राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

१९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ।

काठमाडौँ– १९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएर राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ।

महिला टोली सोमबार स्वदेश फर्किएको हो। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश साहले स्वागत गरेका थिए।

नेपाल समूह ‘डी’ मा रहेको थियो। नेपाल रहेको समूहमा बंगलादेश तथा विश्वकप खेलिसकेको दुई राष्ट्र जापान र भियतनाम रहेका थिए। नेपाल पहिलो खेलमा भियतनामसँग २–० गोल अन्तरले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा भने नेपाल जापानसँग ८–० गोल अन्तरले पराजित भएको थियो।

तर, समूह चरणको अन्तिम खेल बिहीबार नेपालले बंगलादेशसँग खेलेको थियो। उक्त खेलमा रेखा पौडेलले निर्धारित समय सकिनुभन्दा ८ मिनेटअघि गोल गर्दै नेपाललाई पराजित हुनबाट जोगाएकी थिइन्।