धीरेन्द्रकृष्ण शास्त्रीको जस्तो अन्धविश्वासको खुलेआम प्रचारले यसै कमजोर नेपालीहरूको आध्यात्मिक विकासलाई थप अवरुद्ध गरेको मेरो मूल्यांकन छ।
ओशो रजनीशबारे मैले शुरूमा पढेको ‘हाँक’ साप्ताहिकमा हो। २०४६ सालपछिका वर्षहरूमा हामीले स्कुल पढ्दै गर्दा ओशोको भर्खर देहान्त भएको थियो। सम्भवतः विश्वको दार्शनिक र बौद्धिक जगत्मा उनको हस्तक्षेपको उत्कर्षको समय थियो त्यो।
त्यसैले सनातनी साम्यवादको झण्डा बोक्ने वामपन्थी पार्टीको पत्रिकालाई ओशोका विचारहरूको खण्डन आवश्यक लाग्थ्यो। हप्तैजसो पत्रिकाको मुख पृष्ठकै दायाँ माथिल्लो किनारामा शुरू भएर भित्री पृष्ठसम्म फैलिएका लामा आलेखहरूमा उनको खरो आलोचना हुन्थ्यो।
कक्षा १२ तिर पढ्दा वामपन्थी विश्लेषक निनु चापागाईंको संस्कृतिसम्बन्धी एउटा पुस्तकमा मैले फेरि ओशोको चर्चा भेटाएँ। मैले अहिले सम्झेसम्म स्कुलमा हाँकमा पढिआएकै कुराहरूको संश्लेषण थियो त्यहाँ: ओशोका केही कुराहरू राम्रा र मुक्तिदायी पनि लाग्छन्, तर समग्रमा उनको दर्शन अराजकता निम्त्याउने खालको छ र हामी मानिसका लागि खासै उपयोगी छैन।
यी सब कारणले मेरो किशोर मनलाई लाग्यो: ओशो मानिसलाई बहकाउन सक्ने मानिस हुन्, त्यसैले उनका कुरामा बहकिनुभन्दा बचेरै बस्नु बेस। स्नातक पढ्दा कोठामा सँगै बस्ने साथीले खुब ओशोका किताब ल्याएर पढ्थे र प्रशंसा गर्थे। अर्का साथीले त बारम्बार आग्रह गर्थे: तिमीले ओशोलाई सुन, जीवनमा धेरै कुरा फरक पर्छ।
तर म एक कानले सुनेर अर्कोले उडाइदिन्थेँ।
स्नातकोत्तर तहको अन्तिम परीक्षाभन्दा तीन महिना अगाडिको कुरा। परीक्षा अगाडि पढ्नै पर्ने किताबहरूको अग्लो चाङ थियो। तीन वर्षसम्म ब्लगर, लेखक र अभियन्ता भइटोपलेकाले त्यो पढाइ अन्तिम क्षणका लागि साँचेको थिएँ मैले। तर कारणवश तीनमध्ये एक महिना पढ्नै नपाई बित्यो। बच्यो दुई महिना।
त्यो क्षणमा पढ्न बस्दा मैले पढ्नै सकिनँ, छटपटी मात्रै भयो। पढ्नुपर्ने कुराहरूको सूचीले नै कहाली लाग्न थाल्यो। पढेर पास भइएन भने ६ महिनापछि मात्रै पूरक परीक्षा हुन्थ्यो। 'करिअर' र आम्दानी ६ महिनापछि शुरू हुन्थ्यो। त्यो चिन्ताले मलाई झनै गालेर ल्यायो र पढाइमा ध्यान केन्द्रित गर्नै सकिनँ। त्यो बेला अरू घरायसी झन्झटहरूको पनि उत्कर्ष थियो।
म यति दबाबमा थिएँ कि त्यो क्षणमा मैले मदिरा शुरू गरेको थिएँ भने सायद अहिलेसम्म म नामुद मदिरावाज बनिसक्थेँ होला।
तर त्यही बेला ‘तिमी ओशोलाई सुन’ भन्ने साथीको झट्ट याद आयो। गएर मैले उनलाई व्यथा बिसाएँ। उनले खुसीसाथ आफ्नो भण्डारबाट झन्डै डेढ सय घन्टा बराबरको अडियो सामग्री मेमोरी कार्डमा हालेर दिए। मेमोरी कार्ड लाग्ने बटनवाला फोनमा हालेर मैले ओशो संसारको यात्रा शुरू गरेँ।
पढ्दाबाहेक अरू बेला––खाना खाँदा, शौच जाँदा, पुस्तकालय जाँदा, पढाइबाट ब्रेक लिँदा––कानमा ओशोले गरेको अष्टावक्र गीताको व्याख्या गुन्जिरहेको हुन्थ्यो। मुल्लाह नसिरुद्धिनका कहिल्यै नसकिने हाँस उठ्दा प्रसंग आइरहेका हुन्थे। अन्त कतै ध्यान जाँदैनथ्यो र मन एकाग्र हुन्थ्यो। पढ्न थालेपछि मन बहकिँदैनथ्यो। पढाइमा थकान हुनासाथ म फेरि उनलाई सुनिहाल्थेँ।
हुँदाहुँदा सुत्ने बेला पनि म उनलाई सुनेर भुसुक्क हुन थालेँ। कहिलेकाहीँ बिहानसम्म फोनमा उनको आवाज बजिरहेको हुन्थ्यो।
दुई दिनमा म पढाइको राम्रै लयमा फर्किसकेको थिएँ। एक हप्तामा आफ्नो शुरूआती छटपटी र चिन्तामाथि हाँसो उठ्न थालेको थियो। एक महिनामा पढ्नुपर्ने मुख्य किताबहरू छिचोलिइसकेका थिए।
ओशोलाई सुनिसकेपछि उनका अनुयायीहरूबारे खोजीनिती गर्नु खास आवश्यक थिएन। तर पनि उनका सन्देशहरू फैलाउने काम गर्दै आएको ओशो तपोवन नेपालमा छ भन्ने मलाई थाहा थियो। नपढे पनि तपोवनका संस्थापक स्वामी आनन्द अरुणको पुस्तक मैले देखेको थिएँ। फाटफुट उनका कुरा पनि सुनेको थिएँ।
यसै गरी बित्यो झन्डै एक दशक।
यही भदौको सुरुमा भारतका विवादित बाबा धीरेन्द्रकृष्ण शास्त्रीले नवलपरासी आएर आफ्नो प्रस्तुति दिने समयमा एउटा समाचार आयो: लुकीछिपी देशका गृहमन्त्रीले शास्त्रीलाई भेटे रे। अनि उनलाई स्वामी आनन्द अरुणले शास्त्रीसित भेटाए रे।
म छक्कै परेँ। कारण, ओशोका अनुयायीका रूपमा आनन्द अरुणको एक थरी छवि थियो मेरो मनमा। उता सानै उमेरमा ख्याति र बदनामी दुवै कमाएका धीरेन्द्रकृष्ण शास्त्रीको अर्कै छवि थियो।
ओशोबाट प्रभावित कुनै पनि व्यक्ति कसरी पो धीरेन्द्रकृष्ण शास्त्रीजस्तो मानिसको संगतमा पुग्न सक्छ? छक्क पर्दै खोजिल्याउँदा नवलपरासीको कथावाचनमै आनन्द अरुणजी गएको पत्तो लाग्यो। शास्त्रीसित खिचिएका उनका तस्वीरहरू पनि फेला परे।
त्यसखाले संगतको रहस्य खुल्ने आसमा मैले युट्युबमा भेटिएको अरुणजीको एउटा लामो पोडकास्ट सुनेँ। त्यसपछि मलाई यो लेख लेख्नुपर्ने बोध भयो।
स्वभावतः मैले आनन्द अरुणजीले झैँ ओशोको संगत गर्न पाइनँ। उनले पुनामा अष्टावक्र गीतामाथि दिएको प्रवचनका तीन महिना समेट्ने चानचुन १५० घण्टाको अडियो सामग्रीबाहेक मैले ओशोलाई सुनेको छैन। ओशोको समग्र विचार प्रणाली र शिक्षाबारे आफू पारंगत भएको मेरो दाबी पनि छैन।
त्यस्तै, पुनाको त्यो बसाइअघि र पछि ओशोले के के शिक्षा दिए, उनको जीवनमा केकस्ता विवादहरू आए, तिनबारे पनि म बिस्तारमा जान्दिनँ। अमेरिकामा छँदा जैविक आतंकवादजस्ता गम्भीर आरोपहरू लागेकाले उनले जीवनभर असल काम मात्रै गरे वा मानिसहरूलाई उपयोगी शिक्षा मात्र दिए पनि म भन्दिनँ।
तर मैले ओशोलाई जति सुनेँ, त्यसबाट केही असाध्यै जीवनोपयोगी कुराहरू भने ग्रहण गरेको छु। जस्तो कि ओशो भन्छन्, “जीवनमा ब्रह्माण्डको केन्द्रमा आफैँलाई राखेर अहंकार पाल्ने र जीवनभर त्यही अहंकारको जेलमा बन्द हुने काम नगर। आफूलाई कर्ताभन्दा पनि द्रष्टाका रूपमा हेर। जीवनमा साक्षीभाव विकास गरी हेर।”
पुनामा दिएको प्रवचनको ७५औँ अंकमा उनी सटिक रूपमा दुई गीताको विश्लेषण गर्छन्। भन्छन्, “कृष्ण गीता भन्छ, कर्म गर तर फलाकांक्षा नराख। अष्टावक्रगीता भन्छ, फलको त कुरै पर, कर्मसमेत तिमीले गर्ने हो वा तिमी कर्ता हो भन्ने बिर्स। तिमीले बीउरूपी कर्म गरेको मान्छौ भने फलरूपी परिणाम त्याग्न सहज हुँदैन। त्यसैले बीउरूपी कर्म नै तिमीबाट हुँदैन भने फलाकांक्षाको सम्भावनै रहेन।” यसरी पूर्ण रूपमा द्रष्टा वा संसारको दर्शक बन्न सके मात्रै सांसारिक ‘माया ’को बन्धन टुट्न र मुक्तिको बाटो खुल्न सक्छ।
त्यस्तै उनी भन्छन्, “असुरक्षा नै सुरक्षाको आधार हो।”
अर्थात् जीवनमा जो धेरै पैसा, ठूलो घर र गाडी, ठूलो पद र प्रसिद्धि, धेरै र कसिला सम्बन्धहरू आदिमा सुरक्षा खोज्छन्, ती कहिल्यै सुरक्षित हुँदैनन्, किनकि त्यस्ता महत्त्वाकांक्षा हासिल गर्ने कुनै सीमाना छैन। लाखको मालिक बिस्तारै करोडको अनि अर्बको मालिक बन्छ। तर अब ऊ खर्बपति बन्ने महत्वाकांक्षामा झन् घनीभूत असुरक्षाले घेरिन्छ। अर्को खर्बपतिको डाह गर्दागर्दै असुरक्षित रहेरै उसको एकबारको जुनी सकिन्छ।
त्यसैले सुरक्षित हुनुछ भने असुरक्षालाई जीवनको अनिवार्यताका रूपमा स्वीकार। अनिश्चय, अभाव, भौतिक असुरक्षा, रोग, दुर्बलता, निर्धनता, आदि जीवनका अभिन्न पाटा हुन् भन्ने स्विकार्नासाथ व्यक्ति सुरक्षित त नहुन सक्छ, तर सुरक्षाको चिन्ताका कारण सिर्जित विकारहरूबाट भने मुक्त हुन सक्छ।
जस्तो कि सन्तानका लागि महँगो स्कुल अनिवार्य छैन भनेर बुझ्ने कर्मचारीका लागि घुस लिने बाध्यता हट्न सक्छ। सबैका शरीर टेलिभिजनमा देखिने मोडलहरूका जस्ता चिटिक्क हुँदैनन् र हुनु पनि पर्दैन भनेर बुझ्ने किशोर किशोरीहरू हीनता भावबाट बाहिर आउन सक्छन् र आत्मविश्वास सहितको स्वस्थ मनोविज्ञान विकास गर्न सक्छन्।
चिकित्सामा स्नातकोत्तर गरेको दोस्रो वर्ष सकिँदै गर्दा मेरा धेरै साथीहरू गाडी किनेर चढ्दै थिए, तर चिकित्सा शिक्षा सुधार अभियानमा लाग्दा मेरो पेसागत अधोगति भइरहेको थियो। एक वर्षसम्म एमबीबीएस तहका विद्यार्थीहरूलाई पढाउने उपप्राध्यापक बनिसकेको म त्यसपछि ससानो आंशिक रोजगारीमा सीमित बनेको थिएँ। दोस्रो वर्षको अन्तमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुखले मेरा सीमित रोजगारदाताहरूलाई तर्साएका कारण त्यही कामबाट पनि हात धोएर पूर्ण रूपमा बेरोजगार हुँदै सडकमा पुगेको थिएँ।
त्यो बेला करिअरको भावी योजना शून्य थियो। बचत ऋणात्मक थियो।
तर पनि म विचलित थिइनँ किनकि म विश्वस्त थिएँ- जीवनमा कोही पनि सुरक्षित छैन। मलाई बोध थियो- सुरक्षाका लागि गाडी र घर किन्नेहरू त किस्ता तिर्दातिर्दै झन् असुरक्षित पो छन्। बेरोजगारीका चार महिनामा एक क्षण पनि मलाई आफूले गरेको काम र रोजेका विकल्पहरूका लागि पश्चात्ताप भएन। न त भविष्यको चिन्ताले नै गाँज्यो।
मेरा लागि ओशो रजनीश यसरी जीवनोपयोगी आध्यात्मिक शिक्षा दिने गुरु हुन्। उनले दिएको फरक दृष्टिले हेर्नासाथ मेरो बैंक खातामा रहेको रकम हजारबाट करोड त पुगेन, तर खातामा करोड हुनेहरूसित समेत जुन आत्मसन्तुष्टि र चैनको अनुभव थिएन, त्यो मसित थियो। साथीहरू किस्ताको भारले धसिएर भए पनि गाडी चढ्थे, म उनीहरूको बाध्यता सम्झेर मुसुमुसु हाँस्दै साइकल चढ्थेँ वा पैदल हिँड्थेँ।
त्यसैले ओशोप्रति भक्ति देखाउन, उनको देवत्वकरण गर्न वा उनले जीवनभर सही काम गरे भन्न मलाई आवश्यक छैन। मैले बुझेसम्म, कम्तीमा पनि पुनामा रहेर मैले सुनेका प्रवचन दिने बेलासम्म आफूलाई सुन्नेहरूबाट उनको अपेक्षा यस्तै थियो। आखिर हाम्रो पूर्वीय ज्ञान परम्परा नै शास्त्रार्थ वा बहस र मन्थनमा आधारित छ, जहाँ भक्तिको भन्दा ज्ञानको स्थान निकै उच्च छ।
त्यसैले स्वाभाविक रूपमा मैले ओशो तपोवनमार्फत स्वामी आनन्द अरुणको विश्वास प्रणाली र कर्म पनि यस्तै होला भन्ने अपेक्षा गरेको थिएँ।
मेरो विचारमा ओशो मात्र नभई कुनै पनि आध्यात्मिक गुरुको काम अनुयायीहरूलाई सुन्दर र सार्थक जीवन जिउने कला सिकाउने हो, आफ्नो स्तुति गाउन, चाटुकारी वा ढोग गर्न वा प्रचार गर्न लगाउने होइन। अध्यात्मको लेप लगाएर सामान बेच्नु त पूर्वी विश्वमा अनन्तकालदेखि ज्ञानको प्रवाह गरिरहेका अनगिन्ती विद्वानहरूले स्थापना गरेको ज्ञान संस्कृतिको चरम भ्रष्टीकरणको नमुना हो।
अहिलेको भारतमा धार्मिक र साम्प्रदायिक राजनीतिको जुन तमासा चलिरहेको छ, त्यहाँ तीन खाले बाबाहरूको धन्दा फस्टाइरहेको छ। मेरो विचारमा ओशोको जीवनदृष्टि र उनले दिनेजस्तो आध्यात्मिक शिक्षाको ती तीनै थरीसित दूर दूरको सम्बन्धसमेत छैन।
तीमध्ये एक थरीले योग र ध्यानजस्ता माध्यमबाट मानिसको ध्यान तानेपछि ‘ब्रान्ड’हरू सिर्जना गरेर व्यापार र नाफाखोरी गरिरहेका छन्। जग्गी वासुदेवको इशा योगभण्डारले बेच्ने ‘मिस्टिकल योगा म्याट कभर’ होस्, रवि शंकरले बेच्ने तोरीको तेल वा रामदेवले कोभिडका बेला बेचेको ‘कोरोनिल’ नामक भ्रमपूर्ण चक्की होस्, यी सबै त्यसैका उदाहरण हुन्।
अर्काथरीले धर्म र आस्थाका नाममा बलात्कार र हत्याजस्ता अपराध गरेर जबाफदेहिताबाट बच्नका लागि आफ्नो लोकप्रियताको दुरुपयोग गरेका छन्। तीमध्ये आशाराम बापू र गुरमित राम रहिमजस्ता मानिसहरू पीडितहरूको असाध्य लामो संघर्ष र अनेक साक्षीहरूको हत्यापछि अन्ततः कानूनको फन्दामा परेका छन् भने सतहमा नआई आस्थाका नाममा त्यस्ता अपराध गर्नेहरू कति छन् भन्ने कुनै आँकडा छैन।
यीबाहेक भारतमा अहिले धीरेन्द्रकृष्ण शास्त्रीलगायत तेस्रो किसिमका मानिसहरूको धन्दा आकाशिदैछ। सफाचट दारी पारेका युवा ‘बाबा’हरूको बिगबिगी छ जसले खुलेआम भारतीय सत्ता संस्थापनको हिन्दु राष्ट्रको एजेन्डा बोक्छन्। अनि भूत–प्रेत र बोक्सी प्रथा जस्ता अन्धविश्वासलाई खुलेआम बढवा दिन्छन्। उत्तेजक राजनीतिक बयान दिन पनि पछि पर्दैनन्।
ती त्यस्ता सबै काम गर्छन्, जसबाट चर्चा बटुलिन्छ, नाम फैलिन्छ र भक्तहरू थपिन्छन्। अर्थात् सामाजिक सञ्जालको युगमा बजारले जे जे माग्छ, त्यो सबै काम गरेर चर्चा र शक्ति बटुल्छन्। त्यही लोकप्रियताको बलमा राजनीतिज्ञहरूलाई दबाबमा राख्दै भक्त बनाउँछन्, सत्तासित साँठगाँठ गर्छन् र थप शक्ति आर्जन गर्छन्।
ओशो भन्थे, “हाम्रो दर्शन पश्चिमाहरूको जस्तो बाहिर फर्केर हेर्नुलाई प्राथमिकता दिने हैन, भित्र फर्कने हो। त्यसैले आफ्नै मनको चिरफार गरिहेर। आफूभित्र चेतनाको प्रकाश खोज। बुद्धि, बर्कत र तर्कले भ्याएसम्म वस्तु र विचारहरूको निरीक्षण गर, तर्क वितर्क र विश्लेषण गर। तिनको उच्चतम सीमा बुझेपछि तिमीले अध्यात्मको महत्त्व बुझ्नेछौ। आफ्नो अहंकारको निस्सारता बुझ्नेछौ। आफूलाई क्रमशः कर्ता नभई द्रष्टाका रूपमा देख्न सिक्नेछौ।”
जबकि मानिसका सबै समस्याहरू छुमन्तर गरिदिने दाबी गर्ने धीरेन्द्रकृष्ण शास्त्री अहंकारका प्रतिमूर्ति लाग्छन्। उनी चाहँदैनन् कि हिन्दुहरू तत्वज्ञान प्राप्त गरेर अहंकार त्याग्दै मुक्ति पाउने बाटोमा लागुन्, बरु भन्छन्- डोजरहरू किन र अर्को सम्प्रदायका घरहरूमाथि चलाऊ।
उनको एजेन्डा आत्मावलोकनमार्फत् आफूले मुक्ति पाउनेजस्तो आध्यात्मिक खालको छैन, भारतको व्यवस्था बदल्नेजस्तो राजनीतिक खालको छ। कतिसम्म भने केही महिनाअघि उनले पाकिस्तानलाई समेत हिन्दु राष्ट्र बनाउने उद्घोष गरे। इतिहासमा यसैगरी अर्को सभ्यतालाई जितेर आफ्नोजस्तो बनाउने नाममा चलेका ‘क्रुसेड्स’ नामक धर्मयुद्धहरू सन् १०९५ मा शुरू भएर ४०० वर्षसम्म चलेका थिए, जसको पहिलो दुई शताब्दीमै १० लाख हाराहारी मानिस मारिएको मानिन्छ।
आजका दिनमा धीरेन्द्रकृष्ण शास्त्रीजस्ता मानिसहरूले उद्घोष गर्ने धार्मिक सर्वसत्तावादी अभियानहरू तीभन्दा कम हिंस्रक हुने सम्भावना छैन।
त्यस्तै, जग्गी वासुदेव नामक स्वघोषित ‘सदगुरु’ले हिटलरका ‘कन्सन्ट्रेसन क्याम्प’ सम्झाउने मोदीको भारतका ‘डिटेन्सन सेन्टर’हरूको सिर्जना गर्ने विभेदकारी नागरिकता कानून र एनआरसी (नेसनल रजिस्ट्री अफ सिटिजन्स)को खुलेआम बचाउ गरेका छन्। मोदी सरकारको विरोध गर्ने विद्यार्थीहरूको सडकमा हिँड्ने अधिकारसमेत निषेध गर्न खोजेका छन्। छद्मविज्ञानका उटपट्याङ कुराहरू गरेर मानिसहरूलाई दिग्भ्रमित पारेका छन् र इन्टरनेटलाई दूषित बनाएका छन्।
भारतजस्तो विपन्न देशका मानिसलाई अध्यात्मतिर डोर्याउन खोज्दाका कठिनाइहरू स्विकार्दै ओशो भन्थे’ “बरु पश्चिमा देशमा भौतिक सुख सुविधाको निस्सारताबाट परिचित भएका मानिसलाई अध्यात्मको बाटो समात्न सजिलो छ।”
आजको भारतमा तीनै खाले बाबाहरूले मानिसलाई अध्यात्मभन्दा निकै पर अहंकारी, आडम्बरी, अन्धविश्वासी, जातिभेदी, साम्प्रदायिक, उग्र–राष्ट्रवादी र हिंस्रक बन्ने दिशामा डोर्याइरहेका छन्। उत्तेजक सामग्रीलाई प्राथमिकता दिने सामाजिक सञ्जालका 'अल्गोरिदम'हरूले समाजको त्यस्तो रूपान्तरणलाई तीव्र गति दिएका छन्। अनि मानिसहरूको त्यस खालको बहकाउलाई प्रयोग गरेर भारतको अहिलेको सत्ता संस्थापन झनै बलियो बन्दै गइरहेको छ।
यो अवस्थामा जग्गी वासुदेव र धीरेन्द्रकृष्ण शास्त्रीजस्ता मानिसहरू भक्तहरूको खोजी गर्दै नेपाल छिर्नु अनौठो होइन। तर उनीहरूसित फोटो खिचाएर, शास्त्रीको कथा वाचनमा दर्शकका रूपमा बसेर, स्वामी आनन्द अरुणले ती कथित गुरुहरूलाई ओशोको नाम जोडिएको संस्थाको तर्फबाट जुन स्वीकार्यता प्रदान गरेका छन्, त्यसले ओशोका अनुयायीहरूबीच यी साम्प्रदायिक बाबाहरूको स्वीकार्यता बढाउने जोखिम सिर्जना गरेको छ।
धीरेन्द्रकृष्ण शास्त्रीको जस्तो अन्धविश्वासको खुलेआम प्रचारले यसै कमजोर नेपालीहरूको आध्यात्मिक विकासलाई थप अवरुद्ध गरेको मेरो मूल्यांकन छ।
आजभन्दा दुई हजार ५०० वर्षअगाडि सिद्धार्थ गौतमले कठोर तपस्यापछि भनेका थिए- संसारमा दुःख छ, त्यसको कारण छ, दुःखको अन्त सम्भव छ र दुःख रित्याउने सम्यक् मार्ग पनि छ।
अर्थात् सुख पाउनु छ भने सत्कर्म गर। हिंसाजस्ता अपराध गरेपछि कुनै कर्मकाण्ड गरेर प्रायश्चित गर्ने कुटिल बाटो नहिँड, बरु हिंसा नै नगर। अर्थात्, बुद्धले 'म भगवान् हुँ, मेरो पूजा गर' भन्नुको सट्टा 'तिम्रा समस्याहरूको मूल तिमीमै छ र तिनको समाधान पनि तिमीमै छ, त्यसैले तिनलाई पाउन आफैँ साधना गर' भनेर आफ्ना शिष्यहरूको आध्यात्मिक विकासको बाटो खोलेका थिए।
अनि ओशो आएर आधा शताब्दी पहिले भनेका थिए, “अष्टावक्रलाई सम्झ, बुद्धलाई सम्झ, जिससलाई सम्झ, महावीरलाई सम्झ। तर तिनले बाँडेको फलरूपी ज्ञानको रक्षाका लागि तिनका वरिपरि जति पनि परम्परारूपी बोक्रा लागे, तिनलाई केलाउने कला सिक। बोक्रा र फलमा नझुक्किऊ।”
अर्थात् हजारौँ वर्षदेखि अनेक चिन्तकहरूले मानिसका दुःख निवारण गर्ने जुन मार्गहरू औँल्याएका थिए, तिनैलाई सबैले बुझ्ने भाषामा प्रस्तुत गरेर हामीजस्ता आम मानिसको आध्यात्मिक चेतना विकासको बाटो खोलिदिएका थिए ओशोले।
अरुणजीसित मेरो जिकिर यत्ति हो- धीरेन्द्रकृष्ण शास्त्री र जग्गी वासुदेवजस्ता पात्रहरू आजका दिनमा लोकप्रिय त छन्, तर तिनले प्रतिनिधित्व गर्ने भनेको बढीमा त्यही अन्धविश्वास लैस परम्पराको हो, जसको भुलभुलैयामा पर्दा मानिस ज्ञानमार्गबाट थप विमुख हुन्छ।
जसले अध्यात्मलाई पैसा वा प्रसिद्धि कमाइदिने माध्यम बनाउँछ, ऊ एउटा कुशल व्यापारीभन्दा बढी कहिल्यै बन्न सक्दैन। धीरेन्द्रकृष्ण शास्त्रीले त भनेकै छन्, “म ब्राह्मण हुँ, त्यसैले तिमीले आफ्ना 'लुगाइ और लड्का' अर्थात् श्रीमती र छोराबाहेक सबै कुरा दान गर्न सक्छौ; घर, गाडी, बंगला, फ्ल्याट, एफडी, खुल्ला रुपैयाँ, बाँधेको रुपैयाँ आदि। प्रसिद्धि र द्रव्य जुटाउने शास्त्रीको त्यही कौशलकै कारण नेपालको धनी व्यापारिक घराना चौधरी ग्रुपले उनलाई विशुद्ध आफ्नो व्यापारिक लाभका लागि नेपाल भित्र्याएको थियो। अरुणजी सहभागी भएको नवलपरासीको त्यो कार्यक्रमको केन्द्रमा वाणिज्य थियो, अध्यात्म त खाली एउटा बहाना मात्रै थियो।
सिंगो कर्मकाण्डी परम्परा, जहाँ पण्डितहरूले आफ्नो शास्त्रमाथिको पहुँचलाई धनार्जनको माध्यम बनाएका थिए र सिंगो समाजलाई शास्त्रको असली ज्ञान प्रवाहबाट वञ्चित गरेका थिए, त्यसैका सामाजिक सञ्जालयुगीय प्रतिमूर्ति हुन् धीरेन्द्रकृष्ण शास्त्री। उनले गर्ने भनेकै मानिसहरूलाई परम्पराको बोक्रोमा रनभुल्ल पारेर गुदीरुपी ज्ञानबाट झन् झन् टाढा पुर्याउनु हो।
मेरो यसखाले विश्लेषण र निष्कर्ष अन्तिम वा शाश्वत सत्य हो भन्ने मेरो दाबी भने छैन। त्यसैले छिट्टै मैले यहाँ उठाएका यावत् सवालहरूको जवाफ अरुणजीबाट पाउने मेरो धोको छ।
लेखकले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस्ः द हिमालयन गेज ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
