साप्ताहिक ब्रिफिङ: अपुष्ट खबर बन्यो हिल्टन ध्वस्त हुने कारण, कारागार फर्किएनन् भागेका ९ हजार कैदीबन्दी
यो साता उकालोमा ‘अपुष्ट खबर बन्यो हिल्टन ध्वस्त हुने कारण’,'धन्न जोगिए पेट्रोल पम्प, बल्लबल्ल जोगियो काठमाडौँ', 'दमकल बोलाउन फोन बजिरहे, काठमाडौँ जलिरह्यो', 'राष्ट्रियसभा छ, अर्थात् संसद् जीवित छ' लगायतका समाचार चर्चामा रहे।
न्युजलेटर शुरू गरौँ, हिल्टन होटलको स्टोरीबाट। भदौ २४ गते ठाउँ–ठाउँमा जम्मा भएको भिडमा हिल्टन जलाउने आवाज सुनिएको सूचना होटल व्यवस्थापनले पाइसकेको थियो। त्यसैले पाहुनालाई पछाडिको ढोकाबाट सुरक्षितस्थल पठाउन थालिएको थियो। होटल हिल्टन काठमाडौँको ८० कोठामा करिब १४० पाहुना थिए।
नक्साल भगवती बहालअघि आइपुगेको भिडले दिउँसो १२ बजेतिर हिल्टनको दक्षिण कुनामा ढुंगा हान्न थाल्यो। अन्दाजी साढे १२ बजेतिर ढुंगा हानिरहेको भिड मूलढोका फोडेर भित्र पस्न थाल्यो। अन्दाजी ३०० जना होटलभित्र पसेर तोडफोड मच्चाउन थाले। कोही तोडफोडमा र कोही बारमा रहेका महँगा मदिरातिर लागे।
भिडमै रहेका कोही लिफ्टबाट सोझै १३औँ तला गएर, त्यहाँभन्दा माथि छतमा पुगे। त्यहाँ नाचगान र होहल्ला गरे। कतिपय स्विमिङ पुलमै पुगे।
होटलको माथिल्ला तलामा चढेको समूह मोजमस्तीमै हुँदा तल आगो झोसियो। आगो ह्वारह्वारी बल्न थालेपछि माथि रहेकाको विलौना शुरू भयो। आगोको धुवाँलाई एकत्रित गरी एउटै मुस्लोमा बाहिर पठाउने प्रणालीले भने काम गरेको थियो। होटलमा अहिलेसम्म कुनै मानवीय क्षतिको प्रमाण भेटिएको छैन। तर छतमा पुगेकाहरू कसरी जोगिए भन्ने पनि खुलेको छैन।
आगजनी, तोडफोड र लुटपाट गर्ने समूह ४ बजेसम्म सक्रिय थियो। साँझ ५ बजेतिर होटललाई आगोको लप्काले पूरै लपेटेको थियो। राति ११ बजेतिर दमकल आएपछि थालिएको निभाउने प्रयत्न १२ घण्टाभन्दा बढी समय चल्यो। आगो निभेको निष्कर्षमा दमकल फर्किएपछि फेरि बल्न थाल्यो। अनि पुनः आएका दमकलले आगो पूर्णरूपमा निभाएको हिल्टन स्रोत बताउँछ।
हिल्टनमा आक्रमण र आगजनीको कारण गत वैशाखमा प्रकाशित एउटा अपुष्ट समाचार भएको होटल आगजनीपछि व्यवस्थापनले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ। त्यो कस्तोखाले अपुष्ट समाचार थियो जसका कारण हिल्टन जल्यो। थप बुझ्न रितेश त्रिपाठी र केशु लामिछानेको यो रिपोर्ट पढ्नुहोस् : अपुष्ट खबर बन्यो हिल्टन ध्वस्त हुने कारण, सञ्चालक भन्छन्– फेरि उठ्छौँ
जेनजी आन्दोलनको दोस्रो दिन, गत भदौ २४ को प्रदर्शन भड्किएपछि देशभरका कारागारबाट साढे १४ हजार भन्दा धेरै कैदीबन्दी भागे। गम्भीर प्रकृतिका अपराधदेखि डकैती लगायतका मुद्दामा दोषी ठहर भएकादेखि त्यस्तै अरू गम्भीर कसुरमा मुद्दा पुर्पक्ष भइरहेका ती कैदीबन्दीमध्ये करिब ९ हजार अहिले पनि समाजमै छन्। उनीहरू फर्केर आएका छैनन्, राज्य–संयन्त्रले पनि तिनलाई पहिल्याउन सकेका छैनन्। उनीहरूकै कारण समाजमा सुरक्षा जोखिम पनि बढेको छ।
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईका भनाइमा अपराध गरेको कसुरमा कानूनतः दोषी ठहर भइसकेकाहरू नै कारागारबाट भागेर समाजमा लुक्दा समाज नै त्रस्त र आतंकित हुने बताउँछन्।
भदौ २३ गते जेनजी आन्दोलनको प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले अनियन्त्रित रूपमा गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि भोलिपल्ट, भदौ २४ को प्रदर्शन उग्र बन्न पुगेको थियो। त्यसपछि संघीय संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रहरीका कार्यालय, सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान, होटलदेखि नेताका निजी निवासमा समेत आगजानी र लुटपाट गरिएको थियो। त्यहीक्रममा विभिन्न कारागारमा रहेका कैदीबन्दी भगाउने शृंखला देखा परेको थियो।
यसको शुरूआत ललितपुरको नक्खु कारागारबाट भयो जहाँ सहकारी ठगी प्रकरणका अभियुक्त, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि थिए। लामिछानेलाई कारागारबाट निकाल्नुपर्ने मागसहित प्रदर्शनकारीले नख्खु कारागार नियन्त्रणमा लिएपछि असुरक्षाको कारण देखाउँदै कारागार प्रशासनले उनलाई छाडिदिएको थियो। लामिछाने निस्किएपछि देशभरका कारागार प्रदर्शनकारीको निशानामा परे।
बाहिर प्रदर्शनकारी र भित्र कैदीबन्दी नै तोडफोडमा उत्रिएपछि कारागारहरू सुरक्षा निकायको नियन्त्रणमा रहेनन्। त्यसको फाइदा उठाएर देशभरका २७ कारागार र ९ बालसुधार गृहबाट १४ हजार ५५५ जना कैदीबन्दी फरार भएका थिए। यसबारे थप बुझ्न बीपी अनमोलको रिपोर्ट पढ्नुहोस् : कारागार फर्किएनन् भागेका ९ हजार कैदीबन्दी, थप सजायको हिसाब गर्दै विभाग
यो साताका प्रमुख हेडलाइनहरू हेर्नुहोस्
देश-समाज
दमकल बोलाउन फोन बजिरहे, काठमाडौँ जलिरह्यो
भदौ २३ गते एम्बुलेन्समा भएको आगजनी नियन्त्रणमा लिन गएको दमकल तोडफोड भयो, २४ गते त आगै लगाइयो। ठाउँ–ठाउँमा बाटो छेकियो। अनि, काठमाडौँ जलिरहँदा पनि दमकलको साइरन कतै सुनिएन।
राष्ट्रियसभा छ, अर्थात् संसद् जीवित छ
प्रतिनिधिसभा विघटन भए पनि संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा कायमै छ। सरकारमाथि निगरानी मात्र होइन, ६ महिनामा घोषित निर्वाचन हुन नसके राष्ट्रियसभाले अरू पहलकदमीसमेत लिन सक्छ।
कस्ता छन् ‘जेन–जी’ अघि र पछिका पुस्ता?
गत हप्ताको आन्दोलनअघि कमै सुनिने ‘जेन–जी’ शब्द अहिले कुराकानीको केन्द्रमा छ। धेरैले आफ्नो पुस्ताबारे पनि सोधखोज गर्न थालेका छन्। कसरी हुन्छ पुस्ताको नामकरण? कस्ता छन् अघिल्लो पुस्ताको प्रवृत्ति?
‘देश खोक्रो बनाउनेलाई लखेट्न सकियो, ९ गोली लागेकोमा पछुतो छैन’
रबरका गोली लागेर एम्बुलेन्समा हालेपछि उनले त्यहीँ एउटा भिडियो बनाएर सामाजिक सञ्जालमा हाले। शरीरको माथिल्लो भाग रगताम्य देखिने उक्त भाइरल भिडियोमा उनी भन्दै थिए– म छाती थापेर आको...
पूर्वउपप्रधानमन्त्री रायमाझी, गृहसचिव पाण्डेसहितका थुनुवा गोलघरबाट ‘फरार’
नक्कली भुटानी शरणार्थी प्रकरणमा जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका थुनुवा गत साताको ‘जेनजी’ आन्दोलनका क्रममा बाहिरिएपछि अझै कारागार फर्किएका छैनन्।
धन्न जोगिए पेट्रोल पम्प, बल्लबल्ल जोगियो काठमाडौँ
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले काठमाडौँका केही ठाउँमा पेट्रोल पम्पमै आगो लगाउन खोजे, कतै आगो लगाइएका ठाउँछेउमै पेट्रोल पम्प थिए। स्थानीय बासिन्दा अगाडि नसरेका भए ती पम्पसँगै शहर खरानी बन्न सक्थ्यो।
सिभिलका चिकित्सकको चिन्ता– ‘केही घाइतेको हातखुट्टा नजोगिने डर छ’
डा. सुमनबाबु मरहट्टाले २०७२ सालको भूकम्पमा लगातार १५ दिनसम्म शल्यक्रिया गरेका थिए, तर त्यसबेला छोटो अवधिमा धेरै जनाको गर्नु परेको थिएन। जस्तो यो पटक दुई दिनमै ५० जनाको शल्यक्रिया भयो।
सर्वोच्चको आदेश बोकेर ओझा प्राधिकरण पुगे, मन्त्रालयको पत्रले रोकिए
बीमा प्राधिकरण अध्यक्षबाट सरकारले बर्खास्त गरेको तीन हप्तापछि सर्वोच्चले शरद ओझाको पक्षमा अन्तरकालीन अन्तरिम आदेश दियो। तर प्रक्रियामा प्रश्न उठाउँदै अर्थ मन्त्रालयले कार्यभार सम्हाल्न रोकेको छ।
विचार-टिप्पणी
रास्वपा एउटा व्यक्तिको पछि लागेको छः सुमना श्रेष्ठ
‘रास्वपामा नेतृत्व निकट मान्छे प्रयोग गरेर बुलिङ गर्ने प्रवृत्ति छ। प्रश्न सोध्ने बित्तिकै आक्रमण हुन्छ। तुच्छरूपमा टिप्पणी गरिन्छ। बुलिङ गरेर त्यसलाई संस्कार दिइन्छ, त्यो संस्कार परिवर्तन हुनुपर्छ।’
रगत र खरानीको अतृप्त प्यास
२०६२/६३ को १९ दिने जनआन्दोलनमा भन्दा यी तीन दिनमा बढी मानिस मारिएका छन्। १० वर्षे माओवादी द्वन्द्वमा भन्दा बढी सार्वजनिक सम्पत्तिमा क्षति भएको छ।
राजनीतिक संक्रमणमा ध्यान पुर्याउनुपर्ने विषय
चाडबाडको मुखमा हुनसक्ने खतरालाई ध्यानमा राख्दै असुरक्षा, कालो बजारी र महँगी नियन्त्रण गरियोस्। यातायातको व्यवस्थामा समुचित ध्यान दिइयोस्।
अस्थिर परिस्थितिमा लैंगिक तथा यौनजन्य हिंसाको जोखिम
पहिल्यैबाट लैंगिक तथा यौनजन्य हिंसा छ समाजमा। अन्य अपराधका घटनामा जेल सजाय भोगिरहेकाहरूको उन्मुक्तिले समाजमा त्रास सिर्जना भइरहेको छ।
दलहरूमा आबद्ध युवाले पनि पुस्तान्तरणको तर्क गर्ने बेलामा उल्टै उनीहरू ‘झोले’ नारामा उत्रिएका देखिए, अथवा तैँ चुप मैँ चुप बनिरहे।
यतिखेर संविधानको मर्म मुख्य, धारा गौण
यो संविधान लेख्न धेरै योगदान गरेका दलहरूले अब घोषणा गरिएको चुनावमा जानबाट हच्कन हुँदैन। अर्को द्वन्द्वको खेतीपाती गर्ने हो भने त्यसले ठीक ठाउँमा लैजाँदैन।
आगोझैँ फैलन्छ झुटो खबर, निभाउने अति थोरै छन्
सञ्चार माध्यमको अभावमा अफवाह फैलिएर मान्छे गलत सूचनाका शिकार हुन्थे पहिले। सामाजिक सञ्जालबाट भ्युज बटुलेर धन्दा गर्नेहरूका कारण जनमानस व्यापक रूपमा गलत सूचनाका शिकार भइरहेका छन्।
प्रवास
यूएईले रोक्यो नेपालीलाई भिसा, यही गरिएको थियो बांग्लादेशी नागरिकलाई
गत वर्ष हिंसात्मक आन्दोलनसँगै शेख हसिनाको सत्ता ढलेपछि यूएईले बांग्लादेशी नागरिकलाई भिसामा प्रतिबन्ध लगाएको थियो। जेनजी आन्दोलनपछिको सरकार परिवर्तनसँगै यूएईले नेपालीलाई पनि सबैखाले भिसा बन्द गरेको छ।
खेल
नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बर २७, २९ र ३० सेप्टेम्बरमा टी२० आई शृंखला खेल्दैछ। त्यसका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ।
आदिल आलम अन्सारी र सन्दीप जोरालाई समेट्दै नेपाली टोली घोषणा गरेको हो। नेपाल र वेस्ट इन्डिजबीचको खेल संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने भएको छ ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुलशन झा, सोमपाल कामी र साहब आलमसमावेश छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
