साफ यू–१९ च्याम्पियनसिपमा डेब्यू गरेको पाकिस्तान फाइनलमा

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि विजेताको छिनोफानो  पेनाल्टी सुटआउटबाट लिइएको थियो।

काठमाडाैँ– साफ यू–१९ च्याम्पियनसिपमा डेब्यू गरेको पाकिस्तान फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा भुटानलाई सडनडेथमा  ५–६ गोलअन्तरले पराजित गर्दै पाकिस्तान उपाधिनजिक पुगेको हो।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि विजेताको छिनोफानो  पेनाल्टी सुटआउटबाट लिइएको थियो। ५–५ पेनाल्टी लिएपछि पनि बराबरी भएपछि सुटआउट सडेन डेथमा धकेलिएको थियो। पेनाल्टी सुटमा पाकिस्तानका मोहम्मद आदिल युनिस, शाह जहान, अलिज जाफर, खुर्शिद आलम, मोहम्मद सदाम र कमिल अहमद खानले गोल गरे। 

भुटानका किन्जाङ तेन्जिङ, जिग्मे नाम्गेल, रिन्जिन डोर्जे, युगेन डोर्जे र पेमा जाङ्पोले गोल गरे।  छिरिम पेल्जाङको छैटौँ प्रहार भने पाकिस्तानका गोलरक्षक साहिल गुलले बचाए। पाकिस्तान समूह ‘ए’ को विजेता तथा भुटान समूह‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए। पाकिस्तानले उपाधिका लागि अब नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ।