किन जुध्छन् दशैँ र जात्राहरू?

नेपालमा दशैँको समयमा थुप्रै ऐतिहासिक र सांस्कृतिक जात्रा पनि सञ्चालन भइरहेका हुन्छन्। यी जात्रा दशैँसँग जुधेको जस्तो देखिए पनि जानकारहरूका अनुसार यी दुवैको केन्द्रमा शाक्त धर्मको आराधना नै रहेको हुन्छ।

काठमाडौँ– हरेक वर्ष दशैँ नमनाउने नेवार बस्तीका रूपमा चर्चा हुने स्थान हो, खोकना। त्यहाँ इष्टदेवी रुद्रायाणीको उपासना र मुकुन्डो नाच हुने गर्छ। दशमीको तेस्रो दिनबाट शुरू भई अष्टमीको दिन भोज गरेर समापन हुने रुद्रायाणी जात्राको रौनकका कारण नै खोकनामा दशैँको चहलपहल नहुने त्यहाँका स्थानीय बताउँछन्।

खोकना मात्र नभई काठमाडौँका अन्य स्थानमा पनि दशैँको अवधिमा धूमधामसँग जात्रा भइरहेको हुन्छ। आश्विन शुक्ल पञ्चमीदेखि शुरु हुने एउटा जात्रा हो, पचली भैरवको जात्रा। वसन्तपुरको कोने यंगाल क्षेत्र (दक्षिणकोली ग्राम)का ज्यापु समुदायले मनाउने यो जात्रामा थकुजुजु (नाइके)को घरबाट आरम्भ भई अन्य बाह्रजना गुठियारसहितको ज्यापु समुदायले पचलीभैरवलाई 'कवँद्यः' (घ्याम्पो स्वरूप)मा राखेर टोलटोलमा पूजाका लागि लैजाने गर्छन्।

यस जात्रामा काठमाडौँकी राजकीय कुमारीको पनि दर्शन पाइन्छ। कुमारीले वर्षमा १३ दिन मात्र बाहिर निस्कन पाउँछिन्, जसमा यो जात्रा पनि एउटा हो। जात्रामा भैरवको तरबार शक्ति आदानप्रदानको रूपमा तत्कालीन समयमा राजासँग साटासाट हुन्थ्यो।

तस्वीर : द नेवारज्

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाकै दिन काठमाडौँको हाँडीगाउँमा नारायण देवताको जात्रा हुन्छ। यस जात्रामा तीनतल्ले गजुर भएको छत्रजस्तो देखिने, गजुर मुनितिर फर्काइएको र मैनको फूलले सजाइएको खट देख्न पाइन्छ, जसका कारण यो जात्रा 'कहीँ नभएको जात्रा हाँडीगाउँमा' भन्ने उखानको रूपमा अझ बढी प्रचलित छ।

काठमाडौँ उपत्यकाबाहिर धुलिखेलमा पनि भगवतीको जात्रा हुने गर्छ। यो जात्रा बडा दशैँको टीकाको दोस्रो दिन हुन्छ र यसलाई 'भगवतीकी आमा छोरीको जात्रा'को रूपमा मानिन्छ।

यस जात्रासँग सम्बन्धित जनश्रुतिअनुसार परापूर्वकालमा धुलिखेलको एक भेगमा भगवती देवी साक्षात् भएकी थिइन्। धुलिखेल र श्रीखण्डपुरका स्थानीयले देवीलाई आ-आफ्नो स्थानमा लैजानको लागि अनुरोध गर्दा, देवीले बहुमूल्य गरगहना ल्याउनेकोमा जाने बताइन्। श्रीखण्डपुरका बासिन्दाले सुनका गहना ल्याए पनि धुलिखेलका बासिन्दाले भने काँक्रो, मुला लगायतका फलफूलको माला चढाए। यसबाट प्रसन्न भएर देवी धुलिखेल आएको विश्वास गरिन्छ। यो जात्रा धुलिखेलको चुके खलकबाट शुरू हुने जात्रा सञ्चालक अर्विन माकजु बनाउँछन्। उनका अनुसार यो जात्रा दशैँ र नयाँ वर्ष गरी वर्षमा दुई पटक हुन्छ।

शाक्त धर्ममा केन्द्रित 'पायो जात्रा'
दशैँ अवधिभर विभिन्न नेवार बस्तीमा 'पायो जात्रा' हुन्छ। नेपाल भाषामा 'पाः' क अर्थ 'काट्नु' हो भने 'या'को अर्थ 'यात्रा' हो। यसलाई सरलीकरण गर्दा 'पायो जात्रा' अर्थात् खड्ग जात्रा भनिन्छ।

शक्तिकी देवी नवदुर्गा र अष्टमात्रिकाका अस्त्रको पूजा र प्रदर्शनीको रूपमा पायो जात्रा हुने गर्छ। हाँडीगाउँ, असन, मरु गणेश, यट्खा बहालदेखि कीर्तिपुरसम्म यस्ता जात्रा दसमी र त्यसपछिको दिन हुने गर्छन्।

नुनदेखि सुनसम्म पाइने असनमा टीकाको भोलिपल्ट अन्नपूर्णो देवीको पायो जात्रा हुन्छ। यसमा गुठियारहरूको सबैभन्दा कान्छो पास्नी सकेको छोरालाई खड्ग बोकाएर पायो निकाल्छन्।

तस्वीर : मनोजरतन शाही

अन्नपूर्ण देवीको छोरा वसन्तपुरस्थित काष्ठमण्डपसँगै रहेको मरुगणेशलाई मानिन्छ। गजुर नभएको गणेश भएकोले यो ठाउँको नाम 'मरुगणेश' हुन गएको हो। धार्मिक किंवदन्तीअनुसार यस गणेशलाई मत्र्यमण्डलमा भइरहेका घटनाको जानकारी दिन स्वर्ग जानुपर्ने भएकाले मन्दिरको छानामा गजुर नराखी प्वाल राखिएको मानिन्छ। मरुगणेशका सम्बन्धित गुठियारबाट पायो जात्रा निकालिन्छ।

प्रायः स्थानमा पुरुषप्रधान सहभागिता हुने पायो जात्रामा कीर्तिपुरको पायो जात्रा भने अपवादमा पर्छ। दशमीको दिन हुने यस जात्रामा कीर्तिपुरका प्रधान थरीका चेलीबेटी र सदुवा बुहारीहरूले सिन्दूर जात्रामा अगुवाइ गर्छन्।

यो परम्पराको शुरूआत बुझ्न कारण पृथ्वीनारायण शाहले कीर्तिपुरमा गरेको आक्रमणको समयमा पुग्नुपर्छ। पटकपटकको आक्रमणपछि बल्ल जित हासिल गर्दा पृथ्वीनारायण शाहले धेरै नोक्सानी बेहोर्नुपर्‍यो। आक्रमणका क्रममा आफ्ना प्रिय सेनापति कालु पाण्डेको मृत्यु भएको थियो भने छोरा सुरप्रताप शाहको एउटा आँखा फुटेको थियो। त्यसपछि कीर्तिपुरका पुरुषहरूको नाक, ओठ काटिदिएको भनाइ प्रचलित छ।

त्यसबेला त्यहाँका स्त्रीहरूले पायो जात्राको परम्परालाई कायम राख्न सोही जात्रामा सिन्दुर जात्रा गरे। सिन्दुर जात्राको सांकेतिक अर्थ युद्धमा मरे वा घाइते भएका आफ्ना पुरुषको हार नभई विजय भएको सन्देश दिनु थियो।

null

कीर्तिपुर पायो जात्राका नाइके एवं अध्येता प्रयागराज प्रधानले जात्रामा महिलाको अगुवाइ हुनुको ऐतिहासिक कारणबारे थप स्पष्ट पारे। उनका अनुसार, पृथ्वीनारायण शाहले कीर्तिपुरमा विजय हासिल गरेको ६ महिनापछि दशैँ आएको थियो। ठूलो नोक्सानी बेहोरेका कारण त्यसबेला उनले शक्तिको रूपमा प्रचलित पायो जात्रा देख्न नसकेपछि यसमा महिलासहितको सिन्दुर जात्रा मिसिएको हो।

प्रधानका अनुसार, दशैँ शाक्त पूजा र आराधनामा केन्द्रित पर्व हो, त्यसैले यसबेला देवीहरूको पूजा हुन्छ। शाक्त धर्मको केन्द्रमा महादेव, विष्णु र ब्रह्माभन्दा पनि अष्टमात्रिकाको पूजा हुने उनी बताउँछन्। विष्णुको शक्तिको रूपमा वैष्णवी, महादेवको शक्तिका रूपमा रुद्रायणी र ब्रह्माको शक्तिको रूपमा ब्रह्मायणीलगायत अष्टमात्रिकाको पूजा हुन्छ।

घटस्थापनाअघि अष्टमात्रिकाको पूजा हुन्छ। नवरात्रीमा नवदुर्गाको पूजा, आराधना हुँदै दशमीको दिन यी सबै शक्ति विसर्जन हुन्छ। अनि शक्तिको रूपमा खड्गमा सिन्दूर लगाएर जात्राको रूपमा नगर परिक्रमा हुने गर्छ। “यसरी, दशैँमा जात्रा जुधेको जस्तो देखिए पनि केन्द्रमा भने शाक्त धर्ममा आधारित देवीको आराधना नै हुन्छ,” प्रधान भन्छन्।