‘तीन महिनाभित्र आन्तरिक संरचनालाई नयाँ किसिमले बदल्ने योजनासहित अघि बढ्छौँ’

क्यानको अध्यक्षमा निर्विरोध चयन भएका चतुरबहादुर चन्दले तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसिमले बदल्ने योजनासहित अघि बढ्ने बताएका छन्।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा निर्विरोध चयन भएका चतुरबहादुर चन्दले तीन महिनाभित्रै घरेलु संरचनालाई नयाँ किसिमले बदल्ने योजनासहित अगाडि बढ्ने बताएका छन्।

दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएपछि चन्दले शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै यो कार्यकालको तीन महिनाभित्र आन्तरिक संरचनाका विषयमा योजनासहित अगाडि बढ्ने बताएका हुन्। उनले नेपाली टोलीलाई पनि भारत र पाकिस्तानको स्तरसम्म पुर्‍याउनुपर्ने चुनौती रहेको औँल्याए।

“पहिलो तीन महिनाभित्रै आन्तरिक स्ट्रक्चरका विषयमा प्लानसहित अघि बढ्नेछौँ। भारत र पाकिस्तानसँग खेल्यौँ अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नु छ। त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ,” उनले सरकार क्रिकेट खेलका लागि भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको बताए।

उनले पद पाएसँगै जिम्मेवारी बढेको महसुस भएको प्रतिक्रिया दिए। उनले अघिल्लो कार्यकालभन्दा यस पटक केही नयाँ किसिमबाट राम्रो काम गर्ने प्रतिबद्धता पनि जनाए।

चन्द शुक्रबार राति अध्यक्षमा निर्विरोध चयन भएका हुन् भने शनिबार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन भए। चन्दकै प्यानलबाट कोषाध्यक्षमा उठेका पदमबहादुर खड्का पनि निर्विरोध भए।

सचिवमा भने पूर्वक्रिकेटर पारस खड्का र प्रशान्तविक्रम मल्ल प्रतिस्पर्धामा छन्। अन्य पदाधिकारी चयनका लागि शनिबार दिउँसोबाट मतदान भइरहेको छ।