साफ यू–१९ : पाकिस्तान सेमिफाइनलमा प्रवेश

माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

काठमाडौँ– पाकिस्तान साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको हो।

माल्दिभ्सले खेलको ३९औँ मिनेटमा सानन रसिद रसादको गोलबाट अग्रता लिए पनि खेल सकिन ६ मिनेटअघि पाकिस्तानका साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए। सोही गोल पाकिस्तानलाई प्रतियोगिताको अन्तिम चारमा पुर्‍याउन पर्याप्त रह्यो। 

समूह ‘ए’मा पाकिस्तानको ४ अंक छ। माल्दिभ्सको १ अंक र नेपाल अंकविहीन छ। पाकिस्तानले पहिलो खेलमा नेपाललाई १–० ले हराएको थियो।

समूह चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्स भिड्नेछन्। अघिल्लो चरण प्रवेश गर्न माल्दिभ्सलाई बराबरी नै पर्याप्त हुनेछ भने नेपाललाई अन्तिम खेलमा जित निकाल्नुपर्ने समीकरण तय भएको छ।