यूएईविरुद्ध मैदानमा उत्रदै नेपाल

अहिलेसम्म भएका ६ प्रतिस्पर्धामा नेपाल दुई खेलमा विजयी हुँदा चार खेल यूएईले जितेको छ।

तस्वीर : क्यान

काठमाडौँ– नेपालले सोमबार पहिलो एकदिवसीय सिक्सर सिरिजमा यूएईसँग खेल्दै छ।

खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शुरू हुनेछ। आधिकारिक कप्तानका रूपमा रोहित पौडेलको यो पहिलो खेल हुनेछ। दुवै टोली जित निकालेर सुखद शुरूआत गर्ने योजनामा छन्।

सिरिजअघिको पत्रकार सम्मेलनमा कप्तान रोहितले नयाँ जिम्मेवारीलाई चुनौतिभन्दा अवसरका रूपमा लिएको बताएका छन्। नेपालले युएईसँग चार वर्षपछि दुईदेशीय सिरिज खेल्न लागेको हो । 

दुवै अन्तर्राष्ट्रिय सिरिजका लागि परिचित टोली हुन्। अहिलेसम्म भएका ६ प्रतिस्पर्धामा नेपाल दुईमा विजयी हुँदा चार खेल यूएईले जितेको छ।

त्रिवि मैदानमा गएर खेल हेर्ने दर्शकका लागि टिकट मूल्य २०० निर्धारण गरिएको छ। युएईसँगको दोस्रो खेल बुधबार र तेस्रो शनिबार हुँदैछ।