एशियाली खेलकुद: डुंगा दौडमा चीनलाई स्वर्ण

जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६.७८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन्। उनीहरूले उज्बेकिस्तानका खेलाडीलाई १० सेकेन्डले पछि पारे।

तस्वीर: रोयटर्स

काठमाडौँ– आयोजक राष्ट्र चीनले आइतबार एशियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ।

महिलातर्फको डुंगा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो।  ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जितेका हुन्। 

जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६.७८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका हुन्। उनीहरूले उज्बेकिस्तानका लुइजाखोन इस्लामोभा र मलाइका ताग्माटिभालाई १० सेकेन्डले पछि पारे। इन्डोनेसियाका चेल्सी कर्पुट्टी र रहमा मुतियारा पुत्रीले कास्य जित्न सफल भएका छन्। 

महिलातर्फको १० मिटर एयर राइफल प्रतियोगितामा भारतका रमिता, मेहुली घोष र आशी  त्रिकुटले रजत पदक जितेर पहिलो दिनको विजयी शुरूआत गरेका छन्। भारतीय सेनाका खेलाडीद्वय अर्जुन लाल जाट र अरविन्दले पुरुष लाइटवेट डबल स्कल्‌समा रजत नै जितेका छन्। 

भारतीय महिला क्रिकेट टोलीले पनि सेमिफाइनलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै रजत पदक सुनिश्चित गरेको छ। हालसम्म भारतले पाँच वटा रजत पदक आफ्नो पोल्टामा पारेको छ।