साप्ताहिक ब्रिफिङः पार्टी खोल्ने ‘मुड’मा छैनन् बालेन, कसरी जुट्ला पुनर्निर्माणको स्रोत?

यो साता उकालोमा ‘अनि डा. संगीता मिश्राको नियुक्ति रोकियो’, ‘पार्टी खोल्ने‘मुड’मा छैनन् बालेन’, ‘क्षतिग्रस्त संरचना: कसरी जुट्ला पुनर्निर्माणको स्रोत?’, ‘कसरी लुटपाटमा परिणत हुन्छ आन्दोलन?’ लगायतका समाचार चर्चामा रहे।

यो साताको न्युजलेटर शुरू गरौँ, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणबारेको समाचारबाट। भदौ मसान्तसम्म सरकारको आम्दानी एक खर्ब ५९ अर्ब ९८ करोड र खर्च एक खर्ब ८० अर्ब १७ करोड रुपैयाँ छ। आर्थिक वर्षको दोस्रो महिनामै आम्दानीभन्दा खर्च माथि पुगेको अवस्थामा भौतिक संरचनाको पुनर्निर्माण कसरी होला भन्ने अन्योल बढेको छ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका मन्त्रीहरूको शपथ क्षतिग्रस्त राष्ट्रपति भवनको चौरमा पाल टाँगेर भयो। शपथग्रहण समारोह भइरहँदा पछाडि आगजनीबाट कालै भएको भित्तो देखिइरहेको थियो।

यता, सुशीला कार्कीले प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबारमा कार्यभार सम्हाल्ने अवस्थै थिएन। धन्न गृह मन्त्रालयका लागि निर्माण गरिएको भवन तयार भइसकेकाले त्यसैलाई प्रधानमन्त्री कार्यालय बनाइएको छ।

मन्त्रालय र विभाग मात्र होइन, जिल्ला र पालिका तहसम्मका धेरै संरचना ध्वस्त वा क्षतिग्रस्त छन्। यी संरचना पुनः उभ्याउनु मात्र छैन, सरकारले ६ महिनाभित्र आमनिर्वाचन पनि गराउनुपर्ने छ।

तर, आन्दोलनका कारण देशको अर्थतन्त्रलाई ठूलो धक्का पुगेको विज्ञहरू बताउँछन्। अर्थविद् डा. प्रकाशकुमार श्रेष्ठका अनुसार, आन्दोलनले अर्थतन्त्रलाई २०७२ सालको भूकम्प र २०७७ सालको कोभिड महामारी हाराहारीकै धक्का दिएको छ।

आर्थिक गतिविधि अपेक्षित गतिमा अघि बढ्न नसकेकाले राजस्व संकलन  सन्तोषजनक छैन, आन्तरिक स्रोतको दबाब छ। बदलिँदो विश्व परिवेशमा पुनर्निर्माणका लागि स्रोत परिचालन झन् कठिन रहेको छ।

भूकम्पका बेला अन्तर्राष्ट्रिय सहानुभूति थियो, भूराजनीतिक स्थिति अहिलेजस्तो जटिल थिएन। अहिले सबै संरचना एकैचोटि पुनर्निर्माण गर्न स्रोत पर्याप्त नहुने भएकाले क्षतिको यथार्थ मूल्यांकन गरी प्राथमिकता तोक्नुपर्ने श्रेष्ठ बताउँछन्।

जेनजी आन्दोलनपछि अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ। चालु आर्थिक वर्षको बजेटले चुनावी बजेटको परिकल्पना नगरेको हुँदा बजेटबाटै स्रोतको सुनिश्चितता गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा कसरी जुट्ला पुनर्निर्माणको स्रोत? यसबारे थप बुझ्न केशु लामिछानेको रिपोर्टिङ पढ्नुहोस्– क्षतिग्रस्त संरचना: कसरी जुट्ला पुनर्निर्माणको स्रोत?

अब कुरा गरौँ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको। उनी जेनजी आन्दोलनमा सबैभन्दा चर्चामा रहेका पात्र हुन्। जेनजी आन्दोलनपछि धेरैले उनलाई प्रधानमन्त्री बन्छन् भन्ने सोचेका थिए।

भदौ २४ गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई उनकै सल्लाहकार, सचिवालयका सदस्य र निकटवर्तीहरूको तारन्तार फोन आउन थाल्यो। बालेनलाई उनीहरु सबैको आग्रह लगभग एउटै थियो– “युवाहरूले तपाईंलाई खोजिरहेका छन्, देशले तपाईंलाई चाहिरहेको छ। नयाँ प्रधानमन्त्रीका रूपमा अघि बढ्नूस्।”

बालेनले उनीहरूका कुरा सुने मात्र, खासै जवाफ दिएनन्। उनको सचिवालयका एक सदस्यका अनुसार बालेनको आनीबानी र स्वभावसँग परिचित रहेका कारण कसैले पनि दोहोर्‍याएर आग्रह भने गरेनन्। त्यसरी आग्रह गर्नेमध्ये कतिपयले साँझसम्म बालेनले पक्कै केही निर्णय लिनेछन् भन्ने आकलन गरेका थिए। 

तर त्यस्तो केही भएन।  

भोलिपल्ट, भदौ २५ गते जेनजीको भर्चुअल (डिस्कर्डमा आयोजित) बैठकबाट अन्तरिम सरकारको प्रधानमन्त्रीमा बालेनकै नाम सर्वसम्मतिले प्रस्ताव गरियो। त्यसलगत्तै जेनजी समूहका अगुवाले बालेनलाई टेलिफोन गरे। तर मोबाइल फोन ‘स्वीच–अफ’ गरेर बसेका बालेन जति नै प्रयास गर्दा पनि उनीहरूको सम्पर्कमा आएनन्। निकटस्थहरूमार्फत प्रधानमन्त्री बनिदिन गरेको आग्रहमा पनि कुनै जवाफ दिएनन्। 

अबेर राति, करिब १० बजे उनले फेसबुक र एक्समा लेखे, “...यो बेला कृपया नआत्तिनुहोला, धैर्य राख्नुहोला। अब देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो। यो अन्तरिम/चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईंहरूबाट आएको प्रस्ताव, पूर्वप्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ।”  

त्यसपछि मात्र उनका सल्लाहकार, सचिवालय सदस्य र निकटस्थहरूले बुझे– बालेन अहिले नै अन्तरिम प्रधानमन्त्री बन्न चाहँदैनन्, बरु दल दर्ता गराएर निर्वाचनमार्फत पूर्णकालीन सरकारको प्रधानमन्त्री बन्न चाहन्छन्। तर सबैले सोचेजस्तो दल खोल्ने मुडमा पनि देखिँदैनन् बालेन किन ? यसबारे थप बुझ्न पढ्नुहोस् आदित्य नेपालको रिपोर्ट :पार्टी खोल्ने ‘मुड’मा छैनन् बालेन

यो साताका प्रमुख हेडलाइनहरू हेर्नुहोस्

देश-समाज

कहाँ ‘हराए’ प्रहरीका ११ सय बन्दुक र जेलबाट भागेका ८ हजार कैदीबन्दी?
जेनजी आन्दोलनका नाममा प्रहरीबाट लुटिएका इन्सास, एसएलआरलगायत करिब ११ सय बन्दुक र कारागारबाट भागेका ८ हजारभन्दा धेरै कैदीबन्दीबारे सरकार नै बेखबर बन्दा समाज अपराधको भुंग्रोमा पर्ने जोखिम बढेको छ। 

अनि डा. संगीता मिश्राको नियुक्ति रोकियो
आइतबार दिउसो मन्त्रिपरिषद् बैठकपछि नयाँ बन्ने पाँच मन्त्रीको नाम मन्त्रालयसमेत तोकेर राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको थियो। तर राति ९ बजेपछि अख्तियार सक्रिय बन्दा उनको नियुक्ति रोकियो।

पुस्तकालयहरू खरानी भएको दिन
जेनजी आन्दोलनका क्रममा नेताका घर र पार्टी कार्यालय मात्रै जलाइएनन्, त्यहाँ रहेका पुस्तकालय पनि खरानी बनाइए। पार्टी कार्यालयका पुस्तकालय जल्दा ऐतिहासिक दस्ताबेजसमेत नष्ट भएका छन्। 

कसरी लुटपाटमा परिणत हुन्छ आन्दोलन?
आन्दोलनका क्रममा हुने लुटपाट भदौ २४ गते पहिलो पटक भएको होइन। यस्ता घटनामा यसअघि कुनै अपराधमा नलागेका मानिस पनि देखिन्छन्। के कोही अवसर नपाएर मात्र ‘चोर’ नभएको हो त?

टुकुचामा हाम्फालेर ज्यान जोगाएका ट्राफिक प्रहरी: भग्नावशेषबाट उठेर फर्किए सडकमा
कमाण्डरले निमेषभरमै सही निर्णय नलिएको भए उपत्यका ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीको जीवन नै तलबितल हुन सक्थ्यो। भदौ २४ गते टुकुचामा हाम्फालेर जोगिएका उनीहरू खरानी टकटक्याउँदै ड्युटीमा फर्केका छन्।

भाटभटेनी वेरहाउस बचाउने दाजु–बहिनी
‘अब हामीले केही न केही गर्नुपर्छ। आगो निभाउनुपर्छ र बचाउन सकिने सामान बाहिर निकाल्नुपर्छ,’ भनेर भाइकाजीले भनेपछि वेरहाउसका कर्मचारी पनि हौसिए र थप स्थानीय पनि सहयोगमा जुटे।

दशैँले शहर झार्दै छ, चरनले उकालो लगाउँदै छ
दशैँमा शहरबासीका लागि च्यांग्राको मासुको स्वाद ‘ब्रान्ड’ बनेको छ। दशैँमा मुस्ताङबाट शहर झारिँदै गरिएका च्यांग्राका हुल देखिन्छ। तिनको जीवनचक्र भने हिमाली क्षेत्रको मौसमी परिवर्तनले प्रभावित भइरहेको छ।

आन्दोलनका भिडियो र तस्वीर हेर्दै प्रहरी, अपराधमा संलग्नलाई धमाधम पक्राउ
आन्दोलनका नाममा गरिएका विध्वंसका भिडियो र तस्वीर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्। कतिपयले प्रहरीकै पोसाक लगाएर बन्दुकसहित सडकमा उत्रिएको भिडियो र तस्वीर पनि सञ्जालमा छन्।

धुवाँ र खरानीबाट उठाउने प्रयास: सिंहदरबारमा पसिनाले भिजेका कर्मचारी
आगोले सिंहदरबारको छाना ह्वांग छ, भित्ताका कतिपय भाग भत्किएका छन्। ठडिएको भाग पनि कालै छन्। भुईंमा जलेका इँटा, फलामका टुक्रा र खरानीको थुप्रो छ। त्यहीँ भेटिए पसिना बगाइरहेका कर्मचारी।

व्यवसायी भन्छन्: शान्ति सुरक्षाको ग्यारेन्टीसहित विशेष प्याकेज नभए अर्थतन्त्र उठ्दैन
सरोकारवालाले विगतका भूकम्प, आन्दोलन र अन्य संकटभन्दा यसपटकको समस्या फरक भएको भन्दै अर्थतन्त्रलाई उकास्न नीतिगत सुधार, सुरक्षाको प्रत्याभूति र पुनर्निर्माणमा जोड दिएका छन्।

विचार-टिप्पणी

नेताको घरमा नोटको ‘जखिरा’
देउवा निवास मात्र होइन, हावामा नोट उडाइएको भिडियोका कारण तत्कालीन ऊर्जामन्त्री दीपक खड्का पनि चर्चामा रहे। ढिलोगरी निस्केको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली ती दुई ठाउँमै पुग्यो।

जेनजी आन्दोलन, राजनीतिक अन्योल र देशको भविष्य
दलहरूले विगतका गल्ती स्वीकार्दै जनताले नरुचाएका पुराना नेतालाई पाखा लगाएर नयाँ पुस्तासँग सहकार्य गर्ने, राष्ट्र हाँक्ने जिम्मा पाएकाहरूले आक्रोशलाई नयाँ सोचमा रूपान्तरण गर्नेमा ध्यान दिनुपर्छ।

कहाँ चुके दलहरू?
पार्टी शुद्धीकरण, विचारमा परिवर्तन र  पुस्तान्तरणको प्रक्रिया अघि बढाउने कि मत्थर भएको जेनजी आन्दोलनलाई फेरि सडकमा फर्काउन बाध्य पार्ने? उत्तर दलहरूले नै दिनुपर्ने छ।

‘निष्पक्ष छानबिन हुन्छ, दोषी जो देखिए पनि कारबाहीका लागि सिफारिस गर्छौं’
‘हामी अहिलेको आयोगको सिफारिस कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त छौँ। विगतमा कार्यान्वयन नगर्ने प्रवृत्ति थियो, अहिले केही फरक छ, त्यसैले शंका नगरौँ।’

‘दशैँ हिन्दू वा वैदिक धर्मावलम्बीको मात्रै पर्व होइन’ (भिडियोसहित)
‘आ-आफ्नो परम्परा अनुसार राम्रो पक्षलाई समेट्दै जाने र खराब पक्षलाई छाड्दै संस्कारित रूपमा अनेकतामा एकता राखेर दशैँ पर्व मान्न सकिन्छ।’

खेल

नेपालले वेस्ट इन्डिजसँग भोलिदेखि टी२० आई शृंखला खेल्दै छ। नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग टी२० आई शृंखला खेल्न लागेको हो।

सेप्टेम्बर २७, २९ र ३० मा गरी तीन खेलको शृंखला हो। त्यसका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ।

विश्व

बेलायत र पोर्चुगलले प्यालेस्टिनी राज्यलाई मान्यता दिने, इजरायलको आपत्ति
इजरायलले गाजामा बमबारी जारी राखेको छ। लामो समयदेखि इजरायलको सहयोगी रहँदै आएका राष्ट्रहरू यही कारण आफ्नो नीतिमा परिवर्तन गर्न थालेका छन्।