साप्ताहिक ब्रिफिङः प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन, एनपीएल ट्रफीमा ८ लाख भ्रष्टाचार
यो साता उकालोमा परराष्ट्रमन्त्रीको वर्षदिन: ‘इंगेजमेन्ट’का नाममा देश–देशावर मात्रै!, प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन, एमाले–कांग्रेसबीच दरार ल्याइरहेको भूमि विधेयकभित्रको ‘खेल’लगायतका शीर्षकका समाचार चर्चामा रहे।
उकालोमा प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन भएको समाचार चर्चामा रह्यो। एमाले सांसदसमेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ।
प्रभु को–अपरेटिभबाट पछिल्लो तीन वर्षयता बचत फिर्ता नपाउने धेरै छन्। यो सहकारीका बचतकर्तामध्ये धेरैजसो बागलुङ र म्याग्दी स्थायी ठेगाना भएका थकाली समुदायका छन्, जो कुनै न कुनै रूपमा देवीको नाता सम्बन्धमा जोडिन्छन्।
सहकारीको अध्यक्ष विनोद थकाली छन् जो देवीकै सहोदर बहिनी–ज्वाइँ हुन्। ज्वाइँलाई अध्यक्ष बनाए पनि सहकारी भने खासमा भट्टचनले नै चलाइरहेको घटनाक्रमले देखाउँछन्।
बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि प्रभु को–अपरेटिभले काठमाडौँ उपत्यकासहित चितवन, बारालगायत ठाउँमा रहेका जग्गा बजारभाउभन्दा निकै महँगोमा बचतकर्तालाई भिडाउन खोजिरहेको छ। ७० लाख रुपैयाँ बचत फिर्ता लिन बाँकी एक बचतकर्ताले काठमाडौँको सीतापाइला लगायतका ठाउँमा त्यस्तो जग्गा हेर्न गए पनि निकै महँगो लागेर नलिएको बताए।
प्रभु को–अपरेटिभको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाको कुल सम्पत्ति एक अर्ब ५४ करोड छ भने तिर्नुपर्ने दायित्व एक अर्ब ३३ करोड छ। सहकारीमा ८७० बचतकर्ताको ९९ करोड ७७ लाख रुपैयाँ निक्षेप र सहकारीबाट प्रवाहित कर्जा एक अर्ब ४५ करोड छ। प्रवाह भएको यही कर्जाले बचतकर्ताको रकम सञ्चालकले कसरी अपचलन गरेका छन् भन्ने देखाउँछ। किनभने, बचतकर्ताको रकममध्ये अधिकांश सञ्चालकका विभिन्न कम्पनीमा लगिएको छ।
पढ्नुहोस् केशु लामिछानेको रिपोर्ट
नदीनाला दोहन गर्न जनप्रतिनिधिले नै कसरी गुन्डागर्दी मच्चाइरहेका छन् भन्ने समाचार पनि चर्चामा रह्याो। प्राकृतिक स्रोत जगेर्ना गर्न लाग्नुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरू नै नदीनालाको अवैध दोहन गर्न पदीय दुरुपयोग गरिरहेका छन्। संरक्षणमा जुटेका अभियन्ता र स्थानीय बासिन्दा उनीहरूको निशानामा परेका छन्। स्याङ्जाको वालिङको आँधीखोलाको दोहनमा पनि त्यहीका जनप्रतिनिधि लागेका छन् ।
आँधीखोलामा अनियन्त्रित रूपमा नदी उत्खनन गरिरहेको डोजर वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालको रहेको खुलेको छ। स्थानीयले वडाध्यक्ष खनाललाई भेटेर आँधीखोलाबाट भइरहेको बालुवा, ढुंगा र गिट्टीको अवैध उत्खननले आसपासका बस्तीहरू नै जोखिममा परेको जानकारी गराए। पुलको छेउमै भइरहेको उत्खननबाट पुलकै संरचना भासिने खतरा देखिएको, पुल भासिए आवागमन नै बन्द हुने र त्यसको सिधा असर बस्तीमा पर्ने भन्दै स्थानीयले वडाध्यक्षलाई सबै समस्या अवगत गराएका थिए। जनप्रतिनिधिको जिम्मेवारी नै हो, स्थानीयको गुनासो सुनेर समाधानको पहल गर्ने। तर वडाध्यक्ष खनालले उनीहरूका कुरा सुनेपछि उल्टै डोजर चलाउन आदेश थिए।
संरक्षणकर्मी, स्थानीय बासिन्दा र वडाध्यक्ष खनालको समूहबीच विवाद बढ्दै जाँदा स्थिति तनावपूर्ण बन्यो। अभियन्ता आले, अर्का अभियन्ता दिनकर नेपाललगायत स्थानीयमाथि वडाध्यक्षको समूहले तथानाम गालीगलौज गर्दै जीउज्यान नै तलमाथि गरिदिने धम्की दियो।
मोटरसाइकलमा सवार आले र नेपालमाथि आक्रमण गर्दा वडाध्यक्ष खनालको समूहले उत्खननको विरोध किन गरेको भन्दै रड प्रहार गरेको थियो। आक्रमणमा दुवै जना घाइते भए। नेपालको त हात नै भाँचियो।
वडाध्यक्षको समूहबाटै सांघातिक आक्रमण भएपछि ज्यान जोगाउँदै प्रहरीसमक्ष पुगेका उनीहरूको उजुरी भने प्रहरीले तत्काल दर्ता गर्नै मानेन। स्थानीय बासिन्दा भेला भएर संघर्ष गरेपछि निवेदन त दर्ता गरियो, तर घटनाका योजनाकारमाथि कारबाही गर्न प्रहरी अघि सरेन।
जनप्रतिनिधिहरू नै बाहुबलको आडमा नदीनाला दोहनमा लागेको घटना आँधीखोलामा सीमित छैन। यसबारे लोकेन्द्र विश्वकर्माले गरेको रिपोर्टिङ पढ्नुहोस् : नदीनाला दोहन गर्न गुन्डागर्दी मच्चाइरहेका जनप्रतिनिधि
साताका प्रमुख हेडलाइन:
देश-समाज
परराष्ट्रमन्त्रीको वर्षदिन: ‘इंगेजमेन्ट’का नाममा देश–देशावर मात्रै!
मन्त्रालयका १० वटा महाशाखालाई १५ वटा बनाएर, कूटनीतिक अनुभव तथा कार्यकुशलता भएका अधिकारीलाई समेत जगेडामा राखेर परराष्ट्रमन्त्री राणाले विचित्रको अभ्यास थालेको देखिन्छ।
अख्तियारलाई विशेष अदालतको प्रश्न– आफ्नै प्रमुख आयुक्त र नेवानि कार्यकारी अध्यक्षलाई मुद्दा किन चलाइएन?
वाइडबडी घोटालामा अख्तियार प्रमुख प्रेमकुमार राई र नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध मुद्दा नचलाइनुलाई ‘चयनमुखी दृष्टिकोण’ भन्दै विशेष अदालतले अख्तियारमाथि नै गम्भीर प्रश्न उठाएको छ।
रिटर्नी माइग्रेन्टको व्यवस्थापन नहुँदा चलिरहेको वैदेशिक रोजगारीको गोलचक्कर
दक्षिण कोरियाले रिटर्नी श्रमिकहरूको सीप पुँजी प्रयोग गरेरै देशको कायापलट गर्यो। तीन दशकदेखि श्रमिक निर्यात गरिरहेको नेपाल भने रिटर्नीबारे गम्भीर हुन नसक्दा वैदेशिक रोजगारीको अटुट श्रृंखला जारी छ।
शहरमा बढिरहेको ‘वर्क फ्रम क्याफे’: अवसर र सिर्जनाको नयाँ थलो
क्याफेहरू कफी पिउने नभई नयाँ सोच फुराउने र स्टार्टअप शुरू गर्ने सिर्जनात्मक ठाउँका रूपमा विकसित हुँदै गएका छन्। क्याफे सञ्चालकले पनि फ्रिल्यान्सरलक्षित कार्यस्थल र सुविधा उपलब्ध गराएर यसलाई प्रोत्साहन गरिरहेका छन्।
साक्षरता दर कम भएको मधेशको बजेटमा शिक्षा नै छैन प्राथमिकतामा
मधेश सरकारले चालु आवका लागि झन्डै ४७ अर्बको बजेट ल्याउँदा ७ प्रतिशत मात्र शिक्षा तथा संस्कृति मन्त्रालयका लागि छुट्यायो। त्यसमा पनि संस्कृतितर्फ धेरै कार्यक्रम छन्। जबकि, मधेश साक्षरता दर कम भएको प्रदेश हो।
एमाले–कांग्रेसबीच दरार ल्याइरहेको भूमि विधेयकभित्रको ‘खेल’
अहिलेको विधेयक जस्ताको तस्तै पारित भए विभिन्न संस्था र निकायले आफूसँग भएको हदबन्दीभन्दा धेरै जग्गा घडेरी नै वा घर बनाएर बेच्न पाउनेछन्। कांग्रेस सांसदहरूले यही प्रावधानमा संशोधन हालेका छन्।
आईसीसीको मञ्चमा चर्चा पाएको कालापत्थरको ढुंगा, त्यसमै भएको थियो ८ लाख भ्रष्टाचार
नेपाल प्रिमियर लिगको ट्रफीमा राख्ने सगरमाथा आधारशिविरको पत्थर ल्याउन करिब आठ लाख रुपैयाँ गोलमाल गरिएको तथ्य फेला परेको छ। यसले अनियमितताको दलदलमा परेको एनपीएलमा केसम्म गरियो भन्ने देखाउँछ।
विचार-टिप्पणी
सरकारी जग्गा कब्जाबारे टीकापुरका मेयर– ‘हामी मात्र सक्दैनौँ, संघबाटै हस्तक्षेप जरुरी छ’
टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारूले क्याम्पसको नाममा रहेको सरकारी जग्गा कब्जा गरी बसेका अव्यवस्थित बसोबासीलाई हटाएर जग्गा खालि गर्ने काम आफ्नो तहबाट सम्भव नभएको भन्दै संघलाई गुहारेका छन्।
द्वन्द्वपीडितको न्यायमाथि भइरहेको छलछाम
पीडितको नजरमा विश्वसनीय बन्नै नसकेका संक्रमणकालीन न्यायका विद्यमान संयन्त्रहरूले न्याय दिने आशा छैन। बरु मुलुकले अन्तर्राष्ट्रिय तहमा पीडितको न्याय सुनिश्चित गर्न नसक्ने देशका रूपमा बेइज्जतीको सामना गरिरहनुपर्नेछ।
कम्युनिस्ट आन्दोलनका माल्दाइ
‘माइला मैले बालेको प्रजातन्त्रको दियो तैँले प्रज्वलित गर्नेछस्।’ शहीद गंगालालले आफ्ना भाइ पुष्पलाललाई भनेको यही वाक्य नै माल्दाइको राजनीतिक यात्राको पहिलो पाइला थियो।
कला/ जीवनशैली
भक्तपुर दरबार स्क्वायरमा एक दिन
भक्तपुरका साँघुरा गल्ली मेरा निम्ति प्रिय छन्। यी गल्लीका पुराना घरका बीचबीचमा रङले छोपिएका स–साना मन्दिर भेटिन्छन्। त्यहाँ बुझ्नै नसकिने अक्षर कोरिएका जुगौँ पुराना शिला छन्।
खेल
यू२० साफ च्याम्पियनसिप: नेपाल उपविजेतामा सीमित
नेपाल यू२० साफ वुमेन्स च्याम्पियनसिप २०२५ को उपविजेतामा सीमित भएको छ। सोमबार ढाकास्थित बसुन्धरा किङ्स एरेनामा भएको अन्तिम तथा निर्णायक खेलमा आयोजक बांग्लादेशसँग ४–० गोलको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको उपाधि जित्ने सपना अधुरै रहेको हो।
उपाधि जित्नका लागि नेपाललाई यो खेलमा बांग्लादेशमाथि जित आवश्यक थियो, तर घरेलु टोली बलियो साबित भयो। बांग्लादेशको प्रभावशाली जितमा सागोरिका नायिक नायक रहिन्। उनले खेलको ८, ५१, ५८ र ७७औँ मिनेटमा गरी ह्याट्रिकसहित चार गोल गरिन्। उनी बांग्लादेशी राष्ट्रिय टोलीकी सदस्य पनि हुन्।
डबल राउन्ड रोबिनको आधारमा सञ्चालन भएको यस प्रतियोगितामा यो नतिजापछि बांग्लादेश सबै ६ खेलमा विजयी रहँदै १८ अंकका साथ शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको हो। नेपाल भने १२ अंकमा सीमित रहँदै उपविजेता बनेको हो। नेपालले प्रतियोगितामा भोगेका दुवै पराजय बांग्लादेशविरुद्ध नै थिए। पहिलो खेलमा बांग्लादेशले नेपाललाई ३–२ ले पराजित गरेको थियो।
विश्व
फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने
फ्रान्सका राष्ट्रपति म्याक्रोनले आउँदो सेप्टेम्बरमा प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने बताएका हुन्।
थाइल्यान्ड-कम्बोडियाको विवादित सीमा क्षेत्रमा सेनासँग झडप हुँदा १२ जनाको मृत्यु
थाइल्यान्ड र कम्बोडियाको विवादित सीमा क्षेत्रमा भएको झडपमा ११ जना सर्वसाधारण र एक जना सैन्य कर्मचारी गरी १२ जनाको मृत्यु भएको थाई अधिकारीहरूले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

