करण भन्छन्- एक लाखको ब्याट चर्किएको थाहा पाइनँ

क्यानमाथि खेलाडीलाई गुणस्तरीय ब्याट उपलब्ध नगराएको सार्वजनिक टिप्पणी भइरहेको छ। तर ब्याट चर्किएको ड्रेसिङ रुममा पुगेपछि मात्र थाहा पाएको करण केसीको भनाइ छ।

काठमाडौँ– १९औँ एशियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल बलियो टोली मानिएको भारतसँग पराजित भयो। गत जुलाईमा एसीसी इमर्जिङ कपमा भारत ‘ए’ टिम र सेप्टेम्बरमा एशिया कपमा सिनियर टोलीसँग ९ र १० विकेटको फराकिलो हार बेहोरेको नेपालले मंगलबार भएको तेस्रो भेटमा भने २३ रनको पराजय बेहोरेको थियो।

इन्डियन प्रिमियर लिग (आईपीएल) र भारतीय टोलीमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीसँग २३ रनले पराजित हुनुलाई धेरैले नेपाली क्रिकेटले छोटो समयमा गरेको प्रगति भन्दै प्रशंसा गरिरहेका थिए। त्यही क्रममा समाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भयो, तीव्र गतिका बलर करण केसीको चर्किएको ब्याट। त्यसले नेपाली टोलीले गरेको प्रदर्शन नै छायामा पार्दियो।

नेपालमा क्रिकेट खेलेर खेलाडीले ब्याटसम्म किन्ने हैसियत नबनाएको भन्दै धेरैले आलोचना गरे। नेपालीले मात्रै होइन, भारतबाट क्रिकेट हेरिरहेका धेरै समर्थकले पनि नेपाल क्रिकेट संघ (क्यान)सँग ब्याट किन्दिने हैसियत नभएको भए आफूहरूले किनिदिने ‘स्टाट्स’ लेखिरहे। भारतीय चर्चित पत्रकार शुभंकर मिश्रले यो घटनाले धेरैलाई दुखी बनाएको भन्दै भिडियोसमेत बनाउन भ्याए। उनले भनेका थिए, “करण केसी भाँचिएको ब्याटले खेल्दै थिए। सायद, अतिरिक्त ब्याट थिएन या केही बल मात्र बाँकी रहेकाले होला। यो अवस्था देखेर धेरैलाई दुःख लागेको थियो। उहाँमा ठूलो मन थियो, आफ्नो देशका लागि खेल्ने। यो टोली आईपीएल र अन्य ठाउँहरूमा खेल्नयोग्य छ। आईपीएलले सेल्फ ब्रान्ड बढाउँछ।”

लगातारको आलोचनापछि क्यान सचिव पारस खड्काले प्रस्टीकरण नै दिनपर्‍यो। पारसले प्राय: नेपाली खेलाडीसँग प्रायोजक रहेको जनाउँदै करणले नै ब्याटिङ गर्न जाँदा ब्याटको अवस्था ख्याल नगरेको हो भन्ने जवाफ दिए। उक्त जवाफसँगै विगतमा खेलाडीको पक्षमा बोल्नेले जिम्मेवार पदमा पुगेपछि क्यानको बचाउ गरेको भन्दै समर्थकले उनको आलोचना गरे। उनलाई क्यान राजनीतिले छोएको आरोप लगाउँदै झूट बलिरहेको नेपाली समर्थकको एकोहोरो आरोप थियो।

तर, करणले पारसले बोलेको बोलीलाई नै सही करार दिएका छन्। चीनबाट फर्किएसँगै सञ्चारकर्मीहरूसँग बिहीबार कुरा गर्नेक्रममा उनले भारतसँगको खेलमा प्रेसर झेल्दा ब्याटको हालत हेर्न भुलेको बताए।

“लास्ट ओभर थियो। उक्त ओभरमा ५ छक्का चाहिएको थियो। तर, शुरूमै दुई बल डट भइसकेको थियो। त्यसपछि कसरी खेल जित्ने भन्ने कुराले फ्रस्टेड भइसकेको थिएँ। खेल हारे पनि क्लोज स्कोरमा पुग्ने लक्ष्य थियो। त्यसैले एक योर्कर बललाई प्रहार गर्ने क्रममा ब्याट चर्किएछ। त्यसतर्फ मैले ध्यान दिइनँ,” उनले भने।

करणका अनुसार उक्त ब्याट गुणस्तरीय थियो। उक्त ब्याटको मूल्य करिब १ लाख रुपैयाँ पर्छ। आफूले पनि ब्याट चर्किएको ड्रेसिङ रुममा पुगेपछि मात्र थाहा पाएको उनको भनाइ छ।

“त्यतिखेर हेर्ने कुरा भएन। ड्रेसिङ रुममा गएर हेर्दा हेन्डिल निस्किसकेको रहेछ। त्यसपछि कुशललाई देखाएँ। उनले यो ब्याटले कसरी छक्का हान्नुभयो दाइ भनेर? भन्यो,” करणले भने, “तर, गेमको फोलो–फोलोमा चाहिँ ध्यान दिइनँ। त्यसपछि सोसल मिडियामा भाइरल भएको रहेछ।”

उक्त खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो। २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन मात्रै बनाउन सक्यो। नेपालका ओपनर कुशल भुर्तेलले २८, आशिफ शेखले १०, कुशल मल्लले २९, दीपेन्द्रसिंह ऐरीले ३२ र सन्दीप जोराले २९ रन बनाउँदा कप्तान रोहितकुमार पौडेल ३, सोमपाल कामी ७, गुलशन झा ६ र सन्दीप लामिछाने ५ रनमा आउट भएका थिए।

करणले भने १३ बलमा १ चौका र २ छक्कासहित अविजित रहँदै १८ रन बनाएका थिए।