रोहित पौडेल नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त

क्यानले रोहितको कप्तानीमा आगामी २८ गतेदेखि युएईविरुद्ध हुने ओडीआई सिरिजका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ।

तस्वीर : क्यान

काठमाडौं– रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार साँझ उनलाई कप्तान नियुक्त गरेको हो।

रोहितले राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछाने निलम्बनमा परेपछि रिक्त रहेको स्थान सम्हाल्ने छन्। सन्दीपमाथि बलात्कारको आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरेको थियो। उनी अहिले पुर्पक्षका लागि जेल चलान भएका छन्। 

सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए। सन् २०१८ मा डिभिजन २ मा नामिबियासँग डेब्यू गरेका रोहितले दुई महिनाअघि केन्या भ्रमणको बेला नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका थिए।

केन्यासँगको तीन एकदिवसीय अभ्यास खेल रोहितको कप्तानीमा नेपालले क्लिनस्विप गरेको थियो। उनले यसअघि नेपाली यू-१९ टोलीको कप्तानी पनि गरेका थिए।

रोहितले नेपाली राष्ट्रिय टोलीबाट २५ ओडीआई खेलमा १ शतक र ५ अर्धशतकसहित ८०८ रन बनाएका छन्। त्यस्तै, २१ टी-२० आई र ४० लिष्ट ए खेल खेलेका छन्।

त्यस्तै, क्यानले आगामी २८ गतेदेखि युएईविरुद्ध हुने ओडीआई सिरिजका लागि १६ सदस्यीय टोली पनि घोषणा गरेको छ। राष्ट्रिय टोलीमा गुल्सन झा, हरिशंकर साह, ललित राजवंशी र कमलसिंह ऐरीले पुनरागमन गरेका छन्।