एउटा पक्की पर्खालभित्रको पक्की घरअगाडि भक्सवागन कार छ। फोटो खिचेँ। दशकअघि त भक्सवागनको ठाउँमा भैँसीले गोब्य्राउँथ्यो होला भनेर सोचेँ। घरभित्र पसेर कुराकानी गरेको भए शायद निराशै सुनिन्थे होलान्।
“मैले यति धेरै मान्छे यति निराश भएको देखेको थिइनँ,” कांग्रेस महामन्त्री गगन थापा भन्छन्, “अब कहिल्यै राम्रो हुँदैन भन्ने निष्कर्ष निकालेजस्तो अवस्था छ।” (अनि अब, सुधीर शर्मा, युट्युब)
“नागरिकको निराशा सम्बोधन गर्न कांग्रेस–एमाले गठबन्धन गर्न पर्यो,” एमाले महासचिव शंकर पोखरेल। (साउन १५ गते, दाङ)
“देशमा चरम निराशा छाउँदा पनि यो देशमै केही गर्छु भन्ने हुटहुटी बोकेका ग्रामथान मोरङका ३३ वर्षिय दिनेश थन्दारलाई जिताउने कि पुराना असफल नेताहरूलाई?” उपचुनाव प्रचारमा राप्रपा नेता खुश्बु ओली भन्छिन्, “आउनुस्, हाम्रा युवालाई विदेश जानबाट रोकौँ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठ ‘समाजमा निराशा र तिक्तता दिनानुदिन बढ्दै गरेको तथा नयाँ र पुराना राजनीतिक संस्था र पात्रहरूको विश्वसनीयता गुम्दै गरेको छ’ भन्दै निष्पक्ष र निस्वार्थपूर्वक मार्गदर्शन, खबरदारी र जवाफदेहिता खोज्न मंसिर ९ गते एक्स (ट्विटर) मार्फत आह्वान गर्छन्।
देशमा निराशा, अझ चरम आमनिराशा छ भन्नेमा आमसहमति जस्तै सुनिन्छ। देशमा मात्रै किन, विदेशमा यत्रतत्र सर्वत्र फैलिएका नेपाली अधिकांश निराश नै छन् भन्ने भान पर्छ (सामाजिक सञ्जालमा तिनको प्रस्तुती देख्दा।) कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले त नेपालीलाई मास हिस्टेरिया भएको भनेर डेढ वर्षअघि नै लेखिसके।
अजब/गजब त पोहोर त्यति बेला लाग्यो, जब एकैदिन ‘ब्याक टु ब्याक’ भेटिएका चर्चित व्यवसायी दीपक भट्ट र अर्बपती विनोद चौधरी दुवै निराश र प्रणालीप्रति असन्तुष्ट सुनिए। “बुझ्नुभयो! यो देश बन्दैन,” भट्ट भनिरहेका थिए।
उस्तैखाले कुरा सुन्न परेपछि चौधरीलाई सोधेँ पनि “अघि भख्खर भेटिएका एक जना ठूलै व्यापारी पनि यस्तै निराशाका कुरा गर्दै थिए, यो प्रणालीबाट सर्वाधिक लाभान्वित तपाईंहरू नै निराश भएको मुलुकमा आशावादी हुन कोही किन बाँकी हुने?” चौधरी मुसुक्क मुस्काए, चित्तबुझ्दो जवाफ आएन।
“मैले मण्डन देउपुर, चन्द्रनिगाहपुर, हरिओन, निजगढ, हेटौँडा र मध्यपुर थिमीका अनेकौँ मानिस भेटेँ, सबै निराश छन्। किन?” पत्रकारिता गरेका–पढाएका अनि केही वर्षयता क्यानडामा बसाइँ सरी फिलहाल यतै रहेका प्रज्ज्वल चापागाईं फेसबुकमा लेख्छन्, “के त्यसको समुचित उत्तर राज्य र सरकारसँग हुनपर्दैन?”
नेपाली साँच्चिकै निराश छन् त? छन भने के आधारमा यस्तो निष्कर्ष निकालिएको हो? अनि त्यसको कारण के–के हुन्? मचाहिँ केही समययता सोधीखोजी गर्न थालेको छु। घोर निराशाको दाबी गर्न त्यसका सूचकहरू के–के हुन् त? के–कस्ता सर्भे/अनुसन्धान भएका छन् त?
देश थिति/विधिमा चलेन, यसैले निराशा छायो भन्नलाई कहिले पो थिति/विधिमा चलेको देश हो र, अहिले चलेन भनेर निराश हुनलाई! सुखी, समुन्नत, समृद्ध आदि इत्यादि जे–जे भन्नुस्, कहिले पो थियो र, अहिले भएन कि भनेर निराश हुनलाई! दिशा, गति सही छैन, नेतामा इमानदारी नै भएन। तर अहिले नै निराश हुनलाई पहिले कहिले पो राम्रो थियो त?
‘युनिभर्सिटी अफ क्यालिफोर्निया’मा मानसिक स्वास्थ्यका एसोसिएट प्रोफेसर एवं नेपालको दूरदराजमा स्वास्थ्य सेवामा काम गरिरहेका डा. विभव आचार्य पोहोर उकालो कार्यालय आउँदा सोधियो ‘नेपालीमा निराशा किन छाएको?’
डाक्टरसाबले प्रतिप्रश्न गरे, “के निराशा? कस्तो निराशा? नेपालमा निराशा छ भने यस्तो निराशा संसारका अन्यत्र कहाँचाहिँ छैन? नेपालमा निराशा छ भन्ने मान्ने हो भने त, म अमेरिकी समाजमा झन् निराशा देख्छु।”
अनि आफैले भन्नु पर्यो, “हुन त हो, एउटा हतियारधारीले राइफल भुटुटु पार्दै दर्जनौँलाई सोत्तर पार्ने घटना अमेरिकामै हुन्छ। हामीलाई हाम्रा मान्छे बिदेसिए भनेर निराश हुँदा अमेरिकीहरू बाहिरियाहरू भित्रिए भनेर निराश होलान्, अनि न डोनाल्ड ट्रम्पलाई भोट हाल्लान्।”
अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिन थालेकाको हुल देखाएर मान्छेहरू भावुक हुने गर्छन्। खासमा, एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल (दुइटा कथित अन्तर्राष्ट्रिय विमानस्थल छन्) पनि अहिलेको विश्व परिवेशमा ‘मिनी साइज’ भन्न मिल्ने हुँदा त्यति भिडभाड हुनु अस्वभाविक हो र? मिनी साइजको एउटै अन्तर्राष्ट्रिय विमानस्थल पनि चकमन्न भयो भने त्यो देशको अवस्था कस्तो होला?
अर्को कुरा, नेपाली नबिदेसिएको कहिले पो छ र? १०० वर्षअघि कति भोकमरी त, कति ऋणको पासोमा परेर ह्वारह्वार्ती सीमा काटेर असम, बर्मासम्मै पुगेको त सरदार भिमबहादुर पाँडेले ‘त्यसबखतको नेपाल’ मा सविस्तार वर्णन गरेका छन्। पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्र्ना भई युद्धका क्रममा अफगानिस्तानमा भाडाका सैनिकको रूपमा गुमनाम मृत्युवरण गरेका बलभद्र कुँवरलाई हामी राष्ट्रिय विभूति मान्छौँ।
यही गन्थन लेखिरहँदा रवीन्द्र मिश्रले उपचुनाव प्रचारको क्रममा कीर्तिपुरमा गरेको भाषणको अंश एक्समा देखियो। “छोराछोरी विदेशमा बेचेर कहिलेसम्म नेता पालिरहने?” मिश्र भन्छन्, “हामीले छोराछोरी विदेश पठाएको होइन, यो त बेचेकै हो।”
बाल्यकाल छँदादेखि देखेको हो, मधेशमा मधेशीहरू दिहाडी मजदुरका रूपमा धान र गहुँ काट्न पञ्जाब/हरियाणा पुग्थे। गाउँकै पहाडिया युवा दरबानी गर्न दिल्ली र जयपुर जान्थे। दशैँमा गाउँ आउँदा दरबानी गर्ने घरको महिला सदस्यसँग प्रेम सम्बन्ध कायम भएको देखि अमिताभ बच्चनलाई भेटेकोसम्म भनेर तिनले जोत्ने गफ ‘डिप फेक’ थिए भन्ने युवावयमा पुग्दै गर्दा बुझियो।
अचेल दिहाडी मजदुरी र दरबानी गर्न कोही भारत जाँदैनन्। कम्तीमा खाडी/मलेसिया पुगेकै छन्। अमेरिका, क्यानडा, अस्ट्रेलियामा पुग्नेको संख्या बढ्दो छ। जीवनस्तर तदनुरूप उकासिने नै भयो। अब यो निराश हुने कसरी भयो भनेर गम खाँदैछु।
पोहोर कपिलवस्तुका दुई दलितबस्तीमा पुगियो। एउटा नटुवा बस्ती, जहाँ ऐले पनि मान्छे भिख मागेरै गुजारा गर्छन्। मासिक भत्ता पाउने अल्पसंख्यकमा पारिदिन सरकार गुहारिरहेछन्। अर्को चमार/पासी बस्तीमा छोरीहरूसमेत युनिफर्ममा चिटिक्क परी साइकल हाँक्दै स्कुल (निजी स्कुल पनि) जान्छन्।
घर तुलनात्मक रूपमा सुविधासम्पन्न छन्। त्यसको अन्तर्यमा वैदेशिक रोजगारी प्रमुख छ। खाडी गई श्रम गरेका छन्, पैसा पठाएका छन्, छोराछोरीलाई राम्रो स्कुलमा पढाउनु भनेका छन्। डेढ दशकदेखि स्थानीय दलित युवा खाडी जान थालेपछि आएको परिवर्तन थियो।
दक्षिण कोरिया जानेले फुर्मायस नगरे महिनामै ३ लाख जोगाउने सुन्छु। जति दुःखका मात्रै कथा बेचे पनि यहाँभन्दा निकै बढी कमाइ नभई कोही घरद्वार/परिवार छाडेर बाहिर गएका छैनन्। र सञ्चारमाध्यममा आएजस्तै दुःखै दुःखमात्र भएको भए वैदेशिक रोजगारीमा जाने पटक्कै हुने थिएनन्।
अहिले म आइकम गरी मलेसियामा १५ वर्ष (लामो समय प्रशिक्षकको रूपमा) काम गरेका मान्छेका लागि जागिर खोज्न चिनजानका साउमहाजनलाई सीभी पठाइरहेको छु। पहुँचको भरमा पाएको जागिरमा मासिक २२ हजार दिने रे। ‘बरु फेरी विदेश नै जाऊ’ भन्नुबाहेक उपाय छैन। यस्तो अवस्थामा विदेश जानु नै खराब भन्ने भाष्य स्थापित गरेर पुगिने कहाँ?
“उहिल्यै जीविकाको खोजीमा बाहिरिने (लाहुरे अनि असम, बर्मा आदि पुग्ने) नेपालीको संख्या त्यति बेलाको जनसंख्याको अनुपातमा अझ बढी हुनुपर्छ,” पोहोर ‘नेपाल लिटरेचर फेस्टिभल’को एउटा सेसनमा डा. कपिल अधिकारीले बडा घत लाग्ने कुरा गरे, “अहिले त शहरिया मध्यम वर्गमै यो प्रवृत्ति देखिएकाले न शहरमा ह्यू एन्ड क्राइ भएको हो, भुईं मान्छे जाँदा कसलाई मतलब थियो र!”
यति बेला सहकारीबाट लाखौँ नेपाली ठगिएका छन्। आकर्षक ब्याजसहित एकमुष्ठ रकम पाइने विश्वासमा सपना देखिरहेका बचतकर्ताको साँवासमेत गायब छ। अब दैनिक ज्याला मजदुरी सडक व्यापार वा यस्तै उस्तै गरी बचत ठानिएको रकम सहकारी नामको स्वाँठले दम्पच पारिदिँदा पीडितमा निराशा, आक्रोश स्वभाविक हुन जान्छ। तर यस्तो न पहिलोचोटी भएको हो, न अन्तिम नै।
कहिले धनी उपहार कार्यक्रम, कहिले गोल्डक्वेष्ट/युनिटी त कहिले ढुकुटी भनेर ठगिएकै हुन्। उहिल्यै पञ्चायतकालमा उति बेलाको बम्बई, अहिलेको मुम्बईका केही टपर्टुइयाँ ठगहरूले राष्ट्र बैंकमार्फत देशैलाई ठग्न खोजेकै हुन्। ठगी हुने आशंकामा माथिको आदेशअनुरूप नगर्दा तत्कालीन गभर्नर कल्याणविक्रम अधिकारी बर्खास्त भएकै थिए। टपर्टुइयाँ ठगहरूले ठग्न खोेजेको प्रमाणित भएपछि तत्कालीन दरबारले फ्रान्सको राजदूत बक्सिस दिएर अधिकारीको घाउमा मलमपट्टि गरेको थियो।
सहकारी पीडितहरूको भेला/धर्ना आदि चलिरहेकै बेला धितोपत्रमार्फत ठगीको खेला चलिरहेकै छ। एकाध वर्षपछि शेयरमा सम्पत्ति गुमाउनेहरूको धर्ना/भेला, ज्ञापनपत्र देख्नु नै छ।
एउटा समृद्धै ठानिएको देश युद्धको दावानलमा छ (जस्तै सिरिया, युक्रेन) भने त्यहाँका नागरिकमा निराशा बुझ्न सकिने कुरा भयो। उहिल्यै लिच्छवि, मल्लकालको काठमाडौँ खाल्डोलाई छाड्दिने हो भने, हाम्रो त जहिले पनि तन्नमको तन्नम नै होइन र? काठमाडौँबाहिरका राज्य/रजौटाको अवस्था कस्तो थियो थाहा पाउन गोरखा दरबार त धेरैले देखेकै हो। त्यसकै अवस्थाले पनि बताइहाल्छ, राज्यस्रोत राजा/महाराजाले आफ्नो सुखसयलमा खर्चिने जमानामा धरी दिनहीन दरबारले अवस्था दर्शाउन यथेष्ट छैन र?
खेतीपाती गरेर अधिकांश समय तनहुँमै बिताइरहेका नारायण (वाग्ले) दाइलाई सोध्छु, “निराशाको हल्लीखल्ली गाउँतिर कस्तो छ? सामाजिक सञ्जालमा रहेका त तथाकथित घोर निराशामै होलान्? सञ्जालको जञ्जालमै नफसेकाको अवस्था कस्तो छ दाजु?”
सञ्जालको जञ्जालमा नफसेकालाई तथाकथित निराशाले नछोएको बताउने दाइ भन्नुहुन्छ, “सामाजिक सञ्जालको अल्गोरिदमले गर्दा यस्तो भइरहेको छ।” सबका सबमा यही लागू हुन्छ भन्ने होइन। आर्थिक गतिविधि शिथिल हुँदा प्रत्यक्ष प्रभावित हुनेको अवस्था फरक हो।
तथाकथित निराशाबारे अझ घोचक कुरा सुनाउनु भयो दाइले। तनहुँबाट काठमाडौँ आउँदा गाडी रोकिएको ठाउँमा एक जना सज्जनले एकैछिन कुरा गर्न खोजे। गाडी चार्जमा रहेकाले दाइले पनि मज्जैले सज्जनको कुरा सुन्न पाउनु भयो। सज्जन हिमालयन बैंकको एउटा उदीयमान बजारमा म्यानेजर रहेछन्।
उनले दाइलाई कान्तिपुरको पूर्व प्रधान सम्पादक, पल्पसा क्याफेको लेखकको रूपमा चिनेका रैनछन्। कतै युट्युब खंगाल्दा सुनेका रैछन्, कुरो ठिकठिकै लागेकाले सल्लाह लिन खोजेका रैछन। ‘६ अंकमा तलब बुझ्छु, अरू सुविधा पनि छन्। काठमाडौँमा घर बनाएको छु, गाउँमा पनि बाउबाजेले बनाएको घरको सट्टा पक्की घर ठडिएको छ। नेतालाई भेटे गोली ठोक्दिनु जस्तो मनमा आउँछ। विदेशतिर लागौँ जस्तो लाग्या छ, तपाईं के सल्लाह दिनुहुन्छ?’ दाइसँग सल्लाह मागेछन्।
अब यस्तो जटिल विषयमा दाइले सल्लाह पनि के दिनू! दाइ आफै मध्यम वर्गबाट अझै उकासउन्मुख मान्छेमा यस्तो भावनाको कारण के होला भन्दै रन्थनिएका छन्।
अस्ति धनुषातिर रहँदा राजमार्गनेरको बेंगाडाबर गाउँमा मर्निङवाक गर्दा देखिएका दृश्य याद ताजा भएर आए। उहिल्यै बाल्यकालमा दिनहीन देखिएको गाउँमा चारैतिरका बाटा कालोपत्रे थिए, सबै घर पक्का वा अद्र्धपक्की सफा/चिटिक्क। फूल, नरिवल/सुपारीका रूखले सुसज्जित घर। उहिल्यै गाईभैँसी, बाख्रा बानिने घर अघिल्तिर मोटरसाइकल पार्क गरिएका छन्।
शनिबारको बिहान, एक ठाउँमा मासु भाग लाउने काम धमाधम छ। एउटा पक्की पर्खालभित्रको पक्की घर अघिल्तिरचाहिँ भक्सवागन कार छ। फोटो खिचेँ। दशकअघि त भक्सवागनको ठाउँमा भैँसीले गोब्य्राउँथ्यो होला भनेर सोचेँ। घरभित्र पसेर कुराकानी गरेको भए शायद निराशै सुनिन्थे होलान्।
दलीयकरण भयो भन्छौँ, तर के पञ्चायतकालमा व्यवस्था/दरबारप्रति अनवरत बफादारी नदेखिइ कसैले महत्त्वपूर्ण नियुक्ति पाउँथे र? पञ्चायत र राजाप्रति बफादार नहुँदा सरदार यदुनाथ खनालजस्ता प्रज्ञावान ‘टेक्नोक्र्याट’ले राज्य संयन्त्रमा रहेर प्रज्ञा प्रदर्शन गर्न पाउँथे र भन्या? उहिलेका राजा/महाराजहरूले भक्तजनलाई नै जागिर/बक्सिस दिन्थे मात्र होइन, सार्वजनिक सम्पत्ति सुम्पिन्थे नै, घर नहुनेलाई नगदै दिएका अनेकन् उदाहरण दिन सकिन्छ।
फेरि निराश हुनपर्ने कुनै कारणै छैन, त्यस्तो पनि नहोला। आर्थिक गतिविधिमा सुस्ताउँदा ठूला/मझौला/सबैखाले व्यवसायीलाई मार्का पर्छ। ऋणमा डुब्छन्, कतिपय सडकमै पुग्छन्। हामी नेपाली (अझ पहाडिया समुदाय) उद्यमशीलतामा गरिबै छौँ। घरजग्गा, शेयरको कारोबार चकाचक चल्यो, खासै मिहिनेत, दिमाग/समय नलगाइकन कमाइरहेका अहिले ऋणमा डुब्छन्। निराशा स्वभाविकै छ।
आर्थिक मन्दीको मारसँग पहिलो विश्वयुद्ध हारेको कुण्ठामा रहेको जर्मनीमा हिटलरलाई भगवानै मानियो। मुसोलिनी त्यस्तै अवस्थामा उदाए। हिटलरले यहुदीलाई शत्रु ठहर्याउँदा ताली बजाएका जर्मनजस्तै यहाँ दुर्गा प्रसाईंले एउटा समुदाय विशेषलाई खलनायक ठहर्याउदा ताली बज्नुको कारण आर्थिक शिथिलताद्वारा समस्यामा पर्नु र आफूले अनेकन गर्दा पनि कमाउन नसक्नुकै कुण्ठा हुन सक्ला।
सशस्त्र विद्रोहको त्रासदकालमा पनि मान्छे आश गरेर बसेका थिए। एउटा देश प्राप्त गर्ने मिसनमा रहेका कारण प्यालेस्टिनीमा आत्महत्या दर सबैभन्दा कम छ, जापानजस्तो समृद्ध देशमा सबैभन्दा उच्च रहे पनि। शान्ति सम्झौता, संविधान सभामार्फत संविधान र त्यसपछि झन्डै दुईतिहाइको सरकारले पनि अपेक्षा सम्बोधन गर्न नसकेपछि आशै मरेर पनि निराश भए होलान्। विदेशमा दोस्रो/तेस्रो दर्जाको मान्छे भई श्रम गर्न पर्दा धेरैलाई निराश/आक्रोशित बनाएको होला।
तर नेताकै कारणले यो सब भएको होला कि नागरिकको भागमा पनि दोष पर्ला? अपार तेल भण्डारका कारण धनी देशमा पुगेर ‘हाम्रामा नेता गतिला भए यस्तै हुन्थ्यो’ भन्ने कल्पेर होला र? गतिलै नेता आए पनि स्रोत नभएको देश बनाउन सजिलो होला र? फेरी द्रूत गतिमा विकास भइरहेको भनिएका ठाउँमा पनि सबैभन्दा आलोचित हुने त नेतै हुन्। नरेन्द्र मोदीलाई भगवान मान्ने मात्र कहाँ छन् र, उनलाई राक्षसै ठान्ने पनि कम छैनन्।
नयाँ भनिएकाले तथाकथित निराशालाई स्थापित गर्न खोेजेको बुझ्न सकिन्छ, देश घोर निराशामा छ भन्ने भाष्य स्थापित हुँदा नै तिनको बजार विस्तार हुने हो। पञ्चायतको अन्त्यकालमा देशको राज्यकोष सार्वजनिक संस्थानको घाटा पूर्तिमै खर्च भई पूर्वाधार/सामाजिक विकासमा खर्च गर्न बजेटै नहुने अवस्थालाई डाइभर्ट गरेर राप्रपाजस्ता पुरानो व्यवस्था चाहनेले तिनै संस्थान निजीकरणलाई नै युवा विदेश जानु पर्ने अवस्था भएको कारक भन्ने भाष्य स्थापित गर्न प्रयत्न गरेको बुझ्न सकिन्छ, राजनीतिमा यस्तो गरिन्छ नै। गगन थापा वा शंकर पोखरेलजस्ता स्थापित दल हाँक्न पालो कुरिरहेकाहरू किन निराशाबारे होमा हो मिलाइरहेका छन् बुझ्न सकिएन।
नेपाली साँच्चिकै घोर निराशामा छन् त भनेर अध्ययन/अनुसन्धानमा टेकेर बहस, छलफल गर्नुपर्छ जस्तो लाग्छ। बिनाआधार निराशाको भाष्य स्थापित गर्दा त ‘जस्तो गरिब देश, उस्तै चेतका नागरिक’ भन्ने हुन जाला। तथाकथित सामाजिक सञ्जालको प्रयोगका कारण मान्छेमा निराशा, आक्रोश, उत्तेजना, आवेग चुलिएको हो कि मनन गर्नु पर्ला । पहिला त अध्ययन/अनुसन्धान नै हुनु पर्छ। हचुवाको भरमा ‘निराशा छ’ भन्दै कान नछामी कागको पछि नदगुर्दा नै बेस।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
