रेखाको गोलमा हारबाट जोगियो नेपाल

बंगलादेशविरुद्धको खेलमा ८२औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्।

काठमाडौँ– रेखा पौडेलले निर्धारित समय सकिनुभन्दा ८ मिनेटअघि गोल गर्दै १९औँ एशियाली खेलकुदअन्तर्गत महिला फुटबलतर्फ अन्तिम खेलमा नेपाललाई पराजित हुनबाट जोगाएकी छन्। 

विनझाउ स्पोर्टस सेन्टर रंगशालामा बिहीबार सम्पन्न बंगलादेशविरुद्धको खेलमा उनको गोलमार्फत नेपाल पराजित हुनबाट जोगिएको हो।

खेलको ४४औँ मिनेटमा सबिना खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। तर, ८२औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्।

यससँगै समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा भियतनामसँग २–० गोलअन्तरले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा नेपाल जापानसँग ८–० गोलअन्तरले पराजित भएको थियो।

यता, बंगलादेश पहिलो खेलमा जापानसँग ८–० गोलअन्तरले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा पनि बंगलादेश भियतनामसँग ६–१ गोलअन्तरले पराजित भएको थियो।