स्वयम्भूको शोभा र यात्रुको सुरक्षालाई चुनौती बन्दै सडकछेउमा प्रहरीले थुपारेका बेवारिसे सवारी (भिडियो कथा)
भत्किएको प्रहरी बिटअगाडि अलपत्र छाडिएका व्यक्तिगत सवारीसाधनहरू असुरक्षित अवस्थामा छन्। ती साधनको कारण पैदलयात्रु र सवारीसाधन दुवैका लागि सडकयात्रा पनि जोखिमपूर्ण बनेको छ।
काठमाडौँ– विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूनाथ महाचैत्यमा दैनिक हजारौँको संख्यामा दर्शनार्थी र स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गर्छ।
काठमाडौँको चक्रपथ सडक स्वयम्भूनाथको मूल प्रवेशद्वार हुँदै जाने गर्छ। काठमाडौँबाट नेपालका पूर्व र पश्चिमतर्फ आवतजावत गर्ने लामो दूरीका सवारीसाधनहरूले पनि चक्रपथको यही खण्ड प्रयोग गर्छन्।
सवारीको चापले अत्यधिक ट्राफिक जाम हुने काठमाडौँका प्रमुख ठाउँहरूमध्ये स्वयम्भू पनि पर्छ। त्यसमाथि यहाँ ट्राफिक प्रहरीले विभिन्न कारण समातिएका र कारबाहीमा परेका मोटरसाइकल, स्कुटर र साइकलसमेत सडकछेउमै राख्दा स्वयम्भूको प्रवेशद्वारस्थित बुद्ध पार्कको झकिझकाउ दृश्यले समेत शोभा गुमाएको छ। पार्कको अघिल्तिरै सडकमा प्रहरीले बेवारिसे सवारीसाधनहरू लस्करै राखेको छ।
कागजपत्र नभएका, दुर्घटनामा परेका र चोरी गरेर चलाइएका मोटरसाइकल तथा स्कुटरहरू सडकछेउमा राखिएको त्यहाँ ड्युटीमा रहेका एक प्रहरी अधिकारीले बताए। ट्राफिक प्रहरी वृत्त स्वयम्भूले जनाएअनुसार यहाँ २०६३ सालयता नियन्त्रणमा लिइएका सवारीसाधनहरू छन्। तीमध्ये २६ वटा बेवारिसे अवस्थाका पुराना सवारीसाधन छन्।

कतिपय सवारीधनी लिन नआउने र कतिपयलाई सम्पर्क गर्न खोज्दा पनि सम्पर्क नहुने समस्याका कारण यहाँ बेवारिसे साधनहरू लामो समयदेखि थन्किएको प्रहरीको भनाइ छ। ट्राफिक बिटका लागि भवन नभइरहेका बेला पार्किङस्थलको अभाव झनै ठूलो समस्या बनेकाले समातिएका सवारीसाधनहरू सडकमै राख्नुपरेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्ट बताउँछन्।
विभिन्न चरणमा चक्रपथ सडक चौडा गर्ने काम हुँदै आएको छ। सडक विभागले २०७९ चैतमा दोस्रो चरणको सडक विस्तारका क्रममा मुख्य सडक अतिक्रमण गरी बनाइएका विभिन्न बसपार्क, टिकट काउन्टर र ट्राफिक बिटहरूसमेत भत्काएको थियो। त्यसै क्रममा स्वयम्भूस्थित बिट पनि विभागले भत्काइदिएको थियो जुन अहिलेसम्म जस्ताको तस्तै अलपत्र अवस्थामा छ।

भत्किएको प्रहरी बिटअगाडि अलपत्र छाडिएका व्यक्तिगत सवारीसाधनहरू असुरक्षित अवस्थामा छन्। ती साधनको कारण पैदलयात्रु र सवारीसाधन दुवैका लागि सडकयात्रा पनि जोखिमपूर्ण बनेको प्रहरीहरू नै स्विकार्छन्। ट्राफिक प्रहरीको पूर्वाधार तथा जग्गाको कमीका कारण कारबाहीमा परेका सवारी साधनहरू सडकमै राख्नुपरेको ट्राफिक प्रहरी प्रवक्ता भट्टले बताए।
उनका अनुसार काठमाडौँ उपत्यका ट्राफिक प्रहरीअन्तर्गत चक्रपथ (रिङरोड) सडकमा ६० भन्दा बढी कार्यालयहरू छन्। स्वयम्भूबाहेक एकान्तकुना, कोटेश्वर, अनामनगर र अन्य केही ठाउँहरूमा पनि कारबाहीका लागि समातिएका सवारीसाधन सडकमा राख्नुपर्ने अवस्था रहेको भट्टको भनाइ छ।
उनी भन्छन्, “सडकमा अलपत्र छाडिएका सवारीसाधनहरू सडक विस्तार शुरू भएपछि जसरी पनि हटाउनैपर्ने चुनौती छ।” काठमाडौँ उपत्यकाभित्र त्यसरी कारबाहीमा परेर थुप्रिएका सवारीसाधनको संख्या २ हजार २०० को हाराहारीमा रहेको भट्टले जानकारी दिए। विभिन्न ठाउँमा जग्गा प्राप्तिको काम भइरहेकाले अब चाँडै पूर्वाधारलगायतका समस्या हल हुने उनको भनाइ छ।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
