एशियाली खेलकुद: फेन्सिङमा नेपालका सबै खेलाडी जितविहीन

एशियाली खेलकुदको तेस्रो दिन सोमबार फेन्सिङमा कोही पनि नेपाली खेलाडीले जित हासिल गर्न नसकेपछि समूह चरणमा नै यात्रा टुंगिएको छ। त्यसैगरी, महिला थ्री बाइ थ्री बास्केटबलमा पनि नेपाल पराजित भएको छ।

काठमाडौँ- एशियाली खेलकुदको तेस्रो दिन सोमबार फेन्सिङमा कोही पनि नेपाली खेलाडीले जित हासिल गर्न सकेनन्। हाङझाव डायान्जी विश्वविद्यालय जिम्नाजियममा भएका खेलमा नेपाली खेलाडीले जित हासिल गर्न नसकेका हुन्।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामा पायस योञ्जनले पाँच वटै खेलमा पराजय ब्यहोरे। पायस काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग ५–० तथा उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले पराजित भए।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान क्वुयतसँग एनगुएन, दक्षिण कोरियाका सानगुक हो  र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित हुँदा उनको यात्रा समूह चरणबाट अघि  बढेन।

महिला फोइल व्यक्गिततर्फ पनि मन्दिरा थापाको यात्रा पनि समूह चरणमै टुंगियो। उनी हङकङकी नोक डाफी चेन, जापनकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङ्गसँग समान ५–०, मकाउकी हियो ल्याम कुसँग ५–१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५–३ ले निरास बनिन्।

दक्षिण कोरियाकी सिना होङसँग ५–३, थाइल्यान्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युका युनोसँग ५–१, सिंगापुरकी म्याक्सिन वाङ्गसँग ५–४  र चीनकी  क्वइयानक्यान  हुआङ्गसँग ५–० ले स्तब्ध बन्दा  गोमा आर्चायको यात्रा पनि समूह चरणमै रोकियो।

थ्री बाइ थ्री बास्केटबलमा नेपाल जापानसँग पराजित
एशियाली खेलकुदको महिला यू–२३ थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ। डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ ले पराजित गर्यो । नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान २–२ स्कोर गरे। 

नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान छन्। समूह ‘बी’ मा चाइनिज ताइपेई र काजाकिस्तान पनि छन्। नेपालले बुधबार काजाकिस्तानसँग तथा ताइपेईंसँग शुक्रबार प्रतिस्पर्धा गर्ने छ।