एशियाली खेलकुद : रसिला ब्याडमिन्टनको प्रिक्वाटरफाइनलमा, निता र नङशल बाहिरिए

बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रसिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गरिन्।

काठमाडौँ– १९औँ एशियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रसिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन्।

बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रसिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गरिन्। खेल १५ मिनेट चलेको थियो।

यो स्पर्धासहित मंगलबार नेपालले चार स्पर्धामा प्रतिस्पर्धा गरेको थियो। बाँकी ३ मा भने नेपाल पराजित भयो। महिला सिंगल्समै थाइल्यान्डकी पोर्नपावीले नेपालकी अनुमाया राईलाई सीधा सेटमा २१–१० र २१–४ ले हराइन्।

महिला डबल्समा चाइनिज ताइपेइका चिङ या सु र चिन वान लिनको जोडीले नेपालका निता लम्साल र नङशल तामाङको जोडीलाई २१–१ र २१–५ तथा इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीले नेपालका रसिला महर्जन र अनुमाया राईको जोडीलाई २१–३ र २१–७ को सोझो सेटमा पाखा लगाए।

भारोत्तोलन
भारोत्तोलनको पुरुष ८१ केजीमा नेपालका विकास भट्टले स्न्याचमा १२० केजी र क्लिन एन्ड जर्कमा १४५ गरी जम्मा २६५ केजी भार वहन गरेका छन्।

स्न्याचमा विकासले दोस्रो लिफ्टमा मात्र १२० केजी वजन उचाल्न सफल भएका थिए। पहिलो लिफ्टमा पनि विकासले १२० केजी वजन उचाल्ने प्रयास गरे पनि असफल भए। तेस्रो लिफ्टमा उनले १२५ केजी तौल उठाएर स्न्याचमा आफ्नै नाममा रहेको १२४ केजीको राष्ट्रिय कीर्तिमान सुधार गर्ने प्रयास गरेका थिए। उनले १२५ केजी वजन उठाउन सकेनन्।

क्लिन एन्ड जर्कमा पहिलो लिफ्टमा १४५ केजी तौल उठाउने प्रयास गरेका विकास दोस्रो लिफ्टमा मात्र त्यत्ति नै (१४५ केजी) वजन उचाल्न सफल भए। तेस्रो लिफ्ट विकासले १५० केजी उठाउने तयारी गरे पनि सफल भएनन्।

१५० केजी वजन उचालेको भए विकासले आफ्नै नाममा रहेको १४८ केजीको राष्ट्रिय कीर्तिमान भंग गर्ने थिए। जम्मामा पनि २७२ केजीको राष्ट्रिय कीर्तिमान पनि विकासकै नाममा छ। अब नेपालबाट दुई पुरुष खेलाडी विशालसिंह विष्ट र सागर भण्डारीले खेल्न बाँकी छ।