अहिले अवैध बाटो अमेरिका जानेहरूको थलो बनेको रुकुम माओवादी द्वन्द्वको उद्गमथलो थियो। रुकुमेलीलाई अमेरिका डोर्याउन त्यही सशस्त्र द्वन्द्व नै कसरी आधार बन्यो?
रुकुम– रुकुम पूर्वको सिस्ने गाउँपालिका–७ नाथिगाढकी मइमा पुन (६२) का दिन उराठलाग्दा छन्। घरमा उनी र उमेरले ७० टेक्न लागेका श्रीमान् मात्र छन्। गोठमा केही गाईबस्तु छन्, तिनैको स्याहारमा उनीहरूको दिन बित्छ।
सन्तान नभएर उनीहरूको घर उराठ बनेको होइन। नातिनातिना पनि भइसकेका छन्। तर गाउँ छिरेको ‘अमेरिका सपना’ले सबैलाई उतै पुर्यायो। तीन छोरा र दुई नाति अवैध रूपमा अमेरिका छिरे। उतैको बासिन्दा भए। मइमा भन्छिन्, “छोरा, नाति सबै अमेरिका हिँडेपछि घरमा बुढाबुढी मात्रै छौँ। दुःखबिराम हुँदा हामीलाई पानी दिने पनि कोही छैन।”
नाथिगाढकै यमबहादुर रावत (६४) को घरमा पनि उनी र श्रीमती मात्र छन्। रावत दम्पतीका तीन छोरा दलालले देखाएको बाटो हुँदै अमेरिका पुगिसके। अवैध रूपमा गएका छोरा कहिले भेट्न आउने हुन् पत्तो छैन।
नाथिगाढका अधिकांश घरमा ज्येष्ठ नागरिक मात्र छन्। एउटै घरका दुईदेखि पाँच जनासम्म अमेरिका गएका छन्। दक्षिण अमेरिका हुँदै हिँडेरै अवैध रूपमा अमेरिका छिर्ने लहरले गाउँ सुनसानजस्तै छ।
सिस्ने गाउँपालिका–७ का वडाध्यक्ष सशिधर बुढाका अनुसार नाथिगढमा करिब १४५ घरधुरी छन्। यो गाउँबाट मात्र करिब १२० जना अमेरिका गएका छन्। अमेरिका पुग्नेहरूले प्रतिव्यक्ति ८० लाखसम्म खर्चेको बुढा बताउँछन्।
नाथिगढमा अवैध बाटोबाट अमेरिका पुगेर त्यहाँबाट ‘डिपोर्ट’ भएका १० जनाभन्दा बढी युवा छन्। वडाध्यक्ष बुढाका अनुसार दलालबाट ठगिएका र अलपत्र परेर बीचैबाट फर्किएकाहरू अझ धेरै छन्।
यो गाउँबाट अमेरिका जाने क्रम माओवादी युद्ध चर्किएकै बेला शुरू भएको थियो। यहाँबाट पूरा रुकुमभरि अमेरिका जाने लहर फैलिएको थियो।
हस्त गौतमले शुरू गरेको ‘दलालीको जालो’
अवैध रूपमा अमेरिका जाने र त्यसको ‘जालो’ फैलाउने लहरो नाथिगाढकै हस्त गौतम र उनको परिवारसँग जोडिन्छ। स्थानीयका अनुसार हस्त अवैध रूपमा अमेरिका जाने नाथिगाढका पहिलो व्यक्ति हुन्।
गौतममाथि मानव तस्करीको आरोप लागेपछि यो प्रकरणमा अनुसन्धान गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टका अनुसार हस्त अमेरिका छिरेर टेक्ससमा बस्थे। त्यहाँबाट एजेन्टमार्फत उनले अरूलाई पनि अवैध रूपमा अमेरिका पुर्याउन थाले। उनले रुकुमबाट मात्रै ३०० जनाभन्दा बढीलाई अवैध रूपमा अमेरिका पुर्याएको आरोप छ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई २०८० भदौ २० गते पक्राउ गरेको थियो। अहिले उनी पुर्पक्षका लागि कारागारमा छन्। उनी दिल्ली हुँदै भैरहवा नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको थियो।
हस्त अपांगता भएका व्यक्ति हुन्। अपांगता भएका हस्त कसरी अमेरिका पुगे? यसबारे बुझ्न गत कात्तिकमा हामीले उनका जेठा दाइ थम्मन गौतमलाई गाउँमै भेटेका थियौँ। अवकाशप्राप्त शिक्षक थम्मनले हस्त कसरी अमेरिका पुगे र नाथिगाढलाई मानव तस्करीको केन्द्र बनाए, त्यसको वृत्तान्त सुनाए।
हस्तको कम्मरदेखि मुनिको भाग जन्मजात नै कम चल्ने हुँदा राम्रोसँग हिँडडुल गर्न सक्दैनथे। पछिल्लो समय त ह्विलचेयरमा मात्र हिँड्छन्। गाउँमा कक्षा ५ सम्म पढेपछि काठमाडौँको जोरपाटीस्थित अपांगता भएका व्यक्तिलाई राख्ने एउटा संस्थामा उनलाई राखियो। त्यसपछि काठमाडौँमै हुर्के, बढे। पछि उनी अपांगता भएका व्यक्तिहरूको संस्थाको अध्यक्ष पनि भए।
सोही क्रममा २०५२ सालतिर उनले पारा ओलम्पिकका लागि अमेरिका जाने मौका पाए। “सानैदेखि टाठो बाठो थियो,” थम्मन भन्छन्, “पछि थुप्रै पटक अमेरिका आउने–जाने गर्यो।”
त्यो बेलादेखि नै हस्तले सहयोगीको रूपमा विभिन्न व्यक्तिलाई अमेरिका लैजाने र उतै छाड्ने गर्थे। अनुसन्धानमा संलग्न डीएसपी विष्टका अनुसार २०६२ सालमा पुनः अमेरिकाको टेक्सस पुगेका बेला उनले मेक्सिकोबाट मानिसहरू अमेरिका छिर्ने गरेको देखे। “त्यो देखेपछि अवैध रूपमा अमेरिका छिर्न (छिराउन) सकिन्छ भन्ने मेसो पाए,” विष्ट भन्छन्।
हस्तले प्रहरी समक्ष दिएको बयानअनुसार उनी नेपाल फर्किए र दक्षिण अमेरिका हुँदै मेक्सिकोबाट श्रीमतीसहित फेरि अमेरिका पुगे। “त्यो बेला उनी लौरोको सहारामा परिवारसहित हिँडेर अमेरिका छिरेछन्,” डीएसपी विष्ट भन्छन्, “त्यतिखेर उनकी श्रीमती गर्भवती रहिछन्।”
नेपालमा सशस्त्र द्वन्द्व चलिरहेको थियो, रोल्पा र रुकुम अति प्रभावित थिए। अमेरिका छिरेपछि उनले ‘द्वन्द्वबाट विस्थापित’ भनेर शरणार्थीको कागजात बनाए। शरणार्थी हैसियत पाएको केही समयमा ग्रिनकार्ड बनाए। उनले अवैध रूपमा अमेरिका छिर्ने बाटो मात्रै पत्ता लगाएनन्, यताबाट रकम असुलेर मान्छे पनि लान थाले।
दाइ थम्मनका अनुसार २०६३ सालतिर हस्तले पहिला आफ्ना परिवारका सदस्यलाई अमेरिका लगे। “त्यसपछि क्रमशः अमेरिकामा बसेर उसले नाथिगाढका युवाहरूलाई अमेरिका तान्न थाल्यो,” उनी भन्छन्, “अमेरिका छिर्न सकिन्छ भन्ने थाहा पाएपछि गाउँबाट एकपछि अर्को गर्दै मान्छेहरू उता जान थाले।”
पछि त, हस्तले अमेरिका पुर्याएकाहरू पनि त्यही धन्दामा लागे। अनि नाथिगढबाट अमेरिका जाने मात्रै हैन, पठाउने दलाल पनि धेरै हुन थाले। “अमेरिका जाने लहर नाथिगढबाट शुरू भएर, छिमेकी गाउँहरू हुँदै सिंगो रुकुमभरि फैलियो,” थम्मन भन्छन्।
यसरी दलाल बनेर अमेरिका पठाउनेमा कांग्रेस र एमालेका नेता पनि छन्। केही त प्रदेशसभाका सदस्य पनि भएका छन्।
युद्धको बहानामा धमाधम अमेरिका
हस्तले शुरू गरेको मानव तस्करी माओवादी सशस्त्र द्वन्द्वसँग जोडिन्छ। अवैध रूपमा अमेरिका प्रवेश गरेपछि उनी आफै पनि द्वन्द्वलाई देखाएर शरणार्थी बनेका थिए। द्वन्द्वकालमा रुकुममा मात्र ६६८ जनाले ज्यान गुमाएका थिए। द्वन्द्वबाट अति प्रभावित जिल्ला भएको हुँदा अवैध रूपमा अमेरिका प्रवेश गरेपछि बसोबासका लागि द्वन्द्वलाई बहाना बनाउँथे।
कुनै बेला रुकुमको जिल्ला सदरमुकाम रहिसकेको, अहिले रुकुम पूर्वको सदरमुकाम रहेको रुकुमकोटसमेत पर्ने सिस्ने गाउँपालिका–५ का वडाध्यक्ष वीरेन्द्र बस्नेत अमेरिकातर्फको मानव तस्करी फस्टाउनुमा द्वन्द्व गतिलो बहाना बनेको बताउँछन्। उनका अनुसार रुकुमबाट ठूलो संख्या २०६३ सालपछि नै अमेरिका गएको हो।
“हस्तले अमेरिका पठाउन थालेपछि रुकुमका धेरै युवा हिँडे,” वडाध्यक्ष बस्नेत भन्छन्, “त्यसरी हिँडेकाहरू युद्धका नाममा अमेरिका छिरे। सजिलो के भयो भने, युद्धबाट विस्थापित भनेर सजिलै शरणार्थी मुद्दा (एसाइलम) जितेर शरणार्थीको हैसियत पाए। त्यति मात्रै हैन, त्यसरी छिरेकाहरूले सजिलै ग्रिन कार्डसमेत पाए।”
अमेरिका लैजाने दलालले ग्रिन कार्ड र मासिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म कमाइ हुने लोभ देखाउँथे। त्यसबाट गाउँमा नलोभिने कोही थिएनन्। “दलाल र अमेरिका पुगेकाहरूले लोभ देखाएपछि गाउँलेहरू अमेरिका जान लालायित भए। त्यसपछि हस्त गौतमजस्ता दलाल समातेर अमेरिका जाने धेरै भए,” वडाध्यक्ष बस्नेत भन्छन्।
वडा नं. ७ का वडाध्यक्ष सशिधर बुढा पनि युद्धका बहानामा अमेरिका जाने लहर ह्वात्तै बढेको बताउँछन्। “एक जना छिरेको देखेपछि अरू पनि त्यसैगरी हिँडे, त्यसमाथि अमेरिका पुगे मालामाल हुने लोभ देखाएका थिए,” उनी भन्छन्, “अनि त कमाउन अमेरिकै जानुपर्छ भन्ने मनोविज्ञान बन्न थाल्यो।”
यताबाट नक्कली कागजात, उता ग्रिन कार्ड
त्यस बेला द्वन्द्वबाट विस्थापित भएको भनेर कागजात बनाउन रुकुममा अधिकांशलाई कांग्रेस पार्टीका नेताहरूले सघाएका थिए। कांग्रेसकै नेताहरूका अनुसार अवैध रूपमा अमेरिका पुगेकालाई शरणार्थी मुद्दा लड्न द्वन्द्वबाट विस्थापित भएको नक्कली कागजात रुकुम कांग्रेसले बनाइदिन्थ्यो।
रुकुम कांग्रेसका पुराना नेता, पूर्वराज्यमन्त्री केशरमान रोका अवैध रूपमा अमेरिका छिरेका धेरैलाई पार्टीको लेटरप्याडमै ‘युद्धबाट विस्थापित’ भनेर कागजात बनाइदिएको स्वीकार गर्छन्। “दलाललाई लाखौँ रकम बुझाएर, महिनौँ हिँडेर अमेरिका पुगेका हुन्थे,” उनी भन्छन्, “उता मुद्दा चल्दा युद्धबाट विस्थापित भनेर उनीहरूले बयान दिएका हुन्थे। मानवताको हिसाबले पनि हामी सिफारिस बनाइदिन्थ्यौँ। त्यति नगरिदिए उनीहरू फर्काइन्थे।”
त्यो बेला धेरैले माओवादीद्वारा लखेटिएको, विस्थापनमा परेको, देशमा बस्न सक्ने अवस्था नभएको भनेर कागजात बनाउन लगाए। पछि त माओवादी कार्यकर्तासमेत माओवादीबाटै विस्थापित भएको कागजात बनाउनलाई आउन थाले। “जे भए पनि उनीहरू हाम्रा नागरिक थिए,” रोका भन्छन्, “नजानु पर्ने गइसकेका थिए। सही वा गलत भन्दा पनि यहाँको राजनीतिक दलको कर्तव्य सम्झेर पनि कागजात बनाइदिन सहयोग गरेका थियौँ।”
शान्ति प्रक्रिया शुरू भएको केही समयपछि युद्धबाट विस्थापित भनेर कागज बनाउन नमिल्ने भयो। अनि, निर्वाचनका बेला माओवादीसँग भएको दंगामा परेर कुटपिट भएको जस्ता कारण देखाएर समेत कागजात बनाउन थालियो। कांग्रेसले पनि यस्तै सिफारिस बनाउनेक्रम जारी राख्यो।
अझै जारी छ मानव तस्करी
मानव तस्करीका कारण रुकुमका गाउँमा युवा भेट्नै मुस्किल हुन थालेको छ। सिस्नेबाट मात्र अवैध रूपमा अमेरिका पस्नेको संख्या ८०० हाराहारी भएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी बताउँछन्। “मानव तस्करीको जालो भित्री गाउँहरूमा छिरेको छ, गाउँका मानिसहरू दलालको जालोमा परेर लाखौँ खर्चेर हिँडिरहेका छन्,” उनी भन्छन्, “हामीले रोक्न सक्ने अवस्था नै छैन।”
रुकुम पश्चिमको बाफीकोट गाउँपालिकाबाट पनि ७०० भन्दा धेरै अमेरिका पुगेका छन्। अझै करिब ७०० जना बाटोमै भएको हुनसक्ने गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगर बताउँछन्। “अमेरिका जाने लहर यस्तो छ कि गाउँ नै रित्तिन थाले,” उनी भन्छन्, “अब त गाउँमा को गए होइन, को गएन भनेर अचम्म मान्नुपर्छ।”
युवा मात्र नभई बालबालिकाहरू पनि अवैध बाटो भएर अमेरिका जान थालेको उनको भनाइ छ। “एउटा घरबाट गएपछि अर्को घरबाट पनि आफ्ना सन्तान पठाउन तम्सिन्छन्। अब त अमेरिका गए मात्र जिन्दगी बन्छ भन्ने बुझाइ हुन थाल्यो,” उनी भन्छन्।
अध्यक्ष बाँठा मगरका अनुसार पहिला दलालले ८ लाखदेखि १५ लाख रुपैयाँ लिएर अमेरिका पुर्याइदिन्थे। २०७० को दशकमा २५ देखि ५० लाख पुग्यो। केही वर्षयता दलालले ६० देखि ८० लाख रुपैयाँसम्म लिने गरेका छन्।
रुकुम पश्चिमका पत्रकार लक्ष्मण केसीका अनुसार अवैध रूपमा अमेरिका पठाउने मानव तस्करीको ‘धन्दा’ रुकुममा खुल्लमखुल्ला छ। उनी भन्छन्, “समाजका पढेलेखेका, स्थापित भनिएका व्यक्तिहरूसमेत अमेरिका हिँडेपछि परिस्थिति विकराल बनेको छ।”
रुकुम पश्चिम सदरमुकाम मुसिकोटस्थित रुकुमेली क्याम्पसका प्रमुख मीनबहादुर पुन अमेरिकातर्फ मानव तस्करी फस्टाउनुको कारण सशस्त्र युद्ध नै भएको बताउँछन्। “युद्ध नै यहाँका मानिसहरूलाई अमेरिका छिर्ने गतिलो बहाना बन्यो। युद्ध नभएको भए फाट्टफुट्ट मात्र गए पनि यो अवस्था आउँदैनथ्यो होला,” उनी भन्छन्।
पछिल्लो समय तल्लो बाटो अमेरिका जाने पंक्तिमा माओवादी कार्यकर्ताहरूको संख्या पनि ठूलो छ। युद्धका बेला सबैको जीवन बदल्ने वाचा गरेका माओवादी नेताहरू युद्ध सकिएसँगै रातारात धनी बन्दै गए। उनीहरूको जीवनशैली र ठाँट अर्कै बन्यो। तर उनीहरूकै उक्साहटमा युद्धमा लागेका कार्यकर्ताको जीवन र आर्थिक हैसियत भने जहाँको तहीँ थियो। कतिपयको त झन् नाजुक बन्यो। यसलाई नजिकबाट देखे–बुझेका माओवादी कार्यकर्तालाई नै लाग्न थाल्यो– मुख्य कुरा धेरै पैसा कमाउनुपर्ने रहेछ।
पुन पनि युद्धपछि चमकधमकपूर्ण बनेको माओवादी नेताको जीवनशैली देखेर उनीहरूकै कार्यकर्ता मात्र होइन, अन्य सर्वसाधारणलाई पनि पैसा कमाउनै पर्ने रहेछ भन्ने निधोमा पुगेको बताउँछन्। “अमेरिका पुगेकाले राम्रो पैसा कमाएको देखेपछि अरूलाई पनि पैसा कमाउने सजिलो उपाय त्यही रहेछ भन्ने लाग्यो। आँखैअघि नेताका जीवनमा आएको परिवर्तन देखेपछि, आदर्शले हुँदैन पैसा नै कमाउनु पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव परेको देखिन्छ,” उनी भन्छन्, “अनि त यहाँको अमेरिका जाने सपना कसैले रोक्नै नसक्ने बन्यो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
