एशियाली खेलकुदः भलिबलमा लगातार दोस्रो हारसँगै नेपाल प्रतियाेगिताबाट बाहिरियाे

समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय बेहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो।

फाइल तस्वीर

काठमाडौँ– नेपाली पुरुष भलिबल टिम हाङझाउ एशियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय बेहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो। चाइना टेक्स टाइल कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट सजिलै गुमाएको थियो। त्यसपछिका दुई सेटमा भने केही बलियो प्रतिद्वन्द्विता पेस गर्न सफल रह्यो। नेपालले दोस्रो सेटमा दुईपल्ट अग्रता लिएता पनि त्यसलाई कायम गर्न सकेको थिएन। पछिल्ला दुई एशियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण जितेको इरानले नेपाललाई  २५–९, २५–१५ र २५–१३ ले हरायो। 

नेपाल यसअघि बहराइनसँग पनि पराजित भएको थियो। प्रतियोगितामा सहभागी कुल टिमलाई ६ समूहमा विभाजन गरिएको छ।, प्रत्येक समूहबाट दुई टिमले अघिल्लो चरणमा प्रवेश पाउने छन्।