सिकार प्रयोजनका लागि पालिने बिरालो शहरमा सोख बन्दै

उत्पत्तिदेखि नै सिकार गर्दै आएको बिरालो अब मुसा नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र सीमित छैन। पछिल्लो समय मानिसहरूका लागि बिरालो पाल्नु मनोरञ्जन र सोख दुवै भएको छ। 

काठमाडौँ– छाउनीकी किपा श्रेष्ठले बिरालो पाल्न थालेको करिब चार वर्ष भयो। उनले हिमालयन पर्सियन र पर्सियन प्रजातिको बिरालो पालेकी छन् जसलाई ३५ र ७० हजार रुपैयाँ खर्चेर लिएकी हुन्। 

बिरालोप्रति लगाव नभए पनि आकर्षणका कारण पाल्न थालेकी किपालाई बिरालोसँग बित्ने रमाइलो क्षणको अनुभव लतजस्तै बनिसकेको छ। अहिले बिरालो पशु नभई आफ्नै बच्चासरह लाग्ने गरेको उनी बताउँछिन्। बिरालोसँग खेल्दा वा बस्दा सकरात्मक विचार आउने, तनाव वा नरात्मक विचार कम हुने, एक्लोपनको महसुस नहुने उनको अनुभव छ। 

“व्यस्त जीवनशैलीमा बिरालो पाल्नु फाइदाजनक हुने अनुभव संगालेकी किपालाई बिरालेले एक प्रकारको खेलौनाका रूपमा पनि मनोरञ्जन दिइरहेको छ। “मलाई बिरालोसँग त्यति लगाव थिएन। चार वर्षअघि घरअगाडिकै केनलमा पर्सियन प्रजातिको बिरालो देखेँ। लामा–लामा रौँ, नीलो आँखा, हेर्दै खेलौनाजस्तो देखिने भएपछि आकर्षित गर्‍यो। त्यसपछि इन्टरनेटमा समान्य अध्ययन गरेर लिएको हुँ,” उनी भन्छिन्, “अहिले त लगाव, स्नेह, प्रेम सबै छ। एक प्रकारले लत बसिसकेको छ। बिरालोलाई हामी घरको एक सदस्यको रूपमा लिन्छौँ।” 

महाराजगञ्ज बस्ने बिना पन्तले पनि घरमा पाँच वटा बिरालो पालिरहेकी छन्। उनले पालेका बिरालाहरू नेपाली रैथाने प्रजातिका हुन्। विगत तीन वर्षदेखि उनले बिरालो पाल्न थालेकी हुन्। सकारात्मक अनुभवका साथै घरपरिवारमा रमाइलो वातावरण सिर्जना हुने भएकाले बिरालो साथमा हुँदा तनाव कम हुने अनुभव उनले गरेकी छन्। “मैले एउटा बिरालो बाटोमा भेटेर पाल्न थालेँ। त्यसपछि उसले थप बच्चा जन्माएर संख्या बढाएको छ,” बिनाले भनिन्। 

बिरालो पाल्दै गएपछि यसको विशेषता बुझ्न थालिने र पशुप्रतिको माया पनि बढ्ने रहेछ भन्ने थाहा पाएकी उनी भन्छिन्, “बिरालो पाल्नुको त्यस्तो खास कारण त छैन। तर एउटा स्नेह हुँदोरहेछ, बिरालोप्रतिको माया र लगावले डोर्‍याउँदोरहेछ।” पशुप्रेमी बिनालाई अरूमा भन्दा बढी बिरालोमा लगाव छ। पछिल्लो समय शहरी क्षेत्रमा पनि बिरालो पाल्ने क्रम बढ्न थालेकोमा खुशी मानिरहेकी उनी पाल्न सजिलो हुने, कुरा बुझ्ने, सरसफाइ र रेखदेखमा लागत धेरै नलाग्ने भएकाले रैथाने प्रजातिका बिरालो पाल्न अरूलाई पनि सुझाउँछिन्। 

काठमाडौँकै बल्खु निवासी रिमा कपालीले पनि विगत १३ वर्षदेखि घरमा बिरालो पालिरहेकी छन्। बिरालोका कारण घरमा सधैँ सकरात्मक अनुभव र रमाइलो वातावरण छाएको अनुभव उनलाई छ। उनी बिरालोलाई घरपालुवा जनावर मात्र नभई समय व्यतित गर्ने गतिलो साथीको रूपमा समेत लिन्छिन्। 

“मेरी आमा पक्षघातको बिरामी हुनुहुन्थ्यो। उहाँको मानसिक तनाव कम गर्न र दिन बिताउन हामीले अधिकांश समय दिनुपर्ने हुन्थ्यो। तर घरमा बिरालो भित्रिएपछि चाहिँ आमा बिरालोसँगै भुल्नुहुन्थ्यो। त्यसपछि थाहा भयो कि मानसिक रूपमै सकारात्मक प्रभाव पार्न बिरालोले पनि भूमिका खेल्दोरहेछ,” रिमाले भनिन्। 

विशेषगरी अन्नबालीमा क्षति पुर्‍याउने मुसाको सिकार गरिदिने र मिलनसार स्वभावको हुनाले गाँउघरमा अधिकांशले बिरालो पाल्ने गर्छन्। त्यस्ता बिरालोले मुसाबाट अन्नको सुरक्षा गर्ने हुँदा किसानलाई आत्मनिर्भरताको साथीको पनि काम गरिरहेको हुन्छ। उत्पत्तिदेखि नै सिकार गर्दै आएको बिरालो अब मुसा नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र सीमित छैन। पछिल्लो समय मानिसहरूका लागि बिरालो पाल्नु मनोरञ्जन र सोख दुवै भएको छ। 

काठमाडौँ उपत्यकामा बिरालो पाल्नेहरूको संख्या बढ्न थालेको मालिका केनल क्लबका पशु प्राविधिक निश्चल बुढा बताउँछन्। उनका अनुसार केही वर्षयता यहाँ बिरालोको माग बढेको छ। 

“पहिलेभन्दा अहिले माग बढ्न थालेको छ। पहिले महिनामा दुईदेखि तीन वटा मात्र माग आउने गर्थ्यो। अहिले त पाँच वटासम्म आउने गरेको छ,” उनले भने, “अहिले हामी लोकल बिरालोहरू पनि बाटोमा भेटेर वा कतै पाइएमा अडप्ट गरेर ल्याउँछौँ। त्यसबारे सूचना समाजिक सञ्जालमा राखेपछि अडप्ट गर्ने मान्छे पाइन्छ।” 

नेपालको रैथाने प्रजातिको बिरालो पाल्न सजिलो भए पनि सोखका रूपमा पाल्नेहरूले विदेशी प्रजातिका बढी रुचाउने गरेको उनले बताए। नेपाली बजारमा पर्सियन बिरालोको बजार बढिरहेको पाइन्छ जसको ज्यान नेपाली रैथाने बिरालोभन्दा केही ठूलो, आकर्षक, लामो कपाल, गोलो अनुहार र ठूल्ठूला नीला आँखा हुन्छन्। मानिससँग बढी घुलमिल गर्ने हुनाले चाँडै सिक्ने यो प्रजातिको बिरालो विश्वभरमै चर्चित छ। 

नेपालमा पनि धेरै समय दिनु नपर्ने र लागत पनि कम पर्ने हुँदा अधिकांशले यही प्रजातिको बिरालो लाने गरेको पशुप्राविधिक निश्चलको अनुभव छ। “पर्सियन बिरालो अरूभन्दा सस्तो हुन्छ, मिलनसार अनि मान्छेसँग सजिलै घुलमिल हुने हुन्छ। नेपालको हावापानीमा पनि घुलमिल हुने भएकाले पनि यो प्रजाति बढी चल्छ,” उनले भने।

पर्सियन प्रजातिको बिरालो इरानको स्थानीय प्रजाति हो। यी बिरालोको पनि अन्य उपप्रजातिहरू हुने गरेका छन्। त्यसैले यसको मूल्य फरक–फरक पर्ने जानकारहरू बताउँछन्। यद्यपि यसको बजार मूल्य २० हजारदेखि ७० हजारसम्म पर्ने गरेको पाइन्छ। 

शहरी क्षेत्रमा युवा जमातमाझ बिरालोप्रेम बढिरहेको ‘अल पेट सप’का सस्थापक गोविन्द भण्डारी बताउँछन्। उनका अनुसार उनीहरू विदेशी प्रजातिकै बिरालो पाल्न बढी सौखिन हुने गरेका छन्। बालबालिकालाई भुलाउन वा सामान्य बिरालो पाल्न चाहनेहरूले भने रैथाने प्रजातिकै लिने गरेका छन्। 

नेपाली रैथाने प्रजातिको बिरालो अडप्ट गर्नेको संख्या पनि बढेको छ। “बिरालोको गुण, विशेषता र लागत बुझेर होला, यो जनावर पाल्नेहरू बढिरहेका छन्। पर्सियन प्रजातिमा चाहिँ सेतो रङको र नीलो आँखा भएको बिरालोको माग धेरै हुने गरेको छ,” उनले भने।

नेपालमा रैथाने प्रजातिका बिरालो पाइन्छ भने विदेशबाट आयात गरिनेमा पर्सियन, फर्जन लगायतका केही प्रजातिका बिरालो मात्र उपलब्ध छन्। माग नआउनुका साथै हावापानी नमिल्ने भएकाले स्वस्थ नहुने उनीहरूको भनाइ छ। नेपालमा पहिचान भइसकेका प्रजातिहरूको उत्पादन हुँदैन। नेपालमा केही वर्षयता मात्रै व्यापारिक रूपमा किनबेच शुरू भएकाले पनि बजारमा बिरालोको व्यापार, हेरचाह, होस्टेल लगायतको व्यवस्था भएको पाइँदैन। यसरी नै माग बढ्न थाले भविष्यमा बिरालोको बजार व्यस्थापन हुने व्यवसायीहरू बताउँछन्। 

काठमाडौँ उपत्यकामा बिरालो पाल्न नसक्नेका लागि केही क्याट क्याफे समेत खुलेका छन् जहाँ ग्राहकले खाना खाँदै बिरालोसँग समय बिताउन सक्छन्। 

बिरालोको इतिहास
जंगलबाट उत्पत्ति भएको घरेलु प्राणी बिरालोको सबैभन्दा नजिकको पुर्खा फेलिड अर्थात् मध्यपूर्व र अफ्रिकाको एउटा सानो जंगली बिरालोलाई मानिन्छ। त्यसैबाट समयसापेक्ष विकास हँुदै घरपालुवासम्म आइपुगेको इतिहास छ। बिरालोको पुर्खा जंगली भएकाले अझै पनि बिरालोलाई पूर्णरूपमा  घरपालुवा जनावर भने मानिँदैन। 

जब मानिसले खेतीपाती गर्न थाले तब मुसालगायत साना जीवहरू भेटिन थाले। त्यस्ता जीव सिकार गर्न बिरालोहरू जंगलबाट खेतबारीमा धाउन थाले। त्यो देखेपछि मानिसले मुसा नियन्त्रण गरी बालीको रक्षा गर्ने जीव ठानेर घरमा पाल्ने क्रम शुरू भएको मानिन्छ। त्यसयता बिरालो र मानिस साथीका रूपमा रहँदै आएका छन्।