एशियाली खेलकुदमा नेपाललाई कराँतेमा ऐतिहासिक रजत पदक

नेपाललाई कराँतेमा एशियाली खेलकुदमा रजत पदक दिलाउने एरिका गुरुङ पहिलो नेपाली खेलाडी बनेकी छिन्।

काठमाडौँ– चीनको हान्झाउमा जारी १९औँ एशियाली खेलकुदअन्तर्गत नेपाललाई कराँते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ। केहीबेरअघि सम्पन्न फाइनल खेलमा नेपालकी कराँते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो।

महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अंकले पराजित भएकी हुन्। नेपाललाई कराँतेमा एशियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन्।

यसअघि शनिबार सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन्। गुरुङले यान काई होलाई ८–४ अंकले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन्।

शनिबारै भएको क्वार्टरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन्। दुवैबीचको खेल १–१ अंकको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अंक जोडेको) आधारमा विजयी भएकी थिइन्। 

योसँगै नेपालले जारी १९औँ एशियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ। यसअघि नेपालले महिला कबड्डीमा कांस्य पदक जितेको थियो।