माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपाल र माल्दिभ्सबीच हालसम्म दुई टी–२० आई खेल भएको छ। दुवै खेलमा नेपाल विजयी भएको थियो।

काठमाडौँ– चीनमा जारी एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। 

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्। जेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा दुई देशबीचको खेल आइतबार ६:४५ मा शुरू हुनेछ। 

पहिलो खेलमा मंगोलियालाई २७३ रनले हराएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ। मंगोलियाविरुद्ध विभिन्न विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ।

माल्दिभ्सले भने पहिलो रोजाईको टोलीले कतारमा आईसीसी टी–२० विश्वकप एशिया रिजनल छनोट खेल्नुपर्ने भएकाले एशियाली खेलकुदमा दोस्रो रोजाईको टोली पठाएको छ। 

माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो। यस खेलको विजेता टोली क्वार्टरफाइनलमा पुग्नेछ। 

नेपाल र माल्दिभ्सबीच हालसम्म दुई टी–२० आई खेल भएको छ। दुवै खेलमा नेपाल विजयी भएको थियो। टी–२० आई विश्व वरियतामा नेपाल १३औँ र माल्दिभ्स ७८औँ छन्। 

नेपालको टिममा कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन्। 

नेपालले तीव्र गतिका बलर करन केसीलाई विश्राम दिएको छ। उनको स्थानमा विनोद भण्डारीले मौका पाएका छन्।

नेपालको बेन्चमा प्रतिश जिसी, सागर ढकाल, विवेक यादव र करन केसी छन्।