विश्वकप आयोजना गर्ने साउदी अरबकाे प्रस्तावमा नेपालको समर्थन

सन् २०३४ को विश्वकप आयोजनाका लागि एशियाली देशबाट मात्र प्रस्ताव लिने फिफाको निर्णय छ। त्यही अनुसार एशियाबाट साउदी अरबले प्रतियोगिता आयोजनामा दाबी प्रस्तुत गरेको छ। 

काठमाडौँ– नेपालले विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई समर्थन गर्ने भएको छ। 

आइतबार एक विज्ञप्तिमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०३४ को विश्वकप आयोजनाको साउदी अरबको प्रस्तावमा नेपालले समर्थन गर्ने जानकारी दिएको हो। विज्ञप्तिमा एन्फाले सन् २०३४ को विश्वकपमा नेपालको पक्ष स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने जनाएको छ। 

लाखौँ नेपाली कार्यरत रहेको साउदी अरब र नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक सम्बन्धका आधारमा पनि साउदीलाई नेपालले समर्थन गर्ने बताइएको छ। 

सन् २०३४ को विश्वकप आयोजनाका लागि एशियाली देशबाट मात्र प्रस्ताव लिने फिफाको निर्णय छ। त्यही अनुसार एशियाबाट साउदी अरबले प्रतियोगिता आयोजनामा दाबी प्रस्तुत गरेको छ। 

सन् २०२६ को विश्वकप क्यानडा, मेक्सिकोसँग मिलेर अमेरिकाले आयोजना गर्दैछ भने सन् २०३० को विश्वकप तीन महादेशमा संयुक्त रूपमा आयोजना गर्ने फिफाको तयारी छ। त्यसपछि सन् २०३४ को विश्वकप आयोजनामा साउदी अरबले जोड गरेको छ।