च्याम्पियन्स लिग: आर्सनल, बार्यन म्युनिख र रियल मड्रिडको जित

आर्सनलले आफ्नो पहिलो खेलमा पीएसभीलाई ४–० ले पराजित गरेको छ। आर्सनलका लागि बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड, ग्राबियल जेसस र मार्टन ओडेगार्डले गोल गरे।

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा आर्सनल बार्यन म्युनिख र रियल मड्रिडले विजयी शुरूआत गरेका छन्। 

बुधबार राति एमिरेट्स स्टेडियममा घरेलु टोली आर्सनलले पीएसभीलाई ४–० ले पराजित गर्‍यो। आर्सनलका लागि बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड, ग्राबियल जेसस र मार्टन ओडेगार्डले गोल गरे। समूह ‘बी’कै अर्को खेलमा लेन्स र सेभिल्लाले १–१ को बराबरी खेल्दै अंक बाँडे। 

यस्तै, समूह ‘ए’अन्तर्गतको खेलमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा बायर्न ४–३ गोलअन्तरले विजयी भएको हो। बार्यनको जितमा लिरोय साने, सर्ज गनाब्री, ह्यारी केन र म्याथिस टेलले १–१ गोल गरे। युनाइटेडका कासेमिरोले २ तथा  रासमुस होइलन्डले १ गोल गरे। 

सोही समूहमा गालाटासरे र एफसी कोपेनहेगनले २–२ गोलको बराबरी खेलेका थिए। 

यसैगरी, स्पेनिस क्लब रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा युनियन बर्लिनमाथि संघर्षपूर्ण जित दर्ता गरेको छ।

समूह ‘सी’को खेलमा जुड बेलिङघमले इन्जुरी समयमा गोल गरेपछि रियल १–० ले विजयी भएको हो। बर्लिनले पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको छ। 

सोही समूहको अर्को खेलमा नापोली र ब्रागाले १–१ गोलको बराबरी खेलेका थिए।