एस्टन भिल्लासँग चेल्सी पराजित, वेस्टह्याममाथि लिभरपुलकाे सानदार जित

आइतबार नै भएकाे अर्को खेलमा आर्सनलले टोटेनह्यामसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेकाे छ।

काठमाडाैँ–  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी घरेलु मैदानमै एस्टन भिल्लाको हातबाट पराजित बनेको छ। आइतबार स्टामफोर्ड ब्रिजमा चेल्सी पाहुना टोली एस्टन भिल्लासँग १–० ले पराजित भएकाे हाे।

खेलकाे ५८ औँ मिनेटमा मालो गुस्टो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सीमित बनेको थियो। खेलको ७३ औँ मिनेटमा वली वाटकिन्सले गोल गर्दै जित दिलाए। एस्टनले ६ खेलबाट १२ अंक बनाएको छ। चेल्सीकाे ५ अंक छ। 

यस्तै, आइतबार राति नै भएकाे अर्काे खेलमा एनफिल्ड लिभरपुलले वेस्ट ह्यामलाई ३–१ काे गाेल अन्तरले हराएकाे छ। एनफिल्ड स्टेडियममा भएकाे खेलको १६ औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। पाहुना टोलीका जारोड बोबेनले ४२ औँ मिनेटमा गोल गरेर बराबरी बनाए। तर, नुनेजले ६० औँ मिनेटमा गाेल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए। अन्तिम समयमा जोटाले गरेकाे गोलले लिभरपुललाई ३–१ को सानदार जित दिलायाे। 

याेसँगै लिभरपुलले ६ खेलबाट १६ अंक बनाएको छ। वेस्ट ह्यामको १० अंक छ। लिभरपुलले आफ्नो अपराजित यात्रालाई १८ खेलसम्म पुर्‍याएको छ।

अर्को खेलमा घरेलु मैदानमा आर्सनलले टाेटनह्यामसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेकाे छ। खेलको २६ औँ मिनेटमा रोमेरोको आत्मघाति गोलमा आर्सनलले अग्रता बनाएको थियो। टाेटनह्यामका कप्तान सन ह्युङ मिनले ४२ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए। 

दोस्रो हाफमा बुकायो साकाले पेनाल्टीमार्फत पुन: आर्सनललाई अघि बढाएका थिए। लगत्तै कप्तान मिनले टोटेनह्यामका लागि गोल गर्दै खेल बराबरीमा ल्याए। याे बराबरीसँगै आर्सनल र टाेटनह्यामले ६ खेलबाट समान १४ अंक जोडको छन्।