एशियाली खेलकुद : करातेमा पदकनजिक पुगेर विमुख भए विप्लव

विप्लव कास्यका लागि भएको पुरुष कुमुतेको ८४ केजीमाथिको प्रतिस्पर्धामा साउदी अरेबियाका तारेग हामिदसँग पराजित भए।

काठमाडौँ– १९औँ एशियाली खेलकुद प्रतियोगितामा करातेका विप्लवलाल श्रेष्ठ पदकनजिक पुगेर विमुख भएका छन्। शुक्रबार विप्लव कास्यका लागि भएको पुरुष कुमुतेको ८४ केजीमाथिको प्रतिस्पर्धामा साउदी अरेबियाका तारेग हामिदसँग पराजित भएका हुन्।

विप्लवले पहिलो खेलमा ताजकिस्तानका उमेद साफारोभलाई १२–४ ले पराजित गरेका थिए। क्वार्टरफाइनलमा किर्गिस्तानका सादिकानोभ अदिलेतसँग ५–१ ले पराजित गरेका थिए। ‘रिपोच’को पहिलो खेलमा ‘बाई’ पाएपछि उनले कास्यका लागि भिड्ने पक्का भएको थियो। तर, १९औँ कराते च्याम्पियनसिपका स्वर्ण तथा टोकियो ओलम्पिक २०२० का रजत पदक विजेता हमिदीसँग ९–१ ले पराजित भए।

विप्लव नेपालमै आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक विजेता हुन्। शुक्रबार नै महिला ६१ केजीमा निरूपा डोङ लामा पहिलो खेलमै पराजित भएका छन्। उनी बंगलादेशकी हुमैरा अख्तर अन्तरासँग ५–१ ले पराजित भएकी हुन्।