फलोअप

सहकारीको पैसा तिर्न देवीप्रकाश भट्टचन समूहलाई प्रभु मेनेजमेन्टको सार्वजनिक ताकेता

प्रभु मनी ट्रान्सफरको एजेन्ट बन्न सहकारीबाट उठाएको पैसा व्यवसायमा लगाएका देवीप्रकाश भट्टचन र उनको समूहलाई रकम फिर्ता गर्न ताकेता गर्दै प्रभु मेनेजमेन्टले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

काठमाडौँ– सहकारीहरूको रकम प्रयोग गर्ने उद्देश्यले कुनैबेला देवीप्रकाश भट्टचनले नै खोलेको कम्पनी, प्रभु मेनेजमेन्ट प्रालिले भट्टचनसहित उनको समूहले कम्पनीबाट लिएको रकम र अन्य दायित्व फरफारक गर्न सार्वजनिक सूचना जारी गरेको छ। प्रतिनिधिसभामा नेकपा एमालेका समानुपातिक सांसदसमेत रहेका भट्टचन व्यावसायिक घराना प्रभु ग्रुपका अध्यक्ष हुन्। 

भट्टचनले नै खोलेको, अहिले भने उनी कानूनी रूपमा अलग भइसकेको प्रभु मेनेजमेन्ट प्रालिले केही दिनअघि दुईवटा राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर कम्पनीका पूर्वअध्यक्ष भट्टचन, पूर्वशेयरधनी दक्ष पौडेल लगायतलाई कम्पनीलाई तिर्नुपर्ने दायित्व भुक्तानी गर्न सूचित गरेको हो। 

प्रकाशित सूचनाअनुसार भट्टचनले २०७८ साउन १४ सम्ममा प्रभु मेनेजमेन्ट प्रालिबाट पेश्कीस्वरुप ६ करोड ३१ लाख रुपैयाँ लिएका थिए। कम्पनीका पूर्वसेयरधनी, हाल प्रभु मनी ट्रान्सफरमा आबद्ध पौडेलले २०७७ पुस १९ गतेसम्म २ करोड १२ लाख ७२ हजार रुपैयाँ लिएका छन्। कम्पनीले यो रकमको सावाँ र ब्याजसमेत सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुझाउन सूचित गरेको छ। सूचनाअनुसार तोकिएको १५ दिन आउँदो मंगलबार पूरा हुनेछ।

“पेश्कीस्वरूप चलाएको रकम फर्छ्योट गर्न कम्पनीको तर्फबाट पटक–पटक मौखिक तथा इमेलमार्फत लिखित जानकारी दिँदै पत्राचारसमेत गरेकोमा हालसम्म पेश्की फर्छ्योट नगर्नु नगराउनु भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हालसम्मको सावाँ र ब्याज रकम कम्पनीलाई बुझाई पेश्की फर्छ्योट गर्नुहुन, अन्यथा कम्पनीको तर्फबाट कानून बमोजिम गरी असुल उपर गरिने ब्यहोरा अनुरोध गरिन्छ,” सूचनामा उल्लेख छ। 

सूचनामा सञ्चालक समितिका पूर्वसदस्यहरू विनोद थकाली, मिजास भट्टचन, शिक्षा भट्टचन, धुव्रचन्द्र धिताल र दक्ष पौडेललाई २०६९ देखि २०७८ साउनसम्म आफू जिम्मेवारीमा रहँदाको समयमा गरेको कारोबार र कम्पनीको हरहिसाब बुझाउन १५ दिनको समय दिइएको छ। 

“प्रभु मेनेजमेन्ट प्रालिमा सञ्चालक समिति सदस्य रहँदाको अवस्थामा आ–आफ्नो जिम्मेवारीको सम्पूर्ण हरहिसाब यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो जिम्मेवारीको कम्पनीको नगद तथा जिन्सीको हरहिसाब बरबुझारथ गराउनु भएको नदेखिएकोले आफ्नो जिम्मेवारीको हरहिसाब फरफारक गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ। हिसाब फरफारक नगरे कानूनबमोजिम गरी असुलउपर गरिने चेतावनीसमेत दिइएको छ। 

रेमिट्यान्सका नाममा भएको सहकारीको रकम अपचलन
प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले नै खोलेको कम्पनी हो प्रभु मनी ट्रान्सफर। खासमा प्रभु ग्रुपको उदय र बिस्तारमा प्रभु मनी ट्रान्सफरकै प्रमुख भूमिका रहेको मानिन्छ। रेमिट्यान्स सेवाप्रदायक कम्पनी प्रभु मनी ट्रान्सफरको ‘सुपर एजेन्ट’ कम्पनीका रूपमा स्थापना गरिएको हो ‘प्रभु मेनेजमेन्ट प्रालि जसको हर्ताकर्ता पनि भट्टचन नै थिए। यही कम्पनीले देशभरका सहकारीलाई एजेन्ट बनाएर वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्स सम्बन्धित व्यक्तिसम्म पुर्‍याउने मध्यस्थको काम गर्दै आएको थियो।

अर्थात् प्रभु मेनेजमेन्ट प्रालिसँग जोडिएका मुख्य व्यक्ति भट्टचन नै हुन्। भट्टचनले कुसुम लामालगायत व्यावसायिक साझेदारको साथ लिएर देशभरका सहकारीबाट उठाएको करिब एक अर्ब रुपैयाँ प्रभु ग्रुपअन्तर्गतका कम्पनी र आफ्नो लगानीका अन्य कम्पनीमा लगानी गरेर हिनामिना गरेकोबारे उकालोले विस्तृत खोज रिपोर्टमार्फत उजागर गरेको थियो। 

भट्टचनले ‘सुपर एजेन्ट’ कम्पनी खडा गरेर सहकारीबाट रकम उठाउन प्रभु मेनेजमेन्ट प्रालि स्थापना गरेका थिए। त्यसका लागि उनले कुसुम लामालाई व्यावसायिक साझेदार बनाएका थिए। लामा अहिले यो कम्पनीको अध्यक्ष छिन्।

प्रभु मेनेजमेन्टले देशभरका करिब पाँच हजार सहकारीसँग रेमिट्यान्स भुक्तानी एजेन्टका रूपमा छुट्टाछुट्टै करार सम्झौता गरेर कारोबार गरेको थियो। यस्तो सम्झौतापछि प्रभु मेनेजमेन्टले सहकारीहरूबाट आफूखुशी फरक–फरक धरौटी उठाएको थियो। पछिल्लो समय प्रभु मेनेजमेन्टसँग सहकारीहरूको कारोबार विवादपछि भने प्रभु मनी ट्रान्सफरले सहकारीहरूलाई सिधै एजेन्ट बनाएर कारोबार गरिरहेको छ। 

यो पनि: एउटा ठूलो सहकारी ‘स्क्याम’: प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन

२०६९ जेठदेखि २०७१ पुससम्म भट्टचन प्रत्यक्ष रूपमै प्रभु मेनेजमेन्ट प्रालिमा आबद्ध थिए। त्यसपछि २०७७ असारसम्म उनी प्रत्यक्ष भूमिकामा नभए पनि उनको परिवार नै सञ्चालक समितिमा हर्ताकर्ता थियो। उकालोको खोजबिनका क्रममा भट्टचन परिवारको बहुमत शेयर हुँदासम्म प्रभु मेनेजमेन्टले देशभरका सहकारीहरूबाट ९१ करोड ४८ लाख धरौटी उठाइसकेको थियो। 

धरौटीबापत सहकारीहरूले प्रभु मेनेजमेन्टलाई बुझाएको रकम मात्र होइन, उनीहरूले रेमिट्यान्सबापत भुक्तानी दिएको रकमसमेत प्रभु मेनेजमेन्टबाट लिन बाँकी छ। 

भट्टचनले आफू २०७१ सालमै प्रभु मेनेजमेन्टबाट बाहिरिएको र कुनै दायित्व बाँकी नरहेको दाबी गर्दै आएका छन्। तर  लगानी तथा कारोबार विवरण हेर्दा कम्पनीमा पछिसम्मै उनको नियन्त्रण रहेको, त्यसबीचमा उनले आफू अध्यक्ष रहेको प्रभु ग्रुपअन्तर्गतका र आफ्नो लगानीका अरू कम्पनीमा समेत सहकारीको रकम लगानी गर्दै गएको देखिन्छ। 

जसमध्ये प्रभु टेक्नोलोजी पनि हो। प्रभु टेक्नोलोजी प्रालिको सेयर प्रभु मेनेजमेन्टलाई हस्तान्तरण गर्नुअघिको कम्पनीको चलअचल सम्पत्ति, जिन्सी सामान र ऋणधनको विवरण हालसम्म प्राप्त नभएकाले निर्धारित समयमै बुझाउनसमेत प्रभु मेनेजमेन्टले ताकेता गरेको छ। प्रभु टेक्नोलोजीका पूर्वशेयरधनी देवी भट्टचन र मिजास भट्टचनलाई हरहिसाब बुझाउन पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नभएको भन्दै प्रभु मेनेजमेन्टले पछिल्लो सार्वजनिक सूचनामार्फत समयसीमा तोकेको छ।  

कम्पनी रजिस्ट्रारको कार्यालयको शेयर लगतअनुसार प्रभु टेक्नोलोजीमा २०७१ सालमा मिजास भट्टचन, प्रभु मेनेजमेन्ट र विकास महर्जनको नाममा कम्पनीको शुरूआती शेयर स्वामित्व कायम रहेको देखिन्छ। २०७३ चैतमा मिजास र विकासको नाममा रहेको सेयर देवी भट्टचनको नाममा हस्तान्तरण भएको सेयर लगतबाट देखिन्छ।

प्रभु मेनेजमेन्टबाट प्रभु टेक्नोलोजी प्रालिमा २६ करोड लगानी गरिएको छ। प्रभु बैंकको अध्यक्ष (२०७१–२०७७ साल) हुँदा भट्टचन प्रभु टेक्नोलोजी प्रालिको पनि अध्यक्ष थिए। राष्ट्र बैंकबाट २०७४ सालमा भुक्तानी सेवा प्रदायक (पीएसपी) को लाइसेन्स पाएको प्रभु टेक्नोलोजीले ‘प्रभु पे’ डिजिटल वालेट सञ्चालन गर्दै आएको छ।

प्रभु मेनेजमेन्ट प्रालिका अध्यक्ष कुसुम लामाका अनुसार प्रभु टेक्नोलोजी घाटामा जान थालेपछि भट्टचन ‘प्रभु बैंकले किन्छ’ भन्ने गर्थे। बैंक र भुक्तानी सेवाप्रदायकमा एकै व्यक्ति अध्यक्ष हुन नपाउने राष्ट्र बैंकको नीतिका कारण अप्ठेरो परेपछि टेक्नोलोजीमा रहेको आफ्नो शेयर प्रभु मेनेजेमन्टलाई बिक्री गरेर भट्टचनले ६ करोड रुपैयाँ लिएको लामाको दाबी छ। “योसहित देवी भट्टचनको समूह कम्पनीमा रहँदा उनी र उनको परिवारको दायित्व नै १ अर्ब माथि छ,” उनले भनिन्, “तोकिएको समयमा दायित्व भुक्तानी र रकम फिर्ता नगरे खाता रोक्का गर्नेलगायत अदालती प्रक्रियामा जान्छौँ।”