टी–२० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले उचाल्यो दोस्रोपटक उपाधि

पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ग्ल्यान्डले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ।

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि इङ्ग्ल्यान्डले जितेको छ। आइतबार सम्पन्न खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ग्ल्यान्डले उपाधि उचालेको हो।

इङ्ग्ल्यान्डले दोस्रोपटक आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको हो। यसअघि इङ्ग्ल्यान्डले सन् २०१० मा पल कलिङवुडको कप्तानीमा पहिलो पटक उपाधि जितेको थियो।

पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। इङ्ग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ५२ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

कप्तान जोस बटलरले १७ बलमा ३ चौका र १ छक्कासहित २६ रन जोडे। मोइन अलिले १९ र ह्यारी ब्रेकले २० रनको योगदान दिए।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रउफले ४ ओभरमा २३ रन खर्चिएर २ विकेट लिए। शादब खान, शाहीन अफ्रिदी र मोहम्मद वाशिमले १/१ विके लिए।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो।

पाकिस्तानका शान मसुदले सर्वाधिक ३८ रन बनाए। उनले २८ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान बाबर आजमले २८ बलमा २ चौकासहित ३२ रन बनाए।

शादब खानले २० र ओपनर तथा विकेटकिपर मोहम्मद रिजवानले १५ रन जोडे। पाकिस्तानका आधा दर्जन ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

इङ्ग्ल्यान्डका बायाँ हाते तीव्र गतिका बलर साम करनले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए।

स्पिनर आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए। क्रिस जोर्डनले २ र बेन स्टोक्सले १ विकेट लिए।