छुदेन काविमो यसपालि दार्जिलिङ पहाडका होइन, उत्तर बंगालको डुवर्सतिरका चियाबारी डुलेका छन्। जहाँ ७० प्रतिशतभन्दा अधिक जनसंख्या चिया श्रमिक छन्। उनी त्यतै भुलेका छन् र कथा टिप्दै उरमालमा हुलेका छन्।
दार्जिलिङ भन्नेबितिक्कै आँखाअघि हरियाली आउँछ। डाँडा डिलतिर चिया फुलाउँछ। आउँआउँ-जाउँजाउँ लाग्ने बनाउँछ। दार्जिलिङ त्यस्तो ठाउँ छ, जसलाई पनि यहाँ डुलाउँछ-भुलाउँछ। यो कथा त थोरबहुत धेरैले सुनेकै हो। तर कथा सुनेको भन्दा नसुनेको झन् पढ्न-सुन्न मन लाग्छ। आख्यानकार छुदेन काविमो यसपालि दार्जिलिङ पहाडको होइन, उत्तर बंगालको डुवर्सतिरका चियाबारी डुलेका छन्। जहाँ ७० प्रतिशत भन्दा अधिक जनसंख्या चिया श्रमिक छन्। उनी त्यतै भुलेका छन् र कथा टिप्दै उरमालमा हुलेका छन्।
उरमाल अर्थात् शाद्री भाषामा चिया टिप्ने 'झोली'। यही झोली खोलीहेर्दा देखिन्छ- सुखदु:ख डुल्ने ठाउँमै हुन्छ अनि दुःख? त्यो पनि सुख फुल्ने ठाउँमै हुन्छ। मान्छेका यही ओहोरीदोहोरीमा नै सपना जुट्छ, टुट्छ। मान्छे कुरा हो अनि हो कथा पनि। कुराबाट गए पनि कथामा पुग्ने। कथाबाट गए पनि कुरामा पुग्ने। छुदेन काविमोको 'उरमाल' उपन्यासले त्यही चिया बारीको कथा उमारेको छ, उमालेको छ, जुन चिया बारीबाट उत्पादित चियाको स्वादले संसारको दिन सुरु हुन्छ। अंग्रेजले चियासँग स्वाद मात्र ल्याएन, शासन पनि ल्याए। चियाको स्वादबारे चीनको सम्राट् सेननोङलाई मात्र होइन, अहिले संसारलाई थाहा छ। तर चियासँगै आएको शासनबारे संसार अझै पनि बेखबर छ। 'फातसुङ' लेखेको पाँच वर्षपछि छुदेनले उरमालमा चियाको स्वादभन्दा धेर चिया बारीको शासन-शोषण देखाएका छन्।
उरमाल चिया श्रमिकहरूको पसिना-कथा पस्किएको सपना र संघर्षसितै तराईमा उमेर घस्रिएको जीवनको पहाड-पीडा हो। चियाको बोटमा 'सुन फल्छ रे!' भन्ने आशामा आफैले तिखारेको गाँछको टुप्पा गाडिएर श्रमिकका खुट्टा सुन्निए। चियाको बोटमा पैसा फल्छ रे भन्ने भ्रामक भाष्यमा भुलिएर चियाको बोटमुनि उपन्यासका सोमारी-सकिलाहरूले जस्तै नजाने कतिले उमेर बैँश बिताएर जीवन नै बिसाए। तर यही कमानलाई ध्यान-ज्यान दिने श्रमिक भने सुनमा होइन, शोषणमा परे। पैसामा होइन, पिरमा पुरिए।
सोमारीले बोक्ने उरमालमा जति पत्ती छ, त्यो भन्दा कति हो कति त्यसमा छटपटी छ। जाडो-बर्खाझरी र गर्मी भतभती छ। झोलीका-झोली मालिकलाई पत्ती दिने श्रमिकले भने रोजभन्दा धेर रोग पाएका छन्। भारतको चिया उत्पादनमा आसामपछि दोस्रोमा पश्चिम बङ्गाल पर्छ। पश्चिम बंगालको पनि दार्जिलिङ, तराई अनि डुवर्सले नै २० देखि २५ प्रतिशत चिया भारतको लागि उत्पादन गर्छ। तर त्यही देशमा चिया श्रमिकहरू भने एउटा ज्वरोको दबाइ नपाएर मर्दैछन्, मारिँदैछन्। आयोको सास बढेको ठीक गर्न दबाइ लिन सिलगढी हिँडेकी दैँ आफ्नै सास नलिई लास बनेर फर्केको घटना उपन्यासमा मर्मान्तिक छ।
मालिकलाई चियाको मुनाको महत्त्व छ, तर मानिसको छैन। कारण मुना मालिकको मुनाफा हो। मालिकको आँखा मुनाफाबाहेक अन्यत्र कतै मोडिँदैन, कतै छोडिँदैन। उरमालले श्रमिक जीवनको अभाव, असुरक्षा र अनिश्चितता उजिल्याएको छ। कमानेहरूको पारिवारिक रुग्णता, उनीहरूमाथि मालिकको निषेध र निर्ममता, राजनीतिको चलखेल र वञ्चितहरूको उपल्लो हेराइ हो उरमाल।
उपन्यासमा नेपाली र आदिवासी समाजबीचको हाइरार्कीको चित्र पनि देख्न सकिन्छ। चिया श्रमिकहरू कम्पनीको स्वार्थोन्मत्त स्वभावको दबाबबाट पीडित छन्। उनीहरू अभाव र सङ्कटको माखेसाङ्लोमा ठिँगुरिएका छन्। सन् १९४८ मा नै श्रमिकको हकहितको लागि बनिएको चियाबारी अधिनियम अहिले पनि बेनीयम बनेर कार्यान्वयन नै हुन सकेको छैन। संसारलाई स्वादको सुरुप्प पिलाउने श्रमिकहरू नै सर्वाधिक उत्पीडित र उपेक्षित छन्। जसको यथार्थ उत्खनन र अन्वेषण हो उरमाल। उपन्यासमा पात्रहरूको बाहुल्यता छ। एक पात्रलाई पछ्याउने क्रममा अनेक पात्रको प्रवेश पाइन्छ। समग्र पात्र/पात्राले जस्तै ज्यादतीमा रहे पनि जीवनप्रति प्रेम भाव नै राखेको पाइन्छ। परस्पर पात्रहरूको अन्तर्यमार्फत तत् समयको ऐतिहासिकी र किंवदन्ती पनि खुबै रोचक शैलीमा वर्णन गरिएको छ। चिया श्रमिकहरूको सामाजिक र अर्थनीतिक अवस्थाको वृत्त-वर्णन हो उरमाल, जसमा संवेद्यताको स्वर मानवतावादी छ भने विसंगतिवादी विचार विद्यमान छ।
उपन्यासमा बुधुवालाई पढिरहँदा रूपनारायण सिंहको, 'पुष्पराग'को 'पिलपिलाउँदो पिलन्धरेपन' पाठक मनमा छापिइँदा लाग्छ–बुधुवा र पोखराज ठ्याक्कै उस्तै पो थिएकी?' लाचारी र समस्यामा पिलिएको औंली-पिपजस्तो दुःख कति दुख्दो देखिन्छ। दिनभरि ढुंगा लोड गर्ने बुधुवाको दैनिकी त उपन्यासमा भनेसरि–'जिन्दगी त खोलाको ढुंगाजस्तै बनिसक्यो, जो अरूको घर बनाउन मात्रै काम लाग्छ।' बुधुवाको कुरा सुनेर यस्तो प्रश्न जाग्छ कि साँच्चै आफूहरूले गरिरहेको काम आफ्नै लागि पनि कहिले काम लाग्छ? आफ्नै लागि नलागेको काम त साँच्चै बेकाम लाग्छ! अनेक दुखजिलोमा जेलिएको बुधुवा आफैंबाट बँधुवा बनेको छ। यता साइरन र सपनाको सेरियलाइज्ड प्रतिविम्बमा देखिएकी छ सोमारी। जसको आस पनि कम्पनी अघि उपहास भएको छ।
डुवर्सको अर्थ द्वार हो। यस्तो लाग्छ जुन द्वारबाट दु:खमात्र बाहिरभित्र गर्छ। यस मानेमा डुवर्सको अर्थ 'दैलाहरू'मा होइन, 'दुःखहरू'मा प्रयुक्त हुन्छ। उपन्यासमा 'हरेक खोलाको पानीलाई नदी भेट्न सम्भव छैन' भनेजस्तै 'हरेक कमानेलाई सुख भेट्न सम्भव नै छैन।' कम्युनिस्टहरूको विचारै मात्र र भाजपा/काङ्ग्रेसको घोषणा-पत्र मात्रले श्रमिकहरूको सकसपूर्ण समय घर्किएको छ| यथास्थितिमा नै घिसिपिटी भइरहेको उकुसमुकुस रीतिको प्रकटीकरण हो उरमाल। यहाँ सोमारीको भनाइ स्मरणीय छ, ''कमानेको भाग्यमा दुःख त जन्मिँदै लेखिएर आएको हुन्छ। हामेरले त यसलाई सहिदिने मात्र हो।'' पुस्तक पढिरहेको पाठक मन, मनमनैको संवादमा सोध्छ,'यसरी त सधैँ कसरी रहिदिने सोमारी?'
नेताहरूका लागि राजनीतिको पहिलो प्रचार प्रवेश नै चियाकमान हो। कमान त चुनावी ब्रान्ड नै हो। चियाकमान नआईकन र नधाईकन नेताहरूको राजनीतिक कमान्ड नै अघि बढ्दैन। तर चुनाव जितेपछि उनीहरू कमानतिर फर्कँदैनन् र सधैँ हर्कबडाई र रजाइँमा नै हुन्छन्। चुनावको बेला सुवास घिसिङले 'कमानेहरू दास हुनुहुँदैन','बुट्टा सिहार्नेको खुट्टा सुक्यो' भन्दै विलाप गर्थे। तर जितेपछि चुपचाप बस्थे।
विमल गुरुङ 'म कमानको पत्ती टिप्ने आमाको छोरा हुँ, कमानको दुःख बुझ्छु' भन्थे। अझै पनि भनिरहन्छन्। तर उनी पनि बुझेको बुझ्यै भए, गर्न भने ठोस केही सकेनन्। हाल सरकारमा रहेका अनित थापा पनि चियाबारी हाम्रो संस्कृति र पर्यटनको मूल हो भन्छन्, भनिरहन्छन्, तर श्रमिकहरूको लागि भन्नबाहेक गर्न केही सकिरहेका छैनन्। यता राज्यकी मुख्यमन्त्री ममता बेनर्जी दार्जिलिङ तराई-डुवर्सतिरको भ्रमणमा आउँदा मेलोमा चिटिक्कै परेर पत्ती टिप्न बिर्सिन्नन्। तर कलकत्ताको नवान्न पुगेपछि उनै श्रमिकहरूलाई फिटिक्कै सम्झिदिन्नन्। देशमा बहालवाला प्रधानमन्त्री नै चियावाला भएका बेला पनि मोबाइलको रिचार्ज नै पनि गर्न नसकिने ज्यालामा श्रमिकहरू कमानमा काम गरिरहेका छन्।
चिया कमानको सामाजिक परिवेश हिजो, आज र सम्भवत: भोलिको पनि यही नै हो। यही वियोग व्यथामा श्रमिकहरू विवश छन्। थाहा छैन यसरी कतिञ्जेल बस्छन्। आफ्नो अधिकारको लागि बोल्ने उपन्यासमा भएको एउटी सकिलाजस्तै समाजमा कति जना अरू सकिलाहरू थपिएलान् र? प्रश्न ज्युँ का त्युँ रहन्छ। पहाड र डुवर्सबीजको जातीय एकत्व र अस्तित्वको अवस्थानलाई सामूहिक समुत्थानमा ल्याउनुपर्ने गोर्खाल्यान्ड मुद्दा संघर्षको घर्षण छ। जहाँ सत्ता षडयन्त्रले उद्वेलित नेपाली र आदिवासीबीच 'खुकुरी-धनुकाँड'को दरार द्वन्द्व छ। अतः संवेदनशील भूगोल र समाज, संस्कृति, इतिहासबारे सोधनी र खोजनीसहितको उरमाल कमाने राजनीतिको चिरफार हो।
उपन्यासमा भारत स्वतन्त्रपूर्व र स्वतन्त्रपश्चात्को कालखण्ड पाइन्छ। तत्कालीन सिक्किम, भारत-भुटानमाझको अन्तर्विषयक प्रसङ्ग पनि रोचकतासित सन्दर्भित छन्। चियाको बोटमा मुना नै मुख्य भएजस्तो यस उपन्यासमा पनि महिला नै कथाको मियो हो। औपनिवेशिक समयमा उब्जाइएको चियाबुट्टाको खुट्टा अहिले उत्तरऔपनिवेशिकमा पुँजीवादी पहुँचसम्म पुगेको छ। जसले श्रमिकहरूको नलीहाड घोटेर शोषणको घुट्को पिएको छ भने कम्पनीअघि सरकार र युनियन लुब्धो देखिएको छ| श्रमको मालिक श्रमिक हो भन्थे मार्क्स तर श्रम र श्रमिकलाई छुट्याएर ठग/ठालु लुटेराहरूले उनै श्रमिकहरूको श्रमबाट सरम नमानी 'क्यापिटल साइफनिङ'मा ऐसआराम फर्माइरहेका छन्। यो उपन्यास चिया बारीको अथाह कथा हो।
छुदेनको पहिलो उपन्यास 'फात्सुङ' महिनौँ लगाएर पनि मैले पूरै पढिनँ, अधुरै छाडेँ। तर उनको यो दोस्रो उपन्यास 'उरमाल' भने केही दिनमै निमिट्यान्न पारेँ। उनको अघिल्लो पुस्तकभन्दा यो पुस्तक भीमकाय नै छ। हुन त चिया श्रमिकहरूसित पनि त महाकथा-व्यथा छ। जसको तुलनामा उरमाल त्यही महाकथा-व्यथाभित्रको एउटा लघुकथा मात्र हो। प्रतीक र विम्बका माध्यमले कथा कथ्ने छुदेनको शैली प्रशंसनीय छ। पढ्दा शाब्दिक शिल्पले तान्छ तर कतै भने लम्बेतान विवरण विस्तारले बोर गर्न सक्छ।
कथामाथि कथा कथ्ने-थप्ने छुदेनको कथाकारिताको तौरतरिका केही गुजुल्टाइपूर्ण छ, जसमा पाठकले गमिलो एकाग्रता दिन नसके 'पठनानुभूति' खजमज्याउन सक्छ। कथा प्रवेशको शीर्षमा उक्ति लेख्ने 'छुदेनीय जुक्ति' कुनै कुनै ठाउँमा आधारभन्दा आधेयको वर्णनमा खर्चिएको रुमानी शब्दसूक्ति जस्तो पनि लाग्छ। लेखकीय भावुकता घोर छ भने अघिल्लो उपन्यासभन्दा कथानकमा यसपालि बल गरेर उरमालमा अब्बल देखिएका छन् छुदेन। दार्जिलिङे साहित्यको क्रम विन्यासमा उरमाल उल्लेख्य उपन्यास भएको छ। यस उपन्यासमा छुदेनको सन्धान भनेको अनुसन्धान हो। कृतिको गुणवत्तामा जुन एक महत् अभिप्राप्ति पनि हो। सीमा अध्ययन (बोर्डर स्टडीज) को रूपमा पनि यो कृति पृष्ठपोषक बन्न सक्छ, जसमा भू-राजनीति, सामाजिक सामञ्जस्य, पहुँच र शक्तिको अन्तरव्यापी अन्तर्य पनि बुझ्न सकिन्छ।
छुदेनको बहुचर्चित उपन्यास ‘फातसुङ’ कृति हो भने ‘उरमाल’ कृतिमात्र नभएर कीर्ति हो। यसपछि उनले कृति लेख्लान्, तर कीर्ति नै लेख्न सक्छन् भनेर किटान गर्न सकिन्न। श्रमिकहरूको जोड आफ्ना छोराछोरीलाई हातमा उरमाल नभई कलम थमाउने हो। तर मालिक उनीहरूलाई उही 'कुल्ली' बनाएर कुँज्याउन चाहन्छ। चिया श्रमिकको जीवनचर्या हेर्दा इन्द्रबहादुर राईको कठपुतलीको मनको कथा-कुरा स्मरण हुन्छ–''मान्छे के स्वतन्त्र भन्नू? खटनको एक मुठी माटो बाँचेर। तिम्रो स्वतन्त्रता आजीवन कैदीको सपना मात्र। बिहान हो कि भ्रमको साँझ मात्र।''
चिया श्रमिकहरूको नित्य नियतिले कमानमा दुःखको वंशावली प्रत्येक प्रहरमा हरियो हुँदै हलहली फैलिई नै रहेको छ। यसैले त अझै पनि चियाबारीमा गीत बजिरहन्छ घरीघरी:
कलम काटी हात्तैमा ठेला नि
छाती दुख्छ सकिन्न मेला नि
च्याको बोटैमा
बहिनी खै तिम्रो हाँसो ओठैमा?
(मिरिक-दार्जीलिङका वियोगी साहित्य, समाज र राजनीतिबारे लेख्छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
