‘कति परिवार आफ्ना सन्तान जिउँदै छन् कि छैनन् भन्नेबारे पनि बेखबर छन्। उनीहरू आउने हुन् कि होइनन्, टुंगो छैन। धेरै श्रीमतीहरूलाई आफ्ना श्रीमान् सकुशल छन् कि छैनन् भन्ने पनि थाहा छैन।’
रुस–युक्रेन द्वन्द्वको शुरूआत सन् २०१४ बाटै भएको हो। सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण रूपमा हमला गरेर केही भूमि कब्जासमेत गर्यो। रुसी आक्रमणलाई युक्रेनले पनि प्रतिवाद गर्यो। यो द्वन्द्वमा कैयौँ मानिस मारिए, लाखौँ विस्थापित भए। युद्धपीडित एक युक्रेनी नागरिक ओल्गा यतिबेला नेपाल घुम्न आएकी छन्। उनले भोगेको युद्धको सेरोफेरोमा रहेर उकालोका लागि आमोद प्याकुरेलले ओल्गासँग गरेको कुराकानीः
तपाईंको बारेमा अलिकति बताइदिनुस् न!
मेरो नाम ओल्गा हो। म युक्रेनी हुँ। अहिले ३७ वर्ष पुगेँ। मेरा दुई छोरा छन्– एउटा ७ वर्षको भयो, अर्को ५ वर्ष पुग्यो। जेठोको नाम भ्लाद र कान्छोको नाम साशा हो। मेरो घर युक्रेनको पूर्वी भूभाग लुहान्स्कको एउटा सानो शहर स्तारोबेल्स्कमा पर्छ। मैले विश्वविद्यालयको पढाइ त्यहीँ पूरा गरेँ। भाषा अध्ययन मेरो रुचिको विषय हो। म अहिले पनि आठ वटा भाषा जान्दछु।
यसको मतलब तपाईं आठ वटा भाषा बोल्नुहुन्छ?
भाषा सिक्नु र फरर बोल्नु भिन्न कुरा हुन्। हुन त मैले अंग्रेजी, स्विडिस, जर्मन, फ्रेन्च, पोलिस, जापनिज लगायतका भाषा सिकेको हुँ। तर यीमध्ये तीनवटा मात्र नअड्की बोल्न सक्छु।
भाषाप्रति किन यति धेरै मोह?
मान्छेका सोख हुन्छन् नि! भाषा सिकियो भने धेरै सहज हुन्छ। फरक भूगोलका मानिससँग बातचित गर्न सकिन्छ, उनीहरूले यो विश्वलाई कसरी बुझिरहेका छन् भनेर जान्न पाइन्छ। मलाई विभिन्न समुदायका संस्कृति र रीतिरिवाजबारे चाख छ, भाषाले त्यसमा पनि सहयोग पुर्याउँछ।
युक्रेनमा तपाईं के गर्नुहुन्थ्यो?
धेरै थरी काम गरियो। केही समय अन्तर्राष्ट्रिय मामिला हेर्ने एक कम्पनीमा थिएँ। व्यापार व्यवसायमा जोडिएँ। शिक्षक भएर अंग्रेजी पनि पढाएँ। केही समय अमेरिका बसेर पनि काम गरेँ।
युक्रेन युद्धमा फसेको पनि लामो समय भइसक्यो है?
हो, १० वर्ष पुग्यो। यसको थालनी २०१४ बाट भयो। त्यतिबेला म लुहान्स्कमा बस्थेँ। त्यो दिन मलाई अहिले पनि याद छ। म सिटी सेन्टरमा थिएँ। शुरूमा सानो प्रदर्शनी भयो। त्यसपछि हातहतियार बोकेका मानिस देखा परे। सशस्त्र बल आइपुग्यो। रूसी भूभागतिरबाट ठूला–ठूला हातहतियारयुक्त मेसिनहरू आइपुगे, ती भयंकर र डरलाग्दा थिए। त्यसमा रुसी झण्डा फहराइएको थियो। तर अचम्म! लुहान्स्कमा उभिएर रुसी मिडियाहरू ‘यहाँ रुसी सेना छैनन्’, ‘युक्रेनीहरू युक्रेनमा बस्न चाहँदैनन्’ लगायतका समाचार फुकिरहेका थिए। परिस्थिति असहज बन्दै गयो। मध्यरातमा बन्दुकको आवाज सुनिन थाल्यो। उनीहरूले शहरमा गोलाबारुद हाने। त्यसपछिका दिन झन्–झन् डरमर्नु भयो।
नेपाल कसरी आइपुग्नुभयो?
मेरो श्रीमान्को नाम दिमित्रि हो। हामी एकअर्कालाई असाध्यै प्रेम गर्थ्यौं। दुई वर्ष पहिले उनी भोल्युन्टियरको रूपमा युक्रेनी सेनामा प्रवेश गरे। सन् २०२२ को अगस्टमा रुससँगको युद्धमा परेर उनको मृत्यु भयो– छोराछोरी टुहुरा भए र म एक्लिएँ। यतिबेला म उनीबिनाको संसारमा कसरी जिउने भनेर सिकिरहेकी छु।
हरेक पटक बिदा पाउँदा उनी हामीलाई भेट्न आउँथे। छोराछोरी कत्ति धेरै रमाउँथे। हामी किभ बस्थ्यौँ, सन् २०१४ देखि नै किभ बस्दै आएका थियौँ। तर श्रीमान्को वियोगपछि त्यहाँ बस्न असाध्यै गाह्रो भयो, खतरा पनि थियो। त्यसपछि मैले विभिन्न देश घुम्ने निर्णय गरेँ। केही समयअघि दुवै छोरालाई लिएर युरोपेली मुलुकहरू पुगेँ। त्यहाँ केही समय बिताएर युक्रेन फर्कियौँ। अहिले नेपाल आयौँ। नेपाल आउने मेरो पहिलादेखिकै सपना थियो, यहाँका अग्ला–अग्ला हिमालले मलाई सँधै लोभ्याउँथ्यो। यहाँ आएको पनि १०/१२ दिन भइसक्यो। ठूलो वेदनाबाट गुज्रिरहेको थिएँ, अहिले अलि हलुंगो महसुस गर्दैैछु।
तपाईं युक्रेनबाट हिँड्ने बेला गुम्बामा बसौँला वा गुम्बा बसाइ नै थेरापी बन्ला भनेर सोच्नुभएको थियो?
पहिला त नेपाल पुग्ने योजना मात्र थियो। मलाई एउटा साथीले आफू नेपाल जाँदा एक गुम्बामा पुगेको अनुभव सुनायो, बालबच्चा र मेरा लागि गुम्बा बसाइ उपयुक्त हुने उसको सुझाव थियो। यसरी म गुम्बामा ठोक्किन आइपुगेँ र यहाँ बसेर मैले असाध्यै सही निर्णय गरेँ भन्ने लाग्छ।
नेपालमा युक्रेनी समुदाय छ? तपाईंले भेट्नुभएको छ?
छैन। मेरा केही साथी पहिल्यै नेपाल भ्रमणमा आएका थिए। उनीहरूले मलाई नेपाल घुम्ने सुझाव दिएका हुन्।
तपाईंको श्रीमान्को मृत्यु हुँदा छोराहरू कति वर्षका थिए?
एउटा साढे तीन वर्षको थियो, अर्को ६ वर्षको।
त्यो समय असाध्यै कस्टकर थियो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ। तर तपाईंले परिस्थितिलाई कसरी सम्हाल्नुभयो?
मसँग कुनै शब्द नै छैन। दिमित्रि योद्धा थिए। एमएमए (मिक्स्ट मार्सल आर्ट) फाइटर थिए। जिन्दगीका बारेमा हाम्रो केही समान धारणा थिए। हामी पुनर्जन्मका बारेमा पनि सोच्थ्यौँ, कतिपय कुरा मिल्थे पनि। यो एक किसिमको पागलपन जस्तो पनि लाग्ला। यस्ता विविध कुराले समय कटाउन सहज भयो।
सन् २०२२ मा युद्ध शुरू हुनुभन्दा पहिला तपाईंको श्रीमान् पूर्ण रूपमा ‘एमएमए फाइटर’ हो?
हो। उनी ‘कोच’ र ‘एमएमए फाइटर’ थिए। उनीबाट प्रशिक्षित भएकाहरू आज पनि ‘फिल्ड’ मा जाँदा उनको सम्मानमा उनकै नाम खोपिएको ‘प्याच’ लगाएर जान्छन्।
तपाईं राजनीतिलाई कसरी हेर्नुहुन्छ?
युक्रेनमा मेरो परिवार छ, त्यो मेरो जन्मभूमि हो। यदि कसैले जन्मभूमिमाथि आक्रमण गर्छ भने प्रतिरक्षामा उत्रिनुपर्छ। कतिपय रुसीहरूले युक्रेनलाई जोगाउने कुरा गर्छन्, तर त्यो सरासर अफवाह हो। के जोगाउने? उनीहरूले युक्रेनीको दिमाग भुटिरहेका छन्, बस्।
पहिला मेरो जिन्दगी ठीकठाक चलिरहेको थियो। करिअर पनि राम्रो थियो। अनावश्यक तनाव झेल्नुपरेको थिएन। मजस्ता धेरैको जिन्दगी ठीकठाक थियो। त्यसपछि रुसीहरू आए। मलाई अहिले पनि रुसी र युक्रेनी सहोदर हुन् जस्तो लाग्छ। तर उनीहरू सीमा नाघेर हाम्रो भूमिमा आइपुगे, यो निन्दनीय कदम थियो।
यो युद्धबारे संसार विभाजित छ। कोही ठीक छ भन्छन्, कोही गलत। त्यहाँका आम नागरिकको बुझाइ के छ? सडकमा भेटिनेहरू के भन्छन्?
म मेरो अनुभव सुनाउँछु। रुसको आक्रमण कसैले मन पराएका छैनन्। युक्रेनको पूर्वी भूभाग लुहान्स्कमा चाहिँ रुसी समर्थक भेटिन्थे। लुहान्स्कमा बसेर युक्रेनलाई समर्थन गर्नेहरूको जिन्दगी धरापमा छ। उनीहरूलाई त्यहाँबाट बाहिर आउन पनि गाह्रो छ। लुहान्स्क बाहेकका ठाउँमा रुसलाई समर्थन गर्नेहरू मैले भेटेको छैन।
युद्ध शुरू हुनुभन्दा पहिला लुहान्स्कमा तपाईंको बसाइ कस्तो रह्यो?
२०१४ भन्दा पहिले त्यहाँको जनजीवन एकदमै शान्तिपूर्ण थियो। अर्थतन्त्र राम्रो थियो, शिक्षाको गुणस्तर पनि ठीक थियो।
त्यो क्षेत्र विशेषगरी केका लागि प्रसिद्ध हो?
यो एउटा सानो शहर हो, धेरै चर्चित पनि होइन। अधिकांश मानिसको मुख्य पेसा खेतीपाती थियो। जीवनयापन सामान्य थियो। त्यो ठाउँ कोइला तथा अन्य खनिजका लागि चर्चित छ। रुस आउनुको कारण पनि त्यही होला।
यदि युद्ध नभएको भए तपाईं र तपाईंको श्रीमान्को योजना के थियो?
२०२२ मा रुसले पूर्णरूपमा आक्रमण थाल्नुभन्दा एक दिनअगाडि हामीले अन्तर्राष्ट्रिय पासपोर्टका लागि आवेदन दिएका थियौँ। विभिन्न देश घुम्ने योजना बनाइरहेका थियौँ। बालबच्चाले पनि विदेश घुम्न पाउँथे। अरू युद्धका निम्ति तयारी गरिरहेका थिए, हामी पासपोर्टका लागि कागजात मिलाइरहेका थियौँ।
बच्चाहरू सानै छन्। उनीहरूले युक्रेनमा भइरहेको तनावलाई बुझ्न सकेका छैनन् होला। तपाईंले चाहिँ आफ्ना सन्तानले गरिरहेको अनुभवलाई कसरी नियाल्नुभएको छ?
बच्चाहरूले एउटा भयंकर युद्ध देखिरहेका थिए जुन नदेखून् भन्ने हरेक आमाबाबुको इच्छा हुन्छ। उनीहरूले मुटु काँप्ने बारुदको आवाज सुनेका छन्। उनीहरूमा ‘ट्रमा’ नहोस् भनेर मैले हरसम्भव प्रयास गरेको छु। त्रासद् युद्ध र बुवाको मृत्युले उनीहरूको भविष्य र जीवनलाई हेर्ने नजरमा अवश्य फरक पार्छ होला। यसमा मैले के गर्न सकौँला र! हुन त उनीहरूलाई असर नपरोस् भनेर मैले मनोपरामर्शदातालाई पनि भेटेँ।
बच्चाहरू बाबालाई सम्झन्छन्?
हामीले उनको शरीर जलाएर दाहसंस्कार गर्यौँ। त्यतिबेला छोराहरू त्यहाँ थिएनन्। उनीहरू सानै थिए, त्यसैले मैले उनीहरूलाई अन्तेष्टिमा लगिनँ। दिमित्रिलाई जलाएको ठाउँबाट मैले अलिकति खरानी पोको पारेर राखेको थिएँ। उनको मृत्यु भएको ठ्याक्कै एक वर्ष पुगेको दिन उनलाई सबैभन्दा मनपर्ने ठाउँमा ‘ओक’को बिरूवा रोप्न गयौँ। छोराहरूले खाल्डो खने, बाबाको खरानी हाले र बिरूवा रोपे। अलिकति खरानी मैले बगिरहेको खोलामाथि उडाइदिएँ। छोराहरूको अनुहार हेरेँ, उनीहरू मलीन देखिन्थे। मैले उनीहरूलाई त्यहीँ भने– तिमीहरूले बाबाको भौतिक शरीर कहिल्यै भेट्ने छैनौ, उनको सम्झना मात्र रहनेछ।
तपाईं नेपाल आउनुभएको छ। गुम्बामा बसेर तीता बिगतलाई बिर्सन खोज्दै हुनुहुन्छ। नेपाल सुन्दर छ पनि भन्नुहुन्छ। तर रुसी सेनामा भर्ती भएर केही नेपाली युक्रेनविरुद्ध लडिरहेका छन् भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ?
नेपाल आउने सोच बनाइरहेको थिएँ। त्यतिबेलै मैले सुनेँ– रुसी सेनामा नेपाली पनि छन्। यसका कारणहरू अनेक होलान्। एक त मानिसलाई पैसा चाहिन्छ, त्यसकारण पनि ज्यान जोखिममा पारेर उनीहरू गए होलान्। रुसीहरूले भनिरहेको ‘युक्रेनीलाई जोगाउनुपर्छ’ भन्ने कुरासँग उनीहरू सहमत छैनन् जस्तो लाग्छ। यदि सहमत छन् भने उनीहरूलाई झूट कुरा बताइएको छ। रुसको आक्रमणसँग युक्रेनी कत्ति पनि खुशी छैनन्।
तपाईंको परिवारका अरू सदस्य युक्रेनमा के गरिरहनुभएको छ?
मेरा आफन्तहरू प्रायः सबै लुहान्स्कमा बस्छन्। २०२२ मा रुसले त्यो क्षेत्रमा आक्रमण गर्यो र आफ्नो अंग बनायो। हामी त्यसलाई ‘अकुपाइड टेरिटोरी’ भन्छौँ। मैले लामो समयदेखि परिवारका सदस्यहरूलाई सम्पर्क गर्न पाएको थिइनँ। अहिले हामीसँग इन्टरनेट छ, बेला–बेला कुरा गर्छौं। तर इन्टरनेटबाट कुरा गर्नु पनि जोखिमपूर्ण छ।
मलाई थाहा छैन– उहाँहरूसँग अब कहिले पो भेट हुन्छ! त्यहाँ मेरो हजुरआमा, बुवा, आमा, दिदीबहिनी र भतिजाभतिजी छन्। उनीहरू त्यहाँबाट मलाई भेट्न आउने सम्भावना छैन। म पनि उनीहरूलाई भेट्न जान सक्दिनँ। किनभने मेरा श्रीमान् युक्रेनी सेनामा थिए। यतिबेला रुसी बोर्डर ‘क्रस’ गर्नु भनेको मेरो र छोराहरूको ज्यान जोखिममा राख्नु हो। मलाई आशा छ– जिन्दगीमा कुनै दिन त आफन्तहरूलाई भेट्छु होला।
उहाँहरू के भन्नुहुन्छ?
उहाँहरू बेला–बेला युक्रेनका बारेमा आफूले सुनेका कुराबारे सोध्नुहुन्छ। हामीले टीभीमा यस्तो सुनेका थियौँ, के त्यो ठीक हो भन्ने उहाँहरूको जिज्ञासा हुन्छ। म टेलिभिजनमा देखेका/सुनेका कुरा विश्वास नगर्न आग्रह गर्छु।
उहाँहरू आफैँलाई कसरी ‘आइडेन्टिफाइ’ गर्नुहुन्छ?
मेरो बुवा भन्नुहुन्थ्यो– यो ठाउँ मेरो पुर्खाको हो, म यहीँ जन्मेको हुँ, म यहीँ बस्छु र आफ्नो भूमि जोगाउँछु।
अहिलेको जीवन कस्तो छ?
मलाई थाहा छैन। उनीहरू जिन्दगीको सत्य कुरा बताउन सक्दैनन्। जिन्दगीका स–साना कुरा त भन्न सक्छन्, तर मनैदेखि सबै कुरा सुनाउन गाह्रो छ। आमा सुनाउनुहुन्थ्यो, एकपटक उहाँहरू पसल जानुभएको रहेछ। रुसी सैनिकहरू पनि पसलमा आएछन्। पसलेले युक्रेनी भाषामा जवाफ दिएछ। एउटा सैनिक खुब रिसाएछ। मानिसहरूलाई किन र कसका लागि त्यहाँ पुगेको लगायतका प्रश्न गर्दै ऊ जंगिएको थियो रे।
रुसी र युक्रेनी भाषामा कत्तिको फरक छ?
युक्रेनको भाषा अलि नरम छ, संगीत जस्तो। रुसको लवज चाहिँ कडा छ। रुसीहरू आफूलाई हामीभन्दा बाठो, शक्तिशाली र महत्वपूर्ण देशका नागरिक ठान्छन्। उनीहरूलाई त युक्रेन रसियाकै एउटा अंग जस्तो लाग्छ।
युद्धको बेला के हुन्छ भनेर अलि–अलि म पनि अनुमान लगाउन सक्छु। नेपालमा १० वर्षसम्म भएको सशस्त्र द्वन्द्वले धेरैलाई असर पार्यो। युक्रेनमा युद्ध रोक्नुपर्छ वा रुसविरूद्ध लड्नुपर्छ भन्ने विषयमा कुनै अध्ययन भएको छ?
त्यसबारेमा त थाहा छैन।
राष्ट्रवाद र देशभक्तिको प्रभाव त होला नि हगि?
हामीले सम्झौतापत्रमा हस्ताक्षर गर्यौँ भने पनि भोलिका दिनमा रुसले आक्रमण गर्दैन भनेर ‘ग्यारेन्टी’ गर्न सकिँदैन। उनीहरूले त्यतिबेला पनि भन्नेछन्– हामी त युक्रेनमा शान्ति चाहन्छौँ, तर युक्रेनीहरू नै मान्दैनन्। त्यस्ता अनेक बहानामा उनीहरूले फेरि आक्रमण गर्नेछन्।
मानिसहरू भन्छन् कि जेलेन्स्कीले व्यक्तिगत ‘इगो’ का कारण मुलुकलाई द्वन्द्वमा धकेलिरहेछन्, त्यस्तै हो?
होइन, त्यस्तो हुँदै होइन। उनले कठिन समयमा गज्जबसँग नेतृत्व लिए। मैले राष्ट्रपतिलाई लामो समयसम्म भोट दिइनँ। तर अहिलेका राष्ट्रपतिले सही ढंगले मुलुकलाई सम्हाले। उनी राम्रो नेता बने। उनलाई धेरैले सहयोग गरेका छन्। उनले मुलुकलाई जबरजस्ती द्वन्द्वमा धकेले भन्ने मलाई लाग्दैन।
तपाईं पछिल्लो समय कहिले युक्रेनमा हुनुहुन्थ्यो?
तीन हप्ताअघि युक्रनमै थिएँ। म युक्रेनबाटै नेपाल आएको हुँ।
युक्रेन जाने–आउने गरिरहनुहुन्छ?
युक्रेन मेरो जन्मभूमि हो। लामो समयसम्म बमबारुदको बीचमा रहँदा सुरक्षा गुमाइन्छ। त्यस्तो परिस्थितिबाट बाहिर निस्केर सोच्दा संसार कति भयानक छ भनेर थाहा हुन्छ। बालबालिका विद्यालयमा जान्छन्, बमको वर्षा हुन्छ। मैले आँखैअगाडि बमले बिमान उडाएको देखेको छु।
शान्त मुलुकमा आएपछि मात्र आफू बाँचिरहेको समय कति भयावह छ भनेर अनुमान लगाउन सकिँदो रहेछ। युद्धको बीचमा सारा युक्रेनी एउटा परिवारजस्तो बने। हामीले रुससँग लडिरहेको राष्ट्रिय सेनालाई ‘फन्ड’ उठाएर सहयोगसमेत गर्यौँ। त्यही सिलसिलमा मेरा श्रीमान्ले पनि सेनामा ‘भोल्युन्टियरिङ’ गरेका थिए।
त्यसको कति समयपछि श्रीमान् बित्नुभएको हो?
मात्र ६ महिनापछि। युद्धमा धेरै सैनिकको मृत्यु भयो, तर त्यो रेकर्डमा छैन। कति परिवार आफ्ना सन्तान जिउँदै छन् कि छैनन् भन्नेबारे पनि बेखबर छन्। उनीहरू आउने हुन् कि होइनन्, टुंगो छैन। धेरै श्रीमतीहरूलाई आफ्ना श्रीमान् सकुशल छन् कि छैनन् भन्ने पनि थाहा छैन। उनीहरूसँग आशा मात्र बाँकी छ।
पश्चिमाहरूले युक्रेनलाई कत्तिको सहयोग गरेका छन्?
हामीले धेरै सहयोग पाएका छौँ। तर अझै बढी सहयोगको जरूरी छ। किनभने रुससँग विशाल स्रोत साधन छ, हामीसँग छैन। यतिबेला युक्रेनीमाथि बज्रपात परेको छ, किनभने युद्ध युक्रेनको भूमिमा चलिरहेको छ। रुसले आफ्नो व्यापार–व्यवसाय चलाइरहेको छ। हाम्रो आधा भूभाग युद्धले सखाप पारेको छ। मान्छे मरिरहेका छन्। युक्रेनी परिवारलाई धेरै सहयोगको जरूरी छ। हाम्रो अर्थतन्त्र चौपट भएको छ।
सैन्य सहयोग चाहिएको भन्नुभएको कि सर्वसाधारणको लागि ‘रिलिफ फन्ड’ को कुरा गर्नुभएको?
युक्रेनसँग पर्याप्त हातहतियार छैन। जस्तै, मेरा श्रीमान्सँग आफ्नै सुरक्षा गर्ने बन्दुक पनि थिएन।
अमेरिकाको राजनीतिमा अबको चुनावपछि फेरबदल आउला। त्यहाँको राजनीतिले पनि युक्रेनमा केही फरक पार्ला। यसलाई कसरी हेर्नुभएको छ?
युक्रेनीहरू हिजोआज बर्थ डे भन्दा धेरै मृत्यु संस्कारमा सहभागी हुन्छन्। आफन्त र चिनजानहरूको मृत्युले हामीलाई उदास बनाइरहेको छ। युक्रेनीहरू यतिबेला अमेरिकी चुनाबको बारेमा सोचमग्न होलान् जस्तो मलाई लाग्दैन। अमेरिका मात्र होइन, कुनै पनि देशको चुनावका बारेमा उनीहरूलाई चासो छैन होला। उनीहरूलाई कसरी बाँच्ने भन्ने चिन्ता मात्र छ।
युद्ध त एक समयमा गएर टुंगिएला। त्यसपछि कसरी जिन्दगी बिताउने सोचिरहनुभएको छ? आफ्ना छोराहरूसँग युक्रेनमै बस्नुहुन्छ कि अरू नै देश जानुहुन्छ?
मेरा छोराहरू युद्धका बीचमा हुर्किनु नपरोस् भन्ने मेरो चाहाना छ। म मेरो परिवारलाई भेट्न चाहन्छु। शान्त वातावरणमा बाँच्न चाहन्छु, जहाँ बमका छर्राहरू देख्नु नपरोस्। त्यो परिवेशसहित मलाई युक्रेनमै बस्न मन छ। मलाई आशा छ– यो सपना पनि पूरा होला।
छोराहरू जे बन्न चाहन्छन्, त्यसबारे उनीहरू केही भन्छन्?
सानो छोरो आर्मी बनेर रुसविरुद्ध लड्छु भन्छ। सुन्दै डरलाग्दो कुरा छ। ऊ बारम्बार भन्छ, “म ठूलो भएपछि रुसीहरूलाई हाम्रो भूमिबाट भगाउनेछु, उनीहरूलाई मार्नै परे पनि पछि पर्दिनँ।” ठूलो छोराको चाहिँ नोबेल पुरस्कार जित्ने सपना छ। तर कुन क्षेत्रमा लाग्ने भन्नेबारे उसले अहिलेसम्म निर्णय गरिसकेको छैन।
कुराकानीका लागि समय दिनुभएकोमा धन्यवाद।
नेपाल आएर युक्रेनको युद्धका बारेमा मेरा कुरा राख्न पाएँ। प्रश्नका लागि तपाईंलाई पनि धन्यवाद। युद्धभूमिबाट टाढा आए पनि त्यसको त्रासले मलाई छाडेको छैन। यहाँ पनि मलाई ठूलो आवाजले झस्काउँछ, बम खस्यो कि भनेर तर्सिन्छु। म युद्ध रोकियोस् भन्ने चाहन्छु। शान्त वातावरणमा बस्न चाहन्छु। एकअर्कासँग बसेर रमाइलो गफगाफ गर्न चाहन्छु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
