सरकार र आन्दोलनरत शिक्षकबीच गृह मन्त्रालयमा वार्ता शुरू

आन्दोलनरत शिक्षक संगठनका प्रतिनिधि र सरकारबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता शुरू भएको छ।

काठमाडौँ– प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकका प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलित बनेका शिक्षक संगठनका प्रतिनिधि र सरकारबीच वार्ता शुरू भएको छ। शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा केहीबेर अघि वार्ता शुरू भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको सचिवालयले जनाएको छ।

गत असोज ३ देखि देशभरका शिक्षक जम्मा भएर काठमाडौँकेन्द्रित आन्दोलन गरेपछि सरकारले समस्या समाधानका लागि शिक्षकहरूसँग वार्तामा बोलाएको हो। बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरूका बीच भएको वार्ता निष्कर्षविहीन भएको थियो।

शिक्षकहरूको आन्दोलनको नेपाल शिक्षक महासंघले नेतृत्व गरिरहेको छ। १७ बुँदै मागसहित गत बुधबारबाट शुरू भएको काठमाडौँकेन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरूले चेतावनी दिएका छन्। शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ।