मौसम पूर्वानुमान: केही स्थानमा मध्यम वर्षाको सम्भावना

महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको भने आंशिक प्रभाव रहेको छ। 

हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। साथै कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू–भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना समेत रहेको छ।

यस्तै, राति कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टा पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ।