विपिनको निधनबारे इजरायलद्वारा औपचारिक जानकारी, शव ल्याउने प्रक्रिया शुरू

तेल अभिभस्थित नेपाली राजदूतावासले इजरायलका सम्बन्धित निकायसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रियासमेत शुरू गरेको मन्त्रालयले जनाएको छ।

सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका इजरायलको ‘सिक्दै कमाउँदै’कार्यक्रमका सहभागी नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको औपचारिक जानकारी इजरायल सरकारले नेपाललाई गराएको छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

मंगलबार अपराह्न परराष्ट्र सचिव अमृतबहादुर राई र इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी डाइरेक्टर जनरल इडेन बार तालबीच भएको टेलिफोन कुराकानीमा उनले जोशीको निधन भएको औपचारिक जानकारी गराएका हुन्। यस क्रममा इजरायल सरकारले मृतक जोशीप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो।

मन्त्रालयका अनुसार हमासले जोशीको शव मंगलबार बिहान रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेपश्चात् शव पहिचान भइसकेको छ। इजरायलस्थित नेपाली राजदूतावासका प्रतिनिधिले मंगलबार नै तेल अभिभस्थित राष्ट्रिय फोरेन्सिक मेडिसिन केन्द्र पुगेर शव पहिचानको थप पुष्टि गरेका छन्। नेपाली राजदूतावासले त्यहाँका सम्बन्धित निकायसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रियासमेत शुरू गरेको मन्त्रालयले जनाएको छ।

शव नेपाल ल्याइसकेपश्चात् पनि उनको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालासँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र उनको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा र अन्य सुविधाका लागि उचित पहल जारी राख्ने सरकारले प्रतिबद्धता जनाएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि जोशीसहित २५१ जनालाई बन्धक बनाइएको थियो। विभिन्न चरणका सम्झौतामार्फत अधिकांश बन्धकहरू रिहा भए पनि जोशीको अवस्था लामो समयसम्म अज्ञात थियो। जोशीको मृत्युको यकिन कारण भने हालसम्म स्पष्ट भइसकेको छैन।