जाने भएकाले यहाँबाट त्रिदेशीय व्यापारसमेत हुने गर्थ्यो। अहिले भने यो नाका सुनसान छ। पहिले जस्तो सहज आवतजावत अब छैन, किनकि चीनले कडाइ गरेको छ। यस कारण कुनै समय चीनतर्फको प्रमुख व्यापारिक नाका रहेको ओलाङचुङगोला अहिले सुनसान छ। चीनसँगको व्यापार ठप्प जस्तै छ। यसले गर्दा स्थानीयको जनजीवन, पर्यटन, द्विदेशीय व्यापार र विकासका गतिविधि पनि प्रभावित भएको छ। यिनै विषयमा केन्द्रित रहेर यहाँका वडाध्यक्ष छेतेन लामा शेर्पासँग उकालोका लागि सीताराम गुरागाईंले गरेको कुराकानी:

ओलाङचुङगोलाको खबर के छ?
हिमालतिर यसपालि अलिक बढी पानी परे पनि अरू ठिकै छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको टिपताला नाका खुलेकाले आवतजावत भइरहेको छ। बर्खाको समयमा दक्षिणतिरभन्दा पनि उत्तरतिर आवतजावत र व्यापार भइरहेको छ।

देशमा जेनजी आन्दोलनले रातारात परिवर्तन ल्यायो। यस्ता परिवर्तनले ओलाङचुङगोलाजस्तो दूरदराजको बस्तीका लागि के अर्थ राख्छ?
देशमा रातारात भएको यो परिवर्तनले ओलाङचुङगोला हिमालमा बस्ने बासिन्दाहरूलाई प्रत्यक्ष रूपमा ठूलो परिवर्तन भएको महसुस गरेका छैनौँ। तर अप्रत्यक्ष रूपमा भने यसको असर पर्छ नै। यस्ता परिवर्तनले हामी हिमालमा बस्ने बासिन्दाको समस्या बुझ्न सहयोग पुग्ला, नीति नियम र कानूनमा परिवर्तन भएर दूर दराजको आवाजहरूलाई पनि संघ सरकारले सुन्ने वातावरण बन्ला भन्ने अपेक्षा छ।

डा. जोसेफ डाल्टन हुकरले १७७ वर्ष पहिले ओलाङचुङगोला पुग्दा १०० घरको बस्ती रहेको कुरा आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। अहिले चाहिँ ओलाङचुङगोलाको जनसंख्या कति छ?
डा. जोसेफ डाल्डन हुकर आएको समयमा ओलाङचुङगोलामा १०० भन्दा पनि धेरै घरधुरी थियो। सन् १९५९ अर्थात् तिब्बतलाई चीनले लिनुभन्दा अघि अहिले हामी जसरी भारतमा हिँडडुल गर्न पाउँछौँ, त्यसरी नै तिब्बतमा पनि हिँडडुल गर्न पाइन्थ्यो। व्यापारिक दृष्टिकोणले भारतको कोलकात्ता नाका चर्चित थियो। र तिब्बतको ल्हासा-सिगात्सेबाट त्यहाँ जाने सबैभन्दा छोटो नाका नै ओलाङचुङगोला थियो। तातोपानी, केरुङ नाकाहरू त्यसबेला चल्दैनथे।

विकास क्रमसँगै सडकको पहुँच पुगेपछि ती नाका चल्न थाले। ओलाङचुङगोला ओझेलमा पर्‍यो। मैले भन्न खोजेको के भने यही चहलपहलको कारणले त्यतिबेला ओलाङचुङगोलामा २०० घरधुरीसम्म रहेको इतिहास पनि छ। ओलाङचुङगोलामा दुई वटा बस्ती छन्। ओलाङचुङगोला र याङ्‍मा। समुन्द्री सतहदेखि ४ हजार १०० मिटर उचाइमा रहेको याङ्‍मा कुनै समय ४० घरधुरी थियो। अहिले ९ घरधुरी छ। ३ हजार १०० मिटर उचाइमा रहेको ओलाङचुङगोलामा ५१ घरधुरी छन्। यसरी सिंगो वडामा ६० घरधुरी बसिरहेका छौँ।

जनसंख्या किन घटिरहेको होला?
२० वर्षअघि ओलाङचुङगोलामा २० वटा चौँरीगोठ थियो। अहिले एउटा मात्रै छ। मान्छेले पशुपालन व्यवसाय छाड्न थाले। यो किन घट्यो भने, शिक्षा र स्वास्थ्यको दृष्टिले हामी पछि छौँ। राम्रो शिक्षा दिनका लागि भए पनि बसाइँसराइ भयो। अर्को कुरा जब सन् १९५९ मा चीनले तिब्बतलाई आफ्नो हातमा लिएपछि बिस्तारै चीनले हामी नेपालीलाई तिब्बत-ल्हासा जान कडाइ गर्न थाल्यो। व्यापारमा पनि कडाइ गर्न थाल्यो।

यसले गर्दा त्यहाँ भविष्य नदेखेर अलिक पढेलेखेका र हुनेखाने परिवारहरू सबै नै बसाइँ सरेको देखिन्छ। अहिले पनि हामी त्यहाँ बस्नेमध्ये आधाको मात्रै त्यहाँ घर होला। नत्र अधिकांश घरजग्गा यहाँ काठमाडौँ, अमेरिका बस्नेहरूकै जग्गा छ। त्यहाँ चाहिँ शिक्षा र आर्थिक हिसाबले अलिक कमजोर भएकाहरूमा रह्यौँ। यसले गर्दा पनि परिवार संख्या घटेको देखिन्छ।

ओलाङचुङगोलालाई पूर्वको कर्णाली किन भनिएको हो?
ओलाङचुङगोला पूर्वको कर्णाली मात्र होइन। पूर्वको मुस्ताङ पनि हो। प्राकृतिक दृष्टिकोणले अति नै सुन्दर छ। तर भौगोलिक रूपमा विकट छ। फुङलिङदेखि तीन दिन हिँड्दा मात्र ओलाङचुङगोला पुगिन्थ्यो। २०६५/२०६६ सालतिर एक किलो चामल ढुवानी गरेको १०० रुपैयाँ तिर्नुपर्थ्यो। याङ्‌मा पुर्‍याउँदा २०० रुपैयाँ लाग्थ्यो। यसरी ओलाङचुङगोला सुन्दर छ र विकट पनि छ। यो सीमान्तकृत वालुङ समुदायको बसोबास रहेको ठाउँ हो। ओलाङचुङगोलालाई सबैले गाउँ भन्छन्। तर मैले भन्ने गरेको छु, यो गाउँ होइन। यो त एउटा सुन्दर हिमाली शहर हो। किनभने यहाँ झुरुप्प घरहरू छन्। एउटा घरसँग अर्को घर जोडिएको छ। याङ्‍मा पनि त्यस्तै छ। त्यसैले ओलाङचुङगोला हिमाली शहर हो।

null

खासमा यो ऐतिहासिक बस्तीको विशेषता के हो?
पहिले हाम्रो आम्दानीको मुख्य स्रोत व्यापार थियो। तिब्बतसँग व्यापार गर्थ्यौं। व्यापारकै कारणले हामी त्यहाँ अडियौँ। त्यसपछि पशुपालनमा पनि आश्रित थियौँ। किनभने पशुपालनको बजार पनि राम्रो थियो। याकबाट आम्दानी पनि राम्रो हुन्थ्यो। चौँरीको घ्यु, छुर्पी पनि राम्रो मूल्यमा बिक्री हुन्थ्यो। बिस्तारै चीनले याक पनि लिन छाड्यो। किन्न सक्दैनौँ भन्यो। मैले यो कुरा बारम्बार उठाउँदै आएको छु। क्वारेन्टाइन राखेर भए पनि वस्तु (याक/चौँरी)चाहिँ लिइदिनुस् भनेर। कोरोनाकालमा व्यापार पनि बन्द भयो। यी कारणले गर्दा पनि बसाइँसराइ बढेको थियो। तर अहिले हामीले पर्यटनलाई फोकस गरेका छौँ। होमस्टेहरू बनाएका छौँ। अरू पूर्वाधारहरू बनाएका छौँ। यस कारण अहिले चाहिँ तत्काल बसाइँ सर्ने मान्छेहरू छैनन्। 

यो क्षेत्र व्यापारिक भन्दा पनि पर्यटकीय क्षेत्रका रूपमा विकसित भइरहेको हो अब?
ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको पाँच–छ वर्ष भयो। भन्सार कार्यालय छ, कर्मचारी नै छैन। मैले भन्सार विभागका महानिर्देशलाई अनुरोध गर्दा उहाँले एक जना नासु र कार्यालय सहयोगी पठाउँछु भन्नुभयो। तर अहिलेसम्म पठाउनुभएन। यसले पनि व्यापार प्रभावित भएको हो। किनभने आयातनिर्यात गर्नलाई भन्सार चाहियो नि। भन्सार नै नभएपछि कसरी हुन्छ व्यापार? भन्सारको कर्मचारी हुने हो भने व्यापार एकदमै धेरै बढ्छ। अहिले त सडक पनि जोडिएको छ। पहिले मान्छेले बोकेर लानुपर्थ्यो।

एक जना कार्यालय सहयोगी थिए। उनैले भन्सार काट्थे। इलामदेखिको चिराइतो निर्यात हुन्थ्यो। भन्सारको कर्मचारी भयो भने व्यापार बढ्छ। अहिले स्थानीय पर्यटकको संख्या पनि बढ्दो छ। ८०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, प्राकृतिक रूपमा उत्पत्ती भएको ‘ॐ मणि पद्मे हूँ’ कुँदिएको च्याउ, सिजेमा ताल, टिपताला भन्ज्याङ, छोर्चेन ताल, तमोर नदीको उद्गम विन्दु, याङ्‍मा उपत्यकासहित मनोरम दृश्यहरू धेरै छन्। यसरी हामी पर्यटन र व्यापारलाई सँगसँगै जोडेर अगाडी लगिरहेका छौँ।  

आफ्ना कुरा राख्न/सुनाउन आफ्नै सदरमुकाम आएर नि हुन्न, प्रदेश राजधानी पुगेर नि हुन्न, अझै काठमाडौँ धाउनुपर्छ है?
हेर्नुस्, हाम्रो बोलीको सुनुवाइ हुँदैन। जिल्ला सुरक्षा समितिले निर्णय गरेर नै भन्सारका लागि कर्मचारी माग गरेर पत्र पठाउनुभएको छ। गृहले अर्थलाई पठाएको छ। तर अर्थ मन्त्रालयले सुनुवाइ गरेको छैन। सञ्चारमाध्यमबाट झकझक्याउँदा भयो भने मात्रै नत्र हाम्रो बोली सुनुवाइ नै भएन। सिंहदरबारले कहिले पनि ओलाङचुङगोलाको समस्या सुन्न चाहेन। कहिले पनि सोधेन। अहिले सडक जोडियो। नाकामा चीनले डाइपोर्टका लागि सबै संरचना बनाइसक्यो। नेपालतर्फ भने केही हुन सकेको छैन। मैले वाणिज्य विभागलाई डीपीआरका लागि अनुरोध गरेँ। तर पनि सरकारले डाइपोर्टका लागि चासो दिएको छैन। सिंहदरबारले दूरदराजका जनप्रतिनिधिसँग सोध्नुपर्‍यो नि। बुझ्नुपर्‍यो नि। त्यो हुन सकेको छैन।

गोलाको खास समस्या के हो, के आवश्यक छ भनेर सिंहदरबारले बुझ्न सकेको छैन भन्नुभएको?
हो, जस्तो: संघ सरकारले ओलाङचुङगोलामा चौँरी प्रवर्द्धन भनेर २० लाख रुपैयाँ बजेट दिन्थ्यो। जबकि चौँरी पाल्ने मान्छे एउटा मात्रै छ। सशर्तमा आएको बजेट अरूमा खर्च गर्न पनि नमिल्ने। उता, याक पाल्ने २० जना छ। उनीहरूका लागि एक रुपैयाँ पनि छैन। सिंहदरबारको मान्छेलाई याक के हो चौँरी के हो भन्ने पनि थाहा छैन। गाई र भैँसी त फरक हो नि, याक र चौँरी पनि त्यस्तै हो। त्यसपछि म कृषि मन्त्रालयमा आएर नै यो कुरा राखेँ। अनि यस वर्षदेखि याक प्रवर्द्धन भनेर बजेट गयो। यसमा पनि के भयो भने फुङलिङमा पनि याक प्रवर्द्धन भनेर बजेट गएको छ। जबकि फुङलिङमा याकपालन नै हुँदैन। अनि याङ्‍मामा डीफ्रिज किन्न बजेट दिएको छ। टायल किन्न बजेट दिएको छ।

ओलाङचुङगोलासम्म टायल ढुवानी गर्न नै किलोको ५०० रुपैयाँ लाग्छ। ४ हजार १०० मिटरमा रहेको याङ्‍माको मौसम आफैमा डीफ्रिज हो। टायलको साटो काठ, फ्रिजको साटो घाँस काट्ने मेसिन यस्तो दिँदा सान्दर्भिक हुन्छ। यसरी, सिंहदरबारमा बसेर ओलाङचुङगोला देखिँदैन। यस्तो कुराहरू मिलाउनलाई चाहिँ हामीजस्तो हिमालका/तराईका जनप्रतिनिधिसँग पनि राय लिनुपर्छ।

null

चुनावका बेला दल तथा उम्मेदवार गोलामा पुग्छन्?
थोरै जनसंख्या भएकाले हाम्रो भोटलाई कुनै राजनीतिक दल र उम्मेदवारले प्राथमिकतामा राखेनन्। अहिलेसम्म कोही पनि उम्मेदवार मत माग्न पुगेका छैनन्। र भविष्यमा पनि आउँछन् भन्ने लाग्दैन। त्यसैले कुनै दलको झन्डा नै बोकेर हिँड्नुपर्छ भन्ने हामीलाई लाग्दैन। तर पनि चीनको सीमासम्म सडकको ट्र्याक खोल्न सांसद तथा नेताज्यूहरू र कतिपय कर्मचारीहरूले पनि पहल गर्नुभएको छ।  

गोलामा चीन र नेपाल दुवैतर्फबाट सडक पुगिसकेको छ। अहिले यो सडकको अवस्था कस्तो छ?
हामी स्थानीयले आफै स्रोत जम्मा गरेर टिपतालादेखि ओलाङचुङगोलासम्म २५ किलोमिटर सडकको ट्र्याक खोल्यौँ। दुई वर्षसम्म त्यो सडक चल्यो। त्यसपछि कोरोना आयो। अनि बन्द भयो। गत वर्ष नेपालतर्फबाट पनि सडक जोडियो।  हिउँदमा गाडी टिपतालासम्म पुग्यो। तमोरमा पुल बनाउनुपर्ने भएकाले बर्खामा गाडी जान सक्दैन। सुकेपानी, जोंगिन र दोबाटेमा पुल बनाउनुपर्नेछ। त्यसपछि बाह्रै महिना गाडी चल्न सक्छ।

भौगोलिक विकटताका कारण सेवा प्रवाहका कस्तो प्रभाव परेको छ?
पालिकामा पनि बजेटको बाँटफाँट संघिय सरकारको जस्तै छ। संघमा मन्त्रीले आफ्नो ठाउँमा बढी बजेट लगाए जस्तै पालिकामा पनि अध्यक्ष वा बहुमत भएकाले बढी लान खोज्ने हुने रहेछ। मेरो वडा भूगोलका हिसाबले एकदमै ठूलो वडा (७०१.५ वर्ग किमी) छ। तर जनसंख्या थोरै छ। लागतको दृष्टिले एकदमै महँगो पर्छ। याङ्‍मामा पुग्दा एक बोरा सिमेन्टको दाम ६ हजार रुपैयाँभन्दा बढी पर्छ। त्यसैले हिमाली भेगमा विकासको काम गर्न गाह्रै छ। मैले वडा कार्यालयले दिनुपर्ने सेवा रातदिन नभनीकन दिइरहेको छु। तर विकासका काम चाहिँ सोचेअनुरूप गर्न सकेको छुइन।

सञ्चार सुविधाको अवस्था के छ?
ताप्लेजुङको याङ्‍मा मात्रै हो सञ्चारको सुविधा नपुगेको ठाउँ। फोन गर्न बर्खाको समयमा दुई दिन हिँडेर कि ओलाङचुङगोला कि डाँडा काटेर घुन्सा पुग्नुपर्छ। इन्टरनेटको त कुरै छाडौँ। यहाँ जनसंख्या थोरै भएकाले नेपाल टलिकमले टावर राख्न मान्दैन। ओलाङचुङगोलामा टुजीको टावर मात्र छ। दशैँपछि फोजीका लागि टावर राख्ने योजना छ। अनि त्यहाँको टूजीलाई याङ्‌मामा लैजान सकिन्छ कि भन्ने छ।

दिकीछ्योलिङ गुम्बाको अवस्था के छ?
दिकिछ्योलिङ गुम्बा पुरातत्त्व विभागमा दर्ता भए पनि एक रुपैयाँ पनि बजेट आउँदैनथ्यो। केही वर्षअघि विभागको टोलीले अनुगमन गरेर पुनर्निर्माण गर्नुपर्ने निधो गर्‍यो। र अलिअलि बजेट पनि दियो। केही हामी आफैले जुटायौँ। अहिले विभागकै निगरानीमा पुनर्निर्माण भइरहेको छ।

तपाईंहरूका लागि उत्सव, पर्वहरू के–के हुन्? दशैँ–तिहार जस्ता चाड मनाउनुहुन्छ कि हुन्न?
दशैँमा टीका लगाउँदैनौँ। तिहारमा देउसीभैलो चाहिँ खेल्छौँ। तिहारसँगसँगै हाम्रो फुटुक पर्व जोडिन्छ। यो एउटा विशेष पूजा हो। तिहारको लक्ष्मीपूजाको दिन नै त्यसको पूजा पनि सकिन्छ। अनि ल्होछार पर्व पनि मनाउँछौँ। अर्को नेसो पूजा भन्ने पनि छ। पर्वभन्दा पनि पूजा बढी मनाउने चलन छ।