एशियाली खेलकुद महाकुम्भ शनिबारदेखि: ४० खेलमा ४८१ प्रतिस्पर्धा हुने

४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालका २५३ जना खेलाडीले २९ खेलमा प्रतिस्पर्धा गर्नेछन्।

तस्वीर: एएफपी

काठमाडौँ– चीनका हाङ्चाओ शहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एशियाड) हुरू हुँदैछ।

प्रतियोगितामा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार ५०० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएका छन्। जसमा ४० खेल, ६१ वटा विधा र ४८१ प्रतिस्पर्धा हुनेछन्। चीनका राष्ट्रपति सी चीनफिङले शनिबार प्रतियोगिताको उद्घाटन गर्नेछन्। 

उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत कयौँ मुलुकका राष्ट्रपति, सरकार प्रमुख र नेताहरू सहभागी हुने बताइएको छ। प्रतियोगितामा एशियाली मुलुकका कीर्तिमानधारी खेलाडीको सहभागिता हुनेछ।

‘भविष्यमा हृदयदेखि हृदयसम्म’ नारा रहेको प्रतियोगिताका लागि हाङ्चाओ शहर झकिझकाउ तुल्याइएको छ। हाङ्चाओ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट शोसमेत व्यवस्थापन गरिएको छ। 

प्रतियोगिता हाङ्चाओका साथै नजिकका छिमेकी शहरमा समेत आयोजना हुनेछ। ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। जसमा १२७ महिला र १२६ जना पुरुष खेलाडी छन्। 

एशियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा चार, आर्चरीमा चार, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिनमा एक, क्यानोइनमा एक, क्रिकेटमा १५, साइक्लिङमा दुई र ई–स्पोर्टस्‌मा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै, कराँतेमा आठ, गल्फमा छ, कुस्तीमा चार, ह्यान्डबलमा १६, जुडोमा आठ, कपर्दीमा १२, रग्बीमा १२, सुटिङमा दुई, स्क्वासमा छ, पौडीमा चार, फेन्सिङमा छ, टेबल टेनिसमा छ, टेनिसमा छ, ट्रायथलनमा चार, भलिबलमा २४, भारोत्तोलनमा पाँच तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ।

एशियाडमा ठूलो संख्यामा नेपाली खेलाडी सहभागिता हुन लागेको पहिलो पटक हो। प्रतियोगितामा मुलुकका तीन सुरक्षा निकायका विभागीय टोलीबाट १६२ जना खेलाडी सहभागिता रहनेछ। 

नेपाली सेनाका ६३, सशस्त्र प्रहरी बलका ५३ र नेपाल प्रहरीका ४६ खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने परिषद्ले जनाएको छ।