ब्लग

ओहो, त्यो–यो नेपालगन्ज

शान्ति, अमनचैन र सद्भावको महत्व माओवादी हिंसादेखि साम्प्रदायिक तनावको भुक्तभोगी रहेको नेपालगन्ज जति सायदै कसैले बुझ्ला। यसकै खोजी गर्दै, यही सन्देश बाँड्न दौडिरहेको शहरसँगको अनुभूति:

कात्तिक अन्तिमतिर भर्खर ६ वर्ष पुगेकी छोरी रायनाले अचानक अप्रत्याशित प्रश्न तेर्स्याइन्– “बाबा, मैले रनिङ कम्पिटिसन/इभेन्टमा रन गरेको छु?” स्वाभाविक उत्तर– छैन। “मलाई रनिङ कम्पिटिसनमा जान मन छ, कहिले जान पाइन्छ?” अर्को अझै अप्रत्याशित प्रश्न। 

त्यसदिन एउटा कफी भेट तय थियो। नेपालगन्ज म्याराथनका परिकल्पनाकार टीएस ठकुरीसँग। उनी काठमाडौं आएका बेला सामान्यतया यस्तो भेट छुट्दैन। यसपालि छोरी पनि साथै छिन्। संयोग कस्तो भने ठकुरी म्याराथनको लोगोअंकित टिसर्ट र क्यापमा थिए। देख्नसाथै छोरीको प्रश्न– “यो त रनिङ इभेन्ट जस्तो छ, मलाई पनि रन गर्न मन छ।”

भनाइ नै छ– १२ वर्षमा खोलो पनि फर्किन्छ। दौडमा भाग लिने छोरीको इच्छा यो बेला प्रकट नभएको हुँदो हो, उनकै केही व्यक्तिगत कागजात बनाउने सरकारी कामकाजका लागि कर्मचारीतन्त्रबाट थोपरिएको झन्झटिलो प्रक्रियाले यहीबेला गृहजिल्ला पुग्नैपर्ने बाध्यता नआइलाग्दो हो त सम्भवतः यो संयोग जुर्न पनि ठ्याक्कै १२ वर्ष लाग्ने रहेछ। तर छोरीको यस्तो रहर पच्छ्याउँदा, शुरू भएको ११ औं वर्षमा यसपाली नेपालगन्ज म्याराथनलाई प्रत्यक्ष हेर्ने, बुझ्ने र छोरीसँगै दौडने अवसर जुर्‍यो।

पत्रकारिता जीवनका शुरूआती दशक बिताएको नेपालगन्जले तानिरहन्छ– कहिले चाडबाडको बहानामा त कहिले पेसागत कारण। यो शहर छाडेर काठमाडौँलाई कर्मथलो बनाएपछिका १७–१८ वर्षमा यस्तै संयोगले नेपालगन्जमा तानिरहे, सामीप्य जोडिरहे। नेपालगन्जमा यहीबीच ‘रोड रेस’ प्रतियोगिताका रूपमा म्याराथन शुरू भएको थियो। देशका असाध्यै गर्मी शहरमध्येको नेपालगन्जलाई हामी ‘चिसो शहर’ पनि भन्ने गर्थ्यौं, यसका कतिपय सामाजिक र आर्थिक चरित्र र व्यवहारका कारणले।

हपहप गर्मीले सताउने यो ‘चिसो शहर’ले लगातार १०औँ वर्ष म्याराथन गरिसकेको थियो। कोभिड महामारीमा पनि नरोकिएको म्याराथनले पछिल्ला वर्ष त विश्व म्याराथनको सर्वोच्च निकाय ‘एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेसेस’बाट नेपालकै पहिलो आधिकारिक म्याराथन रुटको मान्यता पायो। यससँग साक्षात्कार हुन निरन्तर प्रयासका बाबजुद समय जुरेको थिएन। म्याराथन शुरू भएको चार वर्षपछि जन्मेकी छोरीले दौडिने उत्कट इच्छा देखाएपछि यसले अन्ततः तानिछाड्यो। 

पश्चिम नेपालको पुरानो शहर नेपालगन्जबाट शान्तिको सन्देश दिन शुरू गरिएको इभेन्ट थियो नेपालगन्ज म्याराथन। शान्तिको सन्देश नै किन त भन्ने प्रश्न अर्थपूर्ण छ। किनभने यो त्यही शहर हो जसले अनेक आवरणमा हुने हिंसाको लामो चक्र पार गरेको छ।

null

 

हिंसाको त्यो त्रासद
देश माओवादी हिंसाको चपेटामा पर्दै थियो, म नेपालगन्जलाई कर्मथलो बनाएर पत्रकारिता गर्थें। प्रहरी चौकी आक्रमण, घरबिदा आएका प्रहरीदेखि गाउँठाउँमा दलका कार्यकर्ताहरूलाई ‘भौतिक कारबाही’का नाममा गरिने हत्या बढ्दै थिए। सुरक्षा तैनाथी, बन्दव्यापार, स्वास्थ्योपचार, शैक्षिक गतिविधि सबै हिसाबले नेपालगन्ज त्यसताका मध्य र सुदूरपश्चिमको केन्द्र थियो। आक्रमणमा परेका प्रहरी, दलका कार्यकर्ता र सर्वसाधारणलाई उपचारका निम्ति यहीँ ल्याइन्थ्यो।तत्कालीन भेरी अञ्चल अस्पतालले ‘माओवादी पीडितको अस्पताल’ भन्ने अघोषित परिचय पाएको थियो। 

माओवादी हिंसा फैलिँदै गयो। सेनामाथि पनि आक्रमण हुन थाल्यो। देशमा संकटकाल लाग्यो। सेना परिचालन भयो। त्यसपछि त यो शहर नै युद्धभूमि जस्तो लाग्न थाल्यो। जतिखेरै बज्ने एम्बुलेन्सको साइरन, धेरैजसो उडिरहने नाइटभिजन (सैनिक) हेलिकप्टर, कुनै रात त शहरभित्रै गोलाबारी। शहर पस्ने गौँडाहरूमा बीचबीचमा भइरहने भिडन्त। सुरक्षा कारबाहीका नाममा माओवादी कार्यकर्ता, समर्थक र कहिलेकाहीँ सर्वसाधारण मारिने र बेपत्ता पारिने क्रम बढ्दै गयो।  

पत्रकारितामा जम्दै गरेका म र समकालीन साथीहरू काठमाडौँबाट प्रकाशित हुने ‘ब्रोडसिट’मा प्रायः ‘फ्रन्टपेज बाइलाइन’ पाइरहँदा दंग पर्थ्यौं। तर यो खुशीसँगै अप्रिय कुरा पनि जोडिएर आउँथे। कहिले सेनाले ब्यारेक, प्रशासन कार्यालय बोलाएर बेस्सरी केरकार गर्थ्यो। कहिले माओवादीले हामीलाई नै ‘सफाया’को फर्मान जारी गर्थ्यो। हामी आफैमाथि मडारिएको यो विघ्न असुरक्षाको भय र आफू बसिरहेको शहरका सर्वसाधारणले भोगिरहेको त्रासदीबाट ज्यादा पिरोलिन्थ्यौँ। पिरोलिने को पो थिएनन्! त्यसबाट त्राण मिल्ने झिनो आशा बोकेर उद्योगी–व्यवसायी, सामाजिक संस्था र नागरिक समुदायले निरन्तर शान्ति र्‍याली निकाल्थे। हिंसा बन्द गर्न अपिल गर्थे। तर त्यसको प्रभाव नगण्य हुन्थ्यो।

तत्कालीन सात दल र माओवादीबीच शुरूमा १२ बुँदे समझदारी र त्यसकै जगमा २०६२/६३ को जनआन्दोलन भयो, सात महिनापछि २०६३ को मंसीरमा माओवादीको हिंसात्मक विद्रोह अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भयो। त्यसपछि बल्ल नेपालगन्जले यस्तो त्रासदबाट त्राण पायो। तर नेपालगन्जले बेहोरेको हिंसा त्यति मात्र थिएन।

माओवादी हिंसाको जगजगी रहेकै बेला २०६१ भदौ १६ मा देशले अर्को त्रासद भोग्यो। त्यस दिन काठमाडौँ विध्वंस, आगजनी र लुटपाटमा लपेटिएको थियो। इराकमा १२ जना नेपालीलाई आतंकवादी समूहले हत्या गरेको विरोधमा प्रदर्शनमा उत्रिएको अराजक भीडले मुस्लिम समुदायका व्यक्ति, व्यवसायीहरूलाई निशाना बनाउँदै तोडफोड, आगजनी र लुटपाट मच्चाएको थियो। अवस्था यतिसम्म डरलाग्दो थियो कि काठमाडौँबाट मेरा तत्कालीन सम्पादक राजेन्द्र दाहालले फोनमा भनेका थिए, “नेपालगन्ज जोगाऊ है, रुक्मांगद् कटवाल (सेनाको नेपालगन्जस्थित मध्यपश्चिम पृतनाका पृतनापति, जो पछि प्रधानसेनापति बने) लाई भनेर हुन्छ वा के कसो गरेर हुन्छ, नेपालगन्जलाई जल्नबाट बचाऊ।” 

नेपालगन्ज विभिन्न धर्म, सम्प्रदायको मिश्रित बसोबास रहेको पुरानो शहर, यसको विशेषता बेलाबेला आफ्नै लागि चुनौतीसमेत बन्दै आएको छ। खासगरी चुनावमा उम्मेदवारका उग्र नारा र अराजक गतिविधिका कारण नेपालगन्जले त्यसअघि पनि साम्प्रदायिक हिंसा र तनाव बेहोरेको थियो। दलीय र यस्तै अरू स्वार्थका कारण धार्मिक सम्प्रदायबीच तनाव बढाउने काम पटकपटक भइसकेकाले हुनुपर्छ, सम्पादक दाहालले काठमाडौँबाट जनाएको चिन्ता स्वाभाविक थियो।

तर उनले भने जस्तो केही गर्नु परेन। किनभने धार्मिक र सामाजिक अगुवा सद्भाव कायम राख्न आह्वान गर्दै संयुक्त रूपमा सडकमा ओर्लिए, कुनै वितण्डा हुन दिएनन्। पछिल्लो समय नेपालगन्जले त्यो शहरको परिचय बनाइरहेको छ जहाँ देशका कुनै भूभागमा धर्म वा सम्प्रदायका नाममा ‘धमिलो पानीमा माछा मार्ने’हरू सलबलाउँदा सबै धार्मिक अगुवा त्यसलाई निस्तेज पार्न अग्रसर भइहाल्छन्। नेपालगन्जको यो अग्रसरता अरू शहरका लागि अहिले मोडलझैँ बनेको छ। 

२०६३ सालमा मधेश आन्दोलन शुरू हुँदै गर्दा पनि नेपालगन्जबाटै साम्प्रदायिक तनाव निम्त्याउने प्रयास गरिएको थियो। पूर्वी र मध्य तराईमा आन्दोलन नचर्किँदै नेपालगन्जमा एउटा समूहले निश्चित समुदायका व्यक्ति र व्यवसायमाथि छानीछानी आक्रमण गरेको थियो। तर मिलेर बसेका पहाडे र मधेशी समुदायलाई आमनेसामने ल्याएर भिडाउने प्रयत्न सफल भएन। धार्मिक र सामाजिक अगुवा सद्भाव कायम राख्न डटेर जुटे। 

अनि ‘पिस म्याराथन’
स्वार्थको राजनीतिले गाँजेका बेला समाजमा शान्ति र सद्भाव जहिल्यै अप्ठेरोमा हुन्छ। नेपालगन्ज त झन् ज्यादा संवेदनशील ठाउँ हो। भारतमा राजनीतिक लाभका लागि प्रयोग गरिने ‘हिन्दूत्व’को राजनीति सबैभन्दा प्रभावी रहेको उत्तरप्रदेश छेउमै छ। उता केही घटना हुँदा वा नेपालकै अन्य स्थानमा सद्भाव खल्बल्याउने गतिविधि देखा पर्दा नेपालगन्ज सधैँ त्रस्त बन्छ। भर्खरै भदौ २४ को विध्वंसका क्रममा नेपालगन्जमा जे जस्ता घटना भए, तिनमा संलग्नहरूको उल्लेख्य हिस्सा सीमापारिबाट आएको रेकर्ड सुरक्षा निकायदेखि सामाजिक अगुवाले नै सुनाए। यो अवस्थाले उब्जाएको एउटा प्रश्न– धार्मिक र सामाजिक अगुवाको अग्रसरताले मात्र कतिन्जेल सम्भावित हिंसा निस्तेज पार्न सक्ला? 

null

यही प्रश्नमा घोत्लिने क्रममा जन्मिएको हो नेपालगन्ज म्याराथन। शुरूआतको वर्ष, २०७२ मा त यसको नाम नै ‘नेपालगन्ज पिस म्याराथन’ थियो। १० वर्षे माओवादी द्वन्द्वको असाध्यै चपेटामा परेको ठाउँ, सामाजिक सद्भाव बिथोलिने र शान्ति खलबलिने कैयौँ घटना भइरहेको शहर। मधेशी–पहाडी र हिन्दू–मुस्लिमबीचको सद्भाव पनि खलबलिने अवस्था आएको ठाउँ। “त्यो सद्भावलाई बरकरार राख्न केही गर्नुपर्छ भन्ने लाग्यो,” नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी भन्छन्, “अनि नेपालगन्ज म्याराथन जन्मियो।” 

संविधानसभाबाट भर्खर संविधान जारी भएको समय थियो। सरकार र तत्कालीन माओवादी विद्रोहीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन (मंसिर ५) लाई ध्यानमा राखेर त्यसैको सेरोफेरोमा म्याराथन शुरू गरियो। त्यसयता प्रत्येक वर्ष मंसिरको पहिलो शनिबार म्याराथन हुँदै आएको छ। “विदेशका म्याराथनमा हामी एकै पटक हजारौँ मानिस सहभागी भएको देख्थ्यौँ, फरक धर्म र समुदायका मानिस एकैठाउँ आइपुग्थे। विविधता र अनेकताका सबै मानिसलाई एउटै मञ्चमा अटाउन सक्ने ठाउँ त म्याराथन पो रहेछ भन्ने लाग्यो,” ठकुरीले भने, “धार्मिक, जातीय तथा सामाजिक सद्भाव कायम राख्ने राम्रो प्लेटफर्म यो पो रहेछ भन्ने बुझेपछि हामी यसमै लाग्यौँ। प्रायः नयाँ पुस्ता जोडिने हुँदा यसले पछिसम्म शान्ति र सद्भाव बलियो बनाउन योगदान गर्छ भन्ने लाग्छ।”

शान्ति र सद्भाव बढाउन केन्द्रित यो म्याराथन पहिलेदेखि नै खेलकुदमा अलग्गै पहिचान बनाएको नेपालगन्जको चिनारीमा पनि योगदान गर्दैछ। बेलाबेला म्याराथनमा नेपालबाट ओलम्पिक छनोट प्रतियोगिताका रूपमा पनि मान्यता पाइरहेको यो प्रतियोगिताका विजेता लन्डन ओलम्पिकसमेत दौडिसकेका छन्।

यसले ‘रोड रेस’लाई नयाँ पुस्तामाझ संस्कृतिका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ। म्याराथनमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हुने नै भए, यसले साना बालबालिकाको किड्स रन (३ किमी), विद्यार्थी तथा बालबालिका रन (५ किमी) जस्ता इभेन्टबाट नयाँ पुस्तालाई नै क्रमशः यसमा तानिरहेको छ। 

नेपालगन्ज झट्ट हेर्दा हिजोभन्दा धेरै बदलिएको छ। सीमानाकादेखि कोहलपुरसम्म चार लेनको सडक, गाउँ देहातसम्म चिल्ला पक्की सडक, परम्परागत पसल–व्यवसायका ठाउँ लिइरहेका ठूल्ठूला कम्प्लेक्स र तारे होटल। तर तिनले पर्खिरहेका ग्राहक र पर्यटक भने खासै देखिँदैनन्। यसले बन्दव्यापारमा मन्दी छ, लगानीकर्ता–व्यवसायीमा गुनासोसँगै निराशा बढ्दो छ। बनेका पूर्वाधार ‘मेन्टेन’ भइरहेका छैनन्। किनभने व्यापार सुस्त हुँदा नेपालगन्ज उपमहानगरपालिकाको आम्दानी असाध्यै न्यून छ जसले आफ्नै पूर्वाधार मेन्टेन गरिराख्नलाई खर्च गर्ने उपाय भेट्टाइ रहेको छैन। 

मुलुक संघीयतामा जानुअघि नेपालगन्ज यो भेगकै केन्द्र थियो, धेरैमा आशा बरकरार थियो। संघीयतासँगै छेउको दाङ र सुर्खेत क्रमशः लुम्बिनी र कर्णाली प्रदेशका राजधानी बने। गणतन्त्रअघि राजा ज्ञानेन्द्रले क्षेत्रीय सदरमुकामका नाममा सुर्खेत र नेपालगन्जबीच विग्रहको बीजारोपण गर्दा राजाज्ञाविरुद्ध हस्ताक्षर अभियान नै चलाएको नेपालगन्जसँग यतिबेला गुनासो ज्यादा छ। हुन त प्रदेश राजधानी हुनु र नहुनुको तात्त्विक अर्थ छैन, शहर चलायमान हुन अरू कुरा नै निर्णायक हुन्छन्।

तर दलगत र नेतागत स्वार्थले प्रदेश राजधानी तय गर्दा नेपालगन्ज त्यही लहरमा बगेको देखिन्छ जसले शहर चलायमान पार्ने उपाय भेट्टाउन सकेको छैन। जब शहर चलायमान हुँदैन, अर्थतन्त्र कमजोर बन्छ, यसले त्यहाँका बासिन्दाको जीवनस्तर सुधार्न सक्दैन, त्यहाँ शान्ति र सद्भाव दिगो बनाउन चुनौती खडा हुन्छ। किनभने कमजोर आर्थिक अवस्था नै स्वार्थका चलखेललाई खेल्ने ठाउँ बन्छ। नेपालगन्जको मुख्य चुनौती यही हो।