साप्ताहिक ब्रिफिङः बहुविपद् सामना गरिरहेको मुस्ताङ, भ्रष्टाचार रोक्न चाहे सतर्कता केन्द्र नै काफी

यो साता उकालोमा, ‘भट्टचन–शेरचनले प्रभु बैंकमा दुरुपयोग गरेको २७ करोड’, ‘गिरीबन्धुमा ‘एडभान्स’ लेनदेनको हिसाब सल्टाउँदै मलहोत्रा’, ‘पानी पर्नासाथ किन एकैसाथ अवरुद्ध हुन्छन् राजमार्ग?’लगायतका समाचार चर्चामा रहे।

न्युजलेटर शुरू गरौँ, नेपालमा भइरहेको अनलाइन बेटिङको समाचारबाट। नेपालमा अनलाइन बेटिङ गैरकानूनी भए पनि संलग्नहरू गिरफ्तार भएको समाचार आइरहन्छ। पछिल्लो एक वर्षमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गिरफ्तारीमा परेका ३५ जना १९ देखि ४८ वर्षसम्मका छन्। पढेलेखेका युवा, जो डिजिटल ग्याजेट चलाउन दक्ष छन्, उनीहरू नै बेटिङमा संलग्न भएको देखिएको छ।

अनलाइन बेटिङसम्बन्धी अनुसन्धान गर्दै आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीका अनुसार, सन् २०१८ तिरबाट वानएक्स बेटले नेपालमा पहुँच बनाएको थियो। हाल नेपालबाट १५० भन्दा धेरै बेटिङ साइट चलाउन सकिन्छ, जसमध्ये वानएक्स बेटको जालो ठूलो छ।

बेटिङ साइटहरूले विभिन्न फेसबुक पेजमार्फत नेपाली भाषामै विज्ञापन गर्छन्। ‘केवल ३ हजार रूपैयाँलाई ५ मिनेटमै ६ लाखमा परिवर्तन गर्ने’ भन्दै चिकेन रोड नामक बेटिङ प्लेटफर्मले फेसबुकमा ‘स्पोन्सर्ड’ विज्ञापन नै गरेको छ।

यस्ता प्लेटफर्मले केही दिनमै पैसा डबल हुनेदेखि, सेलेब्रिटीले बेटिङ गर्न प्रोत्साहित गरेको फेक श्रव्यदृश्य सामग्री प्रयोग गर्छन्। राजेश हमाल, विनोद चौधरीजस्ता व्यक्तिले अनलाइन बेटिङ गर्न प्रोत्साहित गरेको भिडियो फेसबुक पेजमार्फत स्पोन्सर्ड पोस्ट गरेको देखिन्छ।

२०८१ माघ १३ गते प्रहरीले अनलाइन बेटिङमा संलग्न ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र २३ वर्षीय हरिचन्द्र भुजेललाई पक्राउ गरेको थियो। उनीहरूले भारतीयसँगको साझेदारीमा ‘मान्त्रा १०८ एनपी डटकम’ नामक बेटिङ प्लेटफर्म सञ्चालन गर्थे। यस्तै, वान एक्स बेट एजेन्ट हुँदै पछि भारतीयसँग मिलेर आफ्नै बेटिङ प्लेटफर्म ‘जुवा ३६५’ संचालन गरेका २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले २०८१ वैशाखमा पक्राउ गरेको थियो।

काठमाडौँ अपराध अनुसन्धान कार्यालयका प्रवक्तासमेत रहेका एसपी काजीकुमार आचार्यका अनुसार, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत व्यापक प्रचार गरिने यस्ता धेरै बेटिङ प्लेटफर्ममा भारतीयहरूको लगानी छ। तर ती प्लेटफर्म नेपालीले सञ्चालन गर्छन् र आम्दानी बाँड्छन्। अनलाइन बेटिङको जालोमा कसरी फसिरहेका छन् त नेपाली? यसबारे थप बुझ्न निराजन त्रिपाठीको यो रिपोर्ट पढ्नुहोस् : अनलाइन बेटिङको जालोः नेपालीलाई फसाउँदै रकम भारततिर

जेन–जी भनिने नवयुवाले गरेको भदौ २३ र २४ गतेको आन्दोलनले देशमा ल्याएको उथलपुथलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको दुई महिना बित्यो। आन्दोलनको अन्तर्यमा अरू धेरै कुरा जोडिए पनि यसको चुरो भने भ्रष्टाचार अन्त्य र सुशासन बहालीको माग थियो जसमा नवयुवा पुस्ता चर्कोसँग मुखर भएको थियो।

यहीकारण पनि कार्की नेतृत्वको सरकारले निर्धारित मितिमै निर्वाचन गराउने अग्रसरता सँगसँगै भ्रष्टाचार नियन्त्रणका लागि पनि ठोस पहल गर्ने धेरैको अपेक्षा थियो। तर दुई महिना बित्दासम्म भ्रष्टाचार नियन्त्रणमा सरकारले केही पहल नगरेको भन्दै नवयुवा पुस्ताको एउटा समूहले असन्तुष्टि प्रकट गर्न थालेको छ। प्रधानमन्त्री कार्की र उनको क्याबिनेटका मन्त्रीहरूले पदबहाली लगत्तै भ्रष्टाचार नियन्त्रण र पुराना भ्रष्टाचार छानबिन गर्न शक्तिशाली आयोग बनाएर अघि बढ्ने घोषणा गरेकाले पनि अहिले यस्तो असन्तुष्टि चुलिएको देखिन्छ।

सरकार त्यस्तो आयोग गठन गर्न चाहिँ किन ढिलाइ गरिरहेछ? के भ्रष्टाचार नियन्त्रणको काम अघि बढाउँदै सुशासनको प्रत्याभूति दिन छुट्टै आयोग आवश्यक नै छ त? अहिले भएकै संयन्त्रबाट त्यो काम प्रभावकारी रूपमा गर्न सकिँदैन? विज्ञहरू भन्छन्– प्रधानमन्त्रीले चाहने हो भने अहिलेकै संयन्त्रबाट भ्रष्टाचार नियन्त्रणमा पर्याप्त काम गर्न सक्छन्, छुट्टै आयोग वा संरचना बनाइरहनै पर्दैन।

भ्रष्टाचार हुन नदिने, भइरहेका भ्रष्टाचार र त्यसमा संलग्नहरूलाई नियन्त्रण गर्ने प्रमुख जिम्मेवारी मुलुकका प्रमुख कार्यकारीकै हुन्छ। प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३७ अनुसार २०५९ साउन २७ गते गठन गरिएको राष्ट्रिय सतर्कता केन्द्र यस्तै संयन्त्र हो।

तर सतर्कता केन्द्र स्थापना भए पनि यसको भूमिकालाई भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी बनाउनेमा भने स्वयं प्रमुख कार्यकारी (प्रधानमन्त्री)हरूकै चासो देखिएन। विज्ञहरूका अनुसार अन्तरिम सरकारले २३ वर्ष अघिको यही संयन्त्र अर्थात् राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाएर जेन–जी आन्दोलनले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीको माग अधिकतम सम्बोधन गर्न सक्छ। कसरी ? यसबारे बीपी अनमोलले लेखेको यो समाचार पढ्नुहोस् : प्रधानमन्त्रीले भ्रष्टाचार रोक्न चाहे सतर्कता केन्द्र नै काफी छ

साताका प्रमुख हेडलाइनहरू

देश-समाज

भट्टचन–शेरचनले प्रभु बैंकमा दुरुपयोग गरेको २७ करोड
संस्थापक अध्यक्ष देवी भट्टचन र सीईओ अशोक शेरचनको मिलेमतोमा प्रभु बैंकबाट प्रभु म्यानेजमेन्ट प्रालिमा लगिएको २७ करोड कर्जा दुरुपयोगमा नियामक राष्ट्र बैंककै मौन सम्मति देखिन्छ, कसरी?

एनपीएल अनियमितता: दोस्रो सिजन शुरू हुनलाग्दा पहिलो सिजनकै हिसाब अनुमोदन भएन
सोमबारदेखि एनपीएलको दोस्रो सिजन शुरू हुँदै गर्दा पहिलो सिजनकै हिसाबकिताब क्यानले सार्वजनिक गरेको छैन। सचिव पारस खड्काको विधिभन्दा बाहिर रहने रुचिले यो अवस्था आएको क्यानकै पदाधिकारी बताउँछन्

गिरीबन्धुमा ‘एडभान्स’ लेनदेनको हिसाब सल्टाउँदै मलहोत्रा
गिरीबन्धुको झन्डै ३४४ बिघा जमिनमध्ये १०० बिघाको हिस्सा लिएर मलहोत्रा पनि स्मार्ट सिटी तथा हाउजिङसहितको व्यावसायिक प्रयोजनमा जोडिएका थिए।

जलवायु परिवर्तनको असरसँगै बहुविपद् सामना गरिरहेको मुस्ताङ
बढ्दो तापक्रम, घट्दो हिमपात र बेमौसमी वर्षाजस्ता जलवायु संकटले गर्दा वृष्टिछाया क्षेत्र मुस्ताङको संवेदनशील भूगोल, रैथाने कृषि, पशुपालन र सांस्कृतिक सभ्यतामाथि नै चुनौती थपिएको छ।

पानी पर्नासाथ किन एकैसाथ अवरुद्ध हुन्छन् राजमार्ग?
राष्ट्रिय राजमार्ग बनाउँदा सुरक्षामा ध्यान पुर्‍याइएको छैन, बनाइसकिएपछि नियमित मर्मत हुँदैन। ग्रामीण सडक डोजर चालकले जता चलायो उतै खनिएको छ। सडकको गुणस्तरभन्दा लम्बाइमा ध्यान दिँदाको परिणाम के भयो

अस्पतालहरूले मापदण्ड पालन नगर्दा पार्किङकै झमेला
स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डले अस्पतालमा सेवाग्राहीका लागि पर्याप्त पार्किङ हुनुपर्ने व्यवस्था गरे पनि देशकै ठूला सरकारी अस्पतालहरूमा बिरामी र आफन्तले झमेला बेहोरिरहेका छन्।

विचार-टिप्पणी

महानिरीक्षकको महामहत्त्व
प्रधानमन्त्रीले पत्रकारहरूसँग केदारभक्त माथेमासँग सल्लाह गर्ने गरेको भन्दिएपछि आईजीपी रेसमा रहेका एक जनाबाट गाउँको घरमै उब्जाएको दाल/गेडागुडीमा बायोडाटाको चिर्कटोमिश्रित पोको माथेमा सरकहाँ पुग्यो।

‘जर्मनी लामो समयदेखि नेपालको विकास साझेदार हो’
‘नेपाल र जर्मनीबीच दुई वर्षका लागि ४१ मिलियन युरोको सम्झौता भयो। अहिले यसको कार्यान्वयनका लागि कागजातमा हस्ताक्षर गरेका छौँ। यस रकमको करिब ५० प्रतिशत ऊर्जा क्षेत्रमा जानेछ।’

शरीरले नयाँ मिर्गौलालाई किन शत्रु ठान्छ?
सबै औषधि र तीनका साइड इफेक्टलाई एकै ठाउँमा राखेर कुरा गर्न मिल्दैन। अझ, धेरै समय त्यसैमा काम गरेका, चिकित्सकले नै बेतुकको ठोकुवा गर्नु त अझै लाजमर्दो हो।

बालेनलाई निद्रा लाग्दैन
गृहमन्त्रीको खोइरो खन्नु र भदौ २४ को विध्वंसबाट बौरिन नसकेको नेपाल प्रहरीका सिपाहीहरूले आश्रय लिइरहेको थापाथलीस्थित भवन भत्काउन हतारिएर डोजर लिएर जानु संयोग मात्रै पक्कै होइन।

खेल

मैत्रीपूर्ण खेलमा नेपाल र बांग्लादेशबीच बराबरी
नेपाल र बांग्लादेशबीचको मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको छ।

विश्व

दिल्ली सधैँ त्रसित!
सोमबारको विस्फोट दिल्लीमा भएको पहिलो होइन। ‘दिल्लगीको शहर’ भनेर चिनिने भारतको राजधानी दिल्लीमा पटक–पटक हमला भएका छन्, तर यसपटक १३ वर्षपछि विस्फोटको घटना भएको हो।