नेपाली समाजले सामाजिक सञ्जालको अधिकतम दुरुपयोग गरिरहेको छ। मुखले गाली गरेर अथवा लेखेर गरिने हिजोका गाली अहिले सामाजिक सञ्जालमा सहजै व्यक्त हुन थालेका छन्। हतियारका रूपमा सञ्जालको प्रयोग गरिएको छ।
बलात्कारीहरूका पक्षमा मान्छे किन बोल्छन्? तिनकै पक्षमा किन उभिन्छन्? किनभने यो कुनै खास व्यक्तिको मात्र मनोविज्ञान नभएर सिंगै समाजको मनोविज्ञान हो। यस्ता कुरामा व्यक्ति गौण हुन्छ। सामाजिक चरित्रले के ठीक र के बेठीक भन्ने नैतिकताका मापदण्ड बनाएको हुन्छ। हिजोका धार्मिक आडम्बरलाई मापदण्ड बनाएर तय गरिएका नैतिकताका आधारमा त्यस्ता मापदण्ड, शर्त र छुटहरू पहिल्यै तय गरिएका हुन्छन्। सन्दीप लामिछाने र पल शाहहरू केवल पात्र हुन्। यस्ता पात्र र यीमाथि व्यक्त प्रतिक्रियाहरूलाई नेपाली सामाजिक संरचनाका त्रुटिपूर्ण खाडलको उपज मान्नुपर्छ।
यतिखेर नेपाली समाजले सामाजिक सञ्जालको अधिकतम दुरुपयोग गरिरहेको छ। मुखले गाली गरेर अथवा लेखेर गरिने हिजोका गाली अहिले सामाजिक सञ्जालमा सहजै व्यक्त हुन थालेका छन्। हतियारका रूपमा सञ्जालको प्रयोग गरिएको छ। पीडक र आपराधिक मनोविज्ञानका प्रेरक पात्रप्रति सकारात्मक भाष्य बनाउन, पीडितप्रति नकारात्मक टिप्पणी गर्न, प्रतिशोध साँध्न र बदला लिनका लागि यसको चरम दुरुपयोग गरिएको छ।
यसको दोषी को भनेर खोज्दा स्वाभाविक रूपमा राज्यसंरचना हो। सामाजिक सञ्जाललाई अनुगमन गर्ने, विकृत र विभेदकारी सांस्कृतिक टीकाटिप्पणी गर्नेहरूलाई रोक्ने, प्रतिबन्ध लगाउने, कारबाही गर्ने काम राज्य संयन्त्रको हो। तर विडम्बना, राज्यका निकायहरू नै पीडक पक्षधर भइदिएपछिको नियति पीडितहरूले भोगिरहेका छन् र समाज तिनै पीडितप्रति झन् विषाक्त बन्दै छ।
त्यसो हुँदा सामाजिक संरचना, त्यहाँभित्र हुर्केको हाम्रो राज्यसत्ता, हाम्रो सामाजिक चेत, राज्यको शिक्षा नीति यसका लागि जिम्मेवार छन्। हामी साक्षर छौँ, तर शिक्षित र सचेत छैनौँ। हाम्रा शिक्षा नीतिले नेपाली वर्णमाला र अंग्रेजी अल्फाबेटसँगै अंक र अक्षरहरू सिकाउँछ, तर समाज र नागरिकको दायित्वबारे कहिल्यै सिकाउँदैन। समाज भनेकै के हो भने बुझाउँदैन। समाजमा भएको विभेदबारे पढाउनु त टाढाको कुरा।
यसको मतलब यी सबै कुराको मिश्रणका रूपमा यौन दुराचारीका पक्षमा आएका अभिव्यक्ति प्रकट भएका हुन्। व्यक्तिहरूले बलात्कारी र यौन दुराचारीका पक्षमा बिनासंकोच धारणा राखेका छन्। सामाजिक-सांस्कृतिक रूपान्तरणको सही दिशा लिन नसकी तीव्र गतिमा विषाक्ततातिर धकेलिइरहेको आजको नेपाली समाजको सामाजिक मनोविज्ञान र वातावरण त्यसैका लागि उर्वर छ।
तर आश्चर्य के छ भने कलिला छोरी र बहिनी भएका व्यक्तिसमेत बलात्कारी र बलात्कार आरोपीका पक्षमा बोलिरहेका भेटिन्छन्। यसको कारण फेरि पनि सामाजिक संरचना र मनोविज्ञानमै गएर ठोकिन्छ। एकै परिवारमा पनि बाउ, दाजु या भाइले आफ्नो घरका अन्य लैंगिक पहिचानलाई स्वीकारेको देखिँदैन। यसरी हाम्रो समाजमा घरदेखि राज्यसम्मले नै महिलाको परिचय स्वीकारेका छैनन्।
लैंगिक रूपमा महिला भएर जन्मिसकेपछि कानूनी रूपमा पुरुषमाथि पराधीन हुनुपर्ने अवस्था अद्यापि छ। उनको अस्तित्व अन्तिममा गएर बाउ या लोग्नेसँग जोडिएको हुन्छ। समाज र परिवारले अभिभावक तोकिदिएको हुन्छ र त्यो प्राय: कुनै पुरुष नै हुन्छ। कानूनी पराधीनता भइसकेपछि व्यक्ति आर्थिक रूपमा पनि परनिर्भर नै हुन्छ। त्यसको मतलब महिलालाई आर्थिक भारका रूपमा लिइन्छ।
जतिसुकै चिल्ला कुरा गरे पनि आजका दिनमा समेत राज्य र समाजले छोरीलाई भार नै बुझेको छ। यस्तो भएपछि महिलाको आफ्नो पहिचान हुने कुरा भएन। त्यस्तो अवस्थामा उनलाई वस्तुका रूपमा व्यवहार गरिने नै भयो। केवल खास उद्देश्य र उपयोगमा लगाउन मिल्ने वस्तुभन्दा बढी महिलालाई लिइने भएन। यसरी वस्तुकरण गरिएको महिलालाई समाज र त्यसभित्र मौलाएको कर्पोरेट पुँजीवादको बजारले महिलाको शरीरका संवेदनशील अंगहरू छानी छानी र समग्रमा सम्पूर्ण शरीरलाई नै जसरी चाह्यो त्यसरी नै प्रयोग गर्छ। सन्दीपहरूले र उसका पक्षधर राज्यका निकाय तथा समाजका समर्थकहरूले गरेको त्यही हो। यो सतहमा आइपुगेको एउटा उदाहरण मात्र हो।
तपाईंहामी चाहे बलात्कृत महिलालाई हेरौँ या बेचिएकालाई अथवा घरेलु हिंसा र बोक्सीका आरोपमा पीडितलाई नै हेरौँ, उनीहरूको वस्तुकरण नै उनीहरू पीडित हुनुको मूल कारण देखिन्छ। पीडित भन्नेबित्तिकै ती कसैमाथि आश्रित हुन्छन्। उनको स्वाभिमान र सार्वभौमिकता हुँदैन। व्यक्तिको पहिचानै त्यस्तो भएपछि छोरी, भाउजू, बुहारी या श्रीमती जेसुकै होस्, उनले पाउने व्यवहार भनेकै अपमान, घृणा र तिरस्कार हो। हामीले जतिसुकै आलोचनात्मक चेत राख्ने भए पनि र जतिसुकै गुलिया कुरा गरे पनि या कानूनमा जेसुकै लेखिएको भए पनि हाम्रो भित्री व्यवहार त्यही हो। त्यसैको प्रस्फुटित रूप हुन् सामाजिक सञ्जाल या समाजमा बलात्कारी र बलात्कार आरोपितका पक्षमा व्यक्त भावना।
आफ्नै छोरी बहिनी, श्रीमती, प्रेमिका र एकदमै मिल्ने कार्यालयका महिला साथीहरूप्रतिको पुरुष अथवा कतिपय अवस्थामा महिलाका टिप्पणीसमेत हेर्दा पनि बुझिन्छ कि ती महिलासँगका सम्बन्ध मानवीय र सार्वभौम सम्बन्ध नभई वस्तुसँगका सम्बन्धजस्ता देखिन्छन्। समाजमा व्यक्त धारणा पनि त्यसकै उपज हो।
यस्तो धारणा हाम्रोमा मात्र होइन, अन्य समाजमा पनि छ। युरोप, अमेरिका, अफ्रिका डुल्दा समग्रमा देखिने महिलाप्रतिको व्यवहार पनि यस्तै नै देखिन्छ। तर स्थानीय समाजको चरित्र, त्यसको वस्तुस्थिति र चेतनाको स्तर हेरेर थोरै कमबेसी होला, समग्रमा उस्तै हो। अहिलेको विश्वव्यापी धारणा के हो भने लैंगिक पहिचानका आधारमा पुरुषबाहेकका चाहे तेस्रोलिंगी हुन् या फरक लैंगिक पहिचानका अथवा महिला, तीप्रतिको व्यवहार सालाखाला विश्वभर दोस्रो दर्जाकै छ। विषाक्त र वस्तुकरण लक्षित नै छ।
तर अलिकति विकसित मुलुकमा महिलाप्रतिको विषाक्तता कम पाइन्छ। तर त्यहाँ पनि सडक, रेल, बस, पार्क र कार्यक्षेत्रमा महिला बलात्कृत भएका छन्। मैले हिजोका समाजवादी मुलुक, पूर्व सोभियत संघ र अफगानिस्तानजस्तो जटिल समाजमा समेत बसेर काम गरेँ, महिलालाई गरिने वस्तुकरणको सामाजिक प्रक्रिया सबैतिर उस्तै छ। यद्यपि समाजको चरित्रअनुसार प्रवृत्ति र प्रकृति अलिक फरक देखिन्छ।
हाम्रा नीति नियम, भाषा संस्कृति, हाम्रो व्यवहार र सम्बन्धहरू एउटा निश्चित धर्मबाट परिभाषित, परिष्कृत र प्रभावित भएको भएर यहाँको अभ्यास र व्यवहार अलि जटिल देखिन्छ।
रूपान्तरण कसरी?
कुनै पनि समाजको विकास र रूपान्तरणका चरण तथा आयाम छन्। रूपान्तरणका राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक आयाम हुन्छन्। नेपालले राजनीतिक रूपान्तरण गरेको छ। त्यो आयामलाई दौडाउन हामी सफल भएका छौँ। राजनीतिक रूपान्तरण नै मियो भएकाले त्यसको हल भएपछि धेरै कुराको समाधान निस्कन्छ भनेर हामीले ठान्यौँ। त्यहीँनिर हामी चुक्यौँ। एक किसिमले राजनीति नै सबैको मियो पनि हो,त्यसमा विवाद रहेन। तर राजनीतिकसँगै सामाजिक र सांस्कृतिक रूपान्तरणको आयाम हामीले कहिल्यै अघि लगेनौँ।
त्यसकारण तीव्र गतिमा विषाक्त भइरहेको र सकारात्मक दिशातिर नबढिरहेको समाजका रूपमा नेपाललाई अर्थ्याउन सकिन्छ। विकास, आधुनिकता, सभ्यता र उदारताका नाममा हामी गलत दिशातिर लागिरहेका छौँ। समाजमा आलोचनात्मक चेतनाको निर्माण गर्नुभन्दा पनि हिजोका परम्परा र ढर्राहरूलाई अझ विषाक्त बनाएर हामी अघि बढिरहेका छौँ।
एउटा खास सभ्यता, संस्कृति र लैंगिक पहिचानलाई महिमा मण्डन गर्ने र 'अन्य'लाई अपमानित गर्दै हुर्मत लिने अभ्यास बढेको छ। त्यसको मारमा महिलालगायत अलग लैंगिक पहिचान तथा अल्पसंख्यक सांस्कृतिक समुदाय परिरहेका छन्। मूल रूपमा शहरी र तथाकथित शिक्षित भनिटोपलिने समाजले त्यसो गरिरहेको छ।
राजनीतिक परिवर्तनको प्रक्रियामा समाजलाई छाडेर सत्ता परिवर्तनतर्फ मात्रै लाग्दा पनि त्यसो भएको हो। अर्को चाहिँ हाम्रो शिक्षानीतिका कारण पनि यो अवस्थाको सिर्जना भएको हो। माथि नै उल्लेख गरियो, हाम्रो शिक्षानीतिले हामीलाई साक्षर मात्रै बनायो। त्यो पनि ठूलो समस्या हो। यी सबै चुनौतीहरूसँग एकैसाथ जुध्न मूलतः सामाजिक चेतना जगाउने खालको शिक्षा आवश्यक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
