७ वर्षपछि भारत पुग्यो पाकिस्तानी क्रिकेट टाेली, भावुक बने बाबर

पाकिस्तान र भारतबीच लामो समयदेखि चल्दै आएका विभिन्न विवादका कारण यी देशले एकअर्काकाे भूमिमा खेल्न बन्द नै गरेका थिए।

पाकिस्तानी क्रिकेट टोलीले सात वर्षपछि भारतीय भूमिमा पाइला टेकेको छ। एकदिवसीय विश्वकप खेल्न बिहीबार भारत पुगेको टोलीलाई हैदरावाद विमानस्थलमा भव्य स्वागत गरिएको छ। 

विमानस्थलमा ओर्लिएपछि सुरक्षाकर्मीको कडा सुरक्षाकाबीच प्रशंसक तथा भारतीय खेलाडीहरूले पाकिस्तानी टाेलीलाई भव्य स्वागत गरेका थिए। उनीहरूले पाकिस्तानी खेलाडीहरूलाई गलामा गम्छा लगाइदिएर परम्परागत ढंगले स्वागत गरे। भारतको भूमिमा पाएको यो न्यानो स्वागतपछि पाकिस्तानी खेलाडीहरूले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्।

टिमका कप्तान बाबर आजम, स्टार बलर शाहिन अफरिदी तथा किपर तथा बलर मोहम्मद रिजवानले भारतीय अधिकारीहरूलाई धन्यवाद दिए। रिजवानले एक्समा लेखेका छन्, "भव्य स्वागत, सबै कुरा निकै सहज रह्यो। अब डेढ महिनाको पर्खाइमा छु।" 

बाबर तथा शाहिनले इन्स्टाग्राम स्टोरी पोस्ट गरेका छन्। बाबरले भारतले गरेको स्वागतले आफू निकै भावुक बनेकाे बताए। पाकिस्तानी क्रिकेट बोर्डले शेयर गरेको भिडियोमा बाबरले लगाएको गेरु रंगको गम्छालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया पनि आइरहेका छन्। 

आईसीसी विश्वकप २०२३ यस वर्षको अक्टोबर ५ बाट भारतमा शुरू हुँदैछ र फाइनल खेल १९ नोभेम्बरमा हुनेछ। याेबीचमा पाकिस्तानले दुई अभ्यास खेल खेल्नेछ। सेप्टेम्बर २९ मा न्युजिल्यान्डसँग र अक्टोबर ३ मा अस्ट्रेलियासँग अभ्यास खेल खेल्नेछ। यी दुवै खेल हैदराबादमै आयोजना गरिनेछन्। 

विश्वकप २०२३ मा भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।  भारतले १२ वर्षअघि घरेलु मैदानमा खेलेको २०११ विश्वकपको उपाधि जितेको थियो। 

पाकिस्तान र भारतबीच लामो समयदेखि विवाद चल्दै आएको छ। त्यसमा कश्मिर र आतंकवादी गतिविधि मुख्य मुद्दा हुन्। यही कारण भारतले पाकिस्तानसँग कुनै पनि द्विपक्षीय श्रृंखला खेल्न बन्द गरेको थियो। आईसीसी विश्वकप छनाैटमा यी दुई देशले एकअर्काकाे भूमिमा खेल्न नमानेपछि श्रीलंकामा खेल आयाेजना गरिएकाे थियाे।