‘बुद्ध महिलाद्वेषी होइनन्। उनीपछिका भिक्षुहरूले महिलालाई अलिकति तल्लो श्रेणीमा राखेका हुनसक्छन्। यसलाई सामाजिक कसीमा राखेर त्योबेलाको समाजको मानसिकताको आधारमा हेर्नुपर्छ।’
गौतम बुद्धले प्रवर्तन गरेर फैलाएको बौद्ध धर्म अहिले संसारका धेरै मानिसले अपनाएका छन्। गौतम बुद्धको महापरिनिर्वाण (निधन) भएको २५ सय वर्ष बितिसक्दा त्यो समाज कस्तो थियो भन्ने कुतूहलता छ। त्यसबेला पाली भाषा प्रचलनमा थियो। तर त्यो समाज झल्काउने लेख्य सामग्री उस्तो पाइँदैन। यसबारे अध्ययन/अनुसन्धान पनि कमै मात्र भएको छ। पूर्वबैंकर तथा अनुसन्धानकर्ता उमाकान्त पौड्यालले पाली त्रिपिटकको साक्ष्यमा ‘बुद्धकालीन समाज’ पुस्तक लेखेका छन्। तथ्य तोडमोड नगरी, शास्त्रमा लेखिएका कतिपय सन्दर्भलाई लेखकीय दृष्टिकोणसहित छर्लङ्ग पारेर यो पुस्तक लेखिएको छ। यस पुस्तकको सेरोफेरोमा रहेर पौड्यालसँग उकालोका लागि श्याम राना मगरले गरेको कुराकानीः
तपाईंको पुस्तक पढ्दा बुद्धकालीन समाजमा मान्छेहरू परिवारमा बस्ने, कृषि गर्ने, आवश्यक सामग्री साटफेर गर्ने र वाणिज्य युगमै प्रवेश गरेको पाइन्छ। त्यो समाज के कारण दुःख, पीडाको जालोभित्र पस्यो र बुद्ध त्यसको निवारणतिर लागे?
धनकै कारण मान्छे सुखी हुन्छ भन्ने होइन। प्रशस्तै धन भएका मान्छे पनि दुखी भएको हामीले देखका छौँ। दु:खको कारणमध्ये एक धन पनि हो। तर, मुख्य कारण मानसिक हो। बुद्ध शारीरिक दुःख, दैनिक आवश्यकता परिपूर्तिको दुःखभन्दा पनि मानसिक दुःखको निवारणको लागि लागेका हुन्। शारीरिक वा धनसम्पत्तिको वा कुनै पनि दुःख मनले अनुभूत नगरेसम्म त दुखै हुँदैन। मानसिक दुःखलाई निवारण गर्नु मुख्य उद्देश्य हो।
दुःख मान्छेबाहेक अन्य प्राणीलाई पनि हुन्छ। उनीहरूको मन अलि विकसित हुँदैन। मान्छेहरूको मन विकसित हुन्छ। त्यसकारण अलि बढी संवेदनशील हुन्छ। दुखी पनि बढी हुन्छ। अन्य प्राणीका दुःखका कारण सीमित छन्। जस्तो- भोक, खानेकुराको व्यवस्थापन, शत्रुको आक्रमण अन्य जीवजन्तुका लागि दुःखका कारण हुन्छन्। मान्छेका लागि त्योबाहेक पनि दुःखको कारण छ। मान्छेको लागि दुःखको मुख्य कारण मानसिक हो भनेर बुद्धले निर्क्यौल गरेका हुन्।
समस्या निवारणका लागि स्वर्गलोक पुगेको भिक्षुलाई स्वयं ब्रह्माले 'पृथ्वीमा ज्ञानवान बुद्ध हुँदाहुँदै आफू कहाँ आउनु नपर्ने' भन्दै बुद्धकहाँ जान सुझाव दिएको प्रसंग पुस्तकमा छ। पछि उनी बुद्धकै भिक्षु संघमा पुगे। त्यसबेला मान्छेहरूमा धर्मप्रतिको आस्था कस्तो थियो?
बुद्धकालभन्दा अघि वैदिककाल थियो। त्यसबेला सबै देउताहरूको समाजमा उपस्थिति थिएन। वैदिककाल, ऋग्वैदिककालमा ईन्द्र, वरुण, अग्नि, प्रजन्यलगायतका देउता थिए। प्रकृतिसित सम्बन्धित देउता मात्रै थिए। मानवीय देउताको अस्तित्व वैदिककालको पुछारतिर अथवा, त्यसपछि आएको देखिन्छ। हुन त ऋग्वेद र अरू वेदमा पनि विष्णु, शिवको अस्तित्व छ। तर बुद्धकालसम्म तिनीहरूको अस्तित्व गौण थियो। त्यतिबेलाका मुख्य देउता भनेको ईन्द्र थिए।
त्रिपिटकमा अलि बढी भएका देउता ब्रह्मा हुन्। ब्रह्मा पनि सर्वशक्तिमान होइनन्। मान्छेभन्दा उपल्लो तहका देउता हुन् भन्ने उल्लेख छ। उनीहरू अजर, अमर होइनन्। ब्रह्माका पनि विभिन्न श्रेणी मानिएका छन्। पुण्यका आधारमा उनीहरूलाई ती श्रेणी कायम गरिएको छ। त्यसमध्ये त्रिपिटकमा सबैभन्दा ठूलो महाब्रह्मा भनिएको छ। उनीहरूको पनि निश्चित आयु हुन्थ्यो रे, त्यस्तो विश्वास गरिन्थ्यो। आफ्नो जति पुण्य छ, त्यो भोग गरुञ्जेल उनीहरू ब्रह्मलोकमा रहन्थे। आफ्नो पुण्यको परिणाम क्षय भइसकेपछि फेरि मर्त्यलोकमा आएर जन्मिन्छन् भन्ने आस्था र विश्वास बुद्धकालमा थियो।
ब्रह्मामा पनि अलि श्रेष्ठ ब्रह्मालाई महाब्रह्मा भनिन्थ्यो। जगतको सृष्टिकर्ता म हुँ भन्ने उनको पनि धारणा थियो। उनका अरू सहायक ब्रह्माको धारणा पनि त्यस्तै थियो। तर त्यो साँचो थिएन। उनलाई पनि कतिपय कुरामा शंका भएको अवस्थामा बुद्धसित सल्लाह लिन्थे भन्ने वर्णन छ।
बुद्ध कसैको अवहेलना गर्दैनथे, सामान्य मजदुरी गर्ने प्रजादेखि नगरका गणिका(त्यसबेला वेश्यावृत्तिमा संलग्न महिला)को समेत घरमा पुग्थे। उनलाई प्रजा मात्रै होइन राजाले पनि एकदमै मान गर्थे। तर यति धेरै अनुयायी भएका बुद्धले महिलाहरूलाई भिक्षुणी बनाउन आनाकानी गरे भन्ने छ। महिलाप्रति बुद्धको दृष्टिकोण के हो?
महिला पनि संघ बनाएर प्रव्रजित हुँदा बुद्धभन्दा पहिले जैनहरूको संघ थियो। जैन धर्ममा महिला पनि प्रव्रजित हुन पाउने नियम थियो। अरू सम्प्रदायमा पनि त्यस्तो चलन थियो। त्यहाँ केही अप्ठ्यारो असुविधा केही देखियो होला। त्यसकारण पनि बुद्धले महिलालाई प्रव्रजित गर्ने कुरामा, भिक्षुणी हुन अनिच्छा देखाएका हुन् कि? एउटा तर्क यो पनि हुन सक्छ।
अर्को घरपरिवारको कारणले महिलालाई अप्ठ्यारो हुन्छ। बच्चा हुन्छ, स्याहार गर्नुपर्यो। पुरूषलाई जति सहज हुँदैन। त्यो कारण पनि हुन सक्छ। विभिन्न कारण मैले पुस्तकमा पनि उल्लेख गरेको छु, जस्तो– मासिक धर्मको कारण, गर्भधारणको कारण पनि हुनसक्छ।
बुद्धभन्दा अघिदेखि जुन धार्मिक सम्प्रदाय चलेका थिए, त्यहाँ महिलाहरू पनि प्रव्रजित भइरहेका थिए। त्यहाँ केही खराबी देखिएर बुद्धले आफ्नो भिक्षुणी संघ गठन गर्न आनाकानी गरेका हुन् कि भन्ने पनि हो।
अट्ठकथामा के भनिएको छ भने— एकैचोटि दिँदा ‘भिक्षुणी हुन सजिलै अनुमति पाएको’ भनेर राम्रोसँग नियम पालना गर्दैनन्। धेरै अनुनय गरेर पाएको भनेपछि उनीहरूले आदर गरेर नियम पालना गर्छन्, त्यसकारण बुद्धले तीनपटकसम्म अस्वीकार गरेका हुन् भन्ने तर्क दिइएको छ। त्यो चाहिँ अलि होइक कि जस्तो लाग्छ। अर्को, बुद्धले महिलालाई प्रव्रजित गराउने बेला भएको छैन, अलिपछि गरौँला भनेका थिए भन्ने कुरा पनि मैले सुनेँ। हिजो मात्रै एक जना भिक्षुले सुनाउनुभएको थियो, मैले अध्ययनका क्रममा नजर नपुगेको पनि हुन सक्छ।
हामीले के बुझ्नुपर्छ भने, बुद्ध महिलाद्वेषी होइनन्। उनीपछिका भिक्षुहरूले महिलालाई अलिकति तल्लो श्रेणीमा राखेका हुनसक्छन्। यसलाई समाजको कसीमा राखेर त्योबेलाको समाजको मानसिकताको आधारमा हेर्नुपर्छ। बुद्धलाई सिधै दोष दिन मिल्दैन।
त्रिपिटकमा के छ भने— कतिपय भिक्षुणीलाई अग्रस्थानका उपाधि दिएका छन्, हौसला र प्रेरणा पनि दिएका छन्। उनीहरूको दु:ख, अप्ठ्यारोमा सहानुभूति व्यक्त गरेका छन्। यी सबै कुरा हेर्दा हामीले बुद्ध महिलाद्वेषी थिए भनेर सोच्नु उनीप्रति अन्याय हुन्छ।
महिला भिक्षुणी बनाएको खण्डमा बौद्ध धर्म ५०० वर्षमै ओज घट्ने, भिक्षुणी नबनाएको खण्डमा एक हजार वर्षसम्म धर्म चुस्त चल्ने अर्को प्रसंग पनि छ नि पुस्तकमा?
यसलाई ‘बुद्धकै मुखबाट आएको भनाइ’ जसरी देखाइएको छ। यसमा शंका मान्नुपर्ने कुरा छ। किनभने, बुद्धले मौखिक उपदेश दिन्थे। बुद्ध परिनिर्वाण भएको तीन महिनापछि एउटा भेला भयो। त्यसलाई ‘संगिती’ भनिन्छ। त्यसमा बुद्धले कुन ठाऊँमा के उपदेश दिनुभएको थियो, त्यसलाई संकलन र वर्गीकरण गर्ने काम भयो।
त्यसपछि बुद्धका उपदेश गुरूले चेलालाई, चेलाले अरूलाई सुनाउँदै कण्ठस्थ पार्दै आइयो। बुद्धले फलानो ठाऊँमा यस्तो उपदेश दिनुभएको थियो भनेर सुनाउँदै, आफूभन्दा तलको पुस्तालाई हस्तान्तरण गरियो। त्यसरी हस्तान्तरण गर्दासम्म लिखित प्रचलन थिएन। लेख्ने कुरा सुलभ भइसकेको थिएन। धार्मिक साहित्य मौखिकै हुन्थ्यो, धेरै कण्ठस्थ हुन्थ्यो। करिब ५०० वर्षसम्म बुद्धको उपदेश मौखिक नै रह्यो। त्यसैबीचमा महिलाप्रति द्वेष साँध्ने काम भएका हुन सक्छन्। किनभने, भिक्षुहरू त्यहीँ समाजबाट आएका हुन्। उनीहरूमा पनि त्यस्तो संस्कार हुनसक्छ। त्यस्तैमध्ये कसैले बुद्धको उपदेशमा ती विषय घुसाएको पनि हुनसक्छ। बुद्धले जुन बोधी आर्जन गरेका छन्, त्यसमा कसैप्रति भेदभाव भन्ने कुरै हुँदैन। सम्पूर्ण प्राणी जगतप्रति एकनाशको व्यवहार छ भने, महिलाप्रति भेद्भाव हुने त कुरै हुँदैन।
बौद्ध धर्मसँग सम्बन्धित अरू ज्ञाताहरूले व्याख्या गरेका धेरै कुरामा यहाँले विमति राख्नुभएको छ। तपस्वीले आफूहरूको अस्तित्व कायम राखिरहन गरेका प्रपञ्चहरू पनि छन्। त्यसमध्ये बुद्धलाई भगवान विष्णुको अर्को अवतारका रूपमा व्याख्या गर्दा यहाँले आपत्ति पनि जनाउनुभएको छ। बौद्धधर्म अर्को धर्मको सहायक हो?
वैदिक धर्म अलि पहिलेको हो। बुद्धधर्मभन्दा अघिदेखि नै वैदिक धर्म चलिरहेको थियो। वैदिक धर्मको मुख्य विशेषता हो– वेदलाई सर्वोच्च मान्नु। जातिवादलाई मान्नु। यज्ञ, कर्मकाण्डलाई मान्नु। अहिले हामी हिन्दू धर्म भन्छौँ, त्यसमा अहिले जस्तो दर्शनहरूको विकास भइसकेको थिएन। खालि जातिवाद, कर्मकाण्ड, देवता, पूजाआजा, यज्ञ जस्ता कुरामा सीमित थियो। बुद्धभन्दा धेरै अघिदेखि चलिआएको धर्म थियो।
विष्णुको त वेदहरूमा भए पनि त्रिपिटकमा खासै उल्लेख भएको छैन। त्यतिबेला विष्णुको नाम पुस्तक (वेद)मा भए पनि जनसाधारणले तिनको पूजा, अर्चना गर्ने गरिएको कुनै संकेत देखिँदैन। विष्णुको अलिकति महिमागान हुन थालेको इसाभन्दा पछाडि हो। बुद्धकालभन्दा ५०० वर्ष पछाडिबाट हो।
बुद्धको जुन धार्मिक मन्तव्य, दृष्टिकोण, दर्शन हो, त्यो वैदिक दर्शनसँग कत्ति पनि मिल्दैन। वैदिकले मान्ने जातिवाद बुद्धले मान्दैनथे। कर्मकाण्ड मान्दैनथे। पशुबलि दिने हिंस्रक यज्ञ, पशुबध गरेर देउतालाई खुशी पार्ने, पितृलाई खुशी पार्ने चलन बुद्ध मान्दैनथे।
कडा शारीरिक तप गर्ने चलन थियो। त्यो तपलाई पनि उनी अस्वीकार गर्थे। मनलाई एकाग्र गर्ने र निर्मल गर्ने तपले फाइदा त गर्छ, त्यसले मुक्तिको बाटो लैजान्छ। त्यसले दुःखबाट मुक्त गराउँछ। तर एकोहोरो शरीरलाई दुःख दिने तपले मात्र केही हुँदैन भन्ने उनको धारणा थियो।
त्यति बेलाको समाजमा वैदिक धर्मको अलि बढी प्रभाव थियो। जैन, आजिवक सम्प्रदायहरू पनि थिए। बुद्ध आइसकेपछि उनको प्रभाव अलि बढी भयो। उनको प्रभाव बढ्न थालेपछि— ब्राह्मणहरूको रोजिरोटीमा ठाडै आक्रमण भयो। किनभने, बुद्धले हिंस्रक यज्ञ पनि नमान्ने, जातिप्रथा पनि नमान्ने, कर्मकाण्ड पनि नमान्ने भएपछि त एक पक्षको रोजिरोटी बन्द हुने अवस्था आयो। त्यसकारण ब्राह्मणहरू बुद्धको विरोध गर्थे।
बुद्धकालमै पनि बुद्धको धेरै विरोध हुन्थ्यो। बुद्धकालपछि इसापूर्व चौथो शताब्दीमा चन्द्रगुप्त मौर्यका मन्त्री विष्णुगुप्त चाणक्यले, उनलाई कौटिल्य पनि भनिन्छ, आफ्नो ‘अर्थशास्त्र’ किताबमा भनेका छन्— ‘शाक्य भिक्षु (बौद्ध भिक्षु) र आजिवक सम्प्रदायका सन्यासी, जसमा तल्लो जातका व्यक्तिहरू सन्यासी भएका हुन्छन्, तिनलाई देवपितृ कार्यमा बोलाएर भोजन गराउनेलाई सय कार्षापण (त्यसबेला रूपैयाँ) दण्ड गर्नू भन्ने आदेश गरेका छन्।’
अलिपछि पुराणको रचना भयो। समाजमा त बुद्धको एकदमै प्रभाव थियो। त्यो प्रभावलाई निस्तेज नगरेसम्म आफ्नो धार्मिक वर्चश्व कम हुने देखिएन। त्यसले गर्दा बुद्धलाई अनेक किसिमका लाञ्छना लगाउने काम गरियो। बुद्धलाई विष्णुको नवौँ अवतार गराउने पनि त्यही षड्यन्त्र अन्तर्गत हो।
‘श्रीमद्भागवत महापुराण’मा बुद्धलाई ‘सुरद्विषाम’ भनेर विष्णुको अवतार बनाइएको छ। सुर भनेको देउता, देउता मान्ने आर्य जाति। सुरद्विष भनेको सुर अर्थात देवता (प्रकारान्तरले आर्य)सँग द्वेष गर्ने वा विरोधी। अनार्य अथवा असभ्य जाति, निसाध भनिन्थ्यो त्यतिबेला। उनीहरूलाई आफ्ना मिठामिठा उपदेशबाट भ्रमित बनाएर नर्क पठाउन बुद्धको अवतार भएको भन्ने प्रचार भयो। श्रीमद्भागवत महापुराणमा मात्रै होइन, अरू पुराणमा पनि यस्तो किसिमको व्याख्या गरिएको छ। रामायणमा पनि ‘बुद्ध चोर हुन्, नास्तिक हुन्’ भनेर उल्लेख गरिएको छ। बुद्धप्रतिको द्वेषभाव राखेर त्यस्तो गरेको देखिन्छ।
बुद्धप्रति द्वेष राख्नेले उनीमाथि कस्तो व्यवहार गर्थे?
उनलाई मार्ने षड्यन्त्र पनि हुन्थ्यो। उनको पछि बौलाहा हात्ती छोडियो। उनी राजगृहमा भिक्षाटन गर्न हिँडिरहेका थिए। उनको सालो देवदत्त बुद्धपछि उनको ठाऊँ लिन चाहन्थे। भिक्षुको नेता हुन चाहन्थे। बुद्धले आचारण राम्रो नदेखेपछि योग्य मान्छेलाई दिए। द्वेष भाव लिएर उनलाई सिध्याउने हिसाबले कहिले हिँडिरहेको बाटोमा माथिबाट ढुंगा पल्टाउने, कहिले गुण्डा पठाउनेसम्मको काम गरे। यो व्यक्तिगत द्वेष भयो।
मान्छे बुद्धको पछि लागेपछि समाजमा उनको ख्याति भयो। अन्य सम्प्रदायका मानिसलाई आफूहरू पछि परेको महसुस भयो। अरू तरिकाले बुद्धलाई पछि पार्न नसकेपछि गलत तरिका अपनाए। कहिलेकाहीँ सन्यासीनी लगाएर बलात्कारको आरोप लगाउने, व्यभिचारको आरोप लगाउने काम पनि भए।
बुद्धले धर्म मानव कल्याणका लागि हुनुपर्छ भन्थे। तर धर्म त अराजकतातिर गइरहेको भान हुन्छ। के अहिले भइरहेको त्यस्तै हो कि धर्म भनेको फरक कुरा हो?
बुद्धको जुन उपदेश छ, त्यो घोक्न, पढ्न, सुन्नका लागि मात्र होइन। यो व्यवहारमा उतारेर आचारण सुधारका लागि हो। घोकेर कण्ठ गरेर, पाठ गरेर मात्रै त मेरो बानी व्यवहार सुध्रिँदैन। बुद्धका मूल उपदेशलाई चार आर्यसत्य भनिन्छ– पहिलो, जीवनमा दुःखको उपस्थिति। दोस्रो, दुःख कारणबाट उत्पन्न हुन्छ, त्यो कारण तृष्णा हो। तेस्रो, दुःखको कारण (तृष्णा) हटाएपछि दुःखबाट मुक्त हुन सकिन्छ। चौँथो, त्यसका लागि उपाय छ, जसलाई प्रतिपद (आर्य अष्टांगिक मार्ग) भनिन्छ।
यसै कुरालाई बुद्धकालपछि योग दर्शनमा दुःखलाई हेय; दुःखको कारणलाई हेयहेतु; दुःखको निरोधलाई हान र निरोधको मार्गलाई हानोपाय भनिएको छ। यस्तै, आयुर्वेद ग्रन्थहरूमा पनि बुद्धका चार आर्यसत्यकै शैलीमा रोग, रोगको कारण, रोगबाट छुटकारा र त्यसको उपाय (औषधि आदि) को व्याख्या गरिएको पाइन्छ।
दुःखमुक्तिका लागि बुद्धले देखाएको मार्गलाई तीन भागमा विभाजन गरिएको छ– शील अर्थात् आचरण शुद्धि, समाधि अर्थात् मनको एकाग्रता, प्रज्ञा अर्थात् ज्ञान वा विवेक। यी तीनै विषय एक अर्काका परिपूरक हुन्। एकको अभावमा अर्को अपूर्ण हुन्छ। यी तीनै कुराहरू सम्यक रूपले अभ्यास नगरिकन दुःखबाट मुक्त हुन सकिँदैन। जस्तै, सम्यक दृष्टि र संकल्प नभैकन मान्छे शील पालनमा अग्रसर हुन सक्तैन र मन एकाग्र र वशमा नभैकन पनि अखण्ड शील पालन गर्न कठिन हुन्छ। शील पालन नगर्नेको मन एकाग्र हुन सक्दैन। यस्तै, प्रज्ञा (मनको निर्मलता) को अभिवृद्धि नभैकन शीलपालन र समाधिको अभ्यास दुवै दिगो हुन सक्दैनन्। यसैले यी आपसमा सहयोगी, परिपूरक र अन्तर्सम्बन्धित छन्। पुराना पौराणिक कथामा ऋषिहरूले तपस्या गरे पनि स्त्रीमा आसक्त थिए भनेर पढिएको छ। ऋषिमुनि त आसक्त नहुनुपर्ने थियो। किनभने, त्यो तपअनुसार आचारण नभएर होला।
त्यसैले बुद्धको उपदेश पाठ गरेर मात्र हुँदैन, यसलाई व्यवहारमा उतार्न सकियो भने फलदायी हुन्छ। अन्यथा म बौद्ध हुँ, म यो जातमा जन्मेको हुँ, भन्दैमा केही हुँदैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
