साफ यू १९ : पहिलो हाफमा माल्दिभ्सविरुद्ध नेपाललाई अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमै २–० गोलको अग्रता बनाएको हो।

काठमाडाैँ– साफ यू १९ च्याम्पिनसिपअन्तर्गत समूह चरणको दोस्रो खेलको पहिलो हाफमा घरेलु टोली नेपालले अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमै २–० गोलको अग्रता बनाएको हो।

नेपालको लागि प्रशान्त लक्षम र समिर तामाङले गोल गरे। खेलको छटौँ मिनेटमै नेपालले गोलको अवसर पाएको थियो। तर, निराजन धामीले दिएको पासमा प्रशान्त लक्षमले गरेको प्रहारलाई माल्दिभ्सका गोलरक्षक मोहम्मद यामिनले पन्च गर्दिएर बाहिर पठाए। लगत्तै प्रशान्तले प्रहार गरेको बल यामिनको हातमा सिधै पुग्यो। त्यसपछि पनि नेपालले लगातार माल्दिभ्सका रक्षकलाई व्यस्त बनाइरहे। प्रशान्तले पुन: प्रहार गरेको बल माथिल्लो पोस्टबाट बाहिरियो। 

११औँ मिनेटमा मिडफिल्डबाट आएको बललाई पछ्याउँदै निरञ्जन बक्सभित्र पुगेका थिए। तर, गोलरक्षक यामिनले किक  प्रहार गरेर बाहिर पठाइदिए। पुन: निरञ्जनले प्रहार गरेको बललाई फस्ट बारनजिकबाट मुस्किलले पन्च गरेर बाहिर पठाइदिए। १८औँ मिनेटमा नेपालले अग्रता लियो। करिब ३० यार्डबाट माथिल्लो बारतर्फ गरेको प्रहारलाई माल्दिभ्समा गोलरक्षक यामिनले रोक्न सकेनन्। एअर बललाई उनले बचाउन प्रहार गरेपनि सहि जजमेन्ट गर्न नसक्दा बलले जालि चुम्यो।

३०औँ मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। नेपालका लागि समिर तामाङले गोल गरे। उनले प्रशान्तको पासलाई सदुपयोग गर्दै बललाई जालीमा चुमाए। ३३औँ मिनेटमा अनावश्यक विवाद र धकेलाधकेल गर्दा नेपाल र माल्दिभ्स १०–१० खेलाडीमा समेटियो। नेपालका सुजल डंगोल र माल्दिभ्सका कप्तान मोहम्मद हसनले सिधै रातो कार्ड पाए।