‘फ्री ह्यान्ड’झैँ थियो प्रहरीः रणभूमि बनेको बानेश्वरमा जे देखियो

जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु र अरू धेरै जना घाइते हुने गरी प्रहरीले गोली चलाएको बानेश्वर क्षेत्रमा दिनभर बस्दा देखियो– प्रहरीको भूमिका अस्वाभाविक थियो।

काठमाडौँ– सोमबार बिहान ११ बजेदेखि प्रदर्शन शुरू हुने पूर्वनिर्धारित कार्यक्रम भए पनि ९ बज्दानबज्दै माइतीघर मन्डलमा भीड जम्मा हुन थालिसकेको थियो। त्यो भीडमा धेरैजसो कलेजबाटै हानिएर आइपुगेका युवा थिए। कति त कलेज पोशाकमै थिए।

बिहान साढे दश बजेतिर उनीहरू त्यहाँ कुनैबेला आन्दोलनलाई जुरुक्कै उचाल्न कुनैबला गाउने गरिएको ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार..’ गीतमा झुमिरहेका थिए। उनीहरू अर्थात् जेनजी पुस्ता जो भ्रष्टाचार नियन्त्रणको माग गर्दै र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा पहिलोपटक स्वःस्फूर्त रूपमा प्रदर्शनमा उत्रिएका थिए।

११ बज्नसाथै उनीहरूको ठूलो समूह नयाँ बानेश्वरतर्फ लाग्यो। उनीहरू अघि बढ्दै जाँदा संख्या थपिँदै गयो, अनि बोल्ने र नारा लगाउने ‘टोन’ पनि फेरिँदै गयो। त्यहाँभित्र प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रमुख दलका नेताहरूविरुद्ध चर्का नारा लाग्न थाले। माइतीघरबाट बानेश्वरतर्फ हानिएको विशाल समूहको नेतृत्व गर्ने संस्था कोही नचिनिए पनि ‘धेरै अगाडि नबढम्’ भन्दै पहिलो लहरमा रहेका युवाहरू त्यो र्‍यालीलाई रोक्ने प्रयास गरिरहेका देखिन्थे।

चार लेनको माइतीघर–बानेश्वर सडक खण्डमा माइतीघरबाट देब्रे लेन मात्र प्रयोग गरिरहेका जेनजी पुस्ताका प्रतिनिधिहरू संख्यात्मक रूपमा बढ्दै गएसँगै बीचको लेनमा पनि सरे। यो प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भनिए पनि बीचमा कतै प्रहरीको तैनाथी थिएन। केही प्रहरी काठमाडौँ जिल्ला अदालत अगाडि लहरै उभिएका थिए। 

चर्का नारा लगाउँदै अगाडि बढिरहेको जेनजी समूह त्यहाँबाट अगाडि बढेर जब बिजुली बजारको ‘आर्क ब्रीज’ पार गर्‍यो, उनीहरूको संख्या अझ विशाल देखियो। किनभने, बानेश्वरतर्फ पहिल्यैदेखि ठूलो संख्यामा जेनजी प्रदर्शनकारीहरू जम्मा भइसकेका थिए। त्यो भीडमा रहेका अधिकांशको हातमा प्लाकार्ड थियो, जसमा ‘स्टप करप्सन’, ‘हामीले तिरेको कर खोइ?’ जस्ता नारा लेखिएका थिए। 

भीड निरन्तर बानेश्वरतर्फ अघि बढिरहेको थियो। 

प्रायः काठमाडौँमा प्रदर्शन हुँदा, त्यसमा पनि माइतीघर क्षेत्रमा जुलुस आयोजना हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली बानेश्वरको एभरेस्ट होटलनजिक ‘ब्यारिकेड’ बनाएर बस्ने गर्छन्। सोमबारको जेनजी पुस्ताको प्रदर्शनलाई ध्यानमा राखेर पनि उनीहरूले ब्यारिकेड राखेका थिए। तर बानेश्वरतर्फ पुग्नेक्रममा क्रमशः आक्रामक बनिरहेका प्रदर्शनकारीको सामान्य बलजफ्तीमै प्रहरी ब्यारिकेडको केही लागेन। करिब आधा घण्टाकै बीचमा त्यो ब्यारिकेड तोडियो। null

त्यहाँको नेतृत्व काठमाडौँ प्रहरी परिसरका डीएसपी सुन्दर तिवारी गरिरहेका थिए।

प्रहरीले करिब ६ सेल ‘टियर ग्यास’ हान्दा पनि भीड पछि नहटेपछि त्यहाँ रहेका प्रहरी ब्यारिकेड छाडेर पछाडि हटे। डीएसपी तिवारीले तत्कालै पछाडि ‘स्ट्यान्ड बाई’ रहेको पानीको फोहोरा फाल्ने गाडीलाई अगाडि बढ्न आदेश दिए। तर पानीको फोहोरा फाल्ने गाडी दुई मिनेटभन्दा धेरै टिक्न सकेन। 

त्यहाँ ‘हामी नेपाल’का संयोजक सुदन गुरुङ र सरसफाइ अभियन्ता केपी खनाल बारम्बार हात जोडेर “प्लिज, ब्यारिकेडभन्दा उत्ता नजाऔँ”, “यतै बसौँ” भनेर याचना गरिरहेका थिए। तर जेनजी समूह रोकिएन। अनि क्षणभरमै बानेश्वर चोक जेनजीमय बन्यो।

null

निशानामा संसद् भवन
सोसल प्लेटफर्म टिकटकमा सोमबारको प्रदर्शनबारे घोषणा भइरहँदा धेरैले त्यो प्रदर्शनको टार्गेट संघीय संसद् भवन हुने भिडियो बनाएर पोस्ट गरेका थिए। यतिसम्म कि कतिपय एनिमेटेड भिडियोमा संसद् भवन जलिरहेको समेत देखिन्थ्यो। कतिपयले बांग्लादेशको संसद् भवन प्रदर्शनकारीले कब्जा गर्दाको भिडियोसमेत राखिरहेका थिए। अर्थात् उनीहरूको निशानामा संसद् भवन पर्छ भन्ने संकेत दुई तीन दिन पहिल्यै देखिइसकेको थियो।

नभन्दै प्रदर्शनकारीहरूको ठूलो समूह बानेश्वरस्थित प्रहरीको ब्यारिकेड तोड्नेबित्तिकै संसद् भवनतिर सोझियो। प्रहरी टियर ग्यासको सहारा लिँदै उनीहरूभन्दा पहिल्यै संसद् भवनको मूल गेटअगाडि पुगिसकेको थियो। संसद् भवनअगाडि पनि ठूलो संख्यामा भीड जम्मा हुनथालेपछि डीएसपी तिवारी आफै माइकिङ गर्दै आए, “भाइबहिनीहरू कर्फ्यु आदेश भइसकेको छ, तपाईंहरू जानूस् यहाँबाट।”

तर प्रदर्शनकारीहरू टसमस भएनन्। बरु संसद् भवनलाई नै निशाना बनाएर गेटछेउमा पुगे। कोही गेटअगाडि थ्याच्च बसिदिए। 

डीएसपी तिवारी पनि रोकिएनन्, उनले लाठीचार्ज गर्न आदेश दिए। प्रहरीले दनादन लाठी बर्सायो, तर भीड यति धेरै जम्मा भइसकेको थियो कि लाठीचार्जको पनि काम लागेन। 

त्यहाँको अवस्था हेर्दा लाग्थ्यो, धेरैलाई कर्फ्यु आदेशबारे थाहै छैन। त्यहीबेला २०–२५ जनाको समूह संसद् भवनको मूल ढोकास्थित छेउतिरको छतमा चढेर नेपालको झन्डा फर्फरायो। त्यो देखेर अरू प्रदर्शनकारी उत्साहित देखिए। लगत्तै भीडबाट ‘छिरौँ छिरौँ’ भन्ने आवाज मात्र के आएको थियो, त्यसको ठीक पछाडिको भवनबाट प्रहरीले टियर ग्यास बर्साउनथाले।
null

टियर ग्यास हानिएको त्यो भवनमा कान्तिपुर एकेडमी लेखिएको थियो। केही सुरक्षाकर्मी त्यही भवनको चौथो र पाँचौ तलाबाट टियर ग्यास बर्साइरहेको ग्लोबल कलेजको ड्रेसमा देखिएका एक विद्यार्थीले बताए। उनले आफू त्यो भवनभित्र गएर हेर्दा भर्‍याङभरि टियर ग्यासको खोल देखेको बताए।

उनले भने, “सिभिल ड्रेसमा लुकेर बसेका छन् दुई जना। म भित्र छिर्दा त्यहाँ काम गर्ने दिदीहरूले पनि भाइ, माथि पुलिस छन् है भन्नुभयो।” 

आइतबार उकालोसँग कुरा गर्ने क्रममा काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी अपिलराज बोहराले जेनजी आन्दोलन सिंहदरबार र संसद् भवनकेन्द्रित हुनसक्ने भएकाले ती क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइने बताएका थिए। प्रहरीको सुरक्षा चुस्त बनाइने हुँदा चैत १५ गते राजावादी आन्दोलनमा मान्छे मारिए जस्तो स्थिति नआउने दाबी पनि उनले गरेका थिए।

तर उनले भनेजस्तो सोमबार एभरेस्ट होटल अगाडिको ब्यारिकेड तोडिँदासम्म पनि प्रहरीको कुनै तयारी देखिएन। बरु टियर ग्यास र गोली मात्र उनीहरूको सहारा बनेको देखियो।

र ‘फ्रि ह्यान्ड’ प्रहरी
बानेश्वरको ब्यारिकेड पार गरेर संसद् भवनअगाडि पुगेका प्रदर्शनकारी साढे १२ बजेसम्म उग्र बने पनि हिंसात्मक भइहालेका थिएनन्। अनि आन्दोलनमा आएकाहरूले संसद् भवनको मुल गेटमा ढुंगा बर्साउँदै आगो सल्काउन खोज्दासम्म पनि प्रहरीले लाठी चार्ज र टियर ग्यास मात्र हानिरहेको थियो।

१२ः४५ बजेतिर संघीय ससद्को मूल गेट पछाडिबाट एकाएक चलेको प्रहरीको गोली लागेर एक युवा ढले। शुरूमा ‘रबरको गोली हान्यो’ भन्दै केही युवा आक्रोशित देखिए। तर करिब एक बजेतिर उनको मृत्यु भइसकेको सूचना बाहिरिएपछि प्रदर्शनकारीहरू पनि उग्र बने। 

त्यतिबेलासम्म मूल गेटअगाडि डीएसपीकै कमान्डमा प्रहरी परिचालित थियो। तर प्रहरीको गोली लागेर संसद् भवनकै अगाडि दोस्रो व्यक्ति ढलेपछि डीएसपी तिवारी साँझसम्म त्यहाँ देखिएनन्। 

null

त्यहाँ घाइतेहरूको उद्धारमा परोपकारी संस्था ‘हन्ड्रेड ग्रुप’का सदस्य नरेन्द्र पटेल खटिएका थिए। उनले सुनाए, “करिब ५० जना बढीलाई त मैले प्रत्यक्ष रूपमा सिभिल अस्पताल ल्याएँ। अधिकांशको टाउको र छातीमा गोली लागेको छ। पाँच जना जति त स्कुल ड्रेसमा थिए। प्रहरीलाई हेर्दा लाग्छ, कसैले अन्धाधुन्ध गोली हाने हुन्छ भनिदिएको छ।”

साँझ पाँच बजेसम्म १५ जनाको गोली लागेर मृत्यु भएको पुष्टि हुँदासम्म बानेश्वरको भीड तितरबितर भइसकेको थियो। तर केही प्रदर्शनकारी सिभिल अस्पताल र एभरेस्ट होटलतिर जम्मा थिए। त्योबीचमा प्रहरीले सिभिल अस्पताल परिसरमा पनि टियर ग्यास प्रहार गर्‍यो। 

टाउकोमा गोली लागेर रक्ताम्य अवस्थामा रहेका घाइतेहरूलाई सिभिल अस्पताल पुर्‍याइरहेको हेरिरहेका प्रदर्शनकारी रमेश पौडेल आक्रोश पनि पोख्दै, रुँदै थिए, “हाम्रो पुस्ताले यो देशको के बिगारेको छ र बोइलर कुखुरा मारे जस्तो हाम्रा साथीहरूलाई मारिरहेका छन्? यो देश हाम्रो पनि होइन र?” 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी अपिलराज बोहराले भने प्रहरीलाई फ्री ह्यान्ड नछाडेको दाबी गरे। उनले संसद् भवन नै जलाउन खोजेपछि बाध्य भएर गोली चलाउनु परेको बताए। “फ्री ह्यान्ड त कहाँ छोड्नु, अवस्था नै अनियन्त्रित भएपछि गोली चलाउनु मात्रै विकल्प रह्यो,” उनले भने, “एम्बुलेन्स र मानव अधिकार आयोगको गाडी जलाउँदा स्थिति नियन्त्रणमा लिनैपर्ने भयो। प्रहरीतर्फ पनि ४०–५० जना घाइते छन्।”

जब प्रहरीलाई‌ भ्रष्ट पार्टीका नेताहरुले चलाउन थाले र त्यस्तै भ्रष्ट प्रहरीका हाकिमहरुले आफ्नो व्यक्तिगत अभिष्ट पूरा गर्न यो कदम स्वीकारे त्यही बेला देखि प्रहरीमा व्यवसायिकता सकियो ।‌ हिजोको प्रहरीको हर्कतले संका उब्जायो कि कथित कम्युनिष्ट माओवादीका लडाकुहरु पनि प्रहरीमा भर्ना गराइयो ।‌ कथित प्रजातान्त्रवादी पत्रु कांग्रेसले सरकारवाट बाहिरन नसकेको अबस्थालाई कसरी बुझ्ने?

SA

2 months, 1 week ago