यो साता उकालोमा जोगिए संसद् सचिवालयका दुर्लभ दस्ताबेज, ‘सुपर सरकार’को भूमिकामा सुदन गुरुङ, वर्षापछिको कहर: भर्चुअलदेखि भौतिक रूपमा तदारुक देखिएको सरकार लगायतका समाचार चर्चामा रहे।
यो साताको न्युजलेटर शुरू गरौँ, बाढीपहिरोको समाचारबाट। गत असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोसहितका विपद्ले ठूलो मानवीय क्षति निम्त्यायो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार मध्याह्नसम्म विपद्मा परी मृत्यु हुनेको संख्या ५३ पुगेको जनाएको छ।
यद्यपि, कति भौतिक संरचनामा क्षति भयो भन्ने पूर्ण विवरण अझै आइसकेको छैन, किनकि कतिपय ठाउँमा स्थानीय जनप्रतिनिधिहरू नै पुग्न सकेका छैनन्। बाढीपहिरोले क्षति पुर्याएका कतिपय सडक खुलेका छैनन् भने खुलेका कतिपय सडकमा समेत जोखिम कायमै छ।
यो पटकको विपद्मा इलाममा सबैभन्दा धेरै क्षति भयो। इलाममा पहिरोमा पुरिएर ३८ जनाको ज्यान गएको छ। पहिरो गएको ठाउँमा सहज पहुँच नहुँदा क्षतिको पूर्ण विवरण संकलन हुन सकेको छैन।
यसबाहेक, पाँचथरमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलको तथ्यांकअनुसार रौतहटमा बाढी र चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने खोलाले बगाएर उदयपुर, धनुषा, इलाम, पाँचथर, खोटाङ, मोरङ र सुनसरीमा गरी थप सात जनाको ज्यान गएको छ। विभिन्न जिल्लामा अझै पाँच जना बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बेपत्ताको खोजी र उद्धार कार्य जारी छ।
बाढीपहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने सबैजसो राजमार्ग सोमबारसम्म अवरुद्ध थिए। हाल अरनिको राजमार्ग, काठमाडौँ–हेटौँडा जोड्ने सडक र पृथ्वी राजमार्ग खुले पनि बीपी राजमार्ग भने अझै पूर्ण रूपमा खुलेको छैन। पृथ्वी राजमार्गमा पनि विभिन्न ठाउँमा पहिरोका कारण जोखिम कायम नै छ भने कोशी प्रदेशका मेची र कोशी राजमार्ग पनि खुलाउने प्रयत्न भइरहेको छ। पढ्नुहोस् उपेन्द्र अर्यालको रिपोर्ट : बाढीपहिरोले सबैभन्दा धेरै क्षति इलाममा, अवरुद्ध सडक कहिलेसम्म खुल्लान्?
गत वर्ष असोजमा भएको ठूलो जनधनको क्षतिबाट पाठ सिक्दै यस वर्ष सरकार र सरोकारवालाले विपद् व्यवस्थापनमा तदारुकता देखाए। सरकारको यो सक्रियता सामाजिक सञ्जालदेखि सर्वसाधारणसम्म चर्चाको विषय बनेको छ। प्रशंसा गर्नेहरूले गत वर्ष भएको क्षति र सरकारको प्रयासको तुलना गरेका छन्। गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछिको विपद्मा २४९ जनाको ज्यान गएको थियो र १८ जना बेपत्ता भएका थिए। काठमाडौँमै बाढीमा फसेकाको उद्धारमा समेत सरकार चुकेको थियो।
गत वर्ष नक्खु खोलाले बगाउन थालेपछि टहरामाथि चढेर गुहार मागिरहेका चार जना श्रमिकको करिब तीन घण्टासम्म उद्धार हुन सकेन। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। तत्कालीन गृहमन्त्री रमेश लेखकले ‘भिजिबिलिटी’ नपुगेका कारण उद्धारमा हेलिकप्टर पठाउन नसकिएको बताएका थिए। उनको स्पष्टीकरणको पनि सञ्जालमा आलोचना भएको थियो। यो वर्ष काठमाडौँ उपत्यकाका नदी किनार बस्ने करिब ३०० परिवारलाई असोज १७ गते राति नै विभिन्न विद्यालयमा सारिएको थियो। उद्धारका लागि सरकारका सबै निकायलाई ‘अलर्ट’ राखिएको थियो।
यसबारे प्रविता श्रेष्ठको रिपोर्ट पढ्नुहोस् :वर्षापछिको कहर: भर्चुअलदेखि भौतिक रूपमा तदारुक देखिएको सरकार
अब कुरा गरौँ, जेनजी आन्दोलनको दिनको फैलिएको एसएमएसको समाचारबारे। भदौ २३ गते मध्यरात १२ बजेर २० मिनेट आसपास अधिकांशको मोबाइल बज्यो। त्यो आवाज एसएमएस आएको संकेत मात्र नभएर, शायद कुनै अकल्पनीय घटनाको पूर्वसूचना थियो– भोलिपल्ट बिहानै देशका सडकहरूमा आगो बल्ने संकेत।
लगभग १२ घण्टाअगााडि, त्यही दिन दिउसो जेन–जी प्रदर्शनका क्रममा संसद् भवनअगाडि प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गइसकेको खबर आइरहेको थियो। विद्यार्थीहरूलाई गोली लागेको ह्रदयविदारक दृश्यहरू टिकटकबाट फैलिसकेको थियो। सरकार विभिन्न सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णयबाट पछि हटिसकेको थियो।
त्यस्तो बेला मोबाइलमा आएको मेसेज निद्रा नलागेका कतिपयले उतिबेलै हेरे, कतिले भोलिपल्ट बिहान मात्र हेरे। मेसेजमा लेखिएको थियो- ‘निर्दोष बच्चाहरूको रगत बगाउने नेताहरूको रगतले मात्र नेपाल शान्त हुनसक्छ।’
मेसेज पठाउनेको नम्बर थिएन, 'MALIKA_ALRT' मात्र लेखिएको थियो। स्पष्ट रूपमा हिंसाका लागि उक्साउने त्यो मेसेज कसले पठायो त? यसबारे थप बुझ्न उमेश श्रेष्ठ ‘सालोक्य’को यो रिपोर्ट पढ्नुहोस् :देश जल्नुअघि मध्यरातमा कसले पठायो हिंसाको सन्देश?
यसबाहेक साताका प्रमुख हेडलाइनहरू हेर्नुहोस्
देश-समाज
अभिलेख जलिरहेछन्, स्मृतिविहीन बन्ने बाटोमा देश!
देशका महत्त्वपूर्ण अभिलेख जलेर खरानी हुनु भनेको देश नै स्मृतिविहीन बन्ने बाटोमा पुग्नु हो। यसबाट जोगिने उपाय एउटै छ– सरकारले नै कानून पालना गरेर अभिलेखहरूलाई डिजिटाइज्ड गर्न ढिला नगर्ने।
जोगिए संसद् सचिवालयका दुर्लभ दस्ताबेज
संसद् सचिवालयका भवन–१, भवन–२, काठघर र पुरानो संसद् भवन नजिकै–नजिकै छन्। त्यहाँ आगो झोसिँदा संविधानको मूलकपीसहित ६६ वर्षीय संसदीय इतिहासका दस्ताबेज पनि खरानी हुन्थे। के हुन् ती दस्ताबेज?
इजरायल–हमास युद्धका दुई वर्षः छुट्लान् त विपिन जोशी?
अमेरिकाको प्रस्तावित शान्ति योजनामा छलफल गर्न इजरायल र हमासका प्रतिनिधि इजिप्ट पुगेपछि युद्ध अन्त्य हुने आशा पलाएको छ। यसबाट हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइको सम्भावना बढेको छ।
जथाभाबी ड्रोन प्रयोग हवाई र समग्र सुरक्षामा चुनौती बन्दै, कसरी हुँदैछ नियमन?
भिडियो र तस्वीर खिच्न मात्र होइन, अरु कैयौँ काममा भइरहेको ड्रोनको जथाभाबी प्रयोग सुरक्षामा ठूलै चुनौती बन्न थालेको छ। कस्तो छ अवस्था, कसरी भइरहेको छ ड्रोनको नियमन?
एम्बुलेन्स र चालकमाथि समेत आक्रमण भएका ती दुई दिन
प्रदर्शनकारीले एम्बुलेन्समाथि आक्रमण गरेर चालकलाई समेत घाइते बनाए। बाटो पनि अवरोध गरिँदा कयौँलाई समयमा अस्पताल पुर्याउन सम्भव भएन र गोली लागेका घाइते जोखिममा परे।
केन्द्रीय कारागारबाट भागेका कैदीबन्दीलाई भेट्टाएपछि सैनिकहरूले भनेका थिए– ‘जान दे’
‘बीच बाटोमै सेनाले भेटेपछि एक डेढ घण्टा घुँडा टेकाएर राख्यो। हामीले जेलमा बस्दा ज्यानको सुरक्षा नभएर निस्किएको भनेपछि ‘जान दे, हजारौँ कैदी त गए, यी ३–४ जनालाई पक्रेर के हुन्छ?’ भनेर छाडिदियो।’
विश्वमा जेनजी मुभमेन्ट, कहाँदेखि कहाँसम्म
अहिले विश्वमा जेनजी विद्रोहबारे ‘गुगल सर्च’ गर्दा नेपालको यही घटनाका समाचार शुरूमै भेटिन्छन्। तर, जेनजी विद्रोह भएको नेपाल एक्लो देश भने होइन।
‘सुपर सरकार’को भूमिकामा सुदन गुरुङ
मन्त्री र उच्च तहका कर्मचारीलाई निर्देशन दिँदै हिँडेका सुदन गुरुङ संवैधानिक पद, राजदूत नियुक्ति र कर्मचारी सरुवामा ‘कोटा’ मात्र खोजिरहेका छैनन्, प्रतिपक्षकै भूमिका दिनुपर्ने माग पनि गरिरहेका छन्।
विचार-टिप्पणी
‘ओलाङचुङगोलालाई दुर्गम र सुदूर बनाएको राज्यले हो’
‘सिंहदरबारले ओलाङचुङगोलाको समस्या सुन्न नै चाहेन। भोट थोरै छ भनेर होला, राजनीतिक दलले पनि वास्ता गरेनन्। अहिलेसम्म कुनै चुनावमा उम्मेदवारहरू मत माग्न पुगेका छैनन्, भविष्यमा पनि पुग्छन् भन्ने लाग्दैन।’
‘सिंहदरबार मेरो हो भनेर नागरिकले अपनत्व महसुस गर्ने बनाउनुपर्यो’
‘सिंहदरबार लगायतका संरचना र सम्पदा हाम्रा हुन् भनेर हामीले युवा पुस्तामा अपनत्वको भावना विकास गर्नैपर्छ। सायद हामी त्यही गर्न चुक्यौँ कि?
गगन–विश्वप्रकाशहरूलाई अन्तिम आग्रह
नागरिक तहमा पार्टी र पार्टी नेतृत्वको यो तहको असफलता, घृणा, बदनाम, तिरस्कार र अस्वीकार्यतापछि पनि नेतृत्व बदल्न सक्नुहुन्न भने राजनीतिको घडा बिसाउनुहोस्।
संस्कृति
कहीँ नभएको मैनको फूल देखिने जात्रा
हाँडीगाउँमा बुधबार चोक्टे नारायणको जात्रा मनाउने क्रममा मैनको फूल प्रयोग भयो। अन्य जात्रामा नदेखिने मैनको फूल र उल्टो खट यो ‘कहीँ नभएको जात्रा’का विशेषता हुन्।
जीवनशैली
दुर्घटनापछि उद्धार: घाइतेलाई जथाभाबी उठाउँदा अपांगताको जोखिम
आन्दोलनका क्रममा वा सवारीसाधन, कार्यस्थल तथा अन्य दुर्घटनापछि मेरुदण्ड, हड्डी र नसामा चोट पुगेका घाइतेलाई थप क्षति पुग्न नदिनेगरी उद्धार गर्दा दीर्घकालीन अपांगता हुने जोखिम कम हुन्छ।
खेल
मलेसियासँगको टी२० आई सिरिज नेपाललाई
नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी-२०आई सिरिज जितेको छ। बुधबार भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै सिरिज ३-२ ले जितेको हो।
टी२० विश्वकप छनोट: नेपालसँग कुवेत पराजित
आईसीसी टी२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी–१ मा बुधबार राति सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो। नेपालले समूह चरणको अर्को खेल आज (शुक्रबार) जापानसँग खेल्नेछ।
विश्व
हंगेरीका लास्लो क्राज्नाहोर्काइलाई नोबेल साहित्य पुरस्कार
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार घोषणा गरेको छ। यस्तै नोबेल पुरस्कार छनौट समितिले यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका तीन वैज्ञानिकलाई संयुक्त रूपमा दिने घोषणा गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
