क्यानको अध्यक्षमा पुन: चतुरबहादुर चन्द निर्वाचित

चन्दको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन्।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। 

उनी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्। काठमाडौँमा नयाँ बानेश्वरस्थित एक होटलमा भएको निर्वाचनमा उनीविरुद्ध कसैको उम्मेदवारी परेन।

चन्दलाई अध्यक्षमा लुम्बिनी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष विनय राजभण्डारीले चुनौती दिने तयारी गरेका थिए। उनले मनोनयनको फारम पनि भरेका थिए। तर, उनले उक्त फारम नबुझाई च्यातेर फ्याँक्दै चन्दलाई नै समर्थन गरे। राजभण्डारीले प्रस्ताव र समर्थक दुवै नपाएपछि फारम च्यातेका हुन्।

यस्तै उपाध्यक्षमा रोसनबहादुर सिंह र कोषाध्यक्षमा पदम खड्का पनि निर्विरोध निर्वाचित भएका छन्। अध्यक्षमा निर्विरोध भइसकेपछि चन्दले जिम्मेवारी थपिएको बताए।

“खुशी हुनुपर्ने कुनै कारण छैन। जिम्मेवारी थपिएको हुनाले चिन्ता चाहिँ बढेको छ। पहिलो त घरेलु क्रिकेट संरचनालाई बलियो भएपछि मात्र टेस्ट क्रिकेटको आधारशिला तयार हुन्छ,” उनले भने, “सरकारलाई दबाब दिइरहेका छौँ। पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्‍यो भने चार वर्षामा नेपाली क्रिकेट थप माथि जान्छ।”