मलाई आएर कसैले भकाभक कुटेको फोटो-भिडियो खिचियो र भाइरल पनि भयो भन्दैमा त्यही पूरा सत्य नहुन सक्छ। यसअघि मैले नै त्यस व्यक्तिलाई कुटेर आएको हुन सक्छु।
कक्षा पाँचमा पढ्दै गर्दा अछामका एक जना सिनियर दाइले 'घर पुग्न पैँतिस घण्टा बस यात्रा गर्नुपर्छ, झारपात समात्दै उक्लिनुपर्ने भिरबाट गुज्रिन पर्छ, गाउँठाउँका मान्छे एक छाक भात खाएर गुजारा गर्छन्' भनेको सुन्दा विभव आचार्य अचम्मित मात्र होइन, आश्चर्यचकित भएका थिए। कक्षा चार पढ्न काठमाडौँको बुढानीलकण्ठ स्कुल आइपुगेका पोखरेली बालकले नेपाल भनेको काठमाडौं-पोखरा र बाटोमा पर्ने ठाउँहरूजस्तै ठानेका थिए। स्कुलका दाइले सुनाएको कुरा उनको चित्तमै पर्यो, सक्ने भएपछि अछाममा केही त गर्छु गर्छु भन्ने अठोट लिए।
छोराछोरीलाई डाक्टर वा इन्जिनियर पढाउने सपना देख्ने आम नेपाली अभिभावकजस्तै थिए विभवका अभिभावक। उनी पनि आम नेपाली बालबालिकाजस्तै थिए–डाक्टर बन्न चाहन्थे। हाइस्कुल सिद्ध्याएर लामो समय पोखरा बस्दा डाक्टरी काम देखेपछि चाहिँ उनको मन मरेर आयो। डाक्टरले बिरामी जाँचेको देखेपछि उनलाई डाक्टर बन्न मनै लागेन। बिरामीलाई एकाध मिनेटभन्दा बढी समय दिइन्थेन। बिरामीको अरू पारिवारिक-सामाजिक कुरा सोध्न डाक्टरसँग जाँगरै थिएन। यी सबै देख्दै गर्दा डाक्टर भनेको बिरामीको दुःख निवारण गर्ने मानव हो भन्ने उनको पूर्व धारणा नै चकनाचुर भयो। वैकल्पिक पढाई/पेसा के होला भन्ने अन्योलबीच पोखरामा एक वर्ष पढाएर बिताए। 
साथीहरू लर्को लागेर अमेरिका हानिँदै थिए, उनी पनि उतै सोझिए। अमेरिका पुगेपछि 'मेडिकल प्राक्टिस'को फरक अभ्यास देखियो। जेजस्तो अभ्यासले उनलाई डाक्टरीप्रति विकर्षण भएको थियो, त्यहाँ त त्यस्तो नहुँदो रहेछ। एकाध मिनेट कुरा गरेर ‘प्रेस्क्रिप्सन’ नलेखिँदो रहेछ। रोगबारे बिरामीको धारणा पनि बुझिँदो रहेछ, पारिवारिक पृष्ठभूमि र आहारविहारलगायत थुप्रै जानकारी लिएपछि मात्र डाक्टरले औषधि लेख्न कलम चलाउने रहेछन्। यी सबै देखेपछि विभवको डाक्टरीमै अभिरुचि फर्केर आयो।
नेपालमा प्लस टू गरेपछि मेडिकल स्कुल गइन्छ भने अमेरिकामा चाहिँ चार वर्षे स्नातक पास गरेपछि मात्रै त्यसको ढोका खुल्छ। पढाइमा अब्बल उनले ‘येल युनिभर्सिटी’मा 'अच्छा' छात्रवृत्ति पाए। नेपालमै केही गर्छु भन्ने बाल्यकालदेखिको हुटहुटी युवावस्थामा पनि कायम थियो। फेरी अछामबाटै केही गर्नुपर्छ भन्ने त पाँच कक्षादेखिकै सपना-जपना थियो। त्यति बेलै धरानबाट भर्खर एमबीबीएस पास गरेका दाइ (डा. विजय आचार्य) सित मिलेर ‘पसिबल हेल्थ’ सुरु गरे। अछाममा काम सुरु गर्न अनुसन्धान गर्दा तीन जना अमेरिकनले पनि त्यहाँ स्वास्थ्य सेवामै केही गर्न खोजिरहेको भेटियो। अछाममा एचआइभी सङ्क्रमण अचाक्ली थियो, देशमै सबैभन्दा भयावह अवस्था थियो। अमेरिकनहरू यसैमा काम गर्ने सोचमा थिए। ‘अमेरिकनत्रय अछामको पनि भुईं तह लाभान्वित हुने गरी काम गर्न चाहन्थे र हामी पनि,’ विभव सम्झिन्छन्। एचआइभी संक्रमणमा बग्रेल्ती संस्था सक्रिय देखिन्थे, तर त्यहाँ प्राथमिक स्वास्थ्यकै हालत अति दयनीय थियो।
दुई लाख ५० हजार जनसंख्या भएको अछाममा एउटै डाक्टर थिएनन्। एमबिबिएस पास डाक्टर भेट्न तीन-चार घण्टा बस यात्रा गरी डोटी पुग्नपर्थ्यो, बस चढ्नुअघि चार पाँच घण्टासम्म पैदल हिँड्न पर्ने हुन सक्थ्यो। अछामको बयलपाटामा अस्पतालका लागि ठड्याइएको तर गोठमा परिणत भइसकेको संरचनामा अस्पताल सञ्चालनको प्रस्ताव सरकारी निकायसमक्ष राखियो। 'सरकारी काम, स्वीकृति दिनै जति पनि समय लाग्न सक्छ अथवा हुँदैन पनि भनिदिन सक्छ' भनेरै उनीहरूले सुरुमा एउटा निःशुल्क क्लिनिक खोले। हुन पनि गोठमा परिणत भएको संरचनामा निःशुल्क सेवा दिने अस्पताल चलाउने बारेको चिठी दिनै सरकारले वर्ष दिन लगायो।
मेडिकल पढिरहेका विद्यार्थीहरूलाई नै दूरदराजमा डाक्टर भन्दै बिरामी जँचाउने काम भइरहेको हुन्छ। पसिबलले त्यस्तो गलत अभ्यासमा हातै हालेन। डाक्टरी पास गरेका स्थानीयहरूलाई खोजी–खोजी ल्याए। भूकम्प २०७२ को परकम्पको 'इपिसेन्टर' दोलखामा अस्तव्यस्त स्वास्थ्य सेवामा अछाम मोडलमा अस्पताल चलाइदिन स्थानीय स्तरबाटै अनुरोध आएपछि चरिकोटमा पनि अस्पताल चलाए। बयलपाटामा १२ वर्ष अनि चरिकोटमा सात वर्ष अस्पताल चलाएपछि अहिले स्थानीयलाई नै सञ्चालनको जिम्मा लगाइएको छ। अहिले स्थानीय सरकारकै अगुवाइमा अस्पताल चल्न थालेको छ। अहिलेचाहिँ समस्याको समाधान गर्ने उपायका लागि पसिबल हेल्थ अनुसन्धानहरूमा केन्द्रित छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाको मेडिकल स्कुलमा प्राध्यापनरत डा. विभव आचार्य हालै काठमाडौँमा रहेका बेला उकालोका लागि सुजित महतले गरेको कुराकानी:
अछाममा केही गर्छु भन्ने बाल्यकालदेखिकै अठोट भए पनि तपाईं कामै गर्न त सन् २००७ तिर पुग्नुभयो। त्यसपछि पहिले नसोचेका र कल्पनै नगरेका के–के देख्नुभयो?
त्यसअघि बिरामीका लागि अस्पताल हुनुपर्छ, जहाँ आएर बिरामीले उपचार गर्न पाउँछन् भन्ने थियो, तर उपचार सेवाका लागि अछाम पुगेपछि देखियो, अस्पतालको बिल्डिङसम्म पुग्न पनि मान्छे पाँच/छ घण्टा हिँड्नुपर्छ। बिरामी दिनदिनै खेतमा काम गर्नुपर्ने मान्छे छ। त्यसपछि हाम्रो दिमागमा स्वास्थ्य उपचार गर्ने बिल्डिङ सकेसम्म धेरैलाई पायक पर्ने ठाउँमा हुनुपर्छ भन्ने आयो। अझ झिनामसिना सिकायतमा अस्पताल पुग्नुपर्ने सास्तीबाट स्थानीयलाई मुक्त गर्नुपर्ने देखियो।
अब हामीले सामुदायिक स्वास्थ्य कार्यकर्तालाई भरथेग गर्न थाल्यौं–सकेसम्म गाउँघरमै उपचार गर्ने, ल्याउनै पर्ने अवस्थामा बल्ल अस्पताल ल्याउने। त्यहाँ हल्का बिरामी हुँदा डाक्टरकहाँ जाने चलन नै थिएन, सिकिस्त भएपछि मात्र अस्पताल पुग्थे। हामीले काम सुरु गर्दा ९५ प्रतिशत प्रसूति घर गोठ वा अरू कुनै असुरक्षित ठाउँमा हुन्थ्यो–आमा र बच्चाकै ज्यान जोखिम हुन्थ्यो। हामीले एउटा प्रसूति केन्द्र बनायौं। प्रशिक्षित जनशक्ति थिए, सबै सेवा निःशुल्क थियो। तर छ हप्तासम्म चरो मुसो कोही आएन। स्वास्थ्यकर्मीहरू नै ‘झिँगा मारेर बस्न हामीलाई किन यहाँ राखेको’ भन्न थाल्नुभयो।
‘कोही आउनुहुन्छ, त्यसपछि त धेरै जना आउन थालिहाल्नुहुन्छ नि’ भनें। नभन्दै एक दिन बच्चा पाएपछि रगत बग्न नथामिएकी एक जना सुत्केरी आउनुभयो, ठिक भएर गाउँ फर्केपछि बल्ल अरू आउन थाल्नुभयो। बच्चा जन्मिएपछि रगत नथामिएका सुत्केरीहरू त्यसअघि बाँच्ने आशै नगरिने रहेछ। त्यतिखेर हामीले गरेको उपचार त्यहाँका लागि चमत्कारै थियो। हामीले छाड्ने बेलासम्म अवस्था उल्टिसकेको थियो, ९० प्रतिशत सुत्केरी प्रसूति केन्द्रमै गराउने अवस्था थियो।
हाम्रा राष्ट्रिय तथ्यांकले त मातृ मृत्युदर र शिशु मृत्युदरमा निकै अघि नै धेरै उपलब्धि हासिल भएको देखाउँछ, १०-१२ वर्षअघिको अछाममा त्यस्तो अवस्था थियो?
राष्ट्रिय तथ्यांकले कतिपय ठाउँमा भ्रमित पार्दिन्छ। म त अमेरिकाबाट काठमाडौँ झर्दा त्यति धेरै फरक देख्दिनँ, साँच्चिकै फरक देखिन त दूर दराजमै पुग्नुपर्छ। विषमता हेर्न त क्षेत्रीय-स्थानीय तथ्यांकै हेर्नपर्छ। स्थानीय अर्थतन्त्र नै वैदेशिक रोजगारीमा गएकाले पठाएको पैसाले चलेको छ। स्थानीय अर्थतन्त्रको बिजोग छ, स्थानीय स्वास्थ्य सेवा उस्तै दयनीय छ।
अछाममा अहिले एचआईभीको अवस्थाचाहिँ कस्तो छ?
धेरै संस्थाले काम गरेकाले सुधार पनि धेरै भएको छ। सचेतनाको 'लेबल' एकदमै बढेको छ। कन्डम प्रयोगमा सबै नै सचेत छन्। आमालाई एचआइभी भए पनि बच्चालाई नहुने औषधोपचार छ, प्रयोग पनि भइरहेको छ, जबकि कुनै समय एकदमै खराब थियो। अधिकांश स्थानीय पुरुष मौसमी मजदुरीमा भारत जाने र उतैबाट रोग बोकेर आउने हुन्थ्यो। त्यसको सामाजिक कारण खोतल्न त 'अछामीहरू किन भारत जान्छन्?'बाटै सुरु गर्नुपर्यो। स्थानीय अर्थतन्त्र ठिकठाक भइदिएको भए गाउँ र देश छाडेर मान्छे किन बिदेसिन्थे र?
फेरि भारतै किन गए त? त्यहाँका बासिन्दालाई काठमाडौँ आउनभन्दा दिल्ली जान सजिलो थियो। सुविधाजनक बाटोघाटो भइदिएको भए त नेपालगन्ज र काठमाडौँ आउँथे। अर्काको देशमा गएपछि एक्लोपन हुन्छ। जीवनशैलीका धेरै कुरा मिल्दैनन्। हामीले एउटा अनुसन्धान गर्न खोजेका थियौं-एचआइभी पोजेटिभलाई यता आउँदा यतै उपचार, उता गएपछि उतै। मिल्दै नमिल्ने रहेछ। पूर्वाधार र सुविधा भई नेपालगन्ज वा काठमाडौँमा उनीहरू काम गर्ने भइदिएको भएचाहिँ त्यसो गर्न सकिन्थ्यो। 
नेपाली स्वास्थ्य प्रणाली सुधार्ने 'म्याजिक' के हो? के गर्दा एकदम छिटो सुधार हुन्छ?
म त जबाफदेही नै भन्छु। जसको कामै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको अनुमति दिने हो, त्यही निकायले हामीलाई अछाममा अस्पताल सञ्चालनको अनुमति दिन वर्ष दिन कुराइदिए। हेर्नुस्, पहिला त काठमाडौँ बसेर अछाममा के दिने-के नदिनेबारे अधिकार प्रयोग गरिएको छ। आवश्यकता अछामको मान्छेलाई छ, दिने–नदिने अधिकार यहाँ बस्नेलाई छ। कतिसम्म भने, अस्पताल सञ्चालनको अधिकार दिने–नदिने निर्णय गर्ने अधिकारीले हामीलाई ‘अछाममा होइन, मेरो घरनेर जग्गा मिलाइदिन्छु, त्यहाँ अस्पताल बनाउनुस्’ भन्नुभयो।
अर्को कुरा, हामीकहाँ जसलाई स्वीकृत-अस्वीकृत गर्ने अधिकार छ, तिनलाई जे गरे पनि फरक पर्दैन। जसलाई फरक पर्छ, दुःख पाएको छ, उसको शक्ति त परको कुरा, कतै पहुँचसमेत छैन। जोसँग शक्ति छ, उसले दुःख पाएको छैन। शक्तिधारी र सास्ती पाउने वालाको सन्तुलन मिलाउन आवश्यक छ। गाउँमा घण्टौं वा दिनौं लगाएर अस्पताल पुग्नपर्छ, नजिकैको स्वास्थ्य केन्द्रमा डाक्टर वा औषधि नै छैन। किन त्यसो भएको छ त भन्दा त्यो सबै बन्दोबस्त मिलाउने ‘अथोरिटी’ले काम गरे पनि-नगरेपनि फरक पर्दैन। तिनको जबाफदेहिता छैन। शक्ति एकातिर, दुःख अर्कातिर भयो। दुःख पाउनेको हातमा शक्ति आउनुपर्यो वा शक्ति हुनेले सही ढंगले काम नगर्दा ती दण्डित हुने अवस्था हुनपर्यो।
मुलुकमा मानसिक रोगबारे स्थापित भ्रम र धारणाहरूले गर्दा खुलेर कुरा गर्न र चिकित्सक-काउन्स्लरकहाँ गइहाल्न कत्तिको सहज वा असहज छ?
मानसिक शब्द नै लाञ्छनायुक्त शब्द भइदियो हामीकहाँ। त्यही भएर मानसिक स्वास्थ्य नभनी मनको समस्या भन्ने गर्छु। त्यसो भनेपछि बुझाउन सजिलो, सुन्नेलाई पचाउन सजिलो। हामीकहाँ मानसिक समस्यामा सबै सहेर बस्ने र अति नै भएपछि मनोचिकित्सककहाँ जाने अभ्यास छ, त्यसबीचमा केही छैन। मान्छे झसङ्ग हुने, सुत्दा बिउँझिरहने, गरिआएको काम गर्न नसक्ने भएपछि ‘एङ्जाइटी’ भएको हुनसक्छ। यस्तो अवस्थामा जानुपर्ने त मनोचिकित्सककहाँ हो।
पहिलो कुरा त, यस्तो समस्या हुँदा मनोचिकित्सक वा काउन्स्लरकहाँ जानुपर्छ भन्ने नै थाहा हुँदैन। थाहा हुनेले पनि जाँदा पागल भएको भन्छन् कि, जिन्दगीभरलाई औषधि लेख्देला, बरु दुःखै सहन्छु भन्दै नजाने प्रचलन छ। मनोचिकित्सककहाँ जानुपर्ने गम्भीर बिमारीभन्दा तल या बीचको 'लेयर' भइदिएन। मानसिक स्वास्थ्यमा गम्भीर समस्या आयो भने परिवारले बुझिहाल्छन्, मनोचिकित्सककहाँ लैजान्छन् पनि। तर अरूलाई थाहा नहुने गरी भएको समस्याका लागि बीचको उपाय भएन।
विदेशबाट आएको पैसामा सञ्चालित परियोजनाबाहेकमा काउन्स्लर नियुक्त गर्ने चलनै छैन। काउन्स्लर भइदिएको भए त्यहाँ गई हेरौं न त भन्ने हुन्थ्यो। जुन ठाउँमा प्रभावकारी उपचार छ, त्यहाँ 'स्टिग्मा' घटेको छ।
कसैलाई मुटु ढुकढुक भयो र डर लागेर कुनै डाक्टर (मनोचिकित्सकबाहेक) समक्ष गयो भने डाक्टरले ‘तनाव नलिनुस्’ भन्ने हो। मैले त अनुसन्धानै गरेको छु। ‘धेरै सोच्नुहुँदो रहेछ, नसोच्नुस्’ भन्छन्। ‘निद्रा नलागे बरु यो औषधि खानुस्’ भनेर औषधि लेख्दिन्छन्। यो त सही उपचार होइन। डाक्टरले त्यसो किन गरे भने तिनले पनि त्योभन्दा सिकेकै छैनन्। सिनियर वा प्रोफेसरले पनि त्यही भनेको-गरेको सुनेका हुन्। बिरामीले स्वेच्छाले तनाव लिएका हुन् र नलिनुस् भनेर पुग्ने? स्वेच्छाले डराएको वा सोचमग्न भएका होइनन् भनेपछि 'नडराउनुस् र नसोच्नुस्' भनेर पुग्छ? आफैँले मुटु ढुकढुक गराएको हो र छाड्नुस् भन्नलाई?
त्यस्तो ठाउँमा काउन्सलर उपलब्ध हुन सके बिरामीलाई त्यहाँ पठाउनु उचित हुन्थ्यो। काउन्सलरले लामो समय लिएर बिरामीलाई सम्झाउँछन्। हामीले अछाममा त्यही अभ्यास थाल्यौं। बिरामी समस्यामा छ, अरू जाँचबाट केही देखिएन भने काउन्सलरकहाँ पठाइदिने, त्यो पनि अर्कोचोटी बोलाउने होइन, तत्कालै यति नम्बर कोठामा जानु भन्दिहाल्ने। काउन्सलरले मज्जाले समय दिएर काउन्स्लिङ गर्दिन्छन्।
अर्को कुरा, डाक्टरले बिरामीलाई कति समय दिन्छन् भनेर अनुसन्धान गरिएको थियो। नेपालमा तीन मिनेट मात्रै रहेछ, जबकि विश्वभरको अभ्यास पाँच मिनेट हो। अमेरिकामा २० र युरोपमा २५ मिनेट। यति छोटो समयमा मानसिक स्वास्थ्यको मूल्याङ्कन हुनै सक्दैन। डाक्टर थोरै भएर हो कि भनेर संख्या बढाउँदा पनि उही तीन मिनेट नै–केही भयो सोध्यो, लामो सास लिनुस्, जिब्रो निकाल्नुस् भन्यो, मिनेटभरमै परीक्षण सिद्धियो। डाक्टर तालिमप्राप्त नै छैनन्। हाम्रोमा काउन्स्लरलाई ४५ मिनेटको समय दिने बन्दोबस्त मिलाइएको थियो। काउन्सलरले समस्या गम्भीर देखिए मनोचिकित्सककहाँ पठाउँछन्।
नेपालमा त काउन्स्लरसम्बन्धी परिषद् नै छैन, १५ दिनको तालीम लिएर काउन्स्लिङ गरिरहेका छन्। मनोविज्ञान त्यति सजिलो विषय हो र?
समग्रमा स्वास्थ्य सेवाको गुणस्तर नै एकदम कमजोर छ। डाक्टरले पनि जे सिक्यो, त्यही गर्ने हो। अर्को कुरा, नयाँ ‘इन्टरभेन्सन’ को अभ्यासमा पनि पछि छौं। गरेको ठिक वा बेठिक 'मनिटर' गर्ने प्रणाली पनि कमजोर भयो। डाक्टरले गोदाई खाएको नराम्रो घटना भयो भने मात्र चासो लिइने हो। खराब नतिजा डाक्टरको लापरबाही, अज्ञानता वा पूर्वाधारले हो वा अरू कुनै काबुबाहिरको परिस्थितले? अप्रिय घटना नघट्दै कमजोरी भएको छ कि भनेर बसेर छलफल गर्ने प्रणाली पनि हुनपर्यो। म काम गर्ने अस्पतालमाचाहिँ त्यस्तो प्रणाली छ। धेरै समस्याचाहिँ डाक्टर र बिरामी पक्षबीच संवादहीनताले गर्दा पनि आइपरेका हुन्छन्। बिरामी पक्ष र चिकित्सक पक्षबीच सबै कुरा सञ्चार गरिएको छ भने नतिजा खराब हुँदा पनि धेरै जोखिम हुने समस्या एकदमै कम हुन्छ।
मानसिक स्वास्थ्य पढेकाहरूसित काम गर्छु, गुणस्तर राम्रो छ। काउन्स्लिङमा एकदमै भेरिएसन छ। दुई हप्ताको ट्रेनिङले पनि काम चलाएकै छन्, पर्याप्त औपचारिक शिक्षा प्राप्त पनि छन्। काउन्स्लिङ भनेको सीप हो। कोही उच्च रक्तचापको बिरामी आउँदा औषधि लेखियो, त्यो ज्ञान हो। कसरी कुरा गर्ने, शब्द कस्तो प्रयोग गर्ने, बिरामी अलि अत्तालिएको छ भने कसरी सुरु गर्ने त सीप हो। साइकल चलाउने विधि पढेर त साइकल चलाउन जानिन्न, चढेर प्रयत्न गर्न थाल्नुपर्छ। काउन्स्लिङ पनि अभ्यासबाटै बढी सिकिने हो। कोही होला, सिप भएको चाँडै सिक्ला। तर व्यावसायिक बनाउन त बोर्ड चाहियो, परीक्षा हुनपर्यो। फेरी बिरामीसँग कुरा कसरी गर्छ जाँच्न अरू परीक्षाजस्तो सजिलो पनि छैन। तालीम गर्ने ठाउँमै जाँचको व्यवस्था हुनुपर्छ। ‘कम्पीटेन्सी’ मा आधारित तालीम हुनुपर्छ ।
डाक्टरहरूलाई चाहिँ काउन्स्लिङबारे तालीमको कत्तिको जरुरी छ?
हाम्रो पढाइदेखि अभ्यास सबै 'टेक्नोक्र्याटिक' छ, प्रक्रिया (प्रोसेड्यूअर) मा आधारित छ। हामीले बिरामीसित यसरी कुरा गर्नपर्छ भनेर भन्यौं, यस्तो पाटोमा पनि बुझ्नपर्छ भन्दा डाक्टरहरूले ‘यस्तो कुरा गर्न डाक्टर बनेको होइन’ भन्नुभयो। ‘प्रोसेड्युअर फलो गर्ने हो, औषधि लेख्ने हो, डाक्टरको काम त त्यो पो हो’ भन्ने जिकिर रह्यो। सुरुमा हाम्रा समस्याहरू ‘अक्युट’ थिए, अहिलेका समस्याहरू 'क्रोनिक' छन्।
निमोनिया भएपछि खोकी लाग्छ, ज्वरो आउँछ। भित्रैदेखि अब उपचार गर्नुपर्छ भन्ने आएपछि डाक्टरकहाँ गइन्छ र ठिक पनि हुन्छ। हो, यही हो ‘अक्युट केयर सिस्टम’। डाक्टरको बुझाई पनि त्यही हो, गाह्रो भएपछि बिरामी मकहाँ आउँछन्, औषधि लेख्दिन्छु, खाएपछि ठिक हुन्छन्। तर समस्या क्रोनिक छन्– मधुमेह, उच्च रक्तचाप, एन्जाइटी, डिप्रेसन आदि।
बिरामीको रगत जाँच्दा डायबिटिज देखियो। अब डाक्टरले खानपान र जीवनशैलीमा सुधार गर्नुपर्छ भन्छ। तर बिरामी त 'कन्भिन्स' भइहाल्दैन। निमोनिया हुँदाजस्तो गाह्रोसमेत भइरहेका हुँदैन बिरामीलाई त्यस बेला। अनि औषधि त्यो पनि सधैँका लागि किन भन्ने प्रश्न त प्रश्न उ/उनीभित्र उब्जिन्छ। यति सामान्य रोगमा पनि यति धेरै मुख बार्नुपर्ने किन होला भनेर बिरामी सोच्न थाल्छ।
यो रोगमा निमोनियाको झैँ औषधि दिएर मात्र त हुँदैन, चिकित्सकले एक प्रकारले काउन्स्लिङ नै गर्नुपर्ने हुनसक्छ। बिरामीको नजरबाट बुझाउनुपर्ने हुन्छ। जबकि, यतिखेर बिरामीलाई 'केही खानै नपाउने भएपछि जीवन केको जीवन?' भन्ने पनि लागेको हुनसक्छ। भनेपछि त यस्ता केसमा बिरामीलाई मजैले बुझाउनु आवश्यक हुन्छ, तर हाम्रा डाक्टरहरूको सिकाई तदनुरूपको छैन। मैले भनेपछि बिरामीले सहजै मानिहाल्छन् भन्ने छ। यस्तै काउन्स्लिङको अभावमा कतिपयले औषधि नै सेवन गरिरहेका छैनन्। भर्खरै जनकपुरमा मैले कतिपय मधुमेह र उच्च रक्तचापका बिरामीले डाक्टरको सुझावका बावजदू औषधि नखाइरहेको भेटें। 'ठिकै छ, किन औषधि खाइरहनु?' भन्नुभयो। यसबाट थाहा हुन्छ, अब पुरानो तरिका काम लाग्दैन।
पाँच दिनको एन्टिबायोटिक दिँदा तीन दिनमै ठिक भइहाल्यो भनेर छाड्दिने प्रवृत्ति सर्वत्र छ। अर्कोतिर, डाक्टरको प्रेस्क्रिप्सन नभए पनि पसलमा औषधि दिइहाल्छ। एकातिर ‘ननकम्प्लायन्ट’ को समस्या छ, अर्कोतिर ‘सेल्फ मेडिकेसनको’, होइन त?
स्वउपचारको कुरा गर्दा पहुँचको कुरा हुन्छ। 'लाइन लागेर, पैसा तिरेर आखिर यही औषधि त लेख्ने हो, खासै गाह्रै पनि भएको होइन' भन्ने धारण बिरामीका मनमा आउँछ। सजिलोका लागि मान्छे आफैँ औषधी किनेर खाने निर्णयमा पुग्छ।
प्रणाली बनाउँदा बिरामीले सकेसम्म कम समय लाइन बस्नुपर्ने बनाउनु पर्यो। ‘अपोइन्टमेन्ट सिस्टम' अपनाउनु पर्यो। अहिले पनि कतिपय डाक्टरको क्लिनिकमा नाम लेख्ने सबै बिरामीलाई यति बजे डाक्टर आउनुहुन्छ भन्दिएको हुन्छ। सबै एकै समय पुग्छन्। सुरुमा नाम हुनेले केही बेरमा डाक्टरको भेट पाउँछ, पुछारमा नाम हुनेले घण्टौं कुर्नुपर्छ। यसरी चल्दैन, सिस्टम तयार गर्नुपर्यो। स्वउपचारमा त नियमनको पनि कमी छ।
'साइडइफेक्ट'ले धेरै हानी गर्न सक्छ। अब स्वास्थ्यको हिसाबले हानिकारक भए पनि औषधी पसलेको व्यापारको हिसाबले लाभदायक भयो। आएको ग्राहकलाई किन फर्काउने भनेर सोच्छन् पसलेले। कम्लाइन्सबारे हामीले दुई वटा अध्ययन गर्यौं। कसरी मोटिभेसन बढाउने भन्नेमा एउटा तरिका छ, उसको लागि जे महत्त्वपूर्ण छ त्यसबाट काउन्स्लिङ सुरु गर्नुपर्छ। अब मधुमेहबारे आफ्ना कुरा घोकाउनुअघि बिरामीले के भन्दोरहेछबाट सुरु गरौं।
मानसिक स्वास्थ्य यति ठूलो समस्या छ, तर स्कुलको पाठ्यक्रममा स्वास्थ्यको किताबमा मानसिक स्वास्थ्यको च्याप्टर नै छैन ।
यो विषय एकदमै उपेक्षित छ। यसैले पनि मानसिक स्वास्थ्यबारे मेरो आफ्नै बुझाई पहिले पूरै गलत थियो। मनोचिकित्सकबारे नकारात्मक धारणा थिए–यी डाक्टर आफैं पागल हुन्छन् भन्ने गएगुज्रेको धारणा थियो। मेडिकल कलेज जाँदा पनि ‘साइक्याट्रिक’ प्राथमिकताको पुछारमा थियो। किनकि यो बन्दै बन्दिनँ भन्ने लाग्थ्यो।
साथीलाई ‘सिजोफ्रेनिया’ भएपछि सघाउने क्रममा मैले मानसिक स्वास्थ्यबारे बुझ्नथालें। नेपालमा सेवा कति दयनीय छ भनेर बुझ्ने मौका पनि पाइयो। विषयमा कुनै रुचि नभए पनि डाक्टरी पढ्दा एक महिना त सिक्नै पर्यो। त्यही एक महिने पढाइमा यस विषयमा रुचि जागेको हो।
नेपालमा काम गर्छु भन्ने भएकाले स्कोप र अवसर पनि देखियो। नेपालमा त छनोट पनि 'मनोचिकित्सा एक महिना गर्ने कि नाक कान घाँटी?' रे। छनोट पनि कस्तो नमिल्दो। मनोचिकित्सा विरलै रोजिने रहेछ। कोहीचाहिँ ‘एक हप्ताको ड्युटी पर्याथ्यो, बिरामी देखेपछि यहाँ त फर्केर आउँदिन’ भनेर भागेंसमेत भन्छन्। भनेपछि डाक्टरको एक्सपोजर नै यस्तो नकारात्मक थियो कि मानसिक स्वास्थ्यलाई नै गम्भीर प्रकृतिका केही बिरामी देख्न थालियो। ‘जेलजस्तो लाग्यो, बिरामी कराइरहेको छ र चिच्याइरहेको छ’समेत भनेको सुनिन्छ।
तर त्यस्तो बिरामी पनि ठिक भई घर गएको देखेपछि त सकारात्मक भाव जाग्थ्यो होला नि। मलाई एक जना डाक्टरले ‘परीक्षामा सिजोफ्रेनियाको लक्षण सोध्दा भन्न सक्ने पास हुने’ भन्नुभयो। जसले पाठ्यक्रम बनाउनुपर्ने हो, उसैले 'एक्सपोजर' पाएको छैन। अहिलेको पुस्ता त फेसबुक-टिकटकबाट मानसिक स्वास्थ्य बुझ्दैछ। सामाजिक सञ्जालबाटै सही, नयाँ पुस्ताले केही न केही सिकिरहेको छ, आशा पनि छ। हिजोआज एन्जाइटी भयो, के गर्ने होला भनेर मसित सोध्ने नातागोता र चिनजानकारहरू बढ्दैछन्।
आमसञ्चार माध्यमले कत्तिको ‘डिक्टेट’ गर्या छ? सिनेमा हेर्दा पनि मानसिक स्वास्थ्य भन्नासाथ चिच्याउने आदित्यादी हुन्थ्यो नि पहिले!
आमसञ्चार माध्यममा 'गाइडेन्स' छ। आत्महत्याबारे कसरी समाचार लेख्ने भन्नेबारे गाइडेन्स छ। सबैले मानेको देखिँदैन, तर निर्देशिका छ। तर यी सबै कुरा स्कुलदेखि नै सिकेर आउनुपर्ने हो। टिभी र सिनेमाले त गलत सिकाइदिन पनि सक्छन्। त्यसो हुँदा ज्ञान आधिकारिक ठाउँबाटै पाइँदा सबैभन्दा बेस। तर आधिकारिक ठाउँले नदिने भएकाले टिकटकबाटै अहिले सिक्न परेको हो। तपाईंले किताबबाटै मानसिक स्वास्थ्यबारे थाहा पाएको भए त टिकटकमा कसैले गलत बोलिरहेको छ भने आफैँ सच्याइदिन सक्नुहुन्थ्यो।
कोभिडले पनि मान्छेको सचेतना बढाइदिएको छ। मान्छे न्यास्रिए, त्यसपछि एन्जाइटी होकि भनेर परामर्श गरे। राम्रो प्रणाली भइदिएको भए परिवारबाटै कतिपय कुरा थाहा हुन्थ्यो। दोस्रो चरणमा काउन्सलरकहाँ गएपछि हुन्थ्यो। हाम्रो स्वास्थ्यको किताबमा 'फिजिकल' स्वास्थ्यको मात्र कुरा छ। जस्तै: खानाअघि हात धुनुपर्छ।
तर मानसिक स्वास्थ्यबारे सचेत गराउने टिप्स पनि छन्: सुत्नुअघि मादक पदार्थ सेवन नगर्ने, सकेसम्म ८ घण्टा सुत्ने, शान्त बस्ने प्रयास गर्ने, ध्यान गर्ने। यी सबै मानसिक स्वास्थ्यको 'हाइजिन'का कुरा हुन्। यो सब गर्दा नभएपछि काउन्स्लिङमा जाने हो। मानसिक स्वास्थ्यमा सबैभन्दा प्राथमिकता नदिइने औषधि ‘एल्प्राजोना’ हो, अन्यत्र सकेसम्म दिइँदैन। यहाँ सुत्न अप्ठ्यारो भयो भन्नासाथ डाक्टरले त्यही लेख्दिन्छन्, त्यसको त लत लाग्ने खतरा हुन्छ। पाकालाई त सो औषधी दिनै हुन्न। फेरी औषधि नै प्रयोग गरिहाल्ने नि होइन, अरू उपायहरू अवलम्बन गर्ने हो। नभए औषधि प्रयोग गर्ने हो।
क्यान्सरको छातामुनी अनेकन् क्यान्सर हुन्छन्, 'हार्ड डिजिज'को छातामुनि अनेकन् रोग छन्। त्यस्तै, मानसिक स्वास्थ्यको छातामुनि पनि अनेकन् रोग छन्, तर मानसिक स्वास्थ्यको सबै खाले समस्यालाई एकै प्रकारले हेर्नु ठिक हो र? मान्छेलाई सबैभन्दा बढी प्रभाव पार्ने त मानसिक स्वास्थ्यले नै हो नि, हैन त?
धेरै बाँच्दा मधुमेह र उच्च रक्तचापको सम्भावना एकदमै बढी हुन्छ। तर क्रोनिकमा सबैभन्दा बढी मानसिक स्वास्थ्यकै समस्या हो, एकदमै आम समस्या हो। नीति नियम बनाउनेलाई नै जानकारी नभएपछि गर्ने के? स्वास्थ्यको क्षेत्रमा हाम्रो गल्ती पनि छ, हामी चिकित्सक पनि 'हेर्दा ठूलो देखिने' रोगमै बढी लाग्ने रहेछौं। ठूलो बिल्डिङ, अत्याधुनिक मेशिन, सर्जरी, तर मानसिक स्वास्थ्यमा त धेरैजसो दुई जना कुरा गरेर बस्ने हो। अनि काउन्स्लिङलाई कुरा गर्ने त हो भनेर मानसिक स्वास्थ्यलाई हेपियो। ठूलो मेसिन देख्दा 'आम्ममा' भन्ने लाग्दा, काउन्सलर देख्दा त्यस्तो हुँदैन।
देशमा व्याप्त निराशाले ‘मास हिस्टेरिया’को रूप लियो पनि भनिन्छ, एउटा विज्ञको नजरले चाहिँ त्यस्तो देख्छ कि देख्दैन?
मास हिस्टेरियाको समस्या त हुन्छ, तर देशमा निराशा बढ्यो भनेर मास हिस्टेरिया भयो भन्नचाहिँ मिल्दैन। स्कुलमा एक जना ढलेपछि अरु पनि भकाभक ढलेको देखिन्छ–मास हिस्टेरियामा यस्तै हुन्छ। सामाजिक सञ्जालमा मान्छेहरू एकदम आक्रोशित देखिए भन्दैमा त्यो मास हिस्टेरिया होइन। सञ्जालमा एकदम अस्वाभाविक देखिई गालीगलौज गर्यो र आक्रामक देखियो भने पनि सामान्य जीवन बिताइरहेको छ भने उसलाई केही भएको छ भनेर कसरी भन्नु? फेरी मानसिक स्वास्थ्य भनेको झट्ट हेर्दा जे देखियो, त्यति मात्र होइन। मलाई आएर कसैले भकाभक कुट्यो, फोटो-भिडियो खिचियो, भाइरल पनि भयो, तर त्यति मात्र पूरा सत्य होइन । यसअघि मैले नै पहिले उसलाई कुटेर आएको पनि हुन सक्छु।
नेपालीमा निराशा बढेको तपाईंलाई लाग्छ भने अरू देशका मान्छेमा चाहिँ कस्तो छ त? देशमा चाहेको जस्तो गुणस्तरीय शिक्षा छैन, शिक्षापछिको अवसरको कमी छ, विदेश जानै पर्ने कुराले निराशा हुनसक्छ। त्यही कुराले व्यक्तिलाई खान रुचि हुन छाड्यो, निद्रा परेन, अझ मरौं–मरौं भए पो मानसिक स्वास्थ्यको समस्या भयो त।
आत्तिनु नराम्रो होइन। परीक्षा आउँदा आत्तिएर तपाईं झनै मेहनत गर्नुहुन्छ भने त राम्रो हो नि। आत्तिएर पढ्नै मन लागेन भने पो नराम्रो भयो त। निराशा नै समस्या होइन, त्यो कुन दिशामा गइरहेको छ भन्ने महत्त्वपूर्ण हो। देशमा अवसर छैन भन्ने लागेर निराश हुँदै विदेशिए पनि त्यहाँ पुगेर मेहनत र प्रगति गरेको छ भने त्यो निराशा उपलब्धिमूलक भएन र? त्यसो हुँदा, देशमा छ भनिएको नैराश्य 'क्लिनिकल साइकलोजी'भन्दा 'सोसल साइकलोजी'को कुरा हो।
तपाईंहरू विदेशबाट पैसा ल्याई-ल्याई त्यस ठाउँको लागि गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा दिलाउनुहुन्थ्यो, तैपनि अनेक झैझमेला हुन्थे। दोलखामा एकचोटी नाबालक शिशुको दूध सर्केर निधन भएपछि अस्पतालमै आक्रमण भयो। कोरोना महामारीको समयमा कटौतीमा परेका कर्मचारीले आत्महत्या गर्दा संस्था नै तारो बन्यो, यस्ता घटना हुँदा दिक्क लाग्दैनथ्यो? के कुराले काममा उत्प्रेरित हुनुहुन्छ?
मिडियामा आएका एकाध घटना उप्काउनु भयो, नआएका झैझमेला त कति छन् कति। सन २००८ मा अछाममा क्लिनिक चलाउन खोलाको वारी र पारी भएका दुई वटा घर हेरेका थियौं। एउटा घर लियौं। एक दिन पारिपट्टि घुम्दै गर्दा १३ जनाले घेरेर कुटौंला जस्तो गरे। ‘तेरोजस्तो एनजिओलाई त पोहोर पनि भगाइदिएका हौं, तँलाई पनि भगाउन कुनै आइतबार कुर्नपर्दैन’ भने। 
मलाई धम्क्याउने घरधनीलाई त्यहाँ क्लिनिक-अस्पताल र डाक्टर चाहिएकै थिएन, केही परे तुरुन्त धनगढी पुगिन्छ, अझ केही भए हवाईजहाज चढेर काठमाडौँ। उसले त मैंले अरू लाभ के पाउने भन्ने मात्रै सोच्थे, स्वास्थ्य सेवा उनलाई चाहिएकै थिएन। २ लाख ५० हजार जनतामा एउटै डाक्टर किन थिएन? सजिलो भएको भए त यस्तो काम अरूले पनि गरिसक्थे। गाह्रो छ, यसै कारण हामीले गर्नुपर्छ भन्ने भावले काम गरेको हुँ। अघि नै भनेँ, अस्पताल चलाउने स्वीकृतिकै लागि एक वर्ष कुर्नपर्यो, स्वीकृति दिने हाकिमलाई अछाममा अस्पताल भएर के? नभए के?
भर्खरै सुरु गर्दा दान संकलन (फन्ड रेज) गर्न बहुत गाह्रो थियो। परिवार, साथीभाइ, नातागोताको नेटवर्कबाटै दान संकलन गरियो, अमेरिकाका विश्वविद्यालयहरूले दिने रिसर्च अनुदानको पैसा लिइयो। गरेको काम देखाउन सकिने भएपछि त्यही देखाएर माग्न थालेपछि सहयोग पाइन थाल्यो। कतिपय फाउन्डेसनहरूले सघाए। १७ वर्षमा काम गर्दा ३५ मिलियन डलर उठाइएछ।
सेवा प्रवाहमा सहयोग जुट्न मुस्किल छ। निःशुल्क स्वास्थ्य सेवा कहिलेसम्म दिने, परियोजना दीर्घकालीन कति वर्षमा हुन्छ भन्नेमा दाताको चासो रहन्छ। बरु अनुसन्धानमा जुटाउन सजिलो छ। परोपकारी काम पनि उनीहरू भूराजनीतिक प्राथमिकता आदिबाट प्रभावित हुन्छन्। ट्रम्प राष्ट्रपति भएपछि अमेरिकीहरूमा परोपकारी काम पनि अमेरिकाभित्रै गर्नुपर्छ भन्ने भावना विकास भएको छ। नेपाल ‘लो इनकम’बाट ‘लो मिडल इनकम’ देशको श्रेणीमा पुगेको छ, यसबाट पनि दाता कम हुने भए। कठिनाइ बढ्दो छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
