एशियाली खेलकुद: ९१ स्वर्णसहित चीन शीर्ष स्थानमा

नेपालले कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

एशियाली खेलकुदअन्तर्गत साइक्लिङ ट्र्याक इभेन्टको महिलातर्फ स्वर्ण पदक विजेता जापानका महो काकिता र सुयाका उचिनो। तस्वीर: एएफपी

काठमाडौँ– चीनमा जारी एशियाली खेलकुदअन्तर्गत ६१० पदकको छिनोफानो भएको छ। जसमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यहित १६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा कायम छ। 

दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा छ। यस्तै, जापान १८ स्वर्ण, ३० रजत र ३१ कास्यका साथ ७९ पदक प्राप्त गर्दै तेस्रो तथा उज्बेकिस्तान ६ स्वर्ण, १० रजत र १५ कास्यसहित ३१ पदकका साथ पदक तालिकाको चौथो स्थानमा छ।

यसैगरी भारत ६ स्वर्ण, आठ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौँ स्थानमा छ। थाइल्यान्ड ६ स्वर्ण, तीन रजत र नौ कास्यहित १८ पदकका साथ छैटौँ स्थानमा उक्लिएको छ । हङकङ चाइना पाँच स्वर्ण, १२ रजत र १५ कास्यसहित कुल ३२ पदक प्राप्त गर्दै सातौँ स्थानमा छ। 

एशियाली खेलकुदमा सहभागी ४५ मुलुकमध्ये ३३ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ। नेपालले कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। 

नेपालले अब ई–स्पोर्टस्, ब्याडमिन्टन, पुरुष क्रिकेटलगायत खेलबाट पदकको आश गरेको छ।