शिक्षामा राजनीतिक हस्तक्षेप र व्यापारीकरण रोक्नुपर्छ भन्नुहुन्थ्यो बीपी

हरेक विश्वविद्यालयबाट आ–आफ्नो विषयको ज्ञान लिएर विद्यार्थीहरू निस्कँदा उनीहरूले आफ्नो पेटमा आगो लिएर आउनुपर्ने हो। विषयगत क्षेत्र परिवर्तन र विकास गर्ने हुटहुटी लिएर आउनुपर्ने हो।

नेपाली साहित्यका एक नक्षत्र बीपीको क्षमता, कला, संस्कृति, राजनीति, साहित्य र समाजको क्षेत्रमा अतुलनीय योगदान छ। पूर्वअमेरिकी राष्ट्रपति टमस जेफर्सनझैँ थियो उहाँको व्यक्तित्व। बीपीले परिकल्पना गरेको शिक्षा समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यावहारिकतामा आधारित थियो। शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उत्तीर्ण गर्ने माध्यम, अभिभावकले रोजगारप्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनुकूलको माध्यमका रूपमा लिने गर्छ, तर एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनका रूपमा लिन्छ। 

बीपी त्यही राजनेता हुनुहुन्थ्यो। बीपीले शिक्षा समान कहिल्यै हुँदैन, यसमा राजनीति हुन्छ, तर राजनीतिको हस्तक्षेप र व्यापारीकरणबाट शिक्षालाई अलग गर्न सक्नुपर्ने बताउनुहुन्थ्यो। नेपालसहित दक्षिण एशियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको छ। सन्तानलाई शिक्षाका लागि अभिभावकले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने अवस्था छ। शिक्षामा अधिक लगानी गर्नुपर्दा स्रोत जुटाउनकै लागि नेपालमा भ्रष्टाचार हुने पनि एउटा कारण हो। 

अर्थशास्त्रीहरूले जनसंख्यालाई पाँच भागमा बाँडेका हुन्छन्: सबैभन्दा धनी, धनी, मध्यम, गरिब र अति गरिब। अहिले विश्वविद्यालयमा सबैभन्दा धेरै पहुँच भएको वर्ग 'सबैभन्दा धनी'को हो। त्यसको तुलनामा बाँकी चार वटा मिलाए पनि सबैभन्दा धनी वर्गकै संख्या धेरै हुन्छ। त्यसपछि आउने धनी वर्गको संख्या त्यसभन्दा तलका तीनै तह जोड्दा हुने संख्याभन्दा बढी हुन आउँछ। बीपीले दलित, मधेशी, मुस्लिम र आदिवासी समुदायमाथि असाध्यै समान व्यवहार गर्नुहुन्थ्यो। तर अहिले नेपालको उच्च शिक्षामा ८० प्रतिशत बढी बाहुन र नेवार समुदायको बाहुल्यता छ। 

विश्वविद्यालयमा इक्विटी (हिस्सेदारी) हिसाबमा हामीले गम्भीर भएर सोच्नुपर्ने अवस्था छ। हाम्रोमा खास कुनै जातिले शिक्षामा व्यापक पहुँच पाउने र अरूले नपाउने भएको छ। हामीले क्रान्ति गर्नका लागि अनेकौँ मुद्दा त उठायौँ, तर शिक्षामा भएको असमानताको सम्बोधन गर्न अहिलेसम्म सकेका छैनौँ। बीपी कोइराला पक्कै पनि यस्तो कुरामा कहिल्यै सहमत हुनुहुन्थेन होला।

अर्को कुरा, उच्चशिक्षाका लागि त्रिभुवन विश्वविद्यालय जाने विद्यार्थी ७५ प्रतिशत छन्। ७ प्रतिशत जति पोखरा विश्वविद्यालयमा, ६ प्रतिशतजति पूर्वाञ्चल विश्वविद्यालय र ३.४ प्रतिशत काठमाडौँ विश्वविद्यालय जान्छन्। ९० प्रतिशतजति विद्यार्थी यी विश्वविद्यालयमा जान्छन् भने बाँकी १४ वटा विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थी जान्छन्। विद्यार्थीको असाध्यै असन्तुलित प्रतिनिधित्व भयो विश्वविद्यालयहरूमा। बीपी कोइराला यदि हुनुहुन्थ्यो भने शायद यो कुरा पनि उहाँलाई स्वीकार्य पक्कै हुन्थेन भन्ठान्छु। 

मैले त्रिभुवन विश्वविद्यालय जाने ७५ प्रतिशतको कुरा गरेँ। त्यसअन्तर्गत एक हजार १०० क्याम्पस छन्, उनीहरू सबैले एउटै पाठ्यक्रम पढ्छन्। एउटै किसिमको केन्द्रीकृत जाँच दिन्छन्। बीपीले खोज्नेजस्तो नवीनता, सिर्जनशीलता र विविधता त्रिभुवन विश्वविद्यालयमा पाइँदैन। बीपी आफैँ पनि सिर्जनशील व्यक्ति भएकाले पक्कै उहाँलाई यस खालको एकरूपता मन पर्दैनथ्यो होला। अहिले पनि विश्वविद्यालय जाने ७५ प्रतिशतलाई हामी एउटै पाठ्यक्रम पढाउँछौँ, त्यो राम्रो होइनजस्तो लाग्छ मलाई। 

विश्वविद्यालयहरूमा अहिले जुन खालको राजनीतिक हस्तक्षेप छ, उनलाई पक्कै मन पर्थेन। भनिन्छ, 'विश्वविद्यालय प्राज्ञहरूको गणतन्त्र हो।' त्यसो हुँदा कसैको पनि हस्तक्षेप त्यहाँ हुनुहुन्न। अहिले जुन खालको हस्तक्षेप भइराखेको छ विश्वविद्यालयमा, त्यसले कहिल्यै राम्रो गर्दैन। हाल नेपालका विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप चरम छ। उपकुलपति र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबन्डा र राजनीतिक हस्तक्षेपले शिक्षाक्षेत्र भताभुंग छ। 

एशियन डिभलपमेन्ट बैंकले अस्ट्रेलियन एडका लागि केही वर्षअघि बंगलादेश, श्रीलंका र नेपालको उच्चशिक्षाबारे एउटा अध्ययन गरेको थियो। त्यसको एक नम्बरको सिफारिसमा उच्चशिक्षालाई राजनीतीकरणबाट टाढा राख्न भनेको छ, शिक्षाक्षेत्र नछुन भनेको छ। जुन–जुन राष्ट्रमा राजनीतिले विश्वविद्यालयलाई हस्तक्षेप गर्छ, त्यस्ता विश्वविद्यालय कहिल्यै माथि जाँदै जाँदैनन्। 

विश्वविद्यालयमा हस्तक्षेप गर्नेबारे पहिले–पहिले बेलायत र युरोपमा चर्च र राजाको प्रतिस्पर्धा हुन्थ्यो। कहिले राजाले हस्तक्षेप गर्थे, कहिले चर्चले। पछि गएर विश्वविद्यालयलाई राज्य र चर्चबाट टाढा राख्ने अभ्यास ती मुलुकहरूमा भयो। 

मलाई लाग्छ, यदि अहिले बीपी हुनुहुन्थ्यो भने विश्वविद्यालयहरूमा जुन खालको राजनीति छ, त्यस्तो पक्कै हुन्थेन। विश्वविद्यालयको उपकुलपति अथवा ठूला पदाधिकारीको चयनमा जुन हस्तक्षेप छ, त्यस्तो हुन्थेन होला।

म सानो उदाहरण दिन चाहन्छु। म कसरी उपकुलपतिका रूपमा छानिएर आएँ उतिखेर त्रिभुवन विश्वविद्यालयमा? मैले विश्वविद्यालयमा आउनुअघि शायद एकचोटि मात्रै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेको थिएँ होला। म विश्व बैंकको काममा जाँदा उहाँले मसँग अंग्रेजीमा कुरा गर्नुभएको थियो। शायद, उहाँले 'यो व्यक्ति शायद पाकिस्तानी अथवा अन्य कुनै मुलुकको होला' भन्ने आशयसाथ मसँग अंग्रेजी कुरा शुरू गर्नुभयो। 

मैले 'होइन हजुर, म त नेपाली नै हो' भनेपछि हामीबीच अनौपचारिक कुरा भए। तर उहाँले पछि मलाई नै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा कसरी छान्नुभयो? म कहिल्यै कांग्रेसको पार्टी कार्यालय पुगेको थिइनँ। पहुँचवालाहरूसँग मेरो चिनजान पनि थिएन। कसरी उहाँले मलाई छान्नुभयो होला? शायद, कुनै तरिकाले उहाँले उपकुलपति खोज्नुभयो। 

उपकुलपति भइसकेपछि मलाई नै किन त्यस पदमा छानियो भन्ने उत्सुकता भयो  मलाई। शिक्षाका चुनौतीबारे मैले एउटा पत्रिकामा लेख लेखेको थिएँ। त्यो लेख कांग्रेस नेता चक्रप्रसाद बास्तोलाले पढ्नुभएको रहेछ। बास्तोला कोइरालानिकट हुनुहुन्थ्यो। अनि 'यही मान्छेले बढी कुरा गरिरहेको छ, त्यसैलाई ल्याएर जिम्मेवारी दिनुपर्छ' भनेर मलाई चुन्नुभएछ। 

गिरिजाबाबुले कहिल्यै मेरो काममा हस्तक्षेप गर्नुभएन। कतिसम्म भने कतिपय मेरा कामले सरकारलाई अलि असहज बनायो, मेडिकल शिक्षालगायतका कुरामा। डिन होस् या निर्देशक कसैका सन्दर्भमा, न मन्त्रीबाट न बालुवाटारबाट हाम्रो काममा हस्तक्षेप भयो। जति गर्‍यौँ, हामीले नै गर्‍यौँ। गिरिजाबाबुको त्यस कदमलाई म वास्तवमै सम्मान गर्छु। 

उहाँलाई हेर्दा पनि म के भन्न सक्छु भने बीपीको पनि शायद त्यस्तै कार्यशैली हुन्थ्यो। उहाँले पनि विश्वविद्यालयलाई स्वतन्त्र रूपले चल्न दिनुहुन्थ्यो। 'तिमीहरू आफैँ चलाऊ। तिमीहरूको आफ्नै हो' भन्नुहुन्थ्यो शायद। यति भन्दाभन्दै पनि आखिर बीपीलाई हाम्रो शिक्षाको स्तर अन्य विकसित देशको झैँ भए पनि उहाँलाई चित्त बुझ्दैनथ्यो होला। 

जुलिसय नेरेरे बीपीका साथी थिए, सोसलिस्ट इन्टरनेसनलको कार्यक्रमका क्रममा उहाँहरूको भेट भएको हो। उनी 'न्यारेसन्स सिकनेस' भन्ने शब्दावली धेरैजसो प्रयोग गर्थे। त्यो शब्द पाउलो फ्रेरेले कोइन गरेका हुन्। लेक्चररहरूले भट्ट्याउने, नोट बनाउने र पास गर्ने खालको पढाइ गर्ने सन्दर्भमा त्यसको प्रयोग हुन्थ्यो। शायद बीपीलाई यस्तो शिक्षा मन पर्दैनथ्यो। मलाई जहाँसम्म लाग्छ, बीपीले पनि पाउलो फ्रेरेलाई पढ्नुभएको थियो।  

हामीले केटाकेटीलाई समाजका समस्या बुझ्न र ती समस्यासँग जुध्न तथा परिवर्तन गर्न सिकाउनुपर्छ भन्थे फ्रेरे। अहिले सम्पदाबारे धेरै कुरा हुन्छ काठमाडौँ उपत्यकामा। विश्वविद्यालयभन्दा बाहिरका केटाकेटीहरू सम्पदा संरक्षणमा जुटिरहेका देखिन्छन्, तर एउटा पनि विद्यार्थी सम्पदा संरक्षणमा लागिरहेको देखिँदैन। विश्वविद्यालयको संस्कृति विभागमा एउटा पनि विद्यार्थी आउँदैन। प्राध्यापक साथीहरू पनि त्यसबारे केही बोल्नुहुन्न। 

हामी रिङरोडबारे कुरा गर्छौं। बाहिर–बाहिरका मान्छे त्यसबारे प्रशस्त कुरा गर्छन्, तर इन्जिनियरिङ संस्थानको 'आर्किटेक्चर विभाग'ले त कुरा उठाउनुपर्‍यो नि! पब्लिक स्पेस (खुला क्षेत्र)बारे कुरा उठाउनु पर्‍यो नि! कतिपय देशका प्राध्यापकहरू यस्ता कुरा उठाउँछन्। अक्सफोर्ड, केन्टलगायतका प्राध्यापकहरूले उठाउँछन्। तर हाम्रा त चुप! 

हाम्रोमा 'कोर्स' केबल पढ्नका लागि र जागिरका लागि मात्रै पढाएको हो कि जस्तो लाग्छ। जुन किसिमको संवाद गरेर नेपालको समस्यासँग जुध्न र यसलाई परिवर्तन गर्न विद्यार्थीको भूमिका हुनुपर्ने हो, यहाँ त्यसो भएको छैन। हरेक विश्वविद्यालयबाट आ–आफ्नो विषयको ज्ञान लिएर विद्यार्थीहरू निस्कन्छन्। त्यसपछि उनीहरूले आफ्नो पेटमा आगो लिएर आउनुपर्ने हो। आफूले पढेको विषयगत क्षेत्र परिवर्तन र विकास गर्नेबारे त्यो हुटहुटी लिएर आउनुपर्ने हो। शायद, बीपी भइदिएको भए अहिलेको जस्तो शिक्षाको अभ्यास उहाँका लागि स्वीकार्य हुन्थेन होला।

बीपीले कांग्रेसको सदस्यको पढाइबारे समेत कुरा गर्नुभएको थियो। उहाँले कार्यकर्ताहरूले धेरै पढेनन् भनेर शुवर्णजी (शुवर्णशम्सेर राणा)लाई भन्नुभएको रहेछ एक पटक। तर बीपी कुनै एक पार्टीसँग मात्र सम्बद्ध व्यक्ति हुन् जस्तो मलाई लाग्दैन।


नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवमा त्रिविका पूर्वउपकूलपति तथा पूर्वराजदूत माथेमाले ‘बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा दिएको मन्तव्यको सम्पादित अंश।