घरेलु क्रिकेटका संरचना विकास गर्नु पहिलो प्राथमिकता: पारस खड्का

क्यानका नवनिर्वाचित केन्द्रीय सचिव पारस खड्काले क्रिकेटसँग जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सचिवमा निर्वाचित भएका पारस खड्काले घरेलु संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताएका छन्। 

शनिबार भएको मतदानमा प्रतिस्पर्धी प्रशान्तविक्रम मल्ललाई पछि पार्दै खड्का सचिवमा निर्वाचित भएका हुन्। कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याए भने प्रशान्तले ३७ मतमा प्राप्त गरे।

निर्वाचित भएपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदा खड्काले घरेलु संरचना विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्। उनले राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। जिल्ला र प्रदेशस्तरको क्रिकेट संरचनालाई बलियो बनाएर अगाडि बढ्ने उनको भनाइ थियो।

“नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्ष, विपक्षहरू छन्, तिनीहरूलाई एक ठाउँमा ल्याएर मेरो आफ्नो भूमिकाबाट र नेपाली क्रिकेटलाई संस्थागत रूपमा अझ अघि कसरी बढाऊँ भन्ने सोच विचारका साथ अघि बढ्ने प्रतिबद्धता गर्छु,” उनले भने, “आफैँ अब नेपाल क्रिकेट संघको पदाधिकारी भएर सचिव हुँदा मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचना, जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने? भन्ने हुन्छ।”

उनले नेपाली क्रिकेट टिम परिपक्व रहेको बताउँदै आफूले खेल्दा स्थापना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रियस्तरको साझेदारीबारे पनि सोचिरहेको बताए। उनले भौतिक संरचनामा सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे।