शिक्षामन्त्री भन्छन्– विदेश उत्तम, स्वदेश खत्तम भन्ने सामाजिक मनोविज्ञान बनाइँदै छ

शिक्षामन्त्री राईले विद्यार्थी विदेश पलायनबारे गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले देशमा विदेश उत्तम स्वदेश खत्तम भन्ने खालको सामाजिक मनोविज्ञान बन्दै गएको बताएका छन्। 

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले युवा बाहिरिने प्रवृत्ति बढ्दै गएको भन्दै भएका विश्वविद्यालयहरू खत्तम होइन, नयाँ विश्वविद्यालयहरूले बाहिर जाने विद्यार्थीको संख्यालाई कम गर्न सकिन्छ भनेर नयाँ विश्वविद्यालय विधेयक ल्याएको बताए। 

“विदेश उत्तम स्वदेश खत्तम भन्ने खालको मनोविज्ञान, सामाजिक मनोविज्ञान नै बन्न खोजिरहेको छ। यसलाई हटाउनु पर्ने अवस्था छ, यो विद्यालय शिक्षाको माध्यमबाटै यसको शुरूआत गर्नुपर्छ। अहिले भएका विश्वविद्यालयहरू खत्तम छन् भन्ने मात्रै होइन, नयाँ विश्वविद्यालयहरू बन्दा बाहिर जाने विद्यार्थीलाई पनि हामीले रोक्न सक्छौँ भन्ने प्रसंग मात्रै उठाएको हो,” उनले भने। शिक्षामन्त्री राईले विद्यार्थी विदेश पलायनबारे गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। 

उनले नेपाल विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गरेको र यसले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको उल्लेख गरे। उनले चालु विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप धेरै रहेको उल्लेख गरे। उनले चालु विश्वविद्यालयभन्दा फरक विशेषतासाथ नेपाल विश्वविद्यालय सञ्चालन हुने बताए।

“देशमै केही गर्छु भनेर विदेशमा राम्रो जागिर हुने सम्भावना छोडेर नेपालमा आएका युवाको जमात यो विश्वविद्यालयको टिममा छ। चालु विश्वविद्यालयभन्दा फरक विशेषतासाथ नेपाल विश्वविद्यालय सञ्चालन गर्ने भनेर अग्रसर हुनुभएको रहेछ,” उनले भने, “अहिले भएका विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था छ। तर, नेपाल विश्वविद्यालय विधेयक अरूभन्दा भिन्न छ। यसको छुट्टै ढाँचा छ।”

उनले उच्च शिक्षामा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रालयले ध्यान दिइरहेको उल्लेख गरे। “हाम्रो उच्च शिक्षामा देखिएको समस्या भनेको विद्यार्थीहरू १२ कक्षा सकिएपछि देशमा अध्ययन गर्न नचाहने र उनीहरूलाई रोक्न नसकेको अवस्था छ। देशमा रोक्ने वातावरण पनि बनाउन नसकेको अवस्था छ। मन्त्रालयले त्यसबारेमा ध्यान दिने छ,” उनले भने।